Dabali News

Ad

ओलीले भने- कसैले माग्दैमा अध्यक्ष दिन सकिँदैन ! एमालेका चार विकल्प

२६ पुस

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताले गति लिन सकेको छैन । नियमित उपचारको लागि भन्दै एमाले अध्यक्ष ओली बुधबार बैंकक उडेका छन् । अब ओली माघ २ गते मात्रै स्वदेश फर्किने छन् । त्यति बेलासम्म एकताबारे कुनै छलफल हुनेछैन ।

मंगलबार बसेको एकता संयोजन समितिको बैठकले कार्यदल गठन गरेको छ । तर, उक्त कार्यदललाई एकताबारे जिम्मेवारी नभएर राष्ट्रि सभा निर्वाचिन, सरकार गठन, प्रदेश प्रमुख नियुक्तिबारे छलफल गर्ने जिम्मेवारी दिइएको छ ।

त्यसअघि दुबै पार्टीले आन्तरिक छलफल गरेका थिए । एमालेले स्थायी समिति बैठकमा एकताबारे छलफल गरेको थियो भने माकेले केन्द्रीय सचिवालय बैठक ।

एमालेका एक नेताका अनुसार स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले पार्टी एकता र सरकार फरकफरक कुरा भएको बताएका थिए । ओलीले पार्टी अध्यक्ष र संसदीय दलको नेता आफै बन्ने संकेत गरेका थिए । उनले अरु नेताहरुलाई जथाभावि नबोल्न समेत निर्देशन दिएका थिए ।

बैठकमा ओलीको आलोचना समेत भएको थियो । नेताहरुले एकताबारे प्रश्न राखेका थिए । जवाफमा ओलीले अरुले जति उफ्रिएपनि केही नहुने बताउँदै सबै नेताहरुलाई सँगै लिएर अगाडि बढ्ने बताए ।

“जुन पार्टीको आकार ठूलो छ । सिद्धान्त बलियो छ त्यही पार्टीको नेतृत्वमा पार्टी एकता हुन्छ” ओलीले बैठकमा भने । उनले आफ्नै पार्टीका नेताहरुले प्रचण्डलाई अध्यक्ष दिन सकिने भनेर सार्वजनिक भए भन्दै आपत्ति प्रकट गर्दै भने, ‘हाम्रै साथीहरुबाट प्रचण्डलाई अध्यक्ष दिने भनिन्छ ।’ कसैले माग्दैमा अध्यक्ष दिन नसकिने ओलीले बैठकमा स्पष्ट पारे ।

त्यसैगरी बैठकमा अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवादको च्याप्टर क्लोज भयो भनेर दिएको अभिव्यक्तिको आधा घण्टा खण्डन गरेका थिए । बैठकमा अनुपस्थित भुसालको नाम नलिएर ओलीले भने, “केही साथीहरुमा पहिलादेखि नै जनताको बहुदलीय जनवादप्रति नफरत थियो, बेलाबेलामा त्यसमाथि प्रहार गर्थे । अहिले मौका पाइयो भनेर फेरि प्रहार गरेका छन् ।”

बैठकमा ओलीले माकेका अध्यक्ष प्रचण्ड एकताबाट पछि हट्न नसक्ने जानकारी पनि बैठकलाई दिएका थिए । ओलीले भने, “मैले कुरा गर्दा उहाँ प्रतिबद्ध नै हुनुहुन्छ, शंका नगरौँ । पछि हट्ने अवस्था छैन ।” प्रचार विभाग प्रमुख योगेश भट्टराईको अभिव्यक्तिको पनि अध्यक्ष ओलीले आयोजना गरेका थिए ।

एकताबारे छलफलमा रहेका यस्ता छन् विकल्पः

पहिलोः ओली अध्यक्ष र प्रधानमन्त्री, सहअध्यक्ष प्रचण्ड र महासचिव बादल वा नारायणकाजी श्रेष्ठ । यो पार्टीको सिद्धान्त, सांगठानिक हैसियतका आधारमा यही विकल्पमा एमालेमा जोड गरेको छ । ओलीले जबजबाट तलमाथि हुन नसक्ने संकेत समेत गरेका छन् ।

दोस्रोः यसमा माकेले नमान्ने संकेत गरेपछि एमालेका केही नेताहरुले ओली र प्रचण्डलाई सहअध्यक्ष र दुई महासचिव बनाउने विकल्प अगाडि सारेका छन् । विशेष महाधिवेशन आयोजना गर्ने, त्यतिबेलासम्म यसरी नै पार्टी संचालन गर्न सकिने नेताहरुले अगाडि सारेका थिए ।

यो विकल्पमा गए दुबै पार्टीलाई सम्मानजनक हुने र कार्यकर्ता र जनतामा राम्रो सन्देश जाने भन्दै एमालेका केही नेताहरुले यो विकल्पलाई छलफलमा ल्याएका छन् । यसको नेतृत्व वामदेव गौतमले गरेका छन् । प्रधानमन्त्री पनि आधा आधा कार्यकाल हुने गौतमको तर्क छ ।

तेस्रोः माओवादी केन्द्र अध्यक्ष नपाए एकताबाट पछी हट्न सक्ने अवस्थामा एमालेले अध्यक्ष पद छोड्न पनि तयार हुनेपर्ने नेताहरुले बताएका छन् । एमालेको चुनावपछिको पोजिशनमा माकेसँगको एकताको ठूलो भूमिका रहेको बताउँदै केही नेताहरुले जसरी पनि एकता गर्नुपर्ने धारणा राख्न थालेका छन् ।

त्यसको लागि प्रचण्ड अध्यक्ष, महासचिव एमालेको हुने र प्रधानमन्त्री ओली हुने विकल्पबारे पनि एमालेभित्र छलफल भइरहेको बताइएको छ ।

चौथोः एमाले सचिव योगेश भट्टराई लगायतका पूरानो मालेका युवा नेताहरुले ओली र प्रचण्ड बाहेक दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर भएपनि एकताको पक्षमा देखिएका छन् । भट्टराईले त सार्वजनिक कार्यक्रममै ओली र प्रचण्डले एकतापछि सन्यास लिनुपर्ने धारणा राखेका थिए ।

यो विकल्पले पार्टीभित्र छलफलको रुपमा प्रवेश पाएको छैन । यसको लागि केही नेताहरुले लविङ गरिरहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]