Dabali News

कमिशनका लागि बिरामी भारत पठाउने नेपाली डाक्टर र अस्पताललाई कारवाही गर्न आग्रह

१२ असोज

काठमाडौं । नेपाली बिरामीहरुलाई ‘कमिशन’ का लागि अनावश्यक रुपमा भारतीय अस्पतालहरुमा रिफर गर्ने नेपालका चिकित्सक, अस्पताल र एजेन्टहरुलाई कारवाही गर्न नयाँदिल्लीस्थित नेपाली राजदूतावासले सरकारलाई आग्रह गरेको छ ।

कमिशनकै लागि भारतीय अस्पतालहरुमा बिरामी पठाउने व्यक्ति तथा संस्थाको पहिचानका लागि गृह मन्त्रालय, स्थानीय प्रशासन, नेपाल मेडिकल काउन्सिल, उपभोक्ता संरक्षण विभागको समन्वयमा तत्काल अनुसन्धान गर्न दूतावासले सुझाव दिएको छ ।

नेपाली दूतावासले कमिशनकै कारण नेपाली बिरामीहरुलाई अनावश्यक रुपमा भारतका क्लिनिक, नर्सिंग होम र अस्पतालहरुमा ‘रिफर’ गरिने गरेको ठहर गर्दै त्यसरी ‘रिफर’ गर्ने व्यक्ति तथा संस्थालाई कारवाही प्रक्रियाका लागि सिफारिश गरेको हो ।

उपचारका लागि भारतका आउने नेपाली बिरामीहरुमाथि यहाँका डाक्टर तथा स्वास्थ्य संस्थाहरुले चर्को आर्थिक शोषण गर्ने गरेको गुनासो बढ्दै गएपछि दूतावासले यस्तो कदम चालेको हो । दिल्लीस्थिति एक प्रतिष्ठित स्वास्थ्य संस्थाका उच्च अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा केही साताअघि कुराकानीमा नेपाली बिरामी पठाएवापत प्रति बिरामी पन्ध्र प्रतिशत कमिशन दिइने गरेको स्वीकार गरेका थिए ।
त्यसरी रिफर गरिएका बिरामीहरुसँग ती स्वास्थ्य संस्थाले १० देखि ३५ प्रतिशतसम्म थप रकम लिएर कमिशनमा खर्च गर्ने गरेका छन् । र, त्यसरी दिइने कमिशनलाई विभिन्न अनधिकृत च्यानल मार्फत नेपाल पठाइने गरिएको छ ।

कमिशनको खेललाई निरुत्साहित गर्न दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुले विभिन्न अस्पतालका नेतृत्वलाई भेटेर कमिशनका लागि हुने गरेको चलखेल र नेपाली बिरामीहरुमाथि हुने अनावश्यक आर्थिक शोषण तत्काल बन्द गर्न पनि सचेत गराएका छन् । उक्त भेटमा नेपाली बिरामीहरुका लागि भारतीय बिरामीहरुसरह कै शुल्कको व्यवस्था गर्न पनि नेपाली अधिकारीहरुले आग्रह गरेको दूतावासले जनाएको छ । ‘कमिसनकै लागि नेपाली बिरामी सिफारिस गरिने गरिएको र त्यसबाट नेपाली बिरामीहरुमाथि आर्थिक शोषण हुने गरेको गुनासाहरु बढ्दै गएकाले यो पहल गरिएको हो ।’ कार्यवाहक राजदूत भरतकुमार रेग्मीले भने ।

उनको अनुसार कमिसनकै कारण नेपाली बिरामीले भारतीय बिरामीको तुलनामा चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ ।’ हामीले यसलाई पनि बन्द गर्न यहाँका अस्पतालहरुलाई भनेका छौं,’ उनले भने ।
यसका साथै अंग प्रत्यारोपणका लागि भारत पुग्ने नेपाली बिरामीहरुले पनि विभिन्न किसिमका कस्ट व्यहोर्न बाध्य छन् । त्यस्ता बिरामीहरुले विशेषगरी दलालहरुबाट ठगिने र कागजात नमिलेका कारण धेरै पटक ओहोरदोहर गर्नुपर्ने समस्या भोग्ने गरेका छन् ।

त्यसैले प्रत्यारोपणसम्बन्धी कार्य (विशेषगरी मृगौला, कलेजो र बोनम्यारो) भए अनिवार्य रुपमा परराष्ट्र मन्त्रालय अन्तर्गत काठमाडौंस्थित कन्सुलर सेवा विभागबाट आवश्यक कागजातहरु र सिफारिश पत्र अनिवार्य गर्न पनि दूतावासले सुझाव दिएको छ ।

यसका अतिरिक्त भारतस्थित स्वास्थ्य संस्था वा डाक्टरहरुको एजेन्टको रुपमा कार्य गर्ने गरी सम्पर्क कार्यालयको काममा नियुक्त व्यक्ति वा खोलेको संस्था भए सो तत्काल खारेज गर्न पनि दूतावासले सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]