Dabali News

विप्लवको ताजा अन्तरवार्ताः क्रान्ति गर्छौंगर्छौं, सेना-प्रहरी दमनमा आउनु हुँदैन, बरु मिलौं

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव त भएरै छाड्यो नि ? कसरी समीक्षा गर्नुभएको छ ?

हो चुनाव भयो तर संसदीय चुनाव नेपालको स्वाधीनता, शान्ति र समृद्धिको निकास वा समाधान होइन भन्ने पनि साबित भइछाड्यो । काङ्ग्रेस, एमाले—माकेलगायत संसद्वादी, संशोधनवादी, आत्मसमर्पणवादीहरूले नेपालमा राजनीतिक परिवर्तन पूरा भएको, क्रान्ति आवश्यक नभएको, अब शान्ति, आर्थिक विकास र समृद्धिको समय आएको नारा फलाकेका थिए तर त्यसलाई हाम्रो पार्टीको अगुवाइमा नेपाली श्रमिक र स्वाधीनताप्रेमी जनताले खारेज गरिदिए । केही मुट्ठीभर दलाल, मालिक, सुदखोर, तस्कर, संसद्वादीहरूका लागि त राजनीतिक क्रान्ति आवश्यक नहोला तर नेपाली जनताले भने आफ्नो मुक्ति र देशको स्वाधीनताका लागि पूर्ण राजनीतिक परिवर्तन गर्न आवश्यक छ भन्ने सन्देश दिए । साथै खारेजबाट हाम्रो देश स्वाधीनता, मुक्ति र परिवर्तनका लागि प्रतिरोध, विद्रोह र क्रान्तिको नयाँ चरणमा प्रवेश गरेको सन्देश गएको छ ।

तपाईंहरूको पार्टीले यो चुनाव अस्वीकार गरेको थियो । खारेज नै गर्ने निर्णय पनि गर्नुभएको थियो तर….!

सही हो हामीले अस्वीकार र खारेज गर्ने भनेका थियौँ र त्यो आफ्नो मौलिकता र विशेषतासहित सानदार ढङ्गले सफल भएको छ । नेपालमा जब शान्तिप्रक्रियालाई साम्राज्यवादीहरूको योजनामा नेपाली दलालहरूद्वारा असफल बनाइयो तबदेखि नै हाम्रो पार्टीले जनयुद्धलाई समाप्त पार्न खोज्ने दलाल र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध विद्रोह गर्दैै उनीहरूले लाद्न चाहेका सबै संसदीय प्रक्रियाहरूलाई अस्वीकार गरिदियौँ । हामीले अस्वीकार मात्र गरेनौँ अपितु समानान्तर कार्यहरू पनि सँगसँगै अगाडि बढायौँ । उनीहरूले जनमुक्ति सेना विघटन गर्ने निर्णय गरे, हतियार बुझाउने निर्णय गरे हामीले त्यसलाई मानेनौँ । जनमुक्ति सेनालाई आफ्नै तरिकाले बचायौँ । उनीहरूले संसदीय संविधान घोषणा गरे, हामीले त्यसलाई पनि अस्वीकार गर्दै जनताको संविधानको खाका घोषणा गर्‍यौँ । उनीहरूको सत्ता र सरकारविरुद्ध हामीले जनताको सरकार र जनप्रतिनिधिसभा निर्माण गर्‍यौँ । यसबेला नेपालमा दुई सत्ता, दुई सरकार, दुई प्रतिनिधिसभा र दुई अदालतको अवस्था छ । त्यसैको उच्च निरन्तरता हो चुनाव खारेज अभियान । उनीहरूले जति नै आत्मरति गरे पनि नेपालमा दलाल संसदीय व्यवस्था अस्वीकृत भएको छ र यो सफल हुनेछैन ।

हो उनीहरूले यो चुनाव बन्दुकको नालमा राखेर गरे । यद्यपि सेना र प्रहरीलाई पनि चुनावमा खतरा मोल्न खासै रुची लागेको थिएन । चुनाव सफल गर्न भनेर प्रतिक्रियावादी राज्यसत्ताले हाम्रा सयौँजना कमरेडहरूलाई गिरफ्तार गर्ने, यातना दिने, मुद्दा चलाउने र दमन गर्ने कार्य गर्‍यो । कैयौँ गाउँमा घेरा हाल्ने र खोजतलास गर्ने कार्य भयो । यसो त जनताको सत्ताले पनि केही खराब तत्वहरूलाई गिरफ्तार ग¥यो । यसमा हामीलाई खासै चिन्ता छैन । क्रान्ति, क्रान्तिकारी शक्ति र जनतालाई दमन गर्नु प्रतिक्रियावादी, दलाल, संसद्वादी, पुँजीवादी, साम्राज्यवादीहरूको चरित्र नै हो । यद्यपि उनीहरूले संसद्वादभित्र विरोध गर्ने स्वतन्त्रताको कुरा केवल पुँजीवादी हितका लागि चलाइने बकबास मात्र हो भन्ने सहज बोध यसले गराउँछ । हामी क्रान्तिकारीहरूको जिम्मेवारी र दायित्व भनेको दलाल पुँजीवादी राज्यलाई क्रान्तिद्वारा परास्त गर्ने र राज्यलाई वैज्ञानिक समाजवादमा पुर्‍याउने हो । हामीले त्यही गर्नुपर्छ ।

चुनाव बिथोल्ने क्रममा देशभर बम विस्फोटका घटना भए तर तपाईंहरूले बेलैमा जिम्मा लिनुभएन र त्यसले अन्योल निम्त्यायो भन्ने टिप्पणी छ नि ?

यो त जानीजानी लाज पचाउन चलाइएको प्रचार मात्र हो । यो जनताको विद्रोहलाई ‘जिम्मा’ को नाटक गरेर विवादित पार्ने बुर्जुवाहरूको खेल मात्र हो । प्रतिक्रियावादी चुनावलाई सम्पूर्ण शक्ति र सम्पूर्ण तरिकाद्वारा प्रतिरोध गर्ने, खारेज गर्ने र असफल गर्ने भनिसकेपछि जुलुस लाउँदै, जिम्मा लिँदै, भित्तेलेखन गर्दै जिम्मा लिँदै, दलाललाई लघार्दै जिम्मा लिँदै गर्नु पर्दैन । लाटोले पनि बुझेको सत्य हो चुनाव खारेजमा गरिएका प्रतिरोध कारबाहीहरू नेपाल कम्युनिस्ट पार्टीले गरेको हो । यसमा कोही पनि अन्योलमा छैन । कोही अन्योलमा छ भने कारबाहीको अन्योल होइन, आफ्नै अन्योल मनस्थिति मात्र हो ।

चुनावमा भएका विस्फोटका घटनमा तपाईंहरूको पार्टी र सीके राउतहरूलाई एउटै डालोमा राखेर हेरेको पाइयो । यथार्थ के हो ?

तपाईंको प्रश्नमा भनेजस्तो अवस्था होइन । क्रान्तिकारी शक्ति, श्रमिक जनता, सुरक्षा शक्ति (सेना, प्रहरी) राजनीतिक प्राणी कसैले पनि यस्तो सोचेका छैनन् । त्यो कसैले प्रचार गर्छ भने क्रान्तिको आँधीबाट भयभीत र आतङ्कित भएका लुच्चा, लुटेरा, दलाल र चाटुकारले मात्र भनेको छ । हामी वैज्ञानिक समाजवादका लागि लड्दैछौँ भन्ने सत्यबाट कोही पनि अनभिज्ञ छैन ।

चुनावका बारेमा अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी ईयूले गरेको टिप्पणीबारे केही प्रतिक्रिया दिनुहुन्छ कि ?

ईयूले दिएको वक्तव्यले केही गम्भीर विषय व्यक्त गर्छ । पहिलो कुरा त ईयूले विश्व राजनीतिमा नेपालको सामरिक महत्वलाई बुझेको छ र सोहीअनुरूप आफूलाई नेपालमा सक्रिय सहभागी गराएको छ । दोस्रो, ईयू अहिले पनि एक साम्राज्यवादी, उत्तरसाम्राज्यवादी चरित्र भएको शक्ति हो । उसले पनि नेपाललाई आफ्नो प्रभावभित्र पार्न चाहन्छ । नेपालमा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने निर्देशन दिन खोज्दैछ । तेस्रो, वैज्ञानिक समाजवादका निम्ति भएका प्रतिरोध सङ्घर्षहरूलाई हिंसाको संज्ञा दिएर बेइमानी गरेको छ । यसभित्र उसको पुँजीवादी पक्षधरता प्रस्ट देखा पर्छ । हाम्रो स्पष्ट दृष्टिकोण छ– नेपाली राजनीतिका नेतृत्वकर्ता र सञ्चालनकर्ता नेपालका राजनीतिक शक्ति हुन् र नेपाली जनता हुन् । यसमा ईयूले आफ्नो अन्तर्राष्ट्रिय चासो जनताको इच्छाअनुरूप राखोस् भन्ने हाम्रो धारणा छ ।

चुनाव खारेजपछि तपाईंहरू के गर्दै हुनुहुन्छ ? आगामी कार्यक्रम त केही सार्वजनिक गर्नुभएको छैन नि ?

सम्भवतः चुनावपछि हामीेले सार्वजनिक गरेको वक्तव्य हेरिसक्नुभयो होला । त्यहाँ हामीले स्पष्ट गरेका छौँ– अब नेपाल ‘प्रतिरोध, विद्रोह, क्रान्ति र आमूल परिवर्तनको चरणमा’ प्रवेश गरेको छ । साथै पार्टी नेता र कार्यकर्तालाई जनताको बीचमा बसेर सङ्घर्षको नेतृत्व गर्न भनिसकेका छौँ । त्यसैगरी जनता, बुद्धिजीवी, देशभक्त, प्रगतिशील शक्तिहरूलाई सङ्घर्षमा साथ दिन अपिल गरेका छौँ । सङ्घर्ष अगाडि बढी पनि रहेका छन् । जहाँसम्म उच्च स्तरका नयाँ योजनाको विषय छ, केन्द्रीय समितिले छिट्टै लिएर आउनेछ ।

चुनावमै पनि व्यक्तिकेन्द्रित, उम्मेदवार लक्षित आक्रमण गर्नुभयो भन्ने आरोप पनि छ त तपाईंहरूमाथि ?

हो, यो सही हो । यसो भनेर केही खराब र जासुस प्रकारका मान्छेले भनेजस्तो ‘व्यक्तिकेन्द्रित’ भने होइन । हामीले केन्द्रीय समितिबाटै भनेका थियौँ– नेपालमा दलालहरू र नेपाली जनताका बीचको अन्तर्विराध आजको सबैभन्दा मुख्य सङ्घर्ष हो । दलाल भन्नाले राजनीतिक, आर्थिक, प्रशासनिक आदि क्षेत्रमा घुसेर विदेशी मालिकको इसरामा नेपालमा शासन गर्न खोज्ने दलाल, लुटेरा, जनघाती, राष्ट्रघाती, भ्रष्ट तत्वहरू हुन् । तीमध्ये राजनीतिक क्षेत्रका दलालसँग यो चुनावमा सङ्घर्ष परेको हो । यहाँ कस्ता खराब तत्व छन्, तपाईंहरू पनि जान्नुहुन्छ र आम जनताले पनि बुझेका छन् ।

यो चुनावमा देश बेच्ने, कर्णाली बेच्ने, अरुण बेच्ने, नेपालका उद्योगहरू बेचेर खाने, कमिसनको चक्करमा युवकयुवती बेच्ने, क्रान्ति बेचेर खाने, कतिसम्म भने जनमुक्ति सेनाको मासिक ५ हजार र दैनिक भत्ताबाट पनि कमिसन झिकेर अर्बौं रूपैयाँ खाने लिच्चडहरू छन् । यस्तालाई कारबाहीको सुरुआत मात्र भएको छ । यत्ति कारबाहीमा पनि जनता खुसी छन् । यिनलाई धुलो काढ्न त बाँकी नै छ । यी तत्वहरू व्यक्ति त हुन् तर सामान्य व्यक्ति नभएर राष्ट्रघाती, जनघाती, भ्रष्ट र विषालु व्यक्ति हुन् । यस्तालाई कारबाही गर्नु न्यायिक फैसला हो ।

एमाले–माके मिलेर निर्माण गरेको वाम गठबन्धनका तपाईंहरूको दृष्टिकोण के हो ? यसले तपाईंहरूको आन्दोलनमा केही प्रभाव त पार्दैन ? उनीहरू पार्टीएकता गर्ने, स्थिर सरकार बनाउने, देशको विकास गर्ने कुरा गरिरहेका छन् त !

एमाले-माके गठबन्धन झापा विद्रोह र जनयुद्धबाट भागेका, पछि फर्केका, विचलित भएका, आत्मसमर्पण गरेका र वैज्ञानिक समाजवादको महान् आदर्शबाट च्यूत भएका आत्मसमर्पणवादी, संशोधनवादी, दक्षिणपन्थी, विसर्जनवादी प्रवृत्तिहरूको गठजोड हो । यसमा पनि एमालेका केही आफ्नै विशेषता छन् । उसले पहिले वैचारिक, राजनीतिक संश्लेषण (बहुदलीय जनवाद) गरेर अलि लामै समयदेखि संसद्वादमा प्रवेश गराएको छ । माके र त्यसका भगौडाहरूको शरीरमा त सहिदहरूको रगतका दाग पनि मेटिएका छैनन् । यो त एमालेलाई प्रतिक्रियावादी घोषणा गरेर सफाया गर्नुपर्छ भन्ने अनैतिकहरूको हूल हो । जनयुद्ध बेचेर खाने अधमहरूलाई के भन्ने ! यो कसरी ‘वाम’ हुन्छ ! यो त कम्युनिस्ट चिह्न प्रयोग गरेको नवपुँजीवादी समूह हो । यस प्रवृत्तिलाई हामीले नयाँ उचाइमा संश्लेषण गर्दै ‘सामाजिक दलाल पुँजीवादी’ भन्ने सोचेका छौँ ।

संशोधनवाद, संसद्वाद र आत्मसमर्पणवादले दुनियाँमा कहिल्यै पनि वैज्ञानिक समाजवाद ल्याएको इतिहास छैन र हुने पनि छैन । संसद् र पुँजीवादी संस्थाभित्रबाट भाषण र प्रचार गरेर कहिल्यै पनि वैज्ञानिक समाजवाद पैदा हुनेछैन । संशोधनवादको कोख समाजवादी कोख होइन, त्यो पुँजीवादी कोख हो जहाँबाट वैज्ञानिक समाजवादलाई निषेध गर्ने जण्ड पुँजीवादको जन्म हुन्छ । केपीले समाजवाद जन्माउन खोजेर के हुन्थ्यो ? केपीको कोखमा पुँजीवादको गर्भ छ, त्यही जन्मिन्छ । प्रचण्डको त त्यो पनि छैन ।

एमाले-माके गठबन्धनले हाम्रो पार्टी र क्रान्तिलाई असर त गर्छ तर सकारात्मक असर गर्छ । उनीहरू पुँजीवादी संसद्वादमा पतन भएका तत्व हुन् र क्रान्ति आवश्यक छ भनेर त हामीले प्रचण्ड-बाबुरामको आत्मसमर्पणवाद र विसर्जनवादबाट विद्रोह गरका हौँ । त्यही पुष्टि भएको छ भने हामीलाई यसले सही साबित गर्छ र जनता उनीहरूबाट झन् धेरै स्पष्ट बन्नेछन्, बन्नुपर्छ । परिवर्तन र क्रान्तिका पक्षमा रहेका जनताले हामीलाई नै साथ दिनेछन् । जहाँसम्म एमाले-माकेले विकास र समृद्धिको प्रचार गरेका छन् यो प्रचार पानीको फोका हो । जसरी क्रान्ति सकियो र आवश्यक छैन भन्ने प्रचारले हावा खायो त्यसैगरी यो प्रचारले पनि छिट्टै असफलता बेहोर्नुपर्छ । किनकि जुन बेलासम्म दलाल पुँजीवादी राज्यसत्ता कायम हुन्छ त्यहाँ जनताको समृद्धिको सम्भावना हुँदैन । त्यहाँ त दलालहरूको लुटतन्त्र चल्छ । समृद्धि भए पनि दलाल र लुटेरा वर्गको मात्र समृद्धि हुन्छ । तपाईंले चुनावको परिणामपछि देख्नुभयो नि, पद, कुर्सी र सुविधाका लागि उनीहरू कति छुद्र बकबास गर्दै हिँडेका छन् । कसैको कुरा कसैसँग मिलिरहेको छैन । अनि यी तत्वबाट देश उँभो लाग्छ भन्ने कल्पना गर्न सकिन्छ ? अहँ यो नचिताए हुन्छ । यत्ति हो, उनीहरूले वैज्ञानिक समाजवादमा जाने आधार भने बनाइदिनेछन् ।

वाम गठबन्धनले चुनावकै बाटोबाट समाजवाद स्थापना गर्ने तहसम्म जाने बताइरहेको अवस्थामा समाजवाद स्थापना गर्न अवैधानिक कार्यक्रम र बाटो नै रोज्नुपर्ने बाध्यता के पर्‍यो तपाईंहरूलाई ?

संशोधनवाद, संसद्वाद र आत्मसमर्पणवादले दुनियाँमा कहिल्यै पनि वैज्ञानिक समाजवाद ल्याएको इतिहास छैन र हुने पनि छैन । संसद् र पुँजीवादी संस्थाभित्रबाट भाषण र प्रचार गरेर कहिल्यै पनि वैज्ञानिक समाजवाद पैदा हुनेछैन । संशोधनवादको कोख समाजवादी कोख होइन, त्यो पुँजीवादी कोख हो जहाँबाट वैज्ञानिक समाजवादलाई निषेध गर्ने जण्ड पुँजीवादको जन्म हुन्छ । केपीले समाजवाद जन्माउन खोजेर के हुन्थ्यो ? केपीको कोखमा पुँजीवादको गर्भ छ, त्यही जन्मिन्छ । प्रचण्डको त त्यो पनि छैन । त्यो त बाँझो छ !

जहाँसम्म हामीले अवैधानिक बाटो रोज्यौँ भन्ने प्रश्न छ, यो मिलेन । हामीले रोजेको बाटो नै जनताको इच्छाअनुरूपको वैध बाटो हो । यो बाटो प्रतिरोध र विद्रोहको बाटो भने हो । यसको बाध्यता पुँजीवादी राज्यसत्ता, दलाल संसदीय व्यवस्थाको कारणले पैदा भयो । उनीहरू जनयुद्धका उपलब्धिहरूलाई सखाप पार्न चाहन्छन्; जनयुद्धका योद्धाहरूलाई अपराधी बनाउन चाहन्छन्; नेपालबाट कम्युनिस्ट क्रान्तिकारीहरूलाई सिध्याउन चाहन्छन्,  बन्दुकको नालमा शासन गर्न चाहन्छन् अनि हामीले कसरी उनीहरूलाई फूलपाती र गङ्गाजल छर्किन सक्छौँ ! यो हामीले नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध गरेको प्रतिरोध र विद्रोह हो जो जनताको मतद्वारा अनुमोदित छ ।

तपाईंहरूले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा, मालेमामा विकास र वैज्ञानिक समाजवाद स्थापनाबारे, तपाईंहरूको कार्यक्रमबारे विभिन्न कोणबाट टिप्पणी र आलोचनासमेत भइरहेको छ नि ? कसरी फस्र्याउनुहुन्छ ती विषय ?

राम्रो प्रश्न हो यो । निश्चय नै हाम्रो पार्टीले ऐतिहासिक आठौँ महाधिवेशनबाट नेपाली क्रान्तिको कार्यदिशालाई ‘एकीकृत जनक्रान्ति’ भनेर संश्लेषण गरेको छ र यसको प्रयोग पनि सानदार ढङ्गले गरिरहेका छौँ । हामीले यो कार्यदिशाको संश्लेषण गर्दा नेपाली अर्थराजनीतिक सम्बन्ध र विशेषताहरूलाई मात्र होइन, एक हदसम्म विश्व अर्थराजनीतिक सम्बन्धलाई समेत अध्ययन गरेर, ती विषयमा पचाएर गरेका छौँ । यो कार्यदिशाको संश्लेषण त्यत्तिकै आवश्यक र वैज्ञानिक छ जति आवश्यकता क्रान्ति र वैज्ञानिक समाजवादको रहेको छ । यसप्रति हामीलाई त्यत्तिकै विश्वास छ जति विश्वास माक्र्सवादमा छ । यो नै आजको वैज्ञानिक र वस्तुवादी कार्यदिशा हो । यो लेनिनको जनविद्रोह र माओको दीर्घकालिन जनयुद्धको उच्च संश्लेषण हो ।

यसप्रति आलोचना हुने कुरा स्वाभाविक हो । माक्र्सवाद र वैज्ञानिक समाजवादमा त पुँजीवादी र संशोधनवादीहरूबाट आलोचना छ भने हाम्रो नयाँ संश्लेषणमा आलोचना हुने कुरालाई अनौठो मान्ने कुरा केही छैन । विज्ञानको नियम नै यस्तो छ हजारौँ आलोचनाहरू झेलेर मात्र खरो उत्रिन्छ । तर यसको गहिराइ, व्यापकता र गाम्भीर्यलाई नबुझेर पूर्वाग्रह, सङ्कीर्णता, रूढिवाद, ईष्र्या, कुण्ठा, छाडा एवम् आवारा तरिकाले गर्ने आलोचनाको कुनै अर्थ र औचित्य छैन । त्यता आलोचनालाई क्रान्तिको धारमा रेटेर अगाडि बढ्नुपर्छ । सही विचार क्रान्तिको महायात्राबाट साबित हुन्छ । हाम्रो ‘एकीकृत जनक्रान्ति’ वैज्ञानिक छ र यो साबित भइछाड्नेछ ।

एकीकृत जनक्रान्तिसञ्चालन गर्दा अन्य कम्युनिस्ट पार्टी र मित्र शक्तिहरूलाई कसरी सहकार्यमा राख्नुहुन्छ ?

राम्रो प्रश्न गर्नुभयो । अन्य कम्युनिस्ट पार्टी र मित्र शक्तिहरूलाई सहकार्यमा राख्ने हाम्रा तीनवटा प्रस्ट नीतिहरू छन् र ती नीतिलाई हामी लागू गरेर जान्छौँ ।
पहिलो कुरा हाम्रो पार्टीसँग क्रान्तिमा अगाडि बढ्न चाहने कम्युनिस्ट पार्टीहरूसँग एकता गरेर जाने, दोस्रो, तत्काल एकता हुन नसके पनि राष्ट्रियता र जनअधिकारका पक्षमा विषय मिल्ने कम्युनिस्ट पार्टीहरूसँग सयुक्त मोर्चा र कार्यगत एकता गरेर अगाडि बढ्ने, तेस्रो, देशभक्त र लोकतन्त्रवादी शक्तिसँग राष्ट्रिय स्वाधीनता, जनताको राज्यसत्ता र राजनीतिक अग्रगमनका लागि राजनीतिक मोर्चामा संयुक्त मोर्चा निर्माण गरेर जाने । कम्युनिस्ट आन्दोलन र नेपालको राजनीतिक आन्दोलनलाई यथास्थिति र अग्रगमनका पक्षमा व्यापक धु्रवीकरण गर्ने हाम्रो सोचाइ छ । यसका पक्षमा विभिन्न नेता र शक्तिहरूसँग छलफल चली पनि रहेको छ । नेपालमा एकपटक सोचेको भन्दा नयाँ र उच्च स्तरमा नयाँ राजनीतिक धु्रवीकरण र सङ्घर्ष हुन्छ भन्ने अवस्था देखा पर्दैछ ।

तपाईंहरू क्रान्ति गर्दा अब नेपाली सेनाले दलालहरूका विरुद्ध हामीलाई साथ दिनुपर्छ भन्ने गर्नुहुन्छ, के त्यो सम्भव देख्नुहुन्छ र ?

हो, हामी त्यो सम्भावना देख्छौँ र त्यसो होस् भन्ने हाम्रो चाहना छ । हाम्रो पार्टीले भनेको छ– नेपाल देशको स्वाधीनता सर्वाधिक जोखिममा छ । जनताको जीवन गरिबीको मारमा पर्दै गएको छ । भरखरै प्रकाशित आर्थिक सर्वेक्षणले नेपालमा गरिबी झन् बढेको छ । युवकयुवतीको हालत के छ, त्यो सबैलाई थाहा छ । देशलाई यस्तो हालतमा पुर्‍याउने बदमासहरू यिनै संसद्वादी दलका दलाल नेताहरू हुन् । हामीले देशलाई यी तत्वहरूबाट मुक्त नगरेसम्म जनताको अवस्था माथि उठ्नेछैन । त्यसका लागि हामी दलाललाई फाल्ने क्रान्ति त गर्छौंगर्छौं, त्यसलाई बचाउन र हामीमाथि दमन गर्न नेपाली सेना र प्रहरी आउनु हुँदैन, बरु सबै मिलेर यिनलाई फालौँ भन्ने हाम्रो सोचाइ छ । यो सोचाइप्रति सुरक्षा शक्ति नकारात्मक हुनुपर्ने कुनै कारण हामी देख्दैनौँ । त्यस अर्थमा यो सम्भव हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।

विश्व कम्युनिस्ट आन्दोलनको पछिल्लो अवस्था र तपाईंहरूको कम्युनिस्ट भाइचाराका बारेमा सङ्क्षेपमा केही राखिदिनुस् न !

विश्व कम्युनिस्ट आन्दोलनको अवस्था राजनीतिक दृष्टिले एकदमै राम्रो भन्ने ठाउँमा छैन तर विचारधारात्मक रूपले आज पनि यो महान् सत्यका रूपमा स्थापित छ । आज पुँजीवाद हाबी छ तर पुँजीवाद हाबी हुँदै गर्दा पैदा हुने यसको पागलपन र लुटेरा चरित्रले वैज्ञानिक साम्यवादको सम्भावनालाई दुरुस्त प्रकारले अगाडि ल्याइदिन्छ । आज पुँजीवादको लुटेरा चरित्र विश्वव्यापी रूपमा सङ्कटग्रस्त हुँदै गएको छ । संसारभरि जता पनि युद्ध र अराजकताको स्थिति बढ्दैछ, विध्वंशकारी हातहतियारको होडबाजी, खरिदबिक्री र प्रयोग बढ्दै गएको छ । यसले आउँदो समयमा वैज्ञानिक समाजवाद—साम्यवादलाई अनिवार्य रूपले अगाडि ल्याउनेछ ।

हामी विश्वका क्रान्तिकारी र सङ्घर्षरत कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध र मोर्चाबद्ध गराउनमा लागिरहेका छौँ । यस क्षेत्रमा सन्तोषजनक प्रगति पनि भइरहेको छ । कम्तीमा पनि पुँजीवादका विरुद्ध क्रान्ति र सङ्घर्षमा रहिरहेका कम्युनिस्टहरूलाई एउटै मञ्चमा ल्याउन सक्दा शक्ति प्राप्त हुन्छ भन्नेमा हामी छौँ । विभिन्न देशका माओवादी पार्टीहरूसँग त हाम्रो संवाद चली नै रहेको छ । दिन प्रतिदिन विस्फोटक बन्दै गएको विश्व राजनीतिक अन्तर्विरोधहरूले कम्युनिस्टहरूलाई सहकार्यमा आउने वातावरण बन्दै जानेछ ।

प्यालेस्टिन–इजरायल तनाव र जेरुसेलमलाई इजरायलको राजधानी स्वीकार्ने अमेरिकी निर्णयलाई कसरी लिनुभएको छ ?

जेरुसेलम प्यालेस्टाइनको भूभाग हो भन्नेमा विश्व समुदाय एकमत छ । सम्भवतः अमेरिकी नागरिकहरू पनि यसै पक्षमा छन् । जहाँसम्म इजरायलले कब्जा गरेको प्रश्न छ यो सही छैन भन्नेमा पनि विश्व एक छ । हालै बसेको संयुक्त राष्ट्रसङ्घको महसभाले अमेरिकी धम्कीलाई बेवास्ता गर्दै अत्यधिक वहुमतले अमेरिकी प्रस्ताव अस्वीकार ग¥यो । कब्जालाई विवादित भन्न पनि मिल्दैन, यो जसको हो उसैको हुनुपर्छ । अनौठो घटना ! अमेरिकाले इजरायलको राजधानी घोषणा गरिदिने मूर्खतापूर्ण कार्य गरेको छ । एउटा देशको राजधानी अर्कोले तोकिदिने ! योजस्तो बलमिच्याइँ अरू के हुनसक्छ ? सायद इजरायलले समेत कम सोचेको निर्णय होलाजस्तो लाग्छ । अमेरिकी यो निर्णयले विश्व पुँजीवादको नयाँ चरित्र र अन्तर्विरोधलाई प्रकट गर्छ । हामीले यसै भएर आजको पुँजीवादलाई साम्राज्यवाद—उत्तरसाम्राज्यवाद भन्ने निर्णय गरेका छौँ । यो अति र चरम रूपमा व्यक्त भइरहेको छ । सम्भवतः यो निर्णय विश्वलाई आफ्नो दबाबमा राख्ने नियतसँग जोडिएको छ । हाम्रो विचारमा अमेरिका यो निर्णयबाट पछि फर्किनुपर्छ र विश्वले यसको सही जबाफ दिनुपर्छ ।

अमेरिकाले जनगणतन्त्र कोरिया (उत्तरकोरिया) सँग निःसर्त वार्ताको प्रस्ताव गरेको सन्दर्भ आएको छ । के अमेरिका गल्दै गएको हो कोरियासँग ?

विषय ठिकै भन्नुभयो तर उत्तरकोरियासँग अमेरिका गलिसक्यो पनि नभनौँ । कुरा के सत्य हो भने प्रतिरोध, स्वाधीनता र प्रगतिसहितको आत्मरक्षा भन्ने दृष्टिकोण नै पुँजीवादसँगको प्रतिस्पर्धामा वैज्ञानिक र वस्तुवादी दृष्टिकोण हो । उत्तरकोरिया यसैको नमुना हो । जहाँ प्रतिरोध र स्वाभिमान छ त्यहाँ मात्र रक्षा र उन्नति सम्भव छ । जहाँ आत्मसमर्पण र दलालीगिरी हुन्छ त्यसको पतन र विनाश अनिवार्य छ । उत्तरकोरियाले पुँजीवादलाई परास्त गर्दैनथ्यो र वैज्ञानिक समाजवादी मार्ग पकड्दैनथ्यो भने, कोरियाले अमेरिकाविरुद्ध प्रतिरोधको बाटो लिँदैनथ्यो भने उत्तरकोरियाको हालत पूर्वी जर्मनीकै जस्तो हुन्थ्यो । तर उत्तरकोरियाले सही बाटो लिएपछि अमेरिका पछि हट्न बाध्य भएको छ ।

अमेरिकाले निःसर्त वार्ताको प्रस्ताव गरेको कुरा हामीले पनि पायौँ । संयुक्त राष्ट्रसङ्घले पनि वार्ता गर्ने भन्यो । यसभित्र अमेरिकाका अनेकौँ दाउ भए पनि उत्तरकोरिया र उत्तरकोरियाली जनताको एक तहको विजय हो । यसले उत्तरकोरियालाई मिच्न वा हमला गर्न सजिलो छैन भन्ने प्रस्ट सन्देश गएको छ । यसो त यो उत्तरकोरियाको मात्र विषय नभएर विश्व जनमतको अभिव्यक्ति पनि हो ।

अरु केही ?

नेपालको पेचिलो तर क्रान्तिको सम्भावनायुक्त समयमा हाम्रो दृष्टिकोण राख्ने मौका दिएकोमा रातो—खबरलाई धेरै धेरै धन्यवाद ।

  • रातो खबरबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]