Dabali News

१३ वर्षको उमेरमै जनयुद्धमा लागेर जनताका गीत गाउँदै आएकी निर्मलाको संघर्षशील यात्रा

काठमाडौँ । जनवादी गीत–संगीतको क्षेत्रमा निर्माला घिसिङ चर्चित नाम भइसकेको छ । १३ वर्षको कलिलो उमेर जनयुद्धमा पूर्णकालिन भएर जनवादी गीत गाउँदै घिसिङले मेची–महाकाली, हिमालदेखि तराईका सीमा मिचिएिका ठाउँमा पुगेर गीत–संगीतमार्फत जनतालाई अधिकार र मातृभूमीको लागि जुट्न आह्वान गर्दै आएकी छन् ।

गायन हुँदै रचना र संगीतमा पनि निर्मलाको उत्तिकै लगाव छ । जनता ब्यूझाउँदै ३-४ सयभन्दा बढी गीत गाइसकेकी निर्मल  एउटा अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा समेत छनोट भएकी छन् । 

जनताका गीत गाउँदै आएकी निर्मलाले निकै दुःख, कष्ट गरेर यो उचाईमा पुगेकी हुन् । अनलाइन डबलीले उनको संघर्ष र फलताको पाटोबारे कुराकानी गरेको छ ।

जनयुद्धमा लामबद्ध

स्कूलमा पढ्दै गर्दा घरमा माओवादी कलाकार आएर जनवादी गीत गाउँथे । म पनि सानैदेखि गीत, संगीत सुन्न निकै रमाइलो लाग्थ्यो । गरिबको जीवनसँग जोडिएको, महिला पुरुषको असमनता, राष्ट्रियताका गीत सुन्नै गएपछि विस्तारै मनभित्रैबाट विद्रोहको ज्वाला फुटेजस्तै भयो ।

जनयुद्धमा लुकेर घरमा माओवादी नेता तथा कलाकारहरु आउदा निकै रमाइलो लाग्न थाल्यो । गीत सुनौं सुनौं लाग्थ्यो । आफूले पनि यस्तै गीत गाउन पाए हुन्थ्यो लाग्न थाल्यो । स्कूलभन्दा माओवादी कलाकारहरुसँगै जाउँजाउँ जस्तै लाग्थ्यो तर उहाँहरुले पढ्नुपर्छ, ठूली भएपछि पार्टीमा लाग्नुपर्छ भन्नुहुन्थ्यो ।

माओवादी नेता तथा कलाकार खुशीराम पाख्रिन, माइला लामालगायतले रचेका गीतले मलाई पूरै आन्दोलनमय बनाइरहन्थ्यो तर उहाँहरुले पार्टीमा जान नदिने केही समय त निकै उकुशमुकश भइरहन्थ्यो, कहिले घरबाट निस्कने होला भन्ने लागिरहेको हुन्थ्यो । तर, विनु लामा दिदिले राम्रोसँग पढ्नुपर्छ भन्दै सम्झाउनु हुन्थ्यो । आफूलाई पार्टीमा हिँड भन्नुहुन्छ भन्ने आश लागिरहन्थ्यो । केही सयम यसरी नै बित्यो । तर, पार्टीमा जान्छु भन्दै जिद्दी गरेँ र सँगै हिडेँ ।

२०५९ सालको असोज महिना जनयुद्धमा पूर्णकालिन भएर मुक्तिका गीत पाउने कसम खाएँ । त्यतिबेला १३ वर्ष उमेर थियो । तर, राजनीतिबारे थोरै भएपनि जानकारी थियो । आफूलाई निकै परिपक्क जस्तै लाग्थ्यो । राजनीतिबारे केही बुझ्ने भइसकेकी थिएँ । विशेषगरी माओवादीले उठाएका समानता र राष्ट्रियताका कुरा निकै मन पर्यो । घर छोडेपछि नियमित राजनीति गतिविधिमै व्यस्त हुने भएकोले छोटै समयमा धेरै कुराको जानकारी भयो ।

म पूर्णकालिन भएर कलाकारहरुको टीमसँग रहेँ । काठमाडौँ वरिपरीका जिल्लामा कार्यक्षेत्र भयो । गाउँगाउँ पुगेर जनताका जीवनसँग जोडिएका गीत गाएर जनयुद्धबारे जानकारी गराउँदै हिड्यौँ । गीतको माध्यमबाट जनतालाई आफ्नो अधिकारबारे जानकारी गरायौं । त्यस्तै कार्यकर्तालाई उत्साहित गर्ने खालका गीत गाउँथ्यौँ ।

गाउँगाउँमा सुरक्षाकर्मी आउथे । लुकेर कार्यक्रम गर्नुपर्थ्यो । रातिराति धेरै लामो यात्रा गर्नुपर्थो । गाउँमा सुरक्षाकर्मी आएपछि जंगलमा लुक्थ्यौं । कहिलै भोकै त कहिलै अनिदो, तरपनि जनताको पक्षमा गीत गाउँथ्यौं ।

जति राति हिडेपनि, जति भोको रहेपनि कहिलै पनि किन जनयुद्धमा लागियो होला भन्ने कहिलै लागेन । हामीसँगैका धेरै साथीहरु पार्टी छोडेपनि तर मलाई कहिलै त्यस्तो लागेन । किनभने म पार्टी, आन्दोलन, जनताप्रतिवद्ध भएर जनयुद्धमा लागेकी थिए ।

शान्तिप्रक्रियापछि

पार्टी शान्तिप्रक्रियासँग हामी पनि काठमाडौँमै बस्यौं । हामी कलाकारहरु समूहमै बस्थ्यौं । पार्टीको कार्यक्रमअनुसार देशभर हुने कार्यक्रममा जान्थ्यौं । पहिलो संविधान सभा निर्वाचनमा विभिन्न उम्मेदवारहरुलाई जिताउन भोकभोकै विभिन्न जिल्लाहरुमा पुग्यौं ।
ब्यारेक बसाईपछि जनमुक्ति सेनामा सुरुसुरुमा निरासा पैदा भयो । पार्टीले सातै डिभिजनमा साँस्कृतिक कार्यक्रम गर्ने जिम्मा कलाकारहरुलाई दियो । जनमुक्ति सेनाका सातै डिभिजनमा पुगेर पार्टी, जनता र वर्गप्रति प्रतिवद्ध हुने गीत, नृत्य, अपेरा, नाटकहरु प्रस्तुत गर्यौं ।

पार्टी सत्तामा पुगेपछि कलाकारहरु संकटमा पर्दै गए । काठमाडौँमा बसेको घर भाडा तिर्ने र साँझ विहानको समस्या हुन थाल्यो । नेताहरु व्यक्तिगत स्वार्थतिर लागेको अुनभूति हुन थाल्यो । पार्टीलाई कलाकार बोजजस्तै हुन थाले । व्यवस्थापनमा समस्या आउन थाले । जनयुद्ध भन्दाबढी दुःख काठमाडौँ बसाईमा भयो । जनतासँग हुँदा दुःख, सुख बारबर हुन्थ्यो । काठमाडौँमा भने नेताहरु चिल्ला गाडीमा हिड्न थाले । अग्ला घरमा डेरा गर्न थाले तर कलाकारहरुको बेजोग ।

पार्टीले व्यवस्थापन गर्न नसकेर कलाकारहरुलाई विघटन गरेर जिल्ला जिल्लामा पठाउने निर्णय गर्यो ।

जनयुद्धमा देखेको सपना 

जुन सपना देखेर जनयुद्धमा लागेका थियौं त्यो पूरा नभएन नै । निश्चित तप्काको जीवनमा परिवर्तन भएपनि जनताको जीवनमा कुनै परिवर्तन अाएको जस्तो लागेको छैन । राजतन्त्र ढल्नु गणतन्त्र अाउनु राजनीतिक सफलता भएपनि त्यसले जनताको जीवनमा पुरानै तन्त्र छ । सिटामोल नपाएर मर्ने मरेकै छन् । राज्यको ढुकुटीबाट पैसा झोलामा हालेर विदेश जाने गएकै छन् ।

जनयुद्धले जुन व्यवस्थाको कल्पना गरेको थियो, त्यहीअनुसार जनतामाझ गीत गयौं । गीत-संगीतबाट जनतालाई जुन सपना  बाडेका थियौं, त्यो पूरा नभएको छैन । संविधान बनेको छ । कम्युनिस्ट सरकार बन्न लागेको छ । केही हुन्छ की भन्‍ने अाशा जनतामा छ । त्यो हेर्न केही दिन कुर्नु नै पर्छ ।

राज्यसत्ता, राष्ट्रियता, जनजिवीकाबारे जुन गीतमार्फत जनतालाई धेरै सपना बाडियो तर अहिले पूरा नहुँदा त कहिले कहीँ त खिन्‍न पनि लाग्छ । निर्मलाले जनवादी गायक स्व.खुशीराम पाख्रिन र माइला लामालाई प्रेरणा स्रोत भएको ठान्छन् ।

पत्रकारिता

कलाकारहरुलाई जिल्ला पार्टीको सम्पर्कमा जाने निर्णय गरेसँगै म पत्रकारितामा लागे । धेरै साथीहरु जिल्ला जिल्लामा गए तर म रेडियो मिर्मिरेमा जोडिए । सानैमा जनयुद्धमा लागेका कारण छुटेको पढाईलाई पनि जोड्ने योजना बनाए । गीत–संगीतबारे जानकारी भएपनि पत्रकारिता मेरो लागि नयाँ थियो । रेडियोमा प्रवेश गरेपछि मात्रै पत्रकारिताबारे जानकारी भयो । तर, छोटै समयमा काम गर्न सक्ने भएको महशुस भयो । रिपोर्टिङबाट सुरु भएको पत्रकारिता समाचार वाचनसम्म पुग्यो ।

सुरुसुरुमा गारो भएपनि विस्तारै पत्रकारिताप्रतिको मोह बढ्दै गयो । अनि पत्रकारिता नै पढ्ने निर्णय गरे । अहिले पत्रकारितामै स्नातक पूरा गरिसके ।

गीत संगीतमै पूर्णकालिनः जनवादीसँगै व्यवसायीक गीतहरु

पार्टीको आन्तरिक अन्तरविरोधका कारण लामो समय रेडियोमा रहेर काम गर्ने वातावरण बनेन् । त्यहाँबाट निस्केर फेरि गीत संगीतलाई निरन्तरता दिने निधो गरेँ । नेपालमा जनवादी गीतहरुले व्यवसायीक रुप लिन सकेका छैनन् । कलाकारहरुले जनवादी गीत गाएरै मात्र बाच्न गारो छ । त्यसैगरी व्यवसायीक भनिएका बजारमा बिक्ने गीतहरु गाउँनु पर्ने बाध्यता छ । आन्दोलन कमजोर भएको बेला जनवादी गीतहरु बजारमा बिक्दैनन् ।

जनवादी गीत भनेको अधिकार, समानता, राष्ट्रियताको पक्षमा हुन्छन् । जनताको जीवनसँग जोडिएका हुन्छन् । त्यसको तुलना पैसासँग हुँदैन । विगतमा सबै व्यवस्थापन पार्टीले गर्थ्यो  तर अहिले आफैले गर्नुपर्ने भएकोले जनवादी गीतहरु गाएरमात्रै त्यो सम्भव छैन । त्यसैले अहिले केही बजारले मागेका गीतहरु पनि गाएकी छु । ती गीतहरुले पनि समाजलाई नराम्रो भन्दा राम्रो नै पारेको छ । अहिले केही आधुनिक गीतहरु गाएकी छु । जनवादी गीतहरुलाई बजारीकरण गर्नुपर्छ भन्नेमा जोड दिइरहेकी छु ।

अन्तर्राष्ट्रिय अवार्डमा छनोटः

निर्मलाले गाएको गीत मलेसियामा हुन गइरहेको पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट भएको छ । महिलातर्फ गायनमा ‘सेलो’ मा निर्मला छनोट भएकी हुन् ।

म्युजिक अवार्डको लागि सेलो महिला गायनतर्फ ‘होई च्याङ्बा ओई च्याङ्बा’ बोलको गीत छनौटमा परेको छ । यो सन् २०१७ कै  सर्वाधिक लोकप्रिय सेलो गीत पनि हो ।

गायीका घिसिङले आफूलाई भोट गर्न आग्रह गरेकी छन् । उनलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर कोड 11 D टाइप गरी NTC र Ncell मा 35005 मा म्यासेज पठाउनुपर्नेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]