Dabali News

कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट नागरिकले पाउने सुविधामा कुनै दुरदराजका गाउँजस्तै छ । म त्यही ठाउँ र समाज जन्मे र हुर्के । जब मेरो चेतनाले राजनीतिका कुरा सिक्न थाल्यो, त्यतिबेला मेरो गाउँघरमा पनि आमूल परिवर्तनको नारा धन्किएका थिए । मेरो कोमल मानसपटलमा त्यसले गहिरो छाप पार्यो । जनयुद्धले आमूल परिवर्तन ल्याउछ भन्ने आशले धादिङबासीमा आशा छाएको थियो ।

गाउँघरमा जनमुक्ति सेना देखिन थाले । आफू जनयुद्धमा लागेर आमूल परिवर्तनमा योगदान दिन मन लाग्यो । म १६ वर्षको हुँदा २०६० मा पढाई छोडेर जनमुक्ति सेनामा भर्ति भएँ । माओवादी नेताहरुले शिक्षाबारे दिने प्रशिक्षणले मलाई घृणा पैदा भइरहेको थियो । पढेर पनि खाडीमा जानु नै पर्ने हो भने जनयुद्धमा लागेर लड्छु भनेर जनमुक्ति सेनामा भर्ना भएँ ।

सेनामा भर्ति भएपछि जनताको घरमा गएर तत्कालिन शाही सेना र प्रहरीमार्फत राज्य आतंकविरुद्ध लड्न हतियार र भौतिक तालिमसँगै फर्मेशनमा हिँडेँ । जनताकै घरदैलोमा पुगेर मुक्तिको आवाजलाई बुलन्द गरेँ । जनताले पनि न्यानो साथ दिएका थिए । रातदिन आफ्नो बारेमा कहिलै सोचिएन मात्र जनताको मुक्ति र समाजको परिवर्तन । हामी कुनै तलवी सेनाजस्तो भर्ना नभएकोले पार्टीका राजनीतिक कार्यक्रममा सहभागी हुन्थ्यौं ।

राजधानीको वरिपरीको रिङ एरियामा धेरै पटक तत्कालिन शाही सेनासँग आमनेसामने भइयौं । धेरै भिडन्त र झडपहरुमा सहभागी भएँ । त्यसमध्ये स्मरणयोग्य कृष्णभीर, पाल्पा तानसेन, बुटवल–सुनवल लडाइँ मेरो जीवनमा नयाँ अनुभूति स्मरणयोग्य भए ।

यी सबै लडाइँले राष्ट्रिय चर्चाका विषय मात्रै भएन । केन्द्रीय सामन्ती सत्तामा समेत ठूलै धक्का दिएका थिए । अझ कृष्णभीरको लडाइँले त शाही सेनालाई मानसिक र भौतिक रुपमा पराजयको ठाउँमा पुर्याएको थियो । शाही सेनाले हतियार छोडेर कराउँदै भाग्दै गरेको दृश्य अहिलै जस्तो लाग्छ । राजधानी र बाहिर जिल्लासँग जोड्ने एक मात्रै राजमार्गको भएको उक्त लडाइँ भएकोले केन्द्रीय सत्तामा धक्का पुग्नुको साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चाको विषय बन्न पुग्यो ।

लडेरै पूरानो सत्तालाई फाल्ने सपना र रहर बाँकी रहँदै शान्तिप्रक्रियाको यात्रा सुरु भयो । हामीलाई ब्यारेकमा बस्न भनियो । विचारले लैस भएका सेना भएपनि पार्टीको निर्णयमाथि कुनै प्रश्न उठाएनौं र शिविरमा बस्यौं । हामी चौंथो डिभिजनमा बसेँ । हामीले नेताहरुले हामी र जनतासँग गरेको प्रतिवद्धता नयाँ तरिकाले पूरा गर्छन् भन्ने सोच्यौं । नियतमाथि कुनै प्रश्न नै उठाइएन । ब्यारेकमा बस्दा पनि हामीसँग पार्टी अध्यक्ष तथा सर्वोच्च कमाण्डर प्रचण्डले गरेको सम्बोधन र कमाण्डरका दैनिक जसो हुने कोचिङले हाम्रो देश र जनताप्रतिको प्रतिवद्धता बढेको थियो । सुरुमा उकुसमुकुस भएपनि ब्यारेक बसाईलाई पनि एउटा मोर्चाको रुपमा लिएका थियौं । योबीच धेरै तितामिठा अनुभूति भएका छन् । त्यो कुनै दिन लेखौंला ।

शान्तिप्रक्रियालाई टुंगोमा नाममा २०६६ मा ४००९ जना हामी जनमुक्ति सेनालाई अयोग्यको बिल्ला भिराएर घर फर्काइयो । जनयुद्धमा ज्यानको बाजी लगाएर लड्ने बेला योग्य हुने तर अहिले अयोग्य भन्दा मनमा थामिनसक्नु पीडा भयो । आमूल परिवर्तनको सपना बोकेर हिडेका हामी न घर न घाटका भयौं । घर वा समाजमा फर्किने पनि बाटो राखिदिएन आफ्नै पार्टीले । जनयुद्धमा लागेदेखिको रगत र पसिना पूरै खोलामा बगाई दियो । ब्यारेकबाट निकालिदिएपछि ओत लाग्ने ठाउँको खोजि गर्दै धेरै दिन भौतारियौं ।

हाम्रो लडाइँ वा रगत र पसिनाकै बलमा राजतन्त्रको अन्त्य भएर देशमा गणतन्त्र आएर संघीय संरचनामा देश गयो । तर, हामी भने अयोग्य ? यो कसरी हुन्छ । पहिलो संविधानसभामा पार्टीलाई भारी मतका साथ विजयी गराउने हाम्रो पनि ठूलो भूमिका छ तर बिडम्वना, त्यसैको बलमा बनेका सरकारले हामीलाई अयोग्य बनायो ।

त्यतिबेला सरकारमा केही पूरानो मानसिकता थियो । त्यो हामीले पनि बुझेका थियौं तर आफ्नै पार्टी पनि निर्दयी बन्यो । घाइतेको उपचार नगरेरै, शरीरभित्र रहेका गोली र छर्रा ननिकालेरै अयोग्यको बिल्ला भिराएर पठायो । घाइते साथीहरुको कति बेहाल भयो त्यसलाई व्यक्त गर्न कुनै शब्द नै छैन । मलाई त्यो दृश्यले आफ्नै सहकर्मीलाई त यस्तो व्यवहार गर्ने नेताहरुले जनताको लागि के गर्लान ? भन्ने प्रश्न मेरो मनमा उठेको थियो ।

हामीलाई यसरी किन अयोग्य भनियो ? लडाइँ लड्न योग्य हुने हामी कसरी अयोग्य ? जनयुद्धमा लाग्न किन उमेरको कुनै मापदण्ड बनाइएन ? यी र यस्तै प्रश्नको भारी बोकेर सडकमा हिड्न थालेको १० वर्ष भयो । तर, कसैले पनि कुरा सुनेका छैनन् । अयोग्यको बिल्ला भिराएका साथीहरुले २०६८ सालमा संगठन बनायौं । यसको पहिलो उद्देश्य अयोग्य बिल्ला खारेज थियो । हामी जनयुद्धमा हात खुट्टा नगुमाएका जे गरेर पनि बाच्न सक्छौं तर अंगभंग भएका साथीहरुको उपचार र व्यवस्थापन दोस्रो बुँदा थियो । त्यसको लागि कति धाईयो, धाईयो । अहिलेसम्म उत्तर पाएका छैनौं ।

२०६८ साल हामीले बहिर्गमित जनमुक्ति सेना भनेर गठन गर्यौं । २०६९ सालमा बागमती अंचलको इन्चार्जको जिम्मेवारी सामाले । २०७० साल मा बुटवल दोस्रो राष्टिय सम्मेलनबाट कोषाध्यक्ष, २०७१ सालमा केन्द्रीय सचिव, २०७२ साल मा केन्द्रीय कमिटिको निर्णयबाट संगठनको उपमहासचिव, २०७३ साल चैत ३० गते सम्पन्न विशेष भेलाबाट महासचिवाम निर्वाचित भएर माथिका प्रश्नको उत्तर खोजी रहेका छु । यसैगरी संगठनको अन्य जिम्मेवारीमा रहेका साथीहरु हामी सबै तिनै प्रश्नको उत्तरको लागि संघर्ष गरिरहनु भएको छ ।
छलफलको लागि तत्कालिन माओवादी केन्द्रका पार्टी कार्यालयमा भेल हुनेदेखि हालसम्म सरकारलाई हाम्रा मागबारे दवावमूलक कार्यक्रम गरिरहेका छौं । अयोग्यको बिल्ला खारेज र साथीहरुको उपचारका साथै व्यवस्थापनको संघर्ष रोकिने छैन ।

सरकारसँग हालै पहिलो चरणको वार्ता पनि भएको छ । पहिलो चरणमा हामीसँग सरकारले मागेको विवरण पेश गरिसकेका छौं । अब दोस्रो चरणको वार्ताको तयारी गर्ने भन्नेछ । जनयुद्धको नेतृत्व गर्ने पार्टी अहिले पनि सरकरमा नै छ । तर, हाम्रा मागबारे निर्णयक छलफल भएको छैन । हामीलाई व्यारेकबाट निकाल्ने अयोग्य भनेपनि अब योग्य भइसकेका छौं । सरकार र पार्टीलाई यही अनुसार व्यवहार गरोस् भन्ने चाहन्छौं ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]