Dabali News

सिक्टा सिँचाइबाट पप्पु कन्ट्रक्सन लखेटियो, यस्तो छ कारण

२८ कार्तिक

काठमाडौं । सरकारले सिक्टा सिँचाइ आयोजनामा पप्पु कन्ट्रक्सनसँगको ठेक्का सम्झौता रद्द गरेको छ । अायोजनाको डुडुवा नहर निर्माणको काम निर्धारित समयमा पूरा नगरेपछि सम्झौता तोडिएको हो ।

ठेक्का तोडिएलगत्तै सरकारले नयाँ टेन्डर खोलेको छ । पप्पुले डुडुवा नहर प्रणाली निर्माणको काम २८ महिनामा सक्ने गरी ठेक्का लिएको थियो । अवधि पूरा हुँदासम्म जम्मा ७ प्रतिशत काम गरेको थियो ।

‘हामीसँग सम्झौता भएको समयमा जम्मा ७ प्रतिशत मात्रै काम भएपछि मन्त्रिपरिषदले ठेक्का तोडेको हो,’ सिक्टा सिँचाइ आयोजना नेपालगञ्जका आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भने, ‘नयाँ ठेक्का भएपछि कामले तीव्रता लिने विश्वास छ ।’ डुडुवा नहर निर्माणको काम २०७३ जेठदेखि शुरु गरी २०७५ पुुस ४ सम्म पूरा गर्ने लक्ष्य थियो ।

पप्पुले निर्माणको काम अगाडि नबढाएपछि सिक्टा आयोजनाले २०७४ पुस ३० मा सिँचाइ विभागलाई पत्राचार गरी काम गर्ने निर्माण कम्पनीबारे धारणा मागेको थियो । उक्त निर्माण कम्पनीले ३२.२ किलोमिटर डुडुवा नहर निर्माण र सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्न ९८ करोड ८१ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।

नहर निर्माणपछि त्यस क्षेत्र आसपासका १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने विश्वास गरिएको छ । पप्पुले समयमै काम नगरिदिएका कारण उक्त आयोजनाको काम थप २ वर्ष पछाडि धकलिएको छ ।

त्यस्तै निर्माण लागत बढ्ने अनुमान गरिएको छ । ‘सिक्टा सिँचाइ आयोजनाको काम समयमै सक्न पहिलो चरणमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न थालेका छौं,’ आयोजना प्रमुख नेपालले भने, ‘त्यससँगै आयोजनामा देखिएका समस्या समाधान गर्न पहल थालिएको छ ।’ पप्पुले ओगटेको अर्को ठूलो आयोजना जिल्लाको नौबास्तामा खुला कारागार निर्माणको काम पनि अलपत्र छ । उसले भ्याटबाहेक ३९ करोड रुपैयाँमा ठेक्का लिएको हो ।

कारागार निर्माणका लागि ठेक्का लिएको डेढ वर्षसम्म भने ५ प्रतिशत पनि काम भएको छैन । सहरी विकास तथा भवन डिभिजन कार्यालयले उक्त ठेक्का दिएको हो । ठेकेदारले बैंक ग्यारेन्टी राखेर काम शुरु गर्न २० प्रतिशत अर्थात ७ करोड रुपैयाँ पहिलो किस्ता बुझिसकेको छ ।

सहरी तथा डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले डेढ वर्षमा निकै कम काम भएको बताए । उनले कामलाई गति दिन पटक-पटक पत्राचार गर्दै आएको दाबी गरे । ‘कामलाई गति दिन ठेकेदारलाई पटक–पटक पत्राचार गरेका छौं तर काम अगाडि बढेको छैन,’ उनले भने, ‘यस्तो अटेरी गर्नेलाई कारबाही पनि गर्न सकेका छैनौं ।’ ठेक्काको अवधि अझै पनि १ वर्ष बाँकी रहेका कारण कारबाही गर्न समस्या भइरहेको डिभिजनले जनाएको छ ।

स्थानीय प्रशासनले पनि कामलाई गति दिन चेतावनी दिँदै आएको छ । त्यस्तै पप्पुले निर्माण गरेको राँझा–जमुनाहाको ११ किलोमिटर चार लेन सडक हस्तान्तरण नहुँदै भत्केको छ । एसियाली विकास बैंकको सहयोगमा निर्माण गरिएको उक्त सडक २ वर्षमा पूरा गर्ने लक्ष्य थियो । हालसम्म पनि हस्तान्तरण हुन सकेको छैन ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]