Dabali News

काठमाडौंमा मुस्ताङका च्यांग्रा शुक्रबारदेखि बिक्री हुने

२५ असोज

काठमाडौं । नेपाल खाद्य संस्थानले शुक्रबारबाट दसैंका लागि च्यांग्रा र खसी बिक्री सुरु गर्ने भएको छ ।
संस्थानले काठमाडौंका उपभोक्तालाई बेच्न मुस्ताङमा ९ सय २५ च्यांग्रा किनेको छ ।

च्यांग्रा र खसी बिक्री सुरु गर्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । ‘हिमाली जडीबुटी खाएका मुस्ताङी च्यांग्रा बिहीबार काठमाडौं आइपुग्छन् ।’ उनले भने, ‘हेटौंडाबाट खसी पनि ल्याएका छौं ।’ च्यांग्रा र खसीको मूल्य भने बिहीबारमात्र तोक्ने छ ।

संस्थानले हेटौंडाबाट १ हजार खसी ल्याउने जनाएको छ । संस्थानले बजार मूल्यभन्दा १० रुपैयाँ सस्तोमा मासु बिक्री गर्न लागेको हो ।

उपभोक्तालाई स्वस्थ्य र सस्तोमा मासु खुवाउने व्यवस्था मिलाउन विभिन्न जिल्लाबाट भेडा-च्यांग्रा र खसी-बोका ल्याएर बिक्री गर्न लागिएको हो । दसैं, तिहारलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसी-बोका खरिद गरेको जनाएका छन् ।

दसैंमा मासु खपत उच्च हुने भएकाले स्वदेशी उत्पादनले नथेगेपछि करिब ४४ हजार खसी-बोका भारतबाट ल्याउने चौपाया खरिद-बिक्री सेवा संघले जनाएको छ । खसी-बोका बिक्री सुरु भएको संघले जनाएको छ ।
उपत्यकामा दसैं-तिहारमा खपत हुने करिब ५५ हजार खसी-बोका, भेडा-च्यांग्रामध्ये २० प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्ने संघले जनाएको छ । ५५ हजारमध्ये ११ हजार विभिन्न जिल्लामा उत्पादित खसी-बोका र भेडा-च्यांग्रा बजारमा बिक्री हुन्छ ।

प्रतिगोटा १४ हजार रुपैयाँका दरले यो सिजनमा करिब ७७ करोड रुपैयाँको कारोबार हुने संघको अनुमान छ । भारतबाट ल्याउने ४४ हजारलाई प्रतिगोटा १४ हजारका दरले हिसाब गर्दा करिब ६१ करोड ६० लाख रुपैयाँ हुन्छ ।
बजारको मागअनुसार स्वदेशमा पर्याप्त उत्पादन नहुँदा मासुमा भारतीय निर्भरता रहेको संघले जनाएको छ । चाडपर्वमा सहरी क्षेत्रमा खसी-बोका, भेडा-च्यांग्रासहित राँगा, कखुरा, बंगुरको मासु खपत उच्च हुने भएकाले त्यसको लागि गाउँ गाउँबाट पशु ल्याउने तयारी गरिएको छ ।

व्यवसायीले उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जाजरकोट लगायत जिल्लाबाट पनि खसी-बोका ल्याउँछन् । माग बढ्ने भए पनि चाडमा मासुको अभाव हुन नदिने व्यवसायीले बताएका छन् ।

दसैं–तिहारको लागि आवश्यक मासु व्यवस्थापन गर्न गाउँ गाउँ पुगेर खसी-बोका संकलन गरी राजधानी ल्याएर बेच्न सुरु गरेका छन् ।

चाडपर्वमा उपभोक्तालाई स्वस्थ्य मासु खुवाउन पशु विभागअन्तर्गतका पशु क्वारेन्टाइनले समेत निगरानी बढाएको छ । मासुजन्य वस्तुको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले भारतबाट प्रवेश गर्ने सीमा क्षेत्रका क्वारेन्टाइनमा पनि चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।

मासु प्रयोजनको पशु जिल्लाबाट निकासी गर्दा सम्बन्धित जिल्लाको पशु सेवा कार्यालयबाट स्वास्थ्य जाँच गरी प्रमाणपत्र लिनुपर्छ । चाडको बेला गुणस्तहीन मासु लगायत वस्तु बिक्री वितरण रोक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता हित संरक्षण विभागले पनि टोली गठन गरेर परिचालन गरेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]