Dabali News

Ad

कविताः प्रचण्डको चितामाथि करेत थारूको दागबत्ती

यो राज्य
करेत थारूको शिरमा
तरबार दाग्छ
र करेत थारू ताक्छ
यो राज्यको छातीमा बन्दुक !

अब कसको बढी लाग्छ ?
अब कसको छिटो लाग्छ ?

त्यो एक दशक
कमरेड प्रचण्ड सम्झन चाहँदैन
करेत थारू अब जनता हो
केवल जनता प्रचण्डको
ऊ अब कमरेड हैन ।

कमरेड कमरेड छैन ।

करेत थारू
प्रचण्डको जन्मदिन मनाउँछ
प्रत्येक माओ जयन्तीमा,
तर प्रचण्ड
करेत थारूको जन्मदिन किन मनाउँदैन ?

यो देशलाई थाहा छ
प्रचण्डको जन्मदिन
तर करेत थारूको
थाहा छैन किन ?

देशलाई देशकै जन्मदिन थाहा छैन ।

के देशको जन्मदिन हुँदैन ?
के जनताको जन्मदिन हुँदैन ?

करेत थारूलाई
एक दशक सम्झनुपरेको छ:
‘मेरो जन्मदिन परेको थियो
तर थाहा भएन
‘केक’ काट्नका निम्ति
उसले मलाई खन्जर दियो,
उसले मलाई
उल्टो धारको तरबार दियो,
जुनको टुप्पोमा विष लपेटिएको थियो
अनि ऊ दरबार गयो,
बादशाह भयो
र बादशाहकै ‘भुत्ते’ राजकीय तरबार
आफ्नो ‘म्यान’मा लियो ।’

मानिस मर्छ
विष पिलाइएको
तर मर्दैन योद्धा ।

प्रचण्डको तरबार
करेत थारूको गर्धन ताक्छ
प्रचण्डको दरबार
करेत थारूको घरबार हडप्न लाग्छ
प्रचण्डको राज्य
करेत थारूको देश माग्छ ।

र, करेत थारू दाग्छ
यो राज्यको छातीमा बन्दुक !

अब कसको बढी लाग्छ ?
अब कसको छिटो लाग्छ ?

अब अन्तिमपटक
प्रचण्डलाई तानाशाहभन्दा बढी तर्सनुपर्नेछ
र करेत थारूलाई
उसैको बन्दुकभन्दा बढ्ता पड्कनुपर्नेछ ।

तर, प्रचण्डको चिता नै
करेत थारूको सिंहासन नहोस्
प्रचण्डको सिंहासन
करेत थारूको चिता भएजस्तै ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]