Dabali News

छोराछोरी हुर्काइमै विभेद !

२० असोज

काठमाडौं । हाम्रो नेपाल कस्तो नेपाल ! कानुन भएको की नभएको नेपाल ! हामी महिलाको के कुरा गरौं, कहाँबाट शुरु गरौं आज केही शब्द लेख्न मन लाग्यो ।

जुन अंगबाट जन्मेको छोरा जुन दुध खाएर हुर्केको छोरा ठूलो भएपछि त्यही अंगमा आँखा लगाई छेदबिच्छेद बनाउँछ भने म ९ महिना आफ्नो जीउज्यानको प्रवाह नगरी ५ वर्ष दुध चुसाई यो धर्तीको सच्चा सपूत बनोस् भनेर जन्म दिन्छु म त्यो आमा, त्यो छोरा कपूत बन्छ भने त्यसको बारेमा यी शब्द लेखिरहदा आज मेरो मनमा कुनै दुबिधा उत्पन्न भएन ।

सायद यही हाम्रो समाजको देन यही हो । या यो नालायक युग हो सोच्नै, चिन्नै गहृो भएको छ यही परिस्थितीमा प्रहरीसम्म नआउने घटना त कत्ति हो कत्ति ! उजुरीलाई नै आधार मान्दा पनि प्रत्येक दिन महिला बलात्कृत भएका छन् । त्यसमा पनि बालिका, वृद्धा र अपांग अझ प्रताडित छन् ।

वास्तविकता भयावह छ । बलात्कारविरोधी आन्दोलन हुन्छन्, नाराजुलुस हुन्छन् तरपनि किन घट्नुको साटो बढिरहेको छ यस्ता घट्ना ?

सायद बलात्कारप्रतिको हाम्रो आधारभूत बुझाइ नै गलत छ । बलात्कारको घाउ मुटुमा छ । तर, हामी हातको अप्रेसन गर्न खोजिरहेका हुन्छौँ, यो जति उपचार गरे पनि निको हुँदैन । किनकी बलात्कृत महिलालाई हेप्ने, प्रतिशोध साँध्ने र शक्तिको प्रयोग गर्ने प्रधान अस्त्र हो, न कि पुरुषमा हुने यौन चाहना पूर्ति गर्ने माध्यम ।

त्यसो हुन्नथ्यो भने केटीहरु किन बलात्कार गर्दैनन् ? जबकि, केटाभन्दा केटीमा यौन चाहना बढी हुने विभिन्न अध्ययनहरूले देखाउँछ । हो, केटीलाई आँटै हुन्न किनभने शारीरिक र सामाजिक रूपमा म कमजोर छु भन्ने आभास हुन्छ, तर केटा दम्भले भरिएको हुन्छ ।

त्यसैले यौनको माध्यमबाट केटीमाथि आफ्नो शक्ति र नियन्त्रण सिद्ध गर्न खोज्छ । अन्य शारीरिक आक्रमणबाट पनि उसले रिस, बदला वा कथित पुरुषत्व देखाउन नसक्ने होइन । तर, किन बलात्कारमै उन्मुख हुन्छ त ? यसको जवाफ छ बलात्कारलाई सामाजिक र सांस्कृतिक रूपमा सबैभन्दा तुच्छ स्तरको बेइज्जती मानिन्छ ।

त्यसैले टाउको फुटाएर वा हातखुट्टा भाँचेर होइन, यौन आक्रमणमार्फत आजीवन यातना दिएर सन्तुष्टि खोज्छ पुरुषले । यस्तो निर्दयी पुरुष उत्पादन हुने कारखाना कहाँ छ ? यो कसरी उत्पादन हुन्छ ? यसभित्रको कथा लामो छ, हामीले नजरअन्दाज गरेको तर जानी र नजानी दिनदिनै भोगिरहेको । जति आधुनिक र शिक्षित भने पनि हाम्रो समाज पितृसत्तात्मक सोचले अभिशप्त छ ।

यही सामाजिक संरचनाले महिलालाई ३ तरिकाले व्याख्या गर्छ ।

१. महिला शारीरिक र बौद्धिक रूपमा कमजोर हुन्छ ।
२. महिला पुरुषको भोग्य वस्तु हो ।
३. महिला सुन्दर प्रजाति हो ।

हरेक पुरुष यही सोचबाट प्रशिक्षित भएकाले जब यौन वा अन्य चाहना महिलाले अस्वीकार गर्छन्, तब बलात्कार गर्न उद्यत भइहाल्छन् । सुन्दा सैद्धान्तिक वा कठोर लागे पनि तीतो सत्य हो । जसको सुरुवात अन्त होइन, परिवारबाटै हुन्छ ।

जस्तो छोरालाई बच्चैबाट खुला वातावरण प्रदान गरिन्छ । यौनांग देखाउँदासमेत अभिभावकले गाली नगर्ने, बरु हाँसेर हौसाला दिने । यही काम छोरीले गर्दा सातो लिइन्छ । छोराले गल्ती गर्दा माफी पाउँछन्, ढाकछोप गरिन्छ । छोरी सधैँ गालीका भागीदार हुन्छिन्, निश्चित घेरामा रुमल्लिनुपर्छ । फलतः छोरामा ‘म बलशाली हुँ’ भन्ने घमण्ड पैदा हुन्छ ।

सन्तान हुर्काइ पद्धतिमा रहेको यही विभेदले बलात्कारलाई प्रश्रय दिन्छ । किनभने, देख्दा यौन हिंसा मात्र लाग्छ तर बलात्कार महिलामाथिका तमाम दुव्र्यवहार र अपमानको सार हो । विभेदको भुमरी छ, उचित अभिभावकत्व र सामाजिकीकरणबाट वञ्चित, बाल्यकालमा दुव्र्यवहार भोगेका र देखेका पुरुष अझ हिंस्रक हुने र महिलामाथि खनिने विभिन्न घटनाले देखाएका छन् । छोराछोरीबीचको भेद घरबाटै प्रारम्भ हुन्छ । नतिजा बलात्कार जस्ता घटनाको अचानोमा पर्नुपर्छ, हुर्काइमै विभेदको सिकार भएकीछे छोरी ।

देख्दा व्यक्ति मात्र दोषी लाग्छ तर त्यस्तो होइन । समाजकै भूमिका हुन्छ । समाजको रुखो व्यवहारले संवेदना हराउँछ र हिंस्रक बनाउँछ । मानसिक रूपमा विक्षिप्त प्रायः यस्तै कुकृत्यमा संलग्न हुन्छन् । अनि यस्तो सजाय तोकेर मात्र बलात्कार रोकिन्छ त ? जबर्जस्तीकरणी समाजकै उत्पादन हो ।

महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने र हेप्नुपर्छ भन्ने मानसिकता अन्त्य नभएसम्म बलात्कार रोकिन्न । शरीर ढाक्ने पहिरन लगाउँदा बलात्कार हुन्न थियो भने बुर्का लगाउने मुस्लिम महिला, बालिका र वृद्धा किन सबैभन्दा धेरै सिकार हुन्छन् ? समुद्री तटमा बिकिनी लगाउने युवती किन बलात्कृत हुँदैनन् ?
त्यसो त, बलात्कार यही कारणले हुन्छ भनेर ठोकुवा गर्न सकिन्न । व्यक्तिको स्वभाव, मनोविज्ञान र प्रकृतिमा भर पर्छ । यत्तिचाहिँ हो, आवेगमा कहिल्यै बलात्कार हुन्न । पहिलेदेखि पहिचान गरेर, कमजोरी पत्ता लगाएर योजनाबद्ध ढंगले नै महिलामाथि आक्रमण हुने गर्छ ।

जब त्यो बलात्कारीको पहिलो बलात्कारको प्रयास सफल हुन्छ, वा सामसुम पारिन्छ, अपराधीले फेरि त्यही ट्रिक अपनाउँछ र पटक–पटक बलात्कार गरिरहन्छ । बलात्कारपछि मार्ने नै योजना नहुन सक्छ । तर, एउटा गल्तीलाई ढाकछोप गर्ने क्रममा अर्को अपराध हुन्छ, आवेग बढ्दै जान्छ र त्यो हत्यासम्म पुग्छ ।
शारीरिक रूपमा नजिक हुँदा स्वतः यौनभाव जागृत हुन्छ । त्यसैले छोराछोरीलाई निश्चित दूरीमा बस्न सिकाउनुपर्छ । तर, आमाबाबुलाई यसको हेक्कै हुन्न । उमेर नपुगी यौनइच्छा आयो भने हस्तमैथुनबाहेक योगा, उसु वा अन्य खेलमा संलग्न गराएर त्यसलाई व्यवस्थापन गर्न सिकाउनुपर्छ ।

हामीकहाँ यौन शिक्षालाई अझै पनि लाजको विषय मानिएको छ । बच्चामाथि परिवारको निगरानी फितलो त छँदैछ, ५–६ कक्षामा नपुग्दै सेक्स भिडियोमा पहँुच पुगेपछि त्यस्तो बच्चाले कस्तो संस्कार सिक्छ ?
जति पनि बलात्कारका घटना केलाए पनि, त्यहाँ व्यक्ति होइन, समाज नै जोडिन्छ । जो तनावमा हुन्छन्, काम हुन्न, परिवारप्रति उत्तरदायी हुन्नन्, पत्नी वा प्रेमिकासँग बेमेल हुन्छ, त्यस्ता मानिस बलात्कारतिर उन्मुख हुन्छ ।

पीडितहरु प्रायः गरिब,दलित र कमजोर हुन्छन् जस्को प्रहरीसम्म पुग्ने पहुँच हुन्न । बल्लतल्ल पुगे पनि प्रहरीको अपमान रुखो व्यवहारले थप हतोत्साही हुन्छन् । प्रहरी कार्यालयमा पुगेपछि छहारी होइन, उल्टै सास्ती, अझ मानसिक बलात्कारको सामना गर्नुपर्छ ।

पीडित महिलाले हवल्दारदेखि माथिल्ला अधिकृतसम्मलाई संवेदनशील अंग देखाउँदै बलात्कारको कथा पटक–पटक सुनाउनुपर्ने हुन्छ । तर, उजुरी दर्ता हुन्न, बरु मिलापत्र गर्न दबाब दिइन्छ । पीडक फलानो नेता वा व्यापारीको नातेदार हो भनेर डर देखाईन्छ ।

करणी भएपछि अनुसन्धान गर्नु प्रहरीको जिम्मेवारी हो । तर, बलात्कार हुनुमा चाहिँ प्रहरीलाई मात्र जिम्मेवार मान्न मिल्दैन, समाजकै उपज हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]