Dabali News

केपी र प्रचण्डले चुनावको घोषणापत्र पढेकै छैनन्ः गौतम

२३ कात्तिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले पार्टीका दुबै अध्यक्षलाई चुनावी घोषणपत्र पढ्न सुझाव दिएका छन् । केही समयदेखि चुनावी घोषणापत्र पार्टी नेतृत्व र सरकारले कार्यान्वयन नगरेको बताउँदै आएका गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पढ्न सुझाव दिएका छन् ।

चुनावी घोषणापत्र तयार गर्ने कमिटीका संयोजक समेत रहेका नेता गौतमले ओली र दाहालले उक्त घोषणापत्र नपढेको अर्थ आउने गरी दोहोर्याएर पढ्न सुझाव दिए । देउसी खेल्न निवासमै पुगेका पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले भने, “तत्कालिन् एमाले र तत्कालिन् माओवादी केन्द्रले साझा घोषणापत्र जारी गरेर हामी निर्वाचनमा गयौं । घोषणापत्रमा उल्लेख भएका विषयहरु लागु नभएसम्म हामी सुखी र समृद्ध हुनै सक्दैनौं । घोषणापत्र दोहोर्याएर हेर्न आग्रह गर्दछु ।” उनले साझा घोषणापत्र कार्यान्वयनको लागि पत्रकारहरुलाई दवाव दिन आग्रह समेत गरे ।

नेता गौतमले प्रधानमन्त्री ओलीले मात्रै नभए वर्तमान अर्थमन्त्रीले पनि साझा घोषणापत्रअनुसार नीति तथा कार्यक्रमहरु नल्याएको बताए । “निर्वाचनको बेला जारी भएको घोषणापअनुसार सरकारको नीति तथा कार्यक्रम पनि ल्याउनु पर्छ । बजेटपनि त्यही अनुसार आउनुपर्छ” गौतमले भने । वर्तमान सरकारले जनताको अपेक्षा पूरा नगरेको बताए ।

गौतमले पार्टीको सचिवालय बैठकमै आफूलाई चुनाव लडाउने निर्णय भएको दाबी समेत गरे । “कतिसम्म गर्नुभएको हो भने निश्चित जित्ने निर्वाचन क्षेत्रमा तपाई जानुपर्छ भन्नुभएको हो । अनि निर्वाचित सदस्यले जिताउँछौं र जनताले पनि जिताउँछौं भन्नुभयो भने तपाईँ जानुपर्छ भनेर निर्णय भएको हो” गौतमले भने ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]