Dabali News

कमरेड बामदेव र रामवीरको राजनीतिक अवसान

गत निर्वाचनमा बर्दीयाबाट हारेपनि काठमाडौं ७ बाट रामवीर मानन्दरलाई राजिनामा गराएर निर्वाचित हुने कामरेड बामदेव गौतमको इच्छाको विरोध स्थानीय जनताको पार्टीभित्रै देखिएको असन्तुष्टी तथा लोकतन्त्रमा जे पनि गरे हुन्छ भन्ने नेताहरुको मानसिकताको विरुद्धमा जनता उठेकोले बामदेव गौतमको बिजोक मात्र भएको होइन उनको राजनितिक भविष्य समेत समाप्त भएको संकेत भएको छ । उनको मात्र होइन नेताको पाउँमा जनतालाई अर्पण गर्न सक्दछु भन्ने पनि रामवीर मानन्दरको मानसिकतामाथि पनि गम्भीर आगात पर्नुको साथै उनको राजनीतिक भविष्य समाप्त भएको छ । उनले सांसद पद छोडेर यो भन्दा ठूलो पद पाउन गरेको इच्छाको पनि स्खलन भएको छ ।
यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओली र पुस्पकमल दाहालले मनपरी रुपमा पार्टीलाई आफ्नो व्यक्तिगत सम्पति जस्तो पार्टीमा जस्तोसुकै आदेश दिएपनि कार्यकर्ताले आज्ञाकारी दास जस्तो स्वीकार गर्दछन् भनी आफुलाई तारानाहार ठान्ने, जसलाई जे दिए पनि जे पनि गर्न सक्दछ भन्ने मानसिकताको बामदेव प्रकरणले प्रतिरोध गरेको छ । उनीहरुको हुकुमवादी मानसिकतामा गहिरो आज्ञात भएको छ ।

बामदेव गौतमको काठमाडौं ७ बाट सांसद बनेर मुलुकको समृद्धि र विकाशको नाममा आफ्नो प्राधिकार जमाउने इच्छा विपरित प्रतिक्रया देखिएपछि पार्टीभित्र तीब्र विरोध र निर्वाचन क्षेत्रमा समेत स्थानीय नेता र जनतामा उग्रआक्रोस असन्तुष्टि देखिएपछि तत्कालाको लागि गौतमले सांसद हुने महत्वकांक्षालाई तत्कालको लागि स्थकित गरेका छन् । यसअधि बर्दियाबाट सांसदमा उठेका बामदेवलाई स्थानीय जनताले हराएर संसदमा आफ्नो प्रतिनीधि बनाएका थिएनन् । तर, पदमा नभए बस्नै नसक्ने बामदेवले ६ महिना पछिनै आफु सांसद बन्नको लागि चलखेल गरेका थिए ।

डोल्पाली जनताले चुनेका प्रतिनिधिलाई राजिनामा गराएर सुरक्षित रुपमा संसद छिर्न चाहेका थिए । यसको लागि प्रचण्डसँग कुरा गरी त्यहाबाट राजीनामाको लागि प्रपंच्च समेत मिलाएका थिए । तर, स्थानीय कार्यकर्ता र जनताले बामदेव चुनाव लड्न आएमा हराई दिने भनी अभियान चलाएपछि डोल्पाबाट सांसद बन्ने महत्वकांक्षा छोडेर ओलीसँग कुरा नगरेर बामदेव काठमाडौं ७ का रामवीरलाई राजीनामा गराएर सांसाद हुनु चाहेका थिए । बामदेवले जनादेशको नाममा मनपरि गरी प्राधिकारको महत्वकांक्षा राखेका थिए । अहिले त्यो पनि तुसारापात भएको छ भने उनको साथै रामवीर मानन्धर र प्रचण्ड–ओलीको कार्यप्रति जनतामा असन्तुष्टि र प्रहार भएको देखिएको छ ।

यसअघि संविधानसभाको पहिलो निर्वाचनमा दुईवटा स्थानबाट पराजित माधवकुमार नेपाललाई भित्र्याइएको थियो । त्यसको लागि एकजना मनोनित सांसदलाई राजीनामा गराएर श्रीलंकाको राजदुत दिएर सांसद बनाएर बनाइएको थियो । दुई ठाउँ हारेका मान्छे पनि प्रधानमन्त्री भएकोले जनादेश भनेको केही होइन हामी नै सबै कुरा हो भन्ने मानसिकताबाट अहिले बामदेवको महत्वकांक्षा जनदेशलाई अपमान गर्ने अर्को कार्य थियो । चिनियाँ भाषामा शासकहरुले जनतालाई ‘घाँस पात’ ठानी व्यवहार गरेमा जनताले पनि ‘शासकलाई चोर डाका’ ठान्दछन् भन्ने भनाई जस्तै अहिलेको बामदेव र केही नेताहरुले जनतालाई हामीले जे पनि गरे हुन्छ भन्ने मानसिकताको तीव्र विरोध भएको छ र यसले सरकार र पार्टीविरुद्ध जनआक्रोस बढ्न पुगेको छ ।

पार्टीकै उच्च नेताहरुको असन्तुष्टी र सामाजिक सञ्जालको विरोधले गर्दा बामदेव गौतमको सांसद बनेर हालिमुहाली गर्ने इच्छालाई गालाई दिएपछि ७ नम्बरबाट ठाउँ खाली गराएर निर्वाचनमा नउठ्ने घोषणा गरेका हुन् । यसको साथै यही निर्वाचनको विषयलाई लिएर पार्टीका पदहरुबाट समेत हटाउने चलखेल सुरु भएको थाहापाएपछि उनको नयाँ महत्वकाक्षालाई त्यागेको देखिएको छ । यसैले गर्दा बर्दियामा जसले हराउने काम गरे तिनिहबाट नै नयाँ निर्वाचनबाट सांसद हुन नदिन खोजेको भन्ने आक्रोश समेत यसैले पोखेका हुन् ।

बामदेव मात्र होइन रामवीर समेत नेताको चाकरी गरी पाहुको भक्त हनुमानी देखाउन खोज्दा आफै तिरस्कृत भएका छन् । मानन्द समाजले दिएका सम्मान र प्रसंशा समेत समेत फिर्ता गरेर उनलाई सडकमा ल्याई पछारि दिने काम गरेको छ । यसबाट बामपन्थीहरुको त्यो क्षेत्रमा रहेको प्रभाव समेत घटेको छ, यसले वामपन्थी आन्दोलनको लागि समेत प्रतिपाद भएको छ । जनताको मतलाई आफ्नै पेवा ठान्ने प्रबृति पनि यसबाट आगात पुगेको छ । यो निर्वाचनबाट बामदेवपछि हट्दैमा यसले छोडेको नेताहरुको चरित्र र राजनीतिको असर दिर्घकालसम्मको लागि हुने देखिएको छ । रामवीर हर्केपनि यसको असर हट्न सक्दैन । जनता कसैका व्यक्तिगत सम्पती र दास होइनन् उनिहरुमा चेतना विकाश भईसकेको छ । जे भन्यो त्यसैको पछि लाग्छन् भन्ने मानसिकतामाथि पनि यसबाट गम्भीर प्रहार भएको छ । जनमतलाई उपेक्षा गर्ने आफ्नो मनपरी लाद्ने प्रबृतिको समेत यसबाट भण्डाफोर भएको छ ।

लगातार सामाजिक संजालबाट जनता र कार्यकर्ताबाट नकारात्मक आलोचना तथा आक्रोशको अगाडि अहिले शक्तिशाली ठानिएका नेता विष्णु पौडेल समेत पछि हट्न बाध्य भएका छन् । बामदेवलाई सांसद बनाउने उनको प्रपच्च समेत चकनाचुर भएको छ । यसले गर्दा नेकपाका भावी नेतका रुपमा अगाडि बढेका पौडेको भविष्य समेत संकटमा परेको देखिन्छ ।

बामदेवको महत्वकांक्षा यो पहिलो होइन । डोल्पाका धनबहादुर बुढा, दैलेखका रविन्द्र शर्मा, बैतडीका दामोदर भण्डारी, बाँकेका नन्दलाल रोकाया, प्युठानकी दुर्गा पौडेल र नवलपरासिका तिलक महतलाई राजिनामा गराउन असफल भएपछि काठमाडौं पसेका थिए । बामदेवको पहिलेदेखिकै यस्तो बानी देखिन्छ पुष्पलाललाई धोका थिएर तत्कालिन मालेमा आएका उनले एमालेलाई समेत फुटाएर मालेको गठन गरेका थिए । मालेबाट केही लाभ लिएपछि भविश्य नदेख्दा बामदेव फेरि एमालेमा प्रबेश गरेका थिए । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा बामदेवले धोका दिएर रुक्मांगल कटुवाल काण्डमा राजीनामा गर्न बाध्य गराएका थिए । अतिमहत्वकांक्षी बामदेव सत्तामा रहँदा आफ्नो वरिपरिका नातेदारहरुलाई सत्तामा पु¥याउने र भ्रष्टाचार तस्करीहरुलाई समेत प्रोत्साहित गर्ने काम गरेका थिए । गृहमन्त्री हुदाँ डिआईडीसहित लिएर पुलिससहितको सहयोगमा ३२ किलो सुनकाण्ड तथा आफ्नै मान्छे हङकन मगरबाट भएको हवाई जाहाज प्रकरणहरु रहेकोले उनी कस्ता किसीमका महत्वकांक्षी हुन । उनी सत्तामा अएपछि जे पनि गर्दछन् भन्ने उनको दुषशाहरिक कार्यबाट पहिले नै थाहा भएको छ । यो पछिल्लो दुष्साहशी कामले गर्दा यो राजनीति धरापमा परेको छ । अब काठमाडौँ ७ बाट चुनाव नलड्ने भनी माफी माग्दैमा उनको लोकतन्त्र विरोधी सत्ताको लागि हुरुक्क हुने चाहानाबाट उत्पन्न भएको परिस्थिति समाप्त हुने छैन ।

चोतर्फी रुपमा भएका आलोचना र नकरात्मक त्रृटीलाई उनको संसदप्रतिको क्लोज गर्दैमा समाप्त हुने छैन । ७ नम्बर क्षेत्रका राजनीतिक मानन्दरले समेत कसैसँग सल्लाह नगरी एकैचोटी पत्रकार सम्मेल राजीनामा गरेकोले पनि निर्वाचन क्षेत्रमा उनको र पार्टीको बिरुद्धमा समेत नकारात्मक जनमत बन्न पुगेको छ । यसैले गर्दा ७ नम्बर प्रदेश सभाका सदस्यसहितका नेताहरुले पार्टी अध्यक्ष ओली र प्रचण्डलाई भेटेर बामदेलाई निर्वाचन लडाउन गरेको सहमतिको समेत विरोध गर्न पुगेका थिए । यसले ओली र प्रचण्डको स्वास्थमा पनि राम्रो प्रभाव परेको देखिदैन । उनीहरुले माथिबाट हामीले गरेको निर्णय जसले पनि मान्दछन भन्ने जुन अहिलेसम्म गर्दै आएको एकतर्फी निर्णयाको विरोधले पनि अबदेखि हामीले गरेको निर्णय जेपनि लागु हुन्छ भन्ने सोँचे गम्भीर त्रुटि थियो ।

यसले पार्टीको जीवनमा र गम्भीर प्रभब पारेको छ । यो बामदेवको महत्वकांक्षी काण्डले धेरै नेताको महत्वकांक्षा र सत्तामा जीवनभर टाँसिएर बस्नुपर्ने कम्युनिष्ट पार्टीमा सबै बराबर भएपनि हामी अरुभन्दा बढि बराबर भन्ने सोचलाई त्याग्नु पर्दछ । नत्र बामदव काण्डले पार्टीबाट केही सिकेको र नेताले पाठ पढेको भए यो देशकै लागि शुभ हुने देखिन्छ । नेताहरु जसरी पनि पदमा पुग्नु पर्ने र कार्यकर्ताहरुले उनीहरुको लागि सहिद हुनु पर्ने परम्परा संस्कृति समाजवादी संस्कृति नभएर नव सामन्तवादी प्रबृति हो । अहिले बामदेव पछि हटेपनि मुख्य नेताहरुले यो विरोध कम भएपछि अन्य कुनैलाई राजीनामा गराएर उनलाई सांसदमा ल्याउने बचन दिएपछि बामदेव पछि हटेका हुन् । यो नेताहरुको नवसामन्ती चरित्रले वामपन्थ संस्कृतिलाई नै विकृति गरिदिएको देखिन्छ र शामन्ती अहंकारवादलाई प्रोसाहित गरी समाजवादी संस्कृतिलाई अवसान गर्ने घटनाको रुपमा यसलाई लिनु पर्ने हुन्छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]