Dabali News

मलेसियाले अध्यागमन-नियममा कडाई गर्दै, ६३ हजार विदेशीलाई प्रवेशमा प्रतिबन्ध

१७ मंसिर

काठमाडौं । मलेसियाले अध्यागमन नियममा थप कडाई गरेको छ ।

अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको पाइएका करिब ६३ हजार विदेशी नागरिकहरुलाई मलेसिया पुनः प्रवेश गर्नमा प्रतिबन्ध लगाएको छ ।

मलेसियाली अध्यागमन विभागले अध्यागमन नियम कानुनविपरित गतिविधि गरेको, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका लगायत अभियोगमा दोषी पाइएका विभिन्न देशका नागरिकहरुलाई कालोसूचीमा राख्दै मलेसिया प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

कालोसूचिमा पर्नेहरुमा कयौं नेपालीहरु पनि रहेका छन् । मलेसियाले भिसाको दुरुपयोग गरेको अभियोगमा कयौं नेपालीहरुलाई पनि कालोसूचिमा राख्दै पुनः प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको छ ।

विभागका महानिर्देशक मुस्ताफर अलीका अनुसार यसै वर्ष जनवरी महिना यताका करिब ११ महिनाको अवधिमा उक्त संख्यामा विदेशी नागरिकहरु अध्यागमनको ‘कालोसूचि’ मा परेका हुन् । यसअघि कानुन उल्लंघन गरेको विभिन्न अभियोगमा उनीहरुकै देश फिर्ता पठाई कालोसूचिमा राखीएकाले अब उनीहरु निश्चित समयसम्म वा अध्यागमनले प्रतिबन्ध फुकुवानगरेसम्म मलेसिया जान पाउने छैनन् ।

महानिर्देशक अलीले हाल कालोसूचिमा परेकाहरुलाई अध्यागमनका साझेदारी निकाय एवं कम्पनीबाट ई-भिसा पाइसकेकै भएपनि प्रवेश नदिइने र ई-भिसा पाउँदैमा प्रवेश पाउने कुनै ग्यारेन्टी नहुनेसमेत स्पष्ट पारे ।

उनका अनुसार ई-भिसा पाइसकेकाहरु अध्यागमन विभागको कालोसूचिमा नरहेको खण्डमा मात्र मलेसिया प्रवेश गर्न पाउने छन् । उनका अनुसार कालो सूचीमा रहेकाहरु प्रवेश गर्न खोजेमा उनीहरुलाई ‘नट् टू ल्याण्ड’ सूचना जारी गरी सम्बन्धित देशमा नै फिर्ता पठाइनेछ ।

हाल कालोसूचिमा पर्नेहरुमा राष्ट्रिय सूरक्षामा खतरा मानिएका, आतंकवादी गतिविधिमा संलग्न रहेको पाइएकाहरुदेखि सामाजिक भ्रमण भिसा (सोसल भिजिट पास) को दुरुपयोग गर्नेहरुसमेत रहेका छन् । गैरकानुनी आप्रवासी कामदारको व्यवस्थापन र भ्रष्टाचारको नियन्त्रण गर्नु नै मलेसियाका लागि सबैभन्दा ठूलो चुनौतीहरु हुन् ।

विभागका अनुसार गत ११ महिनायताको अवधिमा करिब ४५ हजार गैरकानुनी आप्रवासी कामदारहरुलाई उनीहरुकै मुलुक फिर्ता पठाइसकीएको जनाइएको छ । कालोसूचीमा पर्नेहरुमध्ये अधिकांश आप्रवासी कामदारहरु रहेको अनुमान छ । मलेसियामा गत मे महिनामा नयाँ सरकार गठन भएसँगै सरकारले मुलुकमा खासगरी आप्रवासी एवं अध्यागमन सम्बन्धी नीति पनि कडाईका साथ लागू गर्दै आएको छ ।

कालोसूचिमा रहेका विदेशीसमेत प्रवेश अनुमति दिएको अभियोगमा गत सेप्टेम्बर महिनामा ४ जना कर्मचारीलाई पक्राउ गरि छानवीन अघि बढाइएको थियो ।

अन्तर्राष्ट्रिय समाचारहरु अनुसार ती कर्मचारीले उनीहरुबाट घुस लिएर भिसा अनुमति जारी गरेको भेटिएको थियो । सरकारले मानव बेचविखन जस्ता कार्यमा संलग्न रहेका हुन सक्ने र यस्तो कार्यमा सघाउने कर्मचारीहरुलाई निशाना बनाउँदै अनुसन्धान गर्दै आएको छ र उनीहरुमाथि कडा निगरानी गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]