Dabali News

‘होम वायोग्यास’ ले सिलिन्डर ग्यासको युग समाप्त गर्ने

१९ कात्तिक

काठमाडौं । फोहोरबाट ग्यास निकाल्ने इजरायली प्रविधि भित्रिएपछि घरमा ग्यास सिलिन्डरको युग नै समाप्त हुने भएको छ ।

‘होम वायोग्यास’ नामक बायोग्यास प्लान्टको शनिबार काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् ।

घिमिरेले होम वायोग्यासबारे स-विस्तारमा बताउँदै भने,‘पाँच जनाको परिवार छ हाम्रो, भान्छाबाट २-४ केजी फोहोर दैनिकजसो निस्किहाल्छ, अब त नाकाबन्दी भए पनि सिलिण्डर खोज्दै भौतारिनु पर्दैन ।’
घरको छतमा राखिएको होम वायोग्यास प्लान्टमा घिमिरेले भान्छाबाट निस्किने तरकारीका बोक्रा, खेर गएको भात लगायत कुहिने किसिमका फोहोर हाल्ने गरेका छन् ।

सो फोहोरबाट आगो बल्ने मिथेन ग्यास उत्सर्जन हुन्छ । मिथेन ग्याँसलाई पर्यावरणीय हिसाबले पनि उपयुक्त मानिन्छ । ‘एकातिर फोहोर पनि तह लाग्ने, अर्कोतिर खाना पनि पाक्ने,’ उनले सुनाए, ‘दोहोरो फाइदा छ ।’ फोहार विसर्जन गर्ने झण्झट टर्नुका साथै त्यसबाट निस्किएको प्रांगारिक तरल मल गमलामा रोपेको काउली, रायो सागमा हालेपछि हलक्कै बढेको देखेर उनी मख्ख छन् ।

काठमाडौं उपत्यकामा घरायसी फोहोर व्यवस्थापन चुनौतिपूर्ण बन्दै गईरहेको बेलामा यो प्रविधि निकै उपयोगी हुनसक्ने उनले बताए । आफ्नो टोलमा सरसफाई अभियान चलाउँदै आएका घिमिरेलाई होम वायोग्यासमा पहिल्यैदेखि चासो थियो । तर, आफैले प्रयोग नगर्दासम्म उनी यसप्रति विश्वस्त हुन सकेका थिएनन् ।

आफ्नै घरमा जडान गरेपछि भने उनले अरुलाई पनि यसबारे बुझाउन थालेका छन् । एडन इञ्जीनियरिङ सोलुसन प्रालिले इजरायलमा विकसित होम वायोग्यास प्रविधि नेपाल भित्र्याएको हो । इजरालयको होम वायोग्यास कम्पनीले गोबर ग्यासकै उन्नत स्वरुपका रुपमा यसलाई विकसित गरेको उक्त कम्पनिको वेबसाइटमा उल्लेख छ ।

स्थापनाको सुरवातमा प्लान्टको तल्लो भागमा ५० किलो गोबर र माथिल्लो भागमा बालुवा हाल्नुपर्छ । गोबर हाल्दा ग्यास उत्सर्जनको प्रक्रिया चाँडो हुने र त्यसपछि कुहिने फोहोर मात्रै हाले हुने एडन इञ्जीनियरिङ सोलुसन प्रालिका निर्देशक सागर भट्टले बताए । उनका अनुसार इनलेटबाट फोहोर हाल्नेदेखि लिएर ग्यास निस्किनेसम्म गरी यसका मुख्य पाँच प्रक्रिया छन् ।

सुरुमा भान्छाबाट निस्किएका फोहोरमध्ये कुहिने किसिमका फोहोर छुट्टाएर प्लान्टको इनलेटबाट भित्र पठाइन्छ । इनलेटबाट दैनिक ६ लिटरसम्म कुहिने फोहोर हाल्न सकिने निर्देशक भट्टले बताए । यो फोहोर प्लान्टको तल्लो तहको ट्यांकीमा जान्छ र त्यहिंबाट वायोग्यास उत्सर्जन हुन थाल्छ ।

त्यसरी फोहोरबाट उत्सर्जन भएको मिथेन ग्यास माथिल्लो भागमा रहेको ट्यांकमा कम चाप रहने गरी जम्मा हुन्छ । त्यहाँबाट पासआउट हुने ग्यासलाई पाइपका माध्यमले भान्छासम्म पुर्याएर चुलोमा जोडिन्छ । इनलेटको ठिक पछाडि लिक्वीड फर्टिलाइजर (तरल मल) निश्कासन हुने पाइप दिइएको छ ।
तरल मल बाहिरिनुअघि त्यसमा ब्याक्टेरिया मार्ने किटनासक औषधिसमेत मिसिने हुनाले तरकारीका बोटविरुवामा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । यसलाई घरको छतमा वा २० डिग्रीभन्दा बढी तापक्रम हुने ठाउँमा राख्नुपर्ने भट्ट बताउँछन् । तापक्रम धेरै हुँदा फोहरबाट उत्पादन हुने ग्यासको मात्रासमेत बढ्ने उनको भनाई छ ।

पोलिइथाइलिनबाट बनेको उक्त बायोग्यासको आयु १० वर्ष हुने र घामपानीबाट असर पनि नगर्ने बताइएको छ । आगोबाट भने यसलाई जोगाउनुपर्छ । ‘कुहिने किसिमका ३ किलो फोहर हालेपछि ३ घण्टा ग्यास बल्छ, ५-७ जनाको परिवारलाई मज्जाले पुग्छ’, भट्टले भने ।

प्लान्ट जडानका लागि आवश्यक सबै सामग्री कम्पनीले नै दिने भएकाले गोबर ग्यासको तुलनामा यसको लागत केहि महंगो छ । इजरायलबाट नेपालसम्म ल्याउँदा लागत १ लाख पर्ने गरेको भट्टले बताए ।

तर, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले त्यसमा १० हजार अनुदान दिएकाले सर्वसाधारणलाई ९० हजारसम्ममा उपलब्ध गराउन सकिने उनको भनाई छ । होम बायोग्यासको टङ्याकी पोलिइथाइलिन, रबरबाट बनेको र त्यसको दुई पत्र हुने भएकाले गन्हाउने, लिकेज हुने समस्या नआउने कम्पनीको दाबी छ ।

बढ्दो जलवायु परिवर्तनको कारक मानिएको कार्वन उत्सर्जन नहुने भएकाले यो वायोग्यासलाई वातावरणमैत्री मानिन्छ । ठूलो परिवार र व्यवसायीक प्रयोजनका हकमा यसले एलपी ग्यासलाई पुरै विस्थापित गर्न नसके पनि ६० प्रतिशत हिस्सा ओगट्न सक्ने बताइन्छ ।

होम वायोग्यास हाल इजरायलसहित फिजी, ग्वाटेमाला, केन्या, टर्की, मेक्सिको, अमेरिका, अष्ट्रेलिया, अर्जेन्टिना, थाइल्याण्ड, इण्डोनेशिया, भारत गरी विश्वभरका ३ हजार परिवारले प्रयोग गर्दै आएको उक्त कम्पनीको वेबसाइटमा जनाइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]