Dabali News

चिनियाँ बजार सबैको लागि खुला छः सी जिनफिङ

२० कार्तिक

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ बजारको पहुँचलाई खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्वका ठूला अर्थतन्त्र भएका देशले चीनले प्रतिबद्धता व्यक्त गरे बमोजिम सुधारका कदम नचालेको आरोप लगाइरहेका बेला राष्ट्रपति सीको सोमबार यस्तो प्रतिबद्धता आएको हो ।

चीनले आयातित वस्तुको घरेलु उपभोगमा मद्दत गर्ने, करलाई न्यूनिकरण गर्ने, भन्सार जाँचपास कार्यविधिलाई सहज बनाउने तथा बौद्धिक सम्पत्तिको उल्लङ्घन गर्नेविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

‘हामी विश्वस्तरीय व्यावसायिक वातावरण निर्माण गर्नेछौं,’ सांघाईमा आयोजित आयात मेलामा सम्बोधन गर्दै राष्ट्रपति सीले बताए । उनले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुक चीन र अमेरिकाबीचको व्यापार युद्धले विश्व अर्थव्यवस्थामा समस्या निम्त्याउने खतरा रहेकोसमेत औल्याएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

राष्ट्रपति सीले अमेरिकी राष्ट्रपतिको नाम नलिई राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व खुला व्यापारमा समस्या आइरहेको आरोप पनि लगाएका छन् । राष्ट्रपति सीले अमेरिकी संरक्षणवाद, पृथकतावाद, र झगडालू प्रवृत्तिको आलोचना गर्दै अरुको घरमा आक्रमण गर्नुअघि आफ्नै घरभित्रका समस्या सुल्झाउनु पर्नेमा जोड दिएका छन् ।

‘आफ्ना समस्या ढाकछोप गर्न अरुमाथि औंला ठड्याउनु ठीक होइन,’ उनले भने । बेइजिङले पहिलो वार्षिक चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई खुला बजारप्रतिको प्रतिबद्धताको एक संकेतका रुपमा लिएको छ । अमेरिका र चीन दुवैले एक अर्काका उत्पादनमाथि करवृद्धि गरेका कारण व्यापारिक तनाव शिखरमा पुगेको छ । सांघाई एक्स्पोमा जेनेरल मोटर्स, फोर्ड, माइक्रोसफ्ट, सामसुङ, वाल्मार्ट र टेस्लासमेतका कम्पनीले भाग लिएका छन् ।

आयोजकले संयुक्त राज्य अमेरिका, युरोप र एसियाली क्षेत्रसमेतका १ सय ३० मुलुकका ३ हजारभन्दा बढी विदेशी कम्पनीका सामग्री प्रदर्शनीमा राखिएको बताएका छन् । प्रदर्शनीमा रसियाका प्रधानमन्त्री दिमित्री मेडभेडेभ र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसमेत गरी विभिन्न देशका सरकार प्रमुखहरु सहभागी रहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]