Dabali News

यस वर्षको पहिलो याममा ९ नाउर र ५ झारलको शिकार

२९ कार्तिक

काठमाडौं । ढोरपाटन शिकार आरक्षमा ९ नाउर र ५ झारलको शिकार गर्न खोलिएको छ ।

विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य मानिएको आरक्षमा यस वर्षको पहिलो यामको शिकार चलिरहेको आरक्ष कार्यालयले जनाएको छ ।

यस वर्ष पहिलो यामका लागि १० नाउर र ६ झारलको शिकार खेल्ने अनुमति दिएकोमा शिकार कम्पनीले हालसम्म १ नाउर १ झारलको मात्र शिकार गर्न बाँकी रहेको जनाएको छ ।

शिकारका लागि शिकार कम्पनीले एउटा नाउरको बढीमा १२ लाख ५ हजार र एउटा झारलको ९ लाख २० हजार राजश्व विभागलाई बुझाएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको बोलपत्र प्रक्रियाबाट ४ कम्पनीले शिकारी पठाउने जिम्मा पाएकामा यस याममा ३ कम्पनीले विभागसँग सम्झौता गरी १० शिकारीलाई शिकारका लागि आरक्षमा पठाइएको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख अणनाथ बरालले जानकारी दिए ।

विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकार गर्नका लागि अमेरिका, रसिया, स्पेनलगायतका मुलुकका शिकारी आउने गरेका छन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी आउने गरेको शिकार आरक्ष कार्यालयको भनाई छ ।

यस याममा ‘हिमालयन सफारी’ ले ४ वटा नाउर र १ झारल शिकार गर्ने सम्झौता गरेकोमा ३ वटा नाउर र १ झारलको शिकार गरिसेको छ । बाँकी १ नाउर शिकारका लागि आरक्ष क्षेत्रमा शिकारी आइसकेको आरक्ष कार्यालयले जनाएको छ ।

हरेक वर्ष असोज महीनादेखि मङ्सिर महीनासम्म पहिलो यामको शिकार गरिन्छ । यस्तै ‘ट्रयाक एण्ड टुर्स’ कम्पनीबाट २ नाउर र २ झारलको शिकार भइसकेको छ । ग्लोबल सफारीले ३ नाउर र १ झारलको शिकार गराउने सम्झौता गरेकोमा १ नाउरको शिकारका लागि शिकारी टोली अहिले शिकार आरक्षमा पुर्याएको छ ।
यस्तै ‘वाइल्ड लाइफ सफारी’ ले १ नाउर र २ झारलको शिकार सम्झौता गरेको छ । उसले शिकार गराइसकेको आरक्ष कार्यालय प्रमुख बरालले बताए ।

यस आवको पहिलो यामबाट १ करोड ८५ लाख राजश्व सङ्कलन भएको छ । सरकारले वि.सं. २०४२ मा शिकार आरक्ष स्थापना गरेपछि विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो । विश्वमा वैधानिक रूपमा शिकार गर्न पाइने सयौँ शिकार आरक्ष भए पनि विश्वमा प्रख्यात शिकारीले नेपालको ढोरपाटन शिकार आरक्ष मुख्य गन्तव्यका रुपमा लिने गरेका छन् ।

१५ दिनको शिकार अनुमतिसहित शिकार गर्न आउने शिकारी पर्यटकले आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा भाले नाउर वा झारलको मात्र शिकार गर्न पाउने व्यवस्था छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]