Dabali News

भृकुटीमण्डपमा अर्को कुटपिट काण्डः (नेकपा) को चियापान बहिस्कार गर्नुका पाँच कारण

१२ कात्तिक

काठमाडौं । तत्कालिन माओवादी केन्द्रले आयोजना गरेको चियापानमा अध्यक्ष प्रचण्डले गालामा थाप्पड खाएका थिए । त्यो पनि आफ्नै कार्यकर्ताले । जनयुद्धमा रगत र पसिना बगाएका पदम कुँवरले प्रचण्डको गालामा थप्पड हानेका थिए । त्यो विषय राष्ट्रिय चर्चाको विषय बन्यो । त्यसपछि अरु नेताहरुमाथि पनि थाप्पड र जुत्ता हान्ने अभियान नै चल्यो ।

पदम कुँवरले प्रचण्डलाई चुनाव हराउने भन्दै काठमाडौँमा १० बाट चुनाव पनि लडे । उनको एउटै उद्देश्य थियो, प्रचण्डलाई हराउने । उनी सफल पनि भए । चुनावको परिणाम आएकै दिन पदमले आफ्नो मिशन सफल भएको बताएका थिए । माओवादीसँग अक्रोस र चिन्ता बढिरहेकोले पदमले सहानुभूति पाएका थिए ।

प्रचण्डको गालामा हानेपछि पदमले वाईसिएलको कुटाई खानु परेको थियो । पदम रक्तमुछेल भएको फोटो अहिले पनि भेटिन्छ । बल्लबल्ल प्रहरीले बचाएको थियो । प्रहरीले नबचाएको भए उनको ज्यानै पनि जान सक्थ्यो ।

एमालेसँग पार्टी एकता गरेर आयोजना गरेको चियापानमा पनि प्रचण्डकै अगाडि अर्को कुटपिटको घटना भयो । अहिलेको घटना कुनै नेताहरुलाई थाप्पड नहानेरै भएको हो । चियापान बहिस्कार गर्दै पर्चा बाढ्दै गर्दा कुटपिटको घटना भएको हो ।

सत्तारुढ (नेकपा) भित्रको अन्तुष्ट समूहले चियापान बहिस्कार गरेको थियो । उसले फजुल खर्च गर्नु नहुने भन्दै चियापान बहिस्कार गरेको थियो । बहिस्कार गर्नुको कारणसहितका पर्चा वितरण भइरहँदा (नेकपा)का नेता–कार्यकर्ताहरु कुटपिटमा उत्रिए ।

युवराज पौडेल ‘सफल’ नेतृत्वको समूह (नेकपा) पछिल्ला निर्णय मात्रै होइन, पार्टी एकतामै असन्तुष्ट बनेको हो । उसले एमालेसँग बराबरीका आधारमा एकता नभएर प्रवेशजस्तै भएको भन्दै एकता प्रक्रियाप्रति असहमति राख्दै आएको छ ।

कुटपिटपछि सफल संचारमाध्यमहरुसँग सरकारले गरेका पछिल्ला गतिविधि र निर्णयबाट जनता निराश बनिरहेको बेला चियापानको कुनै औचित्य नभएको बताए । उनले बलात्कारका दोषी अझै पक्राउ पर्न नसकेको र माफियाहरु सक्रिय भइरहेको बेला ५० हजार बोलाएर गरिने चियापान फजुल खर्च मात्रै भएको बताए । उनले उक्त रकमबाट अरु काम गर्नुपर्ने बताए ।

आफूमाथि आक्रमण गर्ने (नेकपा)का नेतालाई सफलले ओली र प्रचण्डका पालित पोषित भाडाका कार्यकर्ता भएको बताए । उनले ओलीका अरिंगालहरुले आफूमाथि जाइलागेको बताए । उनले आफू अब चुप लागेर नबस्ने चेतावनी समेत दिए ।

यस्ता छन् चियापान बहिस्कार कारणः

१. नेकपा एमाले र माओवादी केन्द्रबीच भएको भनिएको एकतामा धेरै कमिकमजोरी भएकोले वैचारिक, सैद्धान्तिक, व्यवहारिक र सांगठानिक रुपमा ५०÷५० को समानताको सिद्धानतमा एकता गरियोस् ।

२. (नेकपा) भन्दा बाहिर रहेका अन्य कम्युनिस्ट पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टी, सिपी मैनाली नेतृत्वको नेकपा माले, गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र ऋषी कट्टेलको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतलाई पनि एकतामा ल्याईयोस् ।

३. वर्तमान सरकारले जनताको अपेक्षाअनुसार कार्य नगरेको हुँदा सरकारको काम कारवाहीबारे अनुगमन गर्न एवं निर्देशन दिन सरकार एवं संसदमा प्रतिनिधित्व नगर्ने नेताको नेतृत्वमा उच्चस्तरिय सरकार संचालन कार्यदलको निर्माण गरियोस् ।

४. तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा बनेको ४४१ सदस्यीय केन्द्रीय समिति हचुवा, नातावाद एवं कृपावाद र गुटबन्दीको आधारमा गरेको हुँदा सो समिति तत्काल विघटन गरी सबै तहका नेता–कार्यकर्तालाई सम्मानजनक जिम्मेवारी दिँदै नयाँ केन्द्रीय समितिको निर्णय गरियोस् ।

५. नेपाली नागरिकका जनजीविकाको सवालमा तत्कालन कदम चालियोस् र सुशासनको स्थापना गरियोस् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]