Dabali News

विशिष्ट अभियान र ताजा अनुभूतिहरू

पृष्ठभूमि

कथित शान्तिप्रक्रियाको असफलता, राजनीतिक प्रतिक्रान्ति, महान् जनयुद्धको मुख्य नेतृत्वमा वैचारिक विचलन, आत्मसमर्पण र महापतन भएपछि दलाल पुँजीवादी सत्ताका विरुद्ध आमजनताको विद्रोह गर्न पाउने अधिकार सुनिश्चित गर्न नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिको पुनर्गठन भएको हो । वर्तमान दलाल पुँजीवादी राज्यसत्तालाई ध्वंस गर्ने र वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने क्रान्तिको नेतृत्व नेकपाले गरिरहेको छ । यो नयाँ क्रान्ति नै एकीकृत जनक्रान्ति हो । यो एउटा विशाल अभियान र आन्दोलन पनि हो ।

सन्दर्भ

सामाजिक दलाल पुँजीवादी केपी–प्रचण्डको सरकारले एकातिर राष्ट्रघात, जनघात र जनविरोधी गतिविधि बेलगाम गरिरहेको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, तस्करी, चर्काे करवृद्धिले जनताको ढाड सेकिरहेको छ । अर्काेतिर कलिलै अवस्थामा क्रान्तिको घाँटी निमोठ्ने दिवासपना देखेर सरकारले नेकपामाथि अघोषित प्रतिबन्ध लगागाउँदै घोषित युद्ध नभए पनि फासिवादी दमन गरिरहेको सन्दर्भमा पार्टीले देशव्यापी ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ (भदौ–असोज) सञ्चालन गर्ने उद्घोष गर्‍यो । उक्त ऐतिहासिक योजनाको सम्प्रेषण र निर्णयको अवगत एउटा अनौपचारिक भेटघाटमा पार्टी स्थायी समिति सदस्य कमरेड सुदर्शनमार्फत भयो । पार्टीले मेरो ठोस जिम्मेवारी ऐतिहासिक राष्ट्रिय अभियानमा एउटा टिम लिडरका रूपमा दिएको कुराले मलाई खुसी, गौरव र जिम्मेवारीबोधको अनुभूति भयो । यो अवधि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा २२ वर्ष, मूलतः समग्र मुक्ति आन्दोलनमा दुई दशकको पूर्णकालीन राजनीतिक जीवनमा एउटा प्रक्रियाको अन्त्य र नयाँ प्रक्रियाको थालनी पनि हो ।

वास्तविक जीवनमा दर्शक होइन, हरेक मोर्चाको जिन्दगीमा भाग लिइरहेको एउटा योद्धा कहिल्यै जिम्मेवारीरहित र भूमिकाविहीन हुन सक्दैन । सङ्घर्ष, बलिदान र विजयको इतिहासको निर्माता अखिल (क्रान्तिकारी) को २१ औँ ऐतिहासिक राष्ट्रिय सम्मेलनबाट नयाँ टिमलाई जिम्मेवारी हस्तान्तरण गर्दै मेरो नेतृत्वमा ४२ जना साथीहरू बिदाइ भयौँ । सङ्क्रमणकालीन पाँच महिना मैले माक्र्सवादी अध्ययनमा आफूलाई अभ्यस्त बनाएँ । कतिपय साथीहरू सम्मेलनपूर्व नै पार्टी जिम्मेवारीमा गइसकेका थिए । कतिपयले ‘खाली दिमाग सैतानको घर’ जस्तै उतारचढावमा आफूलाई राखेको देखियो । केही आफूलाई पार्टीसँग जोडेर सिर्जनात्मक काममा लागेको देखियो । कोही भने रामकृष्ण ढकालले गाएको ‘‘यी त सब भन्ने कुरा न हुन्’ जस्तै गीत गाउन थालेको पनि देखियो । बहुसङ्ख्यक साथीहरू पार्टी योजनाको व्यग्र प्रतीक्षा र क्रान्तिकारी धैर्यसहित नयाँ अभियानमा एक प्रतिबद्ध एवम् अनुशासित सिपाहीका रूपमा खटेको पनि देखियो । म पनि नयाँ सङ्कल्प र उत्साहसहित साउन ३० गते नै उपत्यकाबाट अभियानको कार्यक्षेत्रतर्फ प्रस्थान गरेँ ।

अभियान आरम्भ

एकीकृत जनक्रान्तिमा युगान्तकारी महत्व राख्ने यो अभियानमा मैले सबै साथीलाई निःसर्त र निःस्वार्थ होमिन सल्लाह तथा सुझाव दिएँ । केही मानिसले यो अभियानलाई ‘अन्तिम परीक्षा’ र ‘घर छोड्ने रात’ जस्तै व्याख्या एवम् विश्लेषण गरिरहेका थिए । यो अभियानाको मूल उद्देश्य र सन्दर्भ नयाँ भए पनि अभियानमा सहभागिता र अनुभवका दृष्टिले महान् अभियानको अभियन्ता बनेको मेरा लागि यो दर्जनौँमा एक थप परिघटना मात्र हो । हरेक आन्दोलन आफैँमा अभियान पनि हो । यो अभियान एउटा विशाल आन्दोलन पनि हो । महान् माओले ‘अभियानहरू रूपमा दोहोरिएको जस्तो देखिए पनि त्यसमा परिस्थितिको व्यापक फेरबदल, मात्रामा विशालता र गुणमा छलाङ पैदा भइरहेको हुन्छ’ भनेजस्तै सर्वहारावर्गको अग्रदस्ता र श्रमिक जनताको आस्था एवम् विश्वासको धरोहर नेकपाले नयाँ परिस्थितिमा ऐतिहासिक कार्यभार पूरा गर्ने मूल उद्देश्यसहित यो अभियान आरम्भ गरेको हो ।

राजनीतिक क्रान्तिमा सहभागी बन्ने कुरा रहर र बाध्यता दुवै होइन । यो त जसले देश र जनताप्रतिको आफ्नो उत्तरदायित्वबोध गर्छ त्यसले खेल्ने खेल नभएर क्रान्ति हो ।

क्रान्ति आफैँबाट रूपान्तरणको थालनी गर्ने समग्र प्रक्रिया हो । केही मानिस त्यसलाई अर्ती एवम् उपदेश मात्र दिने महावाणी, वेदवाणी र उद्धृत उक्ति ठान्दछन् । माओले भन्नुभयो, ‘क्रान्तिकारी युद्ध यस्तो विषाणुनाशक ओखती हो जसले शत्रुको विषलाई मात्र समाप्त पार्ने होइन, हामीभित्र रहेका फोहोरमैलालाई पनि पखालेर हामीलाई निरोगी पार्छ ।’ (माओ त्सेतृुङका उद्धृत उक्तिहरू, युद्ध र शान्ति, दीर्घकालीन युद्धका विषयमा, पृ. ३३, मे १९३८) ।

समग्र क्रान्ति र त्यसभित्रको अभियान दुस्मनको फासिवादी दमनका विरुद्ध प्रतिरोध, पार्टीमा शुद्धीकरण, जनतामा सङ्गठन विस्तार र सुदृढीकरण गर्ने रणनीतिक तथा कार्यनीतिक महत्व रहेको छ । यो अभियान रूप र सार तथा मात्रा र गुण दुवै हासिल गर्न सफल भएको छ ।

कार्यक्षेत्रमा

साउन ३० गते पार्टी सम्पर्कमा पुगियो । उपत्यकाबाट जाने साथीहरूको कुनै निधो नभएकाले मैले एकजना साथी लिएर गएँ । साउन ३१ गते पाल्पाको दोभान–बगाहमा अभियानको औपचारिक उद्घाटन भयो । उद्घाटन कार्यक्रममा तीनवटा केन्द्रीय टिम लिडर, अभियान टिमका सदस्यहरू र स्थानीय कमरेडहरूको सहभागिता रह्यो । नेकपाका लुम्बिनी ब्युरो इन्चार्ज कमरेड वीरजङ्गको अध्यक्षतमा केन्द्रीय सदस्य कमरेड विजयले कार्यक्रम सञ्चालन गर्नुभयो । विशेष जिल्लाका सेक्रेटरी कमरेड विश्वासले अभियात्रीहरूलाई स्वागत गर्नुभयो । पार्टीका पोलिटब्युरो सदस्य कमरेड वीरजङ्गले अभियानको ब्यानर उद्घाटनसहित अभियानको उद्देश्य, औचित्य, महत्व, अभियात्रीको भूमिका, जिम्मेवारी, पार्टीयोजना र परिस्थितिबारे सबैलाई बोध गराउनुभयो । महान् जनयुद्धको पुनः स्मृति गराउने गरी अभियात्री सबैलाई रातो टीका लगाएर स्वागत पनि गरियो । अभियान टिमका तर्फबाट मैले छोटो अनुभूति र प्रतिबद्धता पनि व्यक्त गर्ने अवसर प्राप्त गरेँ । त्यसपछि कार्यक्षेत्रको भौगोलिक जानकारी लिएर बेलुकाको खानापछि हामी गन्तव्यतर्फ प्रस्थान ग¥यौँ ।

पूर्वस्मृति

२०६० सालमा ‘एकीकृत जनप्रतिरोध अभियान’ मा गण्डकको भूगोलमा काम गर्दा एकजना कमरेडले मलाई ‘तपाईंका बारेमा जे सुनेको र सुनाइएको थियो खासमा तपाईं निकै फरक हुनुहुँदोरहेछ’ भन्नुभएको कुरा पनि यो अभियानले स्मृति गरायो । २०६३ सालमा विद्यार्थी सङ्गठनको ‘सहर फर्क अभियान’ मा म राप्ती केन्द्रीय आधारइलाकाबाट काठमाडौँ उपत्यकामा आगाउँदा ‘गागाउँबाट आएको मान्छेलाई ग्रामीण वर्गसङ्घर्षको अनुभव छ । यसलाई कलेज र विश्वविद्यालयमा होइन, काठमाडौँको नाङ्लेभारे गाउँको जिम्मेवारी दिनुपर्छ’ भनेको पूर्वाग्रही र बुर्जुवा विश्लेषणको मैले जीवन व्यवहारमा ठाडै चुनौती गरेको घटनाको विशेष स्मरण पनि भयो । अहिले केही मानिसले भनेको ‘यिनीहरू उपत्यकामा गहिरो जरा गाडिएका, सुकिलामुकिला मान्छे हुन्, कहाँ छोड्छन् ! यी बुद्धिजीवी परिस्थितिको राम्रो व्याख्या–विश्लेषण गर्न सक्छन् तर काममा एक सिन्को पनि भाँच्दैनन्’ यस्तैयस्तै स्वरहरू पनि मेरो कानमा गुन्जिरहेका थिए । तर मेरा लागि यो अभियान कुनै चुनौती र अग्निपरीक्षाभन्दा पनि स्वर्णिम अवसर हो भन्ने बुझाइसहित अघि बढ्ने निधो मैले गरेँ ।

वस्तुगत अवस्थाअनुसार आत्मगत स्थितिको विकास गर्ने, मूलतः आन्तरिक तयारी घनीभूत गर्ने र पार्टी शुद्धीकरण र सुदृढीकरण गर्ने महान् उद्देश्य बोकेको यो अभियानमा हामी प्रतिबद्ध एवम् अविचलित ढङ्गले युद्धस्तरमा दलाल पुँजीवादी राज्यआतङ्कको प्रतिरोध गर्दै अघि बढ्यौँ । कथित कम्युनिस्ट आवरणमा सामाजिक दलाल पुँजीवादी सरकारको फासिवादी राज्यआतङ्कका विरुद्ध प्रतिरोध गर्ने उद्देश्यमा सञ्चालित यो अभियान ‘करोडौँ जनताको बानीबेहोराको शक्ति एउटा ज्यादै विशाल शक्ति हो । त्यसले सङ्घर्षमा खारिएर स्पातजस्तै बलियो बनेको पार्टीको अभावमा, एक खास वर्गका इमानदार तत्वहरूको विश्वास प्राप्त पार्टीको अभावमा, आमजनताको मनोभावलाई बुझ्न र त्यसलाई फेर्न सक्ने पार्टीको अभावमा सफलतापूर्वक यस्तो सङ्घर्ष चलाउनु असम्भव छ’ भन्ने महान् लेनिनको भनाइ (लेनिन सङ्कलित रचना, भाग २६, पृ. १९०) लाई स्टालिनले पार्टीसम्बन्धी गरेको संश्लेषण हाम्रो गौरवशाली पार्टीले दलाल पुँजीवादी सत्ताको प्रतिरोध गर्न, आफ्नो शक्तिको सुदृढीकरण गर्न र क्रान्तिलाई सफलतापूर्वक अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी बहन गर्न यो अभियान सञ्चालन गर्‍यो ।

पार्टीका केन्द्रीय स्तरका करिब एक दर्जन नेता र सयौँ कार्यकर्तामाथि गिरफ्तारी, झूट्टा मुद्दा र दमन गरिरहेको सरकारले हाम्रो अभियानको प्रारम्भ हुनुपूर्व नै उपत्यकाको बजारमा मूल नेतृत्वको पनि खोजी, गिरफ्तारी र इन्काउन्टर गर्दैछौँ भन्ने हल्ला चलाइरहेको थियो । पार्टीको क्रान्तिकारी विचार, वैज्ञानिक कार्यदिशा, ठोस योजना र महान् जनताका अगाडि त्यो हल्ला महान् जनयुद्धको आयु तोक्ने र नेतृत्वको टाउकाको मूल्य निर्धारण गरेको भन्दा कुनै फरक होइन । महान् माक्र्सले ‘विश्व इतिहासमा ती सबै महत्वपूर्ण घटनाहरू तथा व्यक्तिहरू दुईपल्ट अविर्भूत हुन्छन् भन्ने हेगेलको भनाइलाई पहिलोपल्ट दुःखान्त नाटकका रूपमा र अर्काेपल्ट प्रहसनका रूपमा’ (मार्क्स–एङ्गेल्स सङ्कलित रचना, खण्ड १, पृ. १३३) भनेझैँ मलाई पनि दलालहरूको त्यो भ्रमपूर्ण हल्ला दुःखान्त नाटक र प्रहसनजस्तै लाग्यो । दुनियाँका क्रान्तिको इतिहासमा आफूलाई महाशक्ति ठान्ने साम्राज्यवादी तत्वहहरू अत्याधुनिक जेस्टार जासुसी भूउपग्रह, लेजर निर्देशित लामो दूरीका क्षेप्यास्त्र, ड्रोन आदिको भूतले इतिहासका निर्माता जनतालाई तर्साउन मात्र सक्षम भए तर विजयी भएका छैनन् । दसबर्से जनयुद्धमा पनि प्रतिक्रियावादीहरू बेल्जियम, भारतलगायत विश्वभरिबाट हतियार, प्रविधि र पैसा जुटाएर जनताका विरुद्ध आएकै थिए तर खै त सकेको ? ! माओले भनेजस्तै प्रतिक्रियावादीहरू नष्ट भएर खरानी नबन्दासम्म यस्ता हल्ला र हर्कत गरिरहन्छन् । माक्र्सले भन्नुभएको छ, ‘कम्युनिस्टहरू आफ्ना दृष्टिकोण र उद्देश्यहरूलाई लुकाउनु घृणास्पद कार्य ठान्दछन् । उनीहरू हाकाहाकी घोषणा गर्दछन्– सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलपूर्वक ध्वस्त पारेपछि मात्रै उनीहरूको उद्देश्य पूर्ति हुन सक्दछ । साम्यवादी क्रान्तिको डरले शासक वर्गहरू थर्कमान होऊन् । सर्वहारा वर्गले यसमा आफ्ना हतकडीसिवाय अरू केही गुमाउनु पर्दैन, बरु सम्पूर्ण संसार नै उनीहरूले प्राप्त गर्न सक्दछन् । (मार्क्स–एङ्गेल्स सङ्कलित रचना, खण्ड १, पृ. ८५)

भ्रष्ट दलालहरू नेकपाको विचार, नेतृत्व र नयाँ क्रान्तिको महाअभियानदेखि ज्यादै भयभीत भएर राज्यआतङ्क र दमनद्वारा आफ्नो लुटको स्वर्ग बचाउने कुचेष्टा गरिरहेका छन् । उनीहरूले नस्वीकारे पनि, जे आरोप लगाए र जे भ्रम फैलाए पनि एकीकृत जनक्रान्ति २१ औँ शताब्दीको नयाँ प्रक्षेपण, प्रयोग र विकास हो । मार्क्सकै शब्दमा ‘१९ औँ शताब्दीको सामाजिक क्रान्तिले अतीतबाट होइन, भविष्यबाट मात्रै प्रेरणा प्राप्त गर्न सक्दथ्यो । अतीतसम्बन्धी आफ्ना सम्पूर्ण अन्धविश्वासबाट मुक्त नभएसम्म क्रान्तिले आफ्नो कार्यभारको समारम्भ गर्न सक्दैनथ्यो । विगत क्रान्तिहरूलाई स्वयम् आफ्नो अन्तरवस्तुका सम्बन्धमा ठगिनका लागि अतीतको विश्वइतिहासका स्मृतिहरू आवश्यक थिए । १९ औँ शताब्दीको क्रान्तिलाई आफ्नो अन्तरवस्तु आत्मसाथ गर्न अतीतलाई अतीतकै गर्भमा गाड्न आवश्यक थियो । पहिलेका क्रान्तिहरूका लागि अन्तरवस्तुभन्दा नारा महत्वपूर्ण थियो भने यहाँ नाराभन्दा अन्तरवस्तु महत्वपूर्ण छ ।’ (उही, पृष्ठ १३५–१३६) ।
जनताको बस्तीमा

यो नयाँ क्रान्ति अतीतमुखी होइन, उज्ज्वल भविष्यतर्फ अघि बढिरहेको छ । हामी यही उत्साह र गतिमा यो अभियानमा सहभागी भयौँ । पार्टी र क्रान्तिलाई जनतासँग जोड्न यो अभियान लिएर जनतामा गयौँ । पाल्पा जिल्लाका खुर्साने, दोभान, पासकुन्डा, सुकेताल, झुम्सा, गड्डा, वसन्तपुर, सराङखोला, हात्तीकोट, बेरुवा, डाँडाबारी, आरबन्दी, चौकीभन्ज्याङ, ज्यामिरे, दाङसिङकोट, पोखरडाँडाँ, झिन्टुङ, पुरानपानी, थपनडाँडाँ, दमार, शिखर, हात्तीलुङ, माथागढी, ढावा, ओखलढुङ्गा, मनसेवा दमार, कुम्भी, चारघरे, टोक्लादी हुँदै नवलपरासी जिल्लाका महलपोखरी, हर्बले, बेवरे, धुर्काेट, पोखरीछाप, फुस्रेखोला, गौरीझोक, लालीफाँट, कुसुन्डे, खुमबारी, लाले, खाम्चा, बाह्रबिसे, चिडिया, तीनदोमै, मिजदमार, संसारकोट, तिल्केनी, धाब्बे, आम्बास, सुकौरा, खुर्सानीबारी, फेदीबिहानीलगायत ८३ वटा गागाउँटोलमा ३ सय ४७ वटा घरमा पुगेर ५ हजार जनताको बीचमा ५६ वटा जनभेला (प्रशिक्षण), २ वटा जनसभा सम्पन्न गरेर १,२१८ जनतालाई व्यवस्थित ढङ्गले प्रशिक्षित गरियो । १३ वटा जवस (युवा, विद्यार्थी र महिला) मा एक सय १३ जनालाई सङ्गठित गरियो ।

पार्टी सङ्गठन सुदृढीकरण र विस्तारको मर्मबमोजिम ४४ वटा पार्टी सेलमा ४ सय ३६ जनालाई पार्टीमा आबद्ध गराइयो । ११ वटा विद्यालयमा पुगेर १०४ जना शिक्षक/शिक्षिका र तीनवटा माविका ३१८ विद्यार्थीसँग एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादका विषयमा बहस–छलफल गरियो । ७३ वटा स्थानमा ८३ वटा पार्टीका नारा भित्तेलेखन गरियो । दिमाग र भौतिक कामलाई जोड्न जनताका दैनिक कामकाजमा सहभागी भइयो । अभियानमा निरन्तर कमरेड निशान र म मात्र खटे पनि आवधिक रूपमा कमरेड सदन, क. आत्माराम, क. प्रवीण, क. रामु, क. कालुराम, क. गुरुङ बा, क. अनिल पनि खट्नुभयो ।

उस्तै छ ‘दोस्रो कर्णाली’ का जनताको अवस्था

अभियानका क्रममा हामीले युवाहरूलाई आकर्षित गर्न भलिबल मैदानमा पुगेर सँगै खेल्यौँ । पाल्पाको चौकी भञ्ज्याङमा दलित समुदायका एकजना दाइको घर पार्टीले निर्माण गरेको रहेछ । त्यो घरको शौचालय निर्माण गरियो । हाम्रो अभियान टिमको कार्यक्षेत्र भौगोलिक दृष्टिले पाल्पा र नवलपरासीभित्रको ‘कर्णाली’ रहेछ । दलाल सत्ताले त्यहाँका जनतालाई दोस्रो दर्जाको नागरिक अर्थात् शरणार्थीको व्यवहार गरिरहेकै छ । शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारमा जनताको सीमित पहुँच देखियो । मगर जनजातिको गाउँबस्ती, मगर भाषा, सामूहिक श्रम र सहकार्य सामाजिक जीवनको मुख्य विशेषता रहेको छ । ससाना बच्चा, एकदुई घन्टाको समय, लामो दूरीको बाटो हिँडेर स्कूल पुग्छन् । अभिभावकहरूलाई पनि १–५ देखि १–८ कक्षासम्मको पढाइ अन्तिम बनाउने बाध्यता देखिन्छ । बहुसङ्ख्यक विद्यार्थी कलेज र विश्वविद्यालय नदेखेर आफ्नो पढाइमा बिर्को लगाउन पुग्छन् । जनताले घरघरबाट पैसा उठाएर शिक्षकको तलब/भत्ताको व्यवस्था गर्नु पर्दछ ।

जनता बिरामी परेको समयमा डोको र स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै गर्दा बाटोमै अकालमा मृत्यु हुन्छ । कथित देवता र भूतले खायो भनेर समवेदना दिने र लिने गरिन्छ । जनता आफैँ श्रमदान गरेर बाटो खन्छन् । हिगाउँदमा मात्र गाडी देख्छन् । फोन गर्न अग्लो डाँडाँमा चढ्छन् । परम्परागत कृषि, बनजङ्गल, जडीबुटी, दालचिनी (तेजपत्ता), अम्रिसो, तामा, बाख्रा र बङ्गुरपालन आयआर्जनको मुख्य स्रोत रहेको छ । चुनढुङ्गा खानी दलालले लुटेर खाइरहेका छन् । वन विनासले भूक्षय बढिरहेको छ । तस्करले काठ अन्यत्रै लगी बेचेर मुनाफा गर्दछ । वैदेशिक रोजगारको प्रवेशले सामाजिक विकृति र विसङ्गति फैलिरहेको छ । बालविवाह एउटा जहरजस्तै देखिन्छ । त्यही ठागाउँका जनतालाई एनजीओ/आईएनजीओ र कतिपयले धर्मका नाममा पनि लुटखसोट गरिरहेका छन् ।

करको चपेटामा जनता

मार्क्सले भन्नुभएको छ, ‘कर भनेको नोकरशाही, सेना, पादरीहरू तथा दरबारका लागि अर्थात् कार्यकारी सत्ताको सम्पूर्ण तन्त्रका लागि जीवनस्रोत हो । कडा शासन र उच्च कर अभिन्न छन् ।’ (मार्क्स–एङ्गेल्स, सङ्कलित रचना, खण्ड १, पृ. २४८) ।

दलालतन्त्रले जनताबाट ब्रह्मलुट गरेर आफ्ना आसेपासेको भरणपोषण गरिरहेको छ । यस क्षेत्रका जनताको भनाइ छ, ‘प्रचण्डजस्तो नक्कली होइन, वास्तविक विप्लव देश र जनतालाई अति आवश्यक छ ।’ राणा र पन्चेलाई माथ गर्ने गरी दलालहरूले खरको छाना २५०, जस्तापाताको छाना ५००, खसीको ३००, कुखुराको १०० लगायत सबैमा असीमित कर लगाएको कुरालाई एकजना ६८ बर्से बुबाले ‘पञ्चायतमा रेडियो र पुल पार गरेको करभन्दा अहिले चर्काे छ’ भन्नुभयो । नवसंशोधनवादीहरूको महापतन र प्रतिक्रान्तिको अवस्थाबाट आजित र निराशा बढिरहेको समयमा एकजना ८२ वर्षका बुबाले ‘मेरो आधा उमेर अझै बाँकी छ । म पनि क्रान्तिको सेवा गर्छु’ भनेको कुरा स्मरणयोग्य छ । पुलिसबाट अवकाश लिएका एक मित्रले वार्ताको हल्लाबारे ‘तपाईंहरूले सम्झौताहीन क्रान्ति गर्नुहोस्, हामी सँगै छौँ’ भन्नुभयो । एउटा गागाउँमा कमरेड निशान र म एक्लै झोला बोकेर हिँडिरहेको देखेपछि एकजना आमाले ‘तपाईंहरू आयुर्वे्दिक औषधी बेच्ने मान्छे हो ? भनेर सोध्नुभयो । हामीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हौँ भनेपछि बस्नुहोस् भन्दै मिठो खाना पकाएर खान दिनुभयो । ज्यादै लगनशील, सरल र फुर्तिलो १२ वर्षको शिक्षक जागिर लात मारेर क्रान्तिमा होमिएको सधैँ खुसी र हँसिलो युवा कमरेड निशानलाई देखेर गागाउँका युवाहरू आकर्षित भए । नवलपरासीका ७१ वर्षका गुरुङ बासमेत रिटायर अवस्थामा पनि क्रान्तिमा लामबद्ध भएको देखेर जनतामा राम्रो प्रभाव पर्‍यो ।

जनताको अपिल

अभियानकै क्रममा पाल्पाको झिन्टुङमा सेल कमिटीको बैठक सकेर हिँड्दाहिँड्दै एकजना पुराना कमरेडले गरेको टिप्पणी अत्यन्त मार्मिक बनेको छ । उहाँले भन्नुभएको थियो– बुटवल पुग्दा मैले तपाईंलाई चिन्दिनँ । तपाईंले मलाई चिन्नुहुन्न । यो अवस्था आउनु हुँदैन ।
वास्तवमै जनयुद्धको मूल नेतृत्व महापतन भएर सहिद र बेपत्ता योद्धालाई समेत बिर्सिरहेको अवस्थामा उहाँको व्यङ्ग्य बडो घतलाग्दो बन्यो । अभियानका क्रममा जनताले प्राकृतिक स्रोतसाधन (चुनढुङ्गा, काठ, जडीबुटी आदि) दोहन गर्ने दलालहरूलाई पार्टीले कारबाही गरिदिन उजुरी गरेका छन् । चुरेमा ढुङ्गा चोर्ने ट्याक्टरमाथि बम पड्काउनुपर्‍यो । वैदेशिक रोजगारीका नाममा ठग्ने र ज्यानसमेत लिने दलाललाई कारबाही गरिदिनुपर्‍यो । दलाल सत्ताका पुलिस र अदालतले पैसा मागे, न्याय दिएनन् भनेर जनताले पार्टीमा दर्जनौँ उजुरी पनि गरेका छन् ।

जनतामा निर्भर अभियान

अभियान टिमसँग खल्तीमा एक पैसा नहुँदा पनि हामी कहिल्यै भोको बसेनौँ । जनताले राष्ट्र र जनताका लागि समर्पित हामी अभियात्रीको सम्पूर्ण भरणपोषणको जिम्मा लिए । जनतालाई कहिल्यै पनि ‘हामीलाई खाना ख्वाउनुस्’ भन्नु परेन, बरु हामीले जनताको निम्तामा पालो पुर्‍याउन सकेनौँ । रातदिनको खटाइमा पनि हामी कहिल्यै थकित भएनौँ । कहिले गाउँगाउँमा, कहिले १२ घन्टा जङ्गलमा त दर्जनौँ डाँडाँकाँडा, उकालीओराली, मान्छे डुब्ने नदीहरू पार गरियो । जङ्गलमा राती हराउँदा कम्पास प्रयोग गरेर बाटो पत्ता लगाइयो । नयाँ अभियानको उत्साहले कुनै दुःख कष्टको मतलब भएन । जनताको असीमित शक्ति र प्रेरणाले हामीलाई हौसला र ऊर्जा प्रदान गरिरह्यो । एउटा प्याकजोनका रूपमा ती गाउँहरूमा दलाल संसदवादी पार्टीहरू खारेज भएका छन् ।

समीक्षा र निष्कर्ष

एउटा विशाल अभियानअन्तर्गतको विशिष्ट यो अभियान पार्टीको विचार, कार्यदिशा, नीति र कार्यक्रम आमजनतामा सम्प्रेषण गर्न सफल भएको छ । आमजनतालाई आकर्षित, सङ्गठित र परिचालन गर्न सफल भएको छ । पानी र माछाझैँ जनसम्बन्ध हासिल गर्दै जनदिशाको नयाँ प्रयोग गर्न सफल भएको छ । दलाल पुँजीवादी सत्ता र त्यसका मालिकहरूको व्यापक भण्डाफोर गर्दै एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको नयाँ विकल्प स्थापित भएको छ । जनसमुदायमा रहेका केही आशङ्का, अविश्वास र अकर्मण्यतालाई नयाँ आशा र विश्वाससहित एकीकृत जनक्रान्तिको उद्देश्य नयाँ ढङ्गले स्थापित भएको छ ।

सारमा अभियान सफल भएको निष्कर्षसहित असोज २५ गते समीक्षा सम्पन्न गरेर समापन गरियो । समीक्षा बैठकमा पार्टी स्थायी समिति सदस्य तथा केन्द्रीय जनसरकार प्रमुख कमरेड सन्तोष बुढामगरले भन्नुभएको थियो, ‘हामी सैद्धान्तिक हिसाबले वार्ता्विरोधी होइनौँ तर अहिले त्यसका पक्षमा छैनौँ । पार्टी नेताहरूको गिरफ्तारी र रिहाइ एउटा विजय हो । यो अभियान उपलब्धिपूर्ण ढङ्गले सफल भएको छ ।’ अभियानका क्रममा लुम्बिनी ब्युरोमा जम्मा तीन सय १७ वटा पार्टी सेल कमिटी, चार सय १७ वटा जवस, तीन सय सातवटा जनभेला, ६ सय ३९ वटा नारा–भित्ते लेखनसहित दसौँ हजार जनसहभागिताका कारण जनतामा नयाँ उभार पैदा भएको छ । एकीकृत जनक्रान्तिबाट आतङ्कित दलालहरूले वार्ताको नौटङ्की गरे पनि पार्टीले त्यसलाई खारेज गरिदिएको छ । पटकपटक आँधीबेहेरीका रूपमा उठ्ने आन्दोलनहरू सम्झौतामा टुङ्गिने तर कहिल्यै विजय नहुने कुराप्रति जनताले खबरदारी गरेका छन् । जनताको विजय र दलालहरूको पराजय अवश्यम्भावी छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]