Dabali News

अन्तरवार्ताः अबको संघर्ष वैज्ञानिक समाजवादी शिक्षाको लागि – प्रकाश शाही

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीसँग शैक्षिक क्षेत्रमा व्याप्त विकृति -विसंगतिका साथै  अबको शैक्षिक अान्दोलनलगायत विषयमा  धनन्जय बुढाले गरेको कुराकानीः

२१औं राष्ट्रिय सम्मेलनबाट महासचिवको जिम्मेवारी समालिरहनु भएको छ, कस्तो अनुभूति भइरहेको छ ?

सर्वप्रथम त तपाईँलाई धन्यवाद, राष्ट्रिय सम्मेलन हामीले फागुन २७ देखि ३० सम्म दाङमा सम्पन्न ग¥यौं । राष्ट्रिय सम्मेलनबाट महासचिव भईसकेपछि जिम्मेवारीको हिसाबले जुन ठाउँमा छौं यो निकै नै सम्भावना सँगसँगै चुनौतीले घेरिएको स्थान ठानेको छु । सम्भावना यस अर्थमा कि, यहाँबाट देश जनता र आम युवा विद्यार्थीहरुको पक्षमा काम गर्ने अबसर छ । चुनौतीको कुरा गर्दा यहाँ उभिएर पनि हामीले पुरानो शैली भत्काएर शैक्षिक क्षेत्रको फोहोर सफा गर्न नसक्ने होकी भन्ने चिन्ता पनि हो ।

जेहोस् आम जनताका छोरछोरीहरुको नेतृत्व गर्ने हाम्रो संगठन अखिल क्रान्तिकारीको जिम्मेवार ठाउँमा हुनुको नाताले अब शिक्षा क्षेत्रमा सदियौंदेखि जकडिएर बसेका बेथितीहरुबाट मुक्त गर्न म र मेरो संगठनले कुनै पनि कसर बाँकी राख्नु हुन्न भन्ने जिम्मेवारी बोधका साथै खुसी र गौरव अनुभूति भइरहेको छ र त्यहीअनुसारका कार्यक्रम बनाएर अगाडि बढिरहेका छौं ।

विगतमा बुर्जुवा शिक्षा भनेर प्रमाणपत्र च्यात्नु भयो, अहिले एको थियो नि ?

हामी आफ्नो स्थापनाकालदेखि आम विद्यार्थीहरुको हकअधिकार प्राप्तिको निम्ति संघर्ष गर्दै आएको कुरा सर्वविदितै छ । त्यसलाई अहिले पनि निरन्तरता दिइरहेका छौं । जनयुद्धको त्यो विशेष परिस्थितिमा विद्यार्थीहरुले आफ्ना स्कूल–कलेजका पढाई छोडेर पूरानो व्यवस्थालाई नै परिवर्तन गर्ने मूल उद्देश्यसहित पार्टीको आह्वानलाई आत्मसाथ गरेको इतिहास छ । जनयुद्धमा सिंगो पार्टी कार्यकताले नयाँ जनवादी राज्यसत्ताको सुन्दर सपना देखेका थिए । त्यहि अनुरुप हाम्रा अग्रज विद्यार्थी कमरेडहरुले पनि पार्टीको अभियानमा नै आफ्नो जीवन र भविश्य देख्नु भएको थिायो ।

त्यसैले कतिपय साथिहरुले आफ्ना औपचारिक शैक्षिक प्रमाणपत्रहरु पनि च्यातेर पूर्णरुपले आफूलाई पार्टीमा समर्पित गर्नुभएको हो । हाम्रो क्रान्तिकारी आन्दोलनको इतिहासमा यो एक विशेष परिस्थितिमा एक स्वाभाविक कार्य भएको मानिन्छ । यदि तत्कालिन हाम्रो पार्टी नेतृत्वले क्रान्तिप्रति घात नगरेको भए आज राज्यसत्ताको विभिन्न पक्षलगायत शिक्षा क्षेत्रमा पनि वास्तविक रुपमै बुर्जुवा तथा अब्यवहारिक पद्धतिको अन्त्य भएर सायद जनवादी शिक्षा लागु भएको हुने थियो ।

नेतृत्वले कसरी घात गर्यो त ?

जनयुद्धमा रहेको बेला बुलेटबाट मात्रै नभएर ब्यालेट अर्थात जनताको मतबाट पनि देशमा परिर्वतन गर्न सकिन्छ भनेर तत्कालिन नेतृत्व शान्तिप्रक्रियामा पार्टीलाई अवतरण गरायो । तर, विस्तारै–विस्तारै मुल नेतृत्मा नै गम्भीर किसिमको राजनीतिक तथा वैचारिक विचलन र व्यक्तिवादी चरित्रहरु देखा पर्दै गए । आफ्नो विगतको विचार र आर्दशलाई कुल्चिँदै सहरिया धनाढ्य–कुलिन, व्यापारी, दलाल पुँजीपति–ठेकेदारहरुको निम्ति नेतृत्व पक्षपोषक र आफ्नो आधार वर्गविरुद्धमा जानेक्रम दिनदिनै बढ्न थाल्यो । सँगसँगै नेतृत्वको जीवन रातारात फेरिने कुरा त छँदै थियो, जुनकुरा क्रान्तिकारीहरुको लागि स्विकार्य थिएन । त्यसपछी पार्टीभित्र लामो अन्र्तसंघर्षहरुसँगै विभाजनको अवस्थामा आयो पछिल्लो चरणसम्म आईपुग्दाखेरी नेपालमा माओवादी आन्दोलन छिन्नभिन्न हुन पुग्यो त्यो निकै दुःखको कुरा भयो । यसको मुख्य दोषी तत्कालिन नेतृतव नै हो किन कि ऊ मुल आदर्शबाट विचल्लित भयो ।

मातृपार्टी विभाजन हुन्छ भातृ संगठन पनि निर्माण हुने तर सबैले अखिल क्रान्तिकारी नै नाम राख्नु हुन्छ, तपाईँहरुबीचको फरक कसरी छुट्याउने ?

पक्कैपनि पार्टीमा जसरी बिभाजनको रेखा कोरियो त्यसरी नै भातृ संगठन, विद्यार्थी संगठनहरु पनि विभाजित हुनेनै भयो । मुख्यतः केहि मान्छेहरु हामीले सोँचेको व्यवस्था पूरा भयो भनेर आफू र आफ्नो वरिपरिको वर्ग उत्थानतिर लागे तर हामी हामीले हामीले सोचेको वा अझ आम जनताका छोराछोरीले सहज पहुँच पाउने शिक्षा तथा देशको हित गर्ने स्तरक शिक्षा क्षेत्र निमार्ण भएको पाएका छैनौं । यसर्थ तपाईँले भन्याजस्तै यो विषयमा पछिल्लो चरणमा अखिल क्रान्तिकारीका नाममा विद्यार्थी संगठनहरुको अलि बढी नै, ३-४ वटा संगठन हुँदा आम विद्यार्थी तथा जनसमुदायमा भ्रम पर्नु स्वभाविक छ । अहिले पनि केहि मान्छेहरु आफूलाई क्रान्तिकारी नै मानिरहनु भएको छ यद्यपि उहाँहरुले हिजोको मूल्य मान्यताहरुलाई त्यागेर गइसक्नु भएको छ । तर, आज पनि हामी हाम्रो विगतको इतिहासप्रति गर्व गर्छौं र वर्तमानमा हाम्रा विगतका अग्रजहरुले पूरा गर्न नसकेका बाँकी कार्यभारहरुलाई पूर्णता दिन अविचल्लित रुपमा दृढ भएर लागिरहेका छौँ । खासमा हामीलाई के लाग्छ भने, हिजो पनि क्रान्तिकारी थियौं आज पनि क्रान्तीकारी छौं । त्यसकारण हामीले नामको विषयमा खासै केहि सोँचेको छैनौं । यस नामका वास्तविक हकदार हामी हौं, नामको दुरुपयोग गर्नेहरुलाई नाम फेर्न हाम्रो आग्रह छ ।

तपाईँहरुले भन्ने गरेको जनवादी शिक्षा कहाँ पुग्यो र के हुँदैछ ?

हिजो जनयुद्धको बेलामा जनवादी शिक्षाको कुरा हाम्रो पार्टी संगठनले उठाउँथ्यो र आधार इलाकाहरुमा केही जनवादी स्कूलहरु पनि सञ्चालन ग¥यौं । केही अभ्यासहरु हामीले गर्ने कोशिस गर्‍यौं । यद्यपि पछिल्लो चरणसम्म आईपुग्दाखेरी पार्टीले जनवादी क्रान्ति भनेको थियो र विद्यार्थी संगठनले विद्यार्थी कम्तिमा पनि आम जनताका छोराछोरी शिक्षामा सहज पहँुचको र जीवन उपयोगि शिक्षाको कुरा गरेको थियो । यो ६२-६३ को अथवा एउटा महान जनआन्दोलन पछाडी पार्टी एकहिसाबले क्रान्ति सम्पन्न भयो अथवा बुर्जुवा भएपनि एउटा क्रान्ति सम्पन्न भयो भन्ने भईसकेपछि हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आयौं । यहाँ आइसकेपछि पार्टीहरुले, मुलभूत रुपमा माओवादी पार्टीले व्यवस्था भन्दा पनि अहिलेकै व्यवस्था अथवा संविधानका कुराहरुलाई नै प्रमुख बनाएर गयो । त्यसो हुँदाखेरी सुधारकै कुराहरु भइहाल्यो ।

अब यो जनवादी शिक्षाको कुराहरु पनि त्यहाँनेर आइसकेपछि करिबकरिब छोडेको जस्तो देखियो । यद्यपि अहिले हामीले के कुरा संश्लेशण गरेको छौं भने, अब जनवादी शिक्षाको कुरा हिजो एउटा बहसको कुरा थियो, अब जनवादी व्यवस्थाले मात्रै पुग्दैन । हामीले ल्याउने भनेको वैज्ञानिक समाजवाद हो । त्यसको जगमा अब शिक्षामा तपाईँ हामीले जान्दाखेरी वैज्ञानिक समाजवादी शिक्षाको बहस अब नेपाली समाजमा ल्याउनुपर्छ । वैज्ञानिक समाजवादी शिक्षाको लागी हामीले अब हाम्रो बाटो त्यहाँ हुन्छ । त्यसकारण बहसहरुलाई त्यतातिर सोझ्याउनु पर्छ भन्ने कुरा छ ।

वैज्ञानिक समाजवादी शिक्षा भनेको ?

वैज्ञानिक समाजवादी शिक्षा भनेको चाहिँ मुलतः वैज्ञानिक समाजवादी व्यवस्था, राजनीतिक व्यवस्थाभित्रको एउटा अङ्ग हो । शिक्षासँग जोडिएको अङ्ग भइहाल्यो । यसो हुँदा यसले मुलभूत रुपमा नेपालको राष्ट्रियता, नेपालको प्राकृतिक स्रोत साधन, नेपालको मानविय जनशक्ति यो सबैको समायोजन गरेर हाम्रो आवश्यकता के हो ? नेपालको आवश्यकता के हो ? नेपाली समाजको आवश्यकता के हो ? यो विषयलाई सम्बोधन गर्ने गरि हामीले जुन शिक्षामा मेहनत गर्छौं त्यसलाई सम्बोधन गर्ने गरि शिक्षा नीति बनाइनु पर्छ र त्यो शिक्षा यो समाजमा लागु हुनुपर्छ भन्ने कुरा नै हो । यसको अलि बढी सुक्ष्म एकाईमा जाँदा धेरै विषयवस्तुहरु छन्, यसलाई अहिले हाम्रो बहसको रुपमा अगाडि बढाउन खोजेको छौं । त्यसो भएको हुनाले हिजो जनयुद्धको बेलामा जनवादी शिक्षाको कुरा थियो पछिल्लो चरणसम्म आईपुग्दा, यो १०-१५ वर्षको अवधिमा धेरै परिवर्तन भईसक्यो । अब जनवादी शिक्षाले मात्र पुग्दैन । अब वैज्ञानिक समाजवादी शिक्षातर्फ हामी जानुपर्छ ।

वैज्ञानिक समावादी शिक्षाको बहसलाई हामीले केन्द्रित गर्न खोजेको छौं र हामी त्यतातर्फ उन्मुख छौं । मैले जुन विषयबस्तु तपाईँहरुको बीचमा राखे त्यसलाई समृद्ध गराउनको लागी हाम्रो संगठनले आफ्नो क्षेत्रबाट मेहनत गरिरहेको छ । यसलाई बहसको विषय हामीले बनाएका छौं । अब हाम्रो उद्देश्य भनेको वैज्ञानिक समाजवादी शिक्षा हुन्छ र हामी अहिले पनि त्यहि लाइनमा नै दृढ छौं ।

फेरि पनि तपाईँहरु बुर्जुवा शिक्षा र डिग्रि भन्दै हुनुहुन्छ, हिजोजस्तै सर्टिफिकेटहरु पोल्ने हो ?

पक्कै पनि तपाईँले भनेको जस्तो हिजो क्रान्तिको दौरानमा धेरै होनहार मान्छेहरुले, आफन्तिहरु, देशैभरि बुर्जुवा शिक्षा भयो यो शिक्षाले समाधान दिँदैन । यो शिक्षाले प्र्रोडक्सन गर्ने मान्छेहरु फेरिपनि यहि अहिलेकै संरचनालाई सहयोग गर्नेहरु हुन्छन् भन्ने भइसकेपछि धेरै मान्छेहरुले आफुनो स्कूलहरु छोड्नुभयो, कलेजहरु छोड्नुभयो, आफ्नो सर्टिफिकेटहरु जलाउनुभयो । तपाईँले भनेजस्तै त्यो दौरानमा स्वभाविक नै थियो । त्यो क्रान्तिको दौरानमा मान्छेले सोच्याजस्तो, नापेको तौलेजस्तो हुँदैन । त्यो पार्टीको अपील पनि थियो । हामीलाई त के लाग्छ भने नेताले जुन सपनाका लागी अपिल गर्नुभयो त्यो सपना साकार गर्न हाम्रो संगठन होमियो । दुःखको कुरा के हो भने नेताहरुले नयाँ उचाईमा त ल्याउनु भयो तर समाधान दिन सक्नु भएन । समस्या त बुर्जुवा चेतनाको हो । शिक्षाले प्रोडक्सन गर्ने मान्छेले कुन काम गर्छ भन्ने कुरा चाहिँ बुर्जुवा हुन सक्ला तर शिक्षा आफैमा बुर्जुवा हुँदैन । वास्तवमा अहिले नेपालको राजनीतिक, आर्थिक, सामाजिक अवश्यकताअनुसारको शिक्षा प्रणाली नभएको कारणले बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा स्थापित भयो अतः नेपालको जनशक्ति नेपालको हितमा प्रयोग भएन ।

यो शिक्षामा खास के समस्या छ ?

खासमा भन्दा नीजि र सामुदयीक शिक्षामा विशााल अन्तर छ । यसले ठूलो समस्या निम्तिने खतरा छ । नीजि शिक्षा, सार्वजनिक शिक्षा, सरकारी शिक्षा यो शिक्षा बीचमा एकरुपता नहुँदा समाजमा ठूलो दरार पैदा गरेको छ । उो बढ्दै गएको छ । यसैले मानिसहरुबीच वर्ग विभाजन गरिदिएको छ । नीजि स्कूलमा पढ्ने विद्यार्थीहरु र सरकारीमा पढ्ने विद्यार्थीहरुमा पारिवारिक सम्बन्ध नहुने जस्तो अवस्थामा पुगेको छ । नीजि विद्यालयमा पढ्ने विद्यार्थीहरु कर्मचारी अथवा मालिक हुनेजस्तो र सरकारी विद्यालयमा पढ्ने मजदुर अथवा कामदार हुनेजस्तो अवस्थामा देखिएको छ । यो धेरै डरलाग्दो छ । यसले हाम्रो समाजलाई कहाँ पुर्याउने हो भन्ने प्रश्न गम्भीर रुपमा खडा भएको छ । यस्तो शिक्षाले वर्गीय खाडल बनाउनु बाहेक केहि पनि काम गरेको छैन । त्यसो भएको हुनाले शिक्षा यस्तो हुनु हुँदैन । एउटा देशमा दुई किसिमको शिक्षा स्वीकार्य विषय पनि होइन । त्यसकारण यसको समाधान दिनुपर्छ भन्नेमा नै मुलभुत रुपमा हामी दृढ छौं ।

तपाईँहरुको विद्यार्थी संगठनहरुलाई चन्दा उठाई खाने आधारको रुपामा व्याख्या गरिन्छ, यसमा के भन्नु हुन्छ ?

तपाईँले भनेको कुरा हाम्रो विरुद्ध फैलाइएको भ्रम हो । यसलाई पूरै रुपमा खारेज गर्नुपर्छ भन्ने नै छ । अब यो कुरा पक्कै पनि विद्यार्थी संगठन भनेको एउटा दवाव समूह हो । विद्यार्थीलाई समस्याहरु यहाँयहाँ छ भनेर देखाइदिने हो । हामीले नेतृत्व समक्ष समस्याहरु देखाइदियौं त्यसलाई हल गर्नको लागि सडकबाट हामीले दवाव पनि दियौं । माओवादी आन्दोलनबाटै आएका मान्छेहरु अहिले शिक्षामन्त्रि हुनुहुन्छ । हामीले बेलाबेलामा छलफलका विषयवस्तु राखिराखेकै छौं । यद्यपि उहाँहरुले सुनुवाई गर्नुभएन । यो हाम्रोमात्रै कुरा भएन । सक्ने भएत हामीले हाम्रै व्यवस्था ल्याउँथ्यौं र हामीले सोँचेको कुरा के हो भन्ने कुरा देखाईहाल्थ्यौं । यद्यपि हामी अहिले त्यो ठाउँमा छैनौं । त्यसकारण आन्दोलन संघर्ष, वार्ता, सहमति भन्ने कुरा त्यो हाम्रो रहर होइन । कतिपय कुराहरु बाध्यताका कुराहरु पनि हुन्छन् । जहाँ चाहेर पनि समाधान दिन सक्ने ठाउँमा छैनौं यद्यपि समस्या यहाँयहाँ छ भनेर हामीले औंलाइरहेकै छौं । अब बाँकी रहेको कुरा अघि तपाईँले बजारबाट चन्दा उठाउने कुरा भन्नुभएको छ, स्वभाविक हिसाबले विद्यार्थी संगठनहरु शिक्षाप्रेमी, यो आन्दोलन संगठनहरुसँग जोडिएका मान्छेहरुबाट नै चल्ने हो ।

हामी सहयोग नै लिएका छैनौं त भन्दैनौँं । आन्दोलनको उठान गरेर पैसा उठाई खाने त्यो धन्दामा हामी छैनौं । हामीले शैक्षिक सुधारका लागि उठान गरेको बहसलाई विषायन्तर गर्ने उद्देश्यका साथ केहि मान्छेहरु नियोजित ढङ्गबाट पनि लागिरेका छन् । केही मान्छेहरु योजनावद्ध तरिकाले बद्नाम गर्ने ढङ्गले आएका छन् । हामीले पछिल्लो चरणमा प्रमाणसहित पनि भेट्यौं केहि मान्छेहरुलाई । हाम्रो नाममा वदनाम गर्न खोज्ने नियत पनि छ । त्यसकारण यो सबै कुरामा हामी सचेत नै छौं ।

मुलभुत रुपमा नेपालको शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गती समस्याको मुल विषय हो । यसलाई नै समाधान गराउनुपर्छ भन्ने कुरा नै मुख्य कुरा हो । त्यसकारण हल्ला र भ्रम फैलाउनेहरुले भनेजस्तै यो चन्दाको लागि अथवा समन्वयको लागि र आफ्नो व्यक्तिगत लाभको लागि गरिएको आन्दोलन प्रचारबाजीको भ्रममा नपर्न हामी सबैलाई अपील गर्छौं । आम जनतालाई सर्वसुलभ शिक्षा कसरी दिन सकिन्छ, वैज्ञानिक शिक्षा कसरि दिन सकिन्छ, व्यवहारिक शिक्षा कसरी दिन सकिन्छ भन्ने मात्रै हाम्रो कुरा छ ।

नेपाली शिक्षामा विशेषतः केके समस्या देखिरहनु भएको छ ?

नेपालमा शिक्षामा बढ्दो नीजिकरण, त्योसँगै मौलाएको व्यवपारिकरण, दलालीकरण र माफियाकरण नै मुख्य समस्या हो । राज्यले सरकारी लगानीमा भएको शिक्षामा पनि बेथिति छ । त्यसकारण हाम्रो अहिले पछिल्लो चरणमा करिब अहिले पढाई भइरहेको शिक्षाको ७८ प्रतिशत सरकारी सामुदायिक विद्यालयहरुले धानिरहेको छ देशैभरी हामीले राष्ट्रिय सम्मेलनमार्फत यसको स्तरवृद्धि, अहिलेको २१ औं शताब्दीको शिक्षा विश्वभरी जुन शिक्षा पाइरहेका छन्, त्यो बराबरको शिक्षा बनाउनको लागि राज्यले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्छ भन्ने कुरा नै हो । त्यसको लागि भौतिक संरचनाका कुराहरु होस्, ल्याव कम्प्युटरका कुराहरु होस, चाहे त्यो गुणस्तरिय जनशक्ति उत्पादन गर्नको लागि शिक्षकहरुको कुराहरु होस् । यो सबै कुराहरुलाई पूरा गर्नका लागि शिक्षा क्षेत्रमा राज्यले विभिन्न राजनीतिक दलका घोषणा पत्रहरु हेर्नुभयो भने शिक्षा क्षेत्रमा वृद्धि गर्ने भनेका थिए, त्यो वृद्धि गरेका छैनन् ।

शिक्षा क्षेत्रमा व्यापक मात्रामा बजेट बढाउनु पर्छ, लगानी गर्नुपर्छ भन्ने कुरा नै छ । पूर्वाधारको अभाव छ, विषयगत शिक्षकहरुको कारणले गर्दाखेरी सरकारी सामुदायीक विद्यालयहरु त अहिले अस्तित्व थेग्नै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छन् । त्यसकारण हाम्रो ७८ प्रतिशत क्षेत्र ओगटेको सरकारी सामुदायिक शिक्षाको स्तरवृद्धि गर्नुपर्छ भन्ने नै प्रमुख कुरा छ । त्योसँगै १८ प्रतिशत जुन नीजि विद्यालयहरु छन्, त्यसले पनि कुनै न कुनै रुपमा यो समाजको शिक्षा क्षेत्रमा योगदान गरेकै छ । यद्यपी यसमा धेरै समस्या छन् । त्यो पनि राज्यकै गलत नीतिकै कारण मौलाउँदै गईरहेका छन् । यसलाई राज्यले नियमन, नियन्त्रण, अनुगमन गर्नुपर्छ र एउटा विधि प्रक्रियामा ल्याउनु पर्छ भन्ने कुरा नै छ । अहिले उनिहरुलाई पछिल्लो चरणमा तस्करी गर्ने, भ्रष्टचार गर्ने, जग्गा दलाली गर्ने त्यो धनलाई सेतो बनाउनको लागि शिक्षामा लागानी गर्ने गरिएको छ । यसको नियन्त्रणको लागि राज्यले नीति बनाएर अगाडि बढ्नुपर्छ । शिक्षालाई असमान हुनबाट रोक्न समान पाठ्यक्रम मुख्य कुरा हो । नीजि विद्यालयमा एक किसिमको पाठ्यक्रम अनि सरकारी विद्यालयको अर्को पाठ्यक्रम छ । यसले समाजमा सतहबाटै वर्ग पैदा गर्नेजस्तो बन्न गएको छ । यो राज्यमा आम विद्यार्थीहरु सबै एक हुन ।

राज्यको लागि सबै जनता बराबर भएका कारण दरार वा वर्ग विभाजित गर्ने शिक्षा अथवा पाठ्क्रमहरु बनाइनु हुँदैन । त्यसकारण समान पाठ्यक्रम, समान परिवेशमा लागु गरेर समान प्रतिस्पर्धाको आधारमा अगाडि बढाउने गरि पाठ्यक्रममा पनि सुधार गरिनुपर्छ भन्ने कुरामा पनि हाम्रो जोड छ । त्यो सँगसँगै प्राविधिक विषयहरु देशको आवश्यकताअनुसार व्यापक लग्नु पर्छ । नेपालको सन्दर्भमा कृषि शिक्षामा जोड दिनुप¥यो, जलस्रोतसँग जोडिएको शिक्षामा जोड दिनु प¥यो, विभिन्न भूगोल क्षेत्रको परिस्थितिअनुसार त्यहाँको माटो सुहाँउदो शिक्षामा जोड दिनुप¥यो । हामीले भन्न खोजेको कुरा व्यवसायिक प्राविधिक शिक्षामा पनि राज्यले जोड दिनुपर्छ, मेहनत गर्नुपर्छ । अहिले मुस्किलले ८ प्रतिशत हाम्रो विद्यार्थीहरुले प्राविधिक शिक्षा पढिरहनु भएको छ । यो धरातलबाट नेपालको समृद्धि सम्भव छैन । यदि साँची नै शिक्षा क्षेत्रबाट, यो देशको कायपलट गर्न खोजेको हौं भने शिक्षालाई प्राविधिक शिक्षा बनाउनु पर्छ । प्राविधिक शिक्षा त्यतिकै हुँदैन, दक्ष जनशक्ति उत्पादन गर्नको लागि राज्यले ठूलो बजेट नछुटाउँदासम्म अथवा आर्थिक लगानी नगर्दासम्म प्राविधिक शिक्षा दिनसक्ने अवस्था छैन । त्यो सँगसँगै प्रतिभा पलाएन भइरहेका छन् ।

नीजि विद्यालयहरु विदेश पठाउनको लागि खोलिएका भर्तिकेन्द्र जस्तै भएका छन् । प्लस टू गरेपछि विद्यार्थी नेपालमा बस्न तयार छैन । विज्ञान, व्यवस्थापन आईटी पढेका विद्यार्थीहरु बाहिर गईरहेका छन् । अहिलेको २०७४ को आँकडाअनुसार अष्ट्रेलियामा २८ हजार विद्यार्थीहरु गएछन् । प्रतिभा मात्र पलाएन भएको छैन पुँजि पलाएन पनि त्यतिकै भईरहेको छ । १२ हजारभन्दा बढी जापान, २ हजार बेलायत, २ हजार अमेरिका गएछन् । अन्य देशमा पनि यही रेसियोमा विद्यार्थी विदेश पलायन भइरहेका छन् । भारतको ठ्याक्कै आँकडा आइसकेको छैन तर १ लाखभन्दा बढी विद्यार्थीहरु भारतमा गएर पढिरहेका छन् भन्ने छ । विदेशमा पढ्न गएका विद्यार्थी आधा भन्दा पनि कम फर्केका छन् । यसले पुँजी पलायनसँगै दक्ष जनशक्ति पनि पलायन भएको छ । यसलाई कसरी रोक्न सकिन्छ भन्ने मुख्य विषय हो । अहिले मोटामोटी यिनै विषयको पेरीफेरीमा रहेर हामी दशैभरि छलफल अन्र्तक्रिया बहसमा जुटिरहेको छौं सम्भवत राम्रै भईरहेको छ ।

तपाईँको संगठन अरु विद्यार्थी संगठनहरु भन्दा पृथक हुने आधार ?

पक्कै पनि, यो तपाईँले राम्रो प्रश्न उठाउनुभयो । नेपालको शिक्षा क्षेत्रमा भएको समास्याहरुको विषयलाई समाधान गर्ने विद्यार्थी संगठन भएको नाताले आधारभुत रुपमा धेरै विद्यार्थी संगठनहरुसँग मिल्छन् । त्यो बाहेक हाम्रो अरुभन्दा फरक कुरा के छ भने नेपालको शिक्षा–स्वास्थ्य रोजगार राज्यको दायित्व हुनुपर्छ । एक प्रतिशत मात्र हैन पूरै हुनुपर्छ भन्ने हाम्रो पहिलो कुरा हो । दोस्रो कुरा, शिक्षा नेपालको राष्ट्रियतासँग जोडिनुपर्छ । तेस्रो, शिक्षा नेपालको आवश्यकताअनुसारको शिक्षा । चौथो, शिक्षाले नेपालको विकासमा अथवा नेपालको विकासमा जोड दिनुपर्छ । आम मान्छेहरु शिक्षालाई राज्यको दायित्व बनाउनुपर्छ भन्दा पनि विभक्त भएर अहिले शिक्षालाई व्यापार गर्ने साधन बनाइरहेका छन् । यसको विरुद्धमा हामीले विगतदेखि नै एउटा उत्कर्षमा आन्दोलनको नेतृत्व गरेको कारण अरु विद्यार्थी संगठनहरुबाट हामी पृथकनै छौं । राष्ट्रियता, जनजिविका, नेपालको अन्य अन्य समस्याहरु पनि सम्बोधन गर्ने भएको हुनाले हामी अरु विद्यार्थी संगठनहरु भन्दा पृथक छौं । र, हामीले वैज्ञानिक समाजवादी शिक्षा हुनुपर्छ भनेर वकालत गर्छौं । त्यसकारण अरुभन्दा हामी पृथक नै छौं ।

तपाईँहरुको मातृ पार्टी नेकपाका नेता-कार्यकर्तामाथिको धरपकडलाई कसरी हेर्नु भएको छ ?

पक्कै पनि तपाईँले भनेजस्तै अहिले देशमा कम्युनिष्टहरुको करिबकरिब दुई तिहाईको सरकार छ । समाजमा विकृति, विसङ्गति, हत्या–हिंसा, महङ्गी, भ्रष्टाचार बढिरहेको छ । महंगी, भ्रष्टाचार, मानव बेचबिखनको विरोध गर्दा राज्यले नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरुमाथि धरपडक गरिरहेको छ । यसले यो सरकार के चाहन्छ भन्ने कुरा प्रष्ट भएको छ । आफैले बनाएको संविधान, ऐन र कानूनविरुद्धमा सरकार छ । लोकतन्त्रका चर्का कुरा गर्ने सरकारले स्वतन्त्र न्यायलयको आदेशलाई लत्याउँदै आएको छ । यसले सरकार आफै नांगिएको छ । सरकारविरुद्ध चौतर्फी चर्को विरोध भएपछि बाध्य भएर हाम्रो पार्टीका नेताहरुलाई रिहा गर्न बाध्य भएको छ ।

कम्युनिस्ट सरकार के कुरा राजनीतिक हो र कुन कुरा अपराधिक छुट्याउन नसक्ने अवस्थामा पुगेको छ । यसले सत्ताको मातले राजनीतिक विवेक गुमाएको छ । जनताको अधिकारका कुरा गर्दा राजनीतिक रुपमा नै समाधान खोज्नुको साटो दमनमा समाधान देखिरहेको छ, यसले जनताको विद्रोहको अधिकारलाई यसले रोक्न सक्दैन ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]