Dabali News

पानी रिचार्ज हुने चुरेफेदी र बाघको बाटोमा प्रदेश नं.७ को राजधानी, तल्लो तटीय क्षेत्रमा हाहाकार हुने

१५ असोज

कैलाली । गोदावरी नगरपालिकाको तेघरी वन क्षेत्रलाई प्रदेश नं.७ को राजधानी बनाउने निर्णय गरेको छ ।

प्रदेशसभाको निर्णयविरुद्ध अस्थायी राजधानी धनगढीमा आन्दोलन चर्केको छ । यही विषयलाई लिएर प्रतिपक्ष दलका सांसदहरुले आइतबार प्रदेशसभा बैठकसमेत ठप्प पारेका थिए ।

चुरेको १ किमि क्षेत्रसम्म ढुंगा संकलनसमेत गर्न नपाइने नियम रहेकोमा तेघरी वनक्षेत्रमा राजधानी बनाउने निर्णयअघि वातावरणीय प्रभाव मूल्यांकनसम्म गरिएको छैन । पानी रिचार्ज हुने चुरेफेदी मासेपछि तल्लो तटीय क्षेत्रमा हाहाकार हुने जोखिमबारे विचार पुर्याइएको छैन ।

विज्ञहरूले वातावरणीय प्रभाव मूल्यांकन र चुरे फेदीमा पर्न सक्ने दीर्घकालीन प्रभाव अध्ययनबिनै गरिएको निर्णयले वनसँगै जैविक मार्गसमेत मासिने खतरा औंल्याएका छन् । उनीहरू वन क्षेत्र मासेर संरचना बनाउँदा धेरै सोचविचार र अध्ययन हुनुपर्ने बताउँछन् ।

तराई भूपरिधि कार्यक्रमका संयोजक बुद्धि रिजाल भन्छन् -‘तेघरी वन क्षेत्रमा राजधानी तोकेपछि चुरे फेदीमा भौतिक संरचना बनाउँदा निश्चित रूपमा वातावरणमा धेरै असर पर्छ ।’ उनका अनुसार कार्यक्रमले विश्व वन्यजन्तु कोषको सहयोगमा तेघरीमा जैविक विविधिता र वातावरणको संरक्षणबारे सन् २००४ देखि काम गर्दै आएको छ । बाघ संरक्षणमा प्राप्त उपलब्धि जैविक मार्ग संरक्षणबाट सम्भव भएको उनले बताए ।

‘सीमापारि भारतको दुदुवा नेसनल पार्कको बाघ तेघरी जंगलमा देखा पर्न थालेको छ । केही समयअघि तराईको बाघ ब्रह्मदेव हुँदै डडेलधुराको जोगबुढासम्म पुग्यो । बाघ ओहोरदोहोर गर्न लालझाडीसँग जोडिएको मोहना जैविक मार्गको महत्व सबैभन्दा बढी छ, यो तेघरी वन क्षेत्रसँग जोडिएको छ,’ उनले भने ।

पूर्ववन अधिकृत रमेश चन्द राजधानी तोक्नुअघि वातावरणीय पक्ष ख्याल गर्नुपर्ने बताउँछन् । ‘जैविक मार्गलाई कंक्रिटको सहर बनाउनु कति उचित हो ? पानी रिचार्ज हुने चुरे फेदी मासेपछि तल्लो तटीय क्षेत्रमा हाहाकार हुने अवस्था विचार पुर्याइएन,’ उनले भने ।

कैलाली जिल्ला वन डिभिजन कार्यालयका सहायक वन अधिकृत भीम ढकालले तेघरीमा राजधानी राख्नेबारे कुनै निकायले छलफल र सोधपुछ नगरेको बताए ।

‘चुरेको खोंचमा राजधानी बसाउँदा प्राकृतिक स्रोतको क्षति र जैविक मार्ग मासिने खतरा रहन्छ,’ उनले भने, ‘चुरे फेदीको १ किमि क्षेत्रसम्म ढुंगासमेत संकलन गर्न नपाइने कानुन छ । तेघरी वन क्षेत्रमा ठूला साल नभए पनि ७० र ८० वर्षभित्र पूर्ण वयस्क हुने पोथ्रा निकै छन् ।’

दुई महिनाअघि प्रदेशसभा बैठकले सांसद तारा लामा तामाङको संयोजकत्वमा प्रदेशको नाम र राजधानी छान्न ५ सदस्यीय विशेष सुझाव समिति बनाएको थियो । सोही समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीको २ र ४ नम्बर वडामा पर्ने तेघरी वन सिफारिस गरेको हो ।

गोदावरी बजार क्षेत्र भने प्रस्तावित राजधानीको ४ किल्लाभित्र पर्दैन । ‘राजधानीका रोजिएको तेघरी सामुदायिक वनको ८० प्रतिशत वडा नं. २ र २० प्रतिशत ४ नम्बरमा पर्छ,’ स्थानीय कैलाशकुमार जोशीले भने, ‘२०५८ सालमा सामुदायिक वन घोषणा गरिएको हो । अन्यत्र ठूला रूख कमै भए पनि गोदावरी खोलानजिक २ सयभन्दा बढी साल, सिसम, खयर र सिमल छन् ।’

उनले गोदावरी खोलाबाट संकलन हुने ढुंगागिट्टीको करबापत वनले वार्षिक ६ लाख जति उठाउँदै आएको छ । पछिल्ला वर्ष सामुदायिक वन समितिको प्रभावकारी संरक्षणका कारण वन घना हुँदै गएको छ । विभिन्न जातका बोटबिरुवासँगै सालका पोथ्रा प्रशस्त रहेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]