
१७ असोज
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि १ हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ ।
यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब ५०० भन्दा बढी क्यामेरा जडान गरेको छ ।
अब जडान गर्ने अरु १ हजार ४०० भन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकरी दिए । जडानको लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ ।
यसअघि नेपाल प्रहरीले कामपाको मुख्य शहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको छ ।
त्यसैगरी आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिने छ । नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलन गरेकी गरेनन् भन्नेबारे जानकारी लिने र नगरेमा कारवाही गर्न सहजिलो हुने विश्वास गरिएको छ ।
सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो । सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने छ । क्यामेराको क्षमताको आधारमा कति कति दूरीका क्यामेरा जडान गर्ने निश्चित गरिन्छ ।
मान्यतया एउटा क्यामेराले ३ मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ । उक्त कार्यको लागि कामपा र नेपाल प्रहरीले लगानी नगरी सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत काम अघि बढाइने छ ।