Dabali News

नेपालको लगातार तेस्रो जित थाइल्याण्ड १४० रनले पराजित

२१ असोज

काठमाडौं । नेपालले आइसिसी विश्व २०-२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार तेस्रो जित निकालेको छ ।

मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई डीएल पद्दतिको आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालले जितका लागि दिएको १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.२ ओभरमा ९ विकेटको क्षतिमा १८ रन बनाएको अवस्थामा वर्षा भएपछि डकवर्थ लुइस (डीएल) को नियमअनुसार नेपाल फराकिलो जित निकाल्न सफल भयो ।

थाइल्याण्डका कुनै पनि ब्याट्सम्यानले दोहोरो रनको आकडा पार गर्न सकेनन् । वान्चना उइसुक र जियाउल हकले सर्वाधिक ७-७ रन बनाए । थाइल्याण्डलाई कम स्कोरमा समेटन नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए ।

उनले ३ ओभर बलिङ गर्दै १ मेडन राखेर ८ रन खर्चिएका थिए । त्यस्तै करण केसीले ३ र ललित राजवंशीले १ विकेट लिए । योसँगै सन्दीपले ३ खेलमा १४ विकेट लिइसकेका छन् ।

यसअघि क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । नेपालका लागि आठौं नं.मा ब्याटिङ गर्न आएका करण केसीले विस्पोटक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए ।

उनले १४ बलमा २ चौंका र ४ छक्का प्रहार गरे । करणले १९.३, १९.४ र १९.५ मा लगातार ३ छक्का प्रहार गरे । त्यस्तै सोमपाल कामी ४ रनमा नटआउट भएका थिए ।

मध्येक्रममका ब्याट्सम्यान लगातार आउट भइरहेको अवस्थामा क्रिजमा आएका करणले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सम्मानजनक स्कोर खडा गरेको थियो । पहिलो विकेट २८ रनमा गुमाएको नेपालका लागि विनोद भण्डारी २.३ ओभरमा १५ रन जोडेर आउट भए । उनले ८ बलमा २ चौंका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका रुपमा अनिल शाह ५.३ ओभरमा २५ रन बनाएर आउट भए । उनले १७ बलमा ७ चौंका प्रहार गरे । तेस्रो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी १२.१ ओभरमा ३० रनमा आउट भए । उनले २६ बलमा ३ चौंका र १ छक्का हाने । चौंथो विकेटका रुपमा आरिफ शेख १४.१ ओभरमा ८ रन बनाउँदै पभेलियन फर्किए ।

उनले ९ बलमा १ चौंका हिर्काए । पाँचौं विकेटका रुपमा सरद भेषवाकर १४.६ ओभरमा सर्वाधिक ३४ रन बनाएर आउट भए । उनले आउट हुनुअघि २८ बलमा २ चौंका प्रहार गरे । छैटौं विकेटका रुपमा कप्तान पारस खड्का ५ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल पनि सातौं विकेटका रुपमा व्यक्तिगत ७ रनमा आउट भए । ज्ञानेन्द्रले ७ बलमा १ चौंका प्रहार गरेका थिए ।

थाइल्याण्डका लागि पायुपुथ संनार्डले ४ विकेट लिए । उनले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै भिचनाथ सिंहले २ र जियाउल हकले १ विकेट लिए । नेपालले गत बुधबार भएको पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा शनिबार आयोजक मलेसियालाई समान ८ विकेटले हराएको थियो ।

जारी प्रतियोगितामा थाइल्याण्ड शीर्ष स्थानमा छ । थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ । त्यस्तै २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ । नेपालको पनि समान खेलबाट ४ अंक बनाए पनि रनरेटका आधारमा सिंगापुर भन्दा पछि रहेको छ । नेपालले थाइल्याण्डको पुरुष टोलीसँग खेल्न लागेको यो दोस्रो पटक हो ।

यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएपनि वर्षाको कारण उक्त खेल टससमेत नभई स्थगित भएको थियो । प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन् । समूहका शीर्ष ३ स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्ने छन् । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

यस पटकको टी-२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्ने छ । प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]