Dabali News

Ad

एमाले-माओवादी केन्द्रको एकता सामुहिक सैद्धान्तिक आत्महत्याः पीटर

२० पुस

काठमाडौँ । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटरले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता सामुहिक आत्महत्या सरह भएको बताएका छन् । पद र प्रतिस्ठालाई एकताको आधार बनाएको बताउँदै पीटरले कम्युनिस्ट विचार र सिद्धान्तको सामुहिक आत्महत्या भएको बताए ।

“जब सिद्धान्तको राजनीतिको ठाउँमा सुविधाको राजनीति हुन्छ तब कुटनैतिक सक्रियता हावी हुन्छ, तत्कालिन विषय हावी हुन्छ र तत्कालिन फाइदाको मात्र हिसाब–किताब गरिन्छ । एमाले र माओवादी केन्द्रको एकता पनि विचार र सिद्धान्तमा नभएर वर्तमान सुविधाको लागि गर्न खोजिँदैछ, यो दुबै पार्टीका नेता-कार्यकर्ताहरुको सैद्धान्तिक रुपमा सामुहिक अात्महत्या हो” पीटरले भने । विचार सिद्धान्तभन्दा पनि गुटको हित सुरक्षित गर्न एमाले र माओवादीका मुख्य नेतृत्व नै लागिपरेको उनले दाबी गरे ।

अनलाइन डबलीसँग कुरा गर्दै पत्रकार पीटरले भने, “एमाले अध्यक्ष केपी ओलीजीले साम्यवाद परिकल्पना मात्रै हो, अब बन्ने एकीकृत पार्टी वामपन्थी र कम्युनिस्ट दुबै हुँदैन, जनयुद्ध सैद्धान्तिक भुल थियो र गणतन्त्र स्थापनामा कुनै भूमिका छैन भन्दापनि दुबै पार्टीका नेताहरुले कुनै प्रतिवाद गर्दैनन् । यो सामुहिक सैद्धान्तिक आत्महत्या हो ।” पीटरले अमेरिकामा धर्मगुरुले गरेको सामुहिक आत्महत्या सबैभन्दा ठूलो भएको भन्दै सैद्धान्तिक रुपमा एमाले र माकेको एकता सबैभन्दा ठूलो सामुहिक आत्महत्या हुने बताए । विचार र सिद्धान्तविना गरिने एकताले ओलीले भनेजस्तै पार्टी बन्ने बताउँदै पत्रकार पीटरले एमाले र माकेका नेताहरुमा आएको ठूलो स्खलन भएको ठोकुवा गरे ।

कम्युनिस्ट नाम र झण्डा बोकेर लामो संघर्ष गरेका दुबै पार्टीका नेताहरुले ओलीले कम्युनिस्ट र वामपन्थी पार्टी बन्दैन भन्दापनि कसैले प्रतिवाद नगरेको देख्दा आफूलाई अनौठो लागेको बताउँदै पीटरले दुबै पार्टीका नेता-कार्यकर्ताहरु सैद्धान्तिक रुपमा सामुहिक आत्महत्याको लागि तयार भएको पुष्टि भएको बताए ।

नेकपा एमाले एनजिओले तयार गरेको सिद्धान्तमा चल्ने पार्टी भएको बताउँदै पत्रकार पीटरले आमूल परिवर्तनको नारा बोकेर आएको माओवादी नेतृत्व त्यहाँ पुग्नु वैचारिक स्खलनको पराकाष्ठ भएको बताए । “एमाले न विग्रेको छ न सप्रेको । उ जहाँ थियो त्यही छ तर अामूल परिवर्तनको नारा बोकेर दश वर्ष जनयुद्ध गरेको माओवादी नेतृत्वमा आएको वैचारिक स्खलन पाराकाष्ठामा पुगेको छ” माओवादी आन्दोलनका जानकार पत्रकार पीटरले भने ।

अध्यक्ष प्रचण्डको व्यवस्थापकीय कमजोरीका कारण माओवादी आन्दोलन एमालेको विचारमा पुगेको बताउँदै पीटरले भने, “प्रचण्डले विगतदेखि विचार र संगठनमा आएको समस्यालाई हल गर्न अर्को ठूलो समस्या सिर्जना गरेर त्यसलाई किच्दै आएका छन् । यो प्राविधिक समाधान हो । यसले निम्त्याउने यही हो । शान्तिप्रक्रियापछि नारायणकाजीसँगको एकताहुँदै केन्द्रीय समिति ६ हजार बनाउनेदेखि एमालेसँगको एकता यसैको उदाहारण हुन्” कुराकानीको क्रममा पीटरले भने ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]