
२८ कार्तिक
काठमाडौं । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा पहिलो पटक विशिष्ट श्रेणीमा महिला पुगेकी छिन् ।
प्रहरी अस्पतालमा कार्यरत डा.दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । उनलाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाई दिए ।
आइतबारको मन्त्रिपरिषद बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रूपमा अब उनले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्ने भएकी हुन् ।
यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए । पार्वती थापा र विमला थापा ७ वर्षअघि डिआइजीमा बढुवा भएका थिए । उनीहरूको अवकाश सोही पदबाटै भएको थियो ।
उनीहरूलाई विशेष पद सिर्जना गरेर डिआइजी बनाइएको थियो । एआइजीमा पदोन्नति भएकी थापा दन्त चिकित्सक हन् । दर्ज्यानी चिह्न ग्रहण गरेपछि उनले अस्पताललाई आधुनिक र अनुशासित बनाउँदै तथा त्यहाँ कार्यरत कर्मचारीको मनोबल उच्च राख्दै जिम्मेवारी सम्हाल्ने बताएकी छिन् ।