Dabali News

अब धितोपत्र कारोवार पूर्ण स्वचालित अनलाइन प्रणालीमा

२० कार्तिक

काठमाडौं । घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ ।

आजदेखि नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको शुभारम्भ गरे ।

शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी कहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्ने छन् ।

स्टकले गत साउन १ गतेदेखि परीक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत गरिसकेका छन् । शेयर कारोवारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यका साथ नयाँ प्रविधि जडान गरिएको हो ।

यसअघि शेयर कारोवार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने बाध्यता थियो । नयाँ प्रणालीको जडानसँगै कारोवार गर्दै आएकाले दलालमार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्ने छन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नं.अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुङ्गा सावित हुने विश्वास स्टकले लिएको छ ।

गत साउन १ गतेदेखि परीक्षणको रुपमा रहेको उक्त प्रणालीको सञ्चालनपछि बजार विस्तार हुने, कारोवारमा वृद्धि हुने तथा शेयरमा लगानीकर्ताको समेत बढावा हुने बताइन्छ । अर्थमन्त्री डा.खतिवडाले संस्थागत लगानीकर्तालाईसमेत धितोपत्र बजारमा प्रवेश गराउने प्रयासमा सरकार लागि परेको बताए ।

बजारको विविधिकरणका लागि कमोडिटी मार्केट, म्युचअल फण्डको विस्तारलाई समेत जोड दिइएको स्पष्ट पार्दै डा. खतिवडाले भौतिक पूर्वाधारको विकासका लागिसमेत जोड दिइएको उल्लेख गरे । विगत ३ वर्षदेखि देशको आर्थिक वृद्धि ६ प्रतिशत बढी भइरहेको भन्दै सरकारले चालु आवमा ८ प्रतिशतको वृद्धि हुने लक्ष्य राखेकामा त्यो प्राप्त हुने बताए ।

इन्टरनेटको माध्यमबाट कारोवार गर्न सकिने, पूर्ण स्वचालित प्रणालीको उपयुक्त व्यवस्था, ब्रोकर व्यवस्थापन, सुपरिवेक्षण, धितो तथा भुक्तानी प्रणालीसमेत उपलब्ध भएकाले बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ ।

विसं २०५० मा नियमित बजार सञ्चालनका लागि सदस्य दलालले चिच्याएर आदेश दर्ता गर्न लगाउने र नेप्सेका कर्मचारीले सेतोपाटीमा उक्त आदेश लेख्ने गरी कारोवार हुने गरेको थियो । विसं २०६४ मा ‘सेमी अटोमेटेड टे«डिङ’ प्रणाली शुरु भएको थियो ।

यस्तै विसं २०७२ देखि कागजी शेयर प्रमाणपत्रलाई विद्युतीय स्वरुपमा ढालेर कागजरहित कारोवार, राफसाफ, फछ्र्यौट गर्न थालियो । नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीलाई कार्यान्वयनमा ल्याएर विश्वस्तरको दोस्रो बजार सेवा प्रदान गर्न लागिएको स्टकले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]