Dabali News

प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा अमेरिकामा विरोध प्रदर्शन

१२ असोज

काठमाडौं । उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको सडक विस्तारविरूद्ध न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयअगाडि विरोध प्रदर्शन भएको छ ।

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको समयमा त्यहाँस्थित नेपालीहरुले बाहिर विरोध प्रदर्शन गरेका हुन् । स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब तीन घण्टा प्रदर्शन भएको थियो ।

अमेरिकी नेपाल आदिवासी जनजाति महासंघ, युनाइटेड प्रेसर एन्ड प्रोटेस्ट ग्रुपलगायतका संघ-संस्थाहरुले सडक विस्तारविरुद्ध विरोध प्रदर्शन गरी संयुक्त राष्ट्रसंघको महासभामा ध्यानाकर्षण गराएका हुन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले सडक विस्तारका सम्बन्धमा नेपाल सरकारविरुद्धको मुद्दा प्रक्रिया अघि बढाएको अवस्थामा महासभामा प्रधानमन्त्री ओलीले भाग लिन नैतिकरुपले नमिल्ने भन्दै नेपालको संविधानप्रदत्त अधिकार, अन्तर्राष्ट्रिय ऐन-कानुन र सर्वोच्च अदालतको आदेश तथा फैसलाहरु पालना गर्न उनीहरुले माग गरेका थिए ।

सडक विस्तार कार्य नरोके यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्दै लैजाने चेतावनीसमेत उनीहरुले दिएका छन् । सरकारले ‘गैरन्यायिक’ तरिकाले काठमाडौं उपत्यकामा सडक विस्तार गरी अन्तर्राष्ट्रिय महासन्धि र धारा १६९ को उल्लंघन गरेको भन्दै आइएलओले सरकारविरुद्ध मुद्दा अघि बढाएको छ ।

नेपाल टेलिकमका कर्मचारी युनियनले पीडितका तर्फबाट गत २५ जनवरीमा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालय जेनेभामा सडक विस्तारविरुद्ध सरकारलाई विपक्षी बनाई मुद्दा हालेको थियो ।

यसअघि, सर्वोच्च अदालतबाटसमेत ‘जनताको घरबास मास्ने गरी विकास नगर्नू, विकल्प भइन्जेल विकल्प हेर्नू, पुरातात्विक र ऐतिहासिक मठ-मन्दिर तथा सांस्कृतिक सम्पदाहरु जोगाउनू, बालबालिकालाई विस्थापन हुँदा पर्ने असर हेर्नू, जनतासँग विकास काक्रममा निजी घर-सम्पत्ति लिनुपर्दा वार्ता र छलफल गरेर मात्र मुआब्जा दिएर लिनू, सडकको सीमा र सडक बनाउँदा क्षतिपूर्ति दिन’ निर्देशनात्मक परमादेश जारी भएको थियो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]