Dabali News

Ad

राप्रपाको नीति र नेतृत्वको विकल्प छैन

श्यामबहादुर शाही, केन्द्रीय सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी

हालै केन्द्री समितिको बैठक सम्पन्न भयो, चुनावको परिणामलाई कसरी समिक्षा कसरी गर्नुभयो ? 

निर्वाचनको परिणाम अप्रत्याशित र निराशाजनक नै आयो, यसमा दुईमत हुने कुरा भएन । पार्टीको नीति, नेतृत्व, विचार र सिद्धान्तको कारण यो परिणाम आएको होइन । तीनओटा कारणले यस्तो परिणाम आएको हो । जसमा पहिलो, पार्टीको रणनीति र कार्यनीतिबीच तालमेल मिलाउन नसक्नु, दोस्रो, पार्टीविरुद्धको देशी–विदेशी शक्तिहरुको चलखेल रोक्न नसक्नु र वामपन्थी गठबन्धनसँग प्रतिवाद गर्नेगरी लोकतान्त्रिक गठबन्धन बन्न नसक्नु हारका मुख्य कारण हुन् ।

चुनावमा जानुअघि यस्तो परिणाम आउने भन्ने केही सोँच्नुभ एको थियो ?

सरकारमा सहभागी पार्टी माओवादी केन्द्र प्रमुख प्रतिपक्ष पार्टीसँग गएर चुनावी गठबन्धन गर्ला भन्ने लागेको थिएन । तर, पनि आकस्मिक रुपमा त्यो भयो । यसले पनि केही समस्या त पैदा गरेको थियो । त्यसमा लोकतान्त्रिक गठबन्धन मुख्यगरी नेपाली काँग्रेसले इमान्दार नबन्नु र आन्तरिक समस्या समाधान गर्न नसक्नु, केन्द्रदेखि जिल्लासम्म गठबन्धनको भाव पैदा गर्न नसक्नु कमजोरी रहे ।

एमाले अध्यक्ष ओलीले तपाईँको पार्टी अध्यक्ष कमल थापालाई बोलाएर आफ्नो वठबन्धनमा आउन आग्रह गर्नुभएको थियो, गएको भए केही सिट त आउथ्यो होला, किन जानु भएन ?

हो, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएरै गठबन्धन गरौं भन्नु भएको कुरा अध्यक्षले बैठकमा जानकारी गराउनु भएको थियो । तर, राजनैतिक, विचार, सिद्धान्तसँगै केही प्राविधिक कारणले एमालेसँग चुनावी गठबन्धन हुन सकेन । सत्तारुढ पार्टी विपक्षीसँग गएर चुनावी तालमेल गर्नु अनैतिक हुन्थ्यो, त्यो पार्टीले गरेन । माओवादीले अनैतिक काम गरेपनि हामी गर्न चाहेनौं ।

चुनावमा तपाईँहरुलाई नेपाली काँग्रेसले धोका दियो भनेर पनि बैठकमा आवाज पनि उठ्यो, के यो बैठकको निष्कर्ष नै हो ?

पराजयका कारणबारे छलफल हुँदा त्यो कुरा पनि उठेको हो । काँग्रेसले लिखित सम्झौता गर्न नमान्नु, पार्टी केन्द्रमा भएको सहमतिको काँग्रेसले पालना गरेन । काँग्रेस र हाम्रो पार्टीबीच संघमा ७ र प्रदेशमा ३० सिट दिने मौखिक सहमति भएको थियो । तर, त्यसमा काँग्रेस इमान्दार भएन । केन्द्रमा चार र प्रदेशमा २ मै सिमित गरिदियो । त्यसैगरी सहमति तोडेर कृष्णप्रसाद सिटौला झापामा गएर चुनाव लड्नु भयो । यसको असर अन्य ठाउँमा परेको हो । सिटौलाजीको निर्णयले गठबन्धनमा अविश्वास पैदा गरिदियो । काँग्रेसले केन्द्रमा भएको सम्झौता स्थानीयस्तरमा सर्कुलर नै गरेन ।

राप्रपा एक्लै चुनावमा गएपनि थ्रेसहोल्ड कटाउन नसक्ने पार्टी होइन । हामीले सबै ठाउँमा उम्मेदवार उठाउन पाएनौं । उम्मेदवार नहुँदा हाम्रो भोट पनि काँग्रेसलगायत अन्य पार्टीलाई गयो । देशभर एक्लै उम्मेदवार उठाउने हैसियत राप्रपा हिजो पनि राख्थ्यो, आज पनि राख्छ र भोली पनि ।

रणनीति र कार्यनीतिबीच तालमेल मिलाउन सकिएन भन्नुभयो, अब यसलाई कसरी मिलाउनु हुन्छ ?

केन्द्रीय समिति बैठकले निर्वाचन समिक्षा तथा अध्ययन समिति गठन गरेको छ । त्यसको एक सदस्य म पनि हुँ । यसले आगामी फागुनमा बस्ने केन्द्रीय परिषद् बैठकमा प्रतिवेदन पेश गर्नेछ । समितिको प्रतिवेदनमा आधारित रहेर अगाडि बढ्छौँ । जनताको म्याण्डेटअनुसार सडकको मोर्चा समाल्ने छौं । राष्ट्रियता, जनतन्त्र र जनजिबीकाका सवालमा जनतासँगै रहने छौं ।

चुनावको परिणामले तपाईँहरुले भन्दै आएको संवैधानिक राजतन्त्र र हिन्दूराज्यको एजेण्डलाई अस्वीकार गरेको भन्ने लागेको छैन ?

त्यो कदापी होइन, संवैधानिक राजतन्त्र र हिन्दूराज्यप्रति जनताको आस्था र आशा कायमै छ । मात्र हामीले रणनीतिअनुसार व्यवहार मिलाउन नसकेका हौँ र देशी–विदेशी शक्तिहरुको खेललाई रोक्न सकेनौं । देशका र केही बाहिरका शक्तिले राजतन्त्र र हिन्दूराज्यको एजेण्डलाई असफल गराउन खेल खेलेका थिए । त्यो पार्टी एकता र विभाजनले पनि पुष्टि गर्छ । संवैधानिक राजतन्त्र र हिन्दूराज्यको एजेण्डालाई कमजोर बनाउन जसरी पनि राप्रपालाई राष्ट्रिय पार्टी हुनबाट रोक्ने खेल भयो ।

अहिले त पालैपालो सरकारमा गइरहनु भएको थियो, अबका पाँच के गर्नुहुन्छ ?

जनताले हामीलाई सदन होइन, सडकमा बस भनेका छन् । अब पाँच वर्षसम्म हामी संगठन विस्तार गर्छौै । पार्टीका एजेण्डलाई जनतामाझ पुर्याउँछौँ । पार्टी विचार र सिद्धान्तबारे गाउँगाउँसम्म प्रशिक्षण चलाउँछौँ । सरकारले जनताविरुद्ध गर्ने निर्णयको विरोध गर्छौँ । पाँच वर्षपछि फेरि शक्तिशाली पार्टीको रुपमा राप्रपा नेपाली राजनीतिमा आउने कुरामा कुनै शंकै छैन । त्यहीअनुसारको योजना बनाएर पाँच वर्ष जनताको पक्षमा संघर्ष गर्छौँ ।

राप्रपाहरुबीचका एकीकरणले तपाईँहरुलाई घाटा पुर्यायो, पार्टी एकता गलत थियो ?

सैद्धान्तिक रुपमा विचार मिल्ने पार्टीहरुबीच एकता हुनु राम्रो हो । हाम्रो एकता पनि त्यहीअनुसार भएको हो । पार्टी एकता गर्नु ठिक थियो । तर, त्यहाँभित्र भएको खेललाई हामीले बुझ्न नसक्नु कमजोरी हो । एकता हुनुपूर्व राप्रपा चौथो शक्ति थियो । हामीले उठाउँदै आएको एजेण्डा चुनावपछि अनुमोदन हुने डरले ठूलो खेल भयो । राप्रपाका एजेण्डालाई असफल बनाउने एकता नाटक गरियो । त्यही नाटकको पात्र बनेर साथीहरु पार्टीमा आउनु भएको रहेछ ।

हामी पार्टी बलियो होला भन्ने लागेर नै केही प्राविधिक कुरालाई सहेर पनि एकता गर्नुपर्ने भन्ने पक्षमा लाग्यौँ तर डिजाइनमा भएको कुरा हामीले बुझ्न सकेनौं । त्यो एकताले हामीलाई केही क्षति पुर्याएको भने साँचो हो । हामीले सडक संघर्ष गरेर पैदा गरेको सांगठानिक बल एकैछिन कमजोर भयो । राप्रपालाई एक्लै कमजोर बनाउन नसक्ने भएपछि एकता गराउने र फुटाउने कार्यकर्ता तितर–वितर गर्दै जनतामा निरासा पैदा गर्ने डिजाइनमा साथीहरु एकतामा आउनु भएको भन्ने समिक्षा गरेका छौँ । यो हाम्रो पार्टी जीवनमा ठूलो शिक्षाको रुपमा रहनेछ ।

एकतापछि पार्टी अध्यक्ष कमल थापाको महत्वकांक्षाका कारण विभाजन हुनु परेको पशुपति शमशेर समूहले भनिरहेको छ नी ?

हामी चौथो शक्ति हुने बेला उहाँहरु पनि यही हुनुहुन्थ्यो नी । हाम्रो पार्टीको नीति, नेतृत्व र सिद्धान्तकै कारण जनताले विश्वास गरेका हुन् । हाम्रै नेतृत्वले पूर्वदेखि पश्चिमसम्म पदयात्रा गरेर जागरण ल्याएको यही नेतृत्व त हो नी । महत्वकांक्षा होइन नेतृत्व क्षमता हो ।

केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षको राजिनामा पनि माग्नु भो नी ?

यो सरासर गलत हो । बैठकमा पार्टी अध्यक्षको राजिनामाको कुरा एक जनाले पनि गरेका छैनन् । पार्टीको हारको जिम्मा सामुहिक रुपमा लिने हो । अध्यक्षज्यूको कारणले मात्रै पार्टीको हार भएको होइन । हो, जिम्मेवारीको हिसाबले उहाँले धेरै जिम्मा लिनु होला र हामी हाम्रो हिस्साअनुसार ।

म ठोकुवाको साथ भन्छु, राप्रपामा कमल थापाको विकल्प छैन । त्यसैगरी नेपालका राज्य व्यवस्थामा राप्रपाको विचार र नीतिको पनि विकल्प छैन । हाम्रो पार्टीका एजेण्डा असफल गराउने षड्यन्त्रका साथ नेतृत्वमा प्रहार गरिएको छ । सुनियोजित रुपमा बैठकमा नआएका मान्छेहरुको नाम राखेर समाचारहरु आए । यसमा हामी सजग छौं । सामुहिक रुपमा प्रतिवाद गर्नेछौँ । राप्रपाको नीति, नेतृत्व र सिद्धान्त नेपालमा आवश्यक छ भन्ने कुरामा सिंगो पार्टी विश्वस्त छ ।

पार्टीका नेता दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउनु भयो, किन ?

दलिय व्यवस्थाअनुसार दलको सिफारिसमा मन्त्री हुन्छन् । पार्टीको सिफारिसमा मन्त्री भएकाहरुले पार्टीको निर्देशन, परापर्शमा काम गर्नुपर्छ । तर, गिरीजीले त्यो भूल्नुभो । मन्त्री पद दाइजो जस्तै सम्झनुभयो र मनपरी ढंगबाट काम थाल्नुभयो । पार्टीको नीति विपरित काम गरेका कारण पार्टीले उहाँलाई फिर्ता गर्ने निर्णय गरेको हो ।

गिरीले त अरबौं खेल भएकोले फिर्ता गरियो भन्नुभएको छ नी ?

त्यो मन्त्री पद छोड्दाको पीडा र हतास मनस्थिति हो । त्यसमा कुनै सत्यता छैन । उहाँले पार्टीको बैठकमा आएर कुरा राख्न सक्नु पर्थो नी । पार्टी बैठकमा आउन नसक्ने तर बाहिर बोल्नुको कुनै चुक छैन ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]