Dabali News

वनमा राजधानी तोकिएपछि अतिक्रमण गर्नेहरू निकै खुसी, चुरेको खोंचमा सहर बनाउँदा भविष्यमा क्षति निम्तिने चेतावनी

२५ असोज

कैलाली । गोदावरी वनमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएपछि वन क्षेत्र अतिक्रमण गर्नेहरू निकै खुसी भएका छन् ।

डिभिजन वन कार्यालय कैलाली भने आँखा चिम्लेर बसेको छ । तेघरीदेखि दक्षिणतिरको गोदावरी नदीमा हरेक दिन कैयौं स्काभेटरले दोहन गरिरहेका छन् ।

ट्रकले गिट्टी, ढुंगा र बालुवा ओसार्न व्यस्त रहेका छन् । तेघरी क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्न गोदावरी नगरपालिकाले स्वाँर कन्स्ट्रक्सन कम्पनीलाई असोज ९ मा १ करोड २० लाख रुपैयाँको ठेक्का दिएको हो ।

कम्पनीले नदीमा मनोमानी गरिरहे पनि नगरपालिकाले अनुगमन गरेको छैन । नगर प्रमुख हरिसिंह साउद भर्खरै ठेक्का लगाइएकाले केही दिनपछि अनुगमन गर्ने बताए ।

अत्तरियादेखि पहाडी जिल्लाहरू जोड्ने भीमदत्त राजमार्गको बायाँतिरको जंगल क्षेत्रलाई राजधानी तोकिएको छ । गोदावरी नगरपालिकाको २ र ४ नं.वडामा पर्ने क्षेत्र तेघरी सामुदायिक वन हो ।

वन उपभोक्ता समूहका पूर्वअध्यक्ष कैलाशकुमार जोशीले आफ्नो पालामा अतिक्रमण हटाउन पहल गरे पनि अहिले मनपरी चलेको बताए । उनले भने,‘पहिला जंगल रहेको क्षेत्रमा अहिले बस्ती छ, सार्वजनिक जग्गा मिचिएको छ, सम्बन्धित निकायले चासो नदिँदा सबैको मनपरी बढेको छ ।’ तेघरी वनसँगै रहेका बस्तीसमेत वन मिचेर बनेका छन् ।

विगतमा समथर भागमा मात्र हुने गरेको अतिक्रमण अब चुरे जंगलतिर उकालो लाग्न थालेको छ । गोदावरी खोला आसपास र पारिको जंगलभित्र पनि टहरा बनिरहेका छन् । टहरामा सडक पुर्याउन चुरे फेदी खन्ने क्रम जारी छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रममार्फत संरक्षण कार्यक्रम अघि बढिरहेकै स्थानमा जथाभावी खनिने क्रम जारी छ । प्रदेश वन निर्देशनालय, धनगढीका प्रमुख सहसचिव नवराज काफ्लेले अत्तरियादेखि गोदावरीसम्म वन क्षेत्र अतिक्रमण गर्नेहरूलाई विगतमा धेरै पटक हटाइएको दाबी गरे ।

‘नयाँ संरचनाबारे मलाई थाहा छैन,’ उनले भने, ‘पहिला धेरै पटक हटाइएको हो ।’ उनले हटाएको दाबी गरे पनि त्यही क्षेत्रमा अहिले टहरा बन्ने क्रम जारी छ । जंगलकै बीचमा होटल चलिरहेका छन् ।

गोदावरी पुलनजिकै चुरेको जंगल हुँदै सडक खनिँदै छ । चुरेको खोंचमा रहेको ४ नं.वडामा पर्ने फूलबस्तीमा बाटो पुर्याउन नगरपालिकाले गत वर्ष २० लाख रुपैयाँ छुट्याएको थियो । ४ नं.वडा अध्यक्ष प्रेमबहादुर भण्डारी पुरानो बस्ती भएकाले बाटो खन्न थालिएको बताए । ‘त्यो बस्तीमा पहिला मगरहरू मात्र थिए, अहिले उनीहरू विस्थापित भएर नयाँ मान्छे थपिएका छन् ’ उनले भने ।

चुरे क्षेत्रमै बेलपानीदेखि काफलीसम्म पनि सडक बन्दैछ । वन क्षेत्र अतिक्रमण गरेर बस्ती विकास भइरहेको थाहा भए पनि गरिब र निमुखा भएकाले हटाउन नसकिने वडाध्यक्ष भण्डारीको भनाई छ ।

सुदूरपश्चिमको उद्योग, पर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर कोइराला सबै निकायको सहयोग भए मात्र अतिक्रमण हटाउन सकिने बताए । ‘प्रदेश मन्त्रालयले अतिक्रमण हटाउने विषयलाई प्राथमिकतामा राखेको छ,’ उनले भने,‘नयाँ संरचना रोकिएको छ ।’ गोदावरीमा राजधानीका संरचना बनाउँदा वातावरणीय पक्ष अध्ययन गर्दै सम्भावित क्षति न्यूनीकरणमा ध्यान दिन उनको सुझाव छ ।

विज्ञहरूले वातावरणीय अध्ययनबिना चुरेको खोंचमा सहर बनाउँदा भविष्यमा क्षति निम्तिन सक्ने चेतावनी दिएका छन् । तेघरी भावर क्षेत्र भएकाले उत्खनन हुँदा तल्लो तटीय क्षेत्रमा पानीको संकट पर्ने छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]