Dabali News

चीनमा जन्मियो माओवादी पार्टी, यस्तो छ १० बुँदे घोषणापत्र

११ पुस

काठमाडौं । अाज चिनियाँ क्रान्तिका नायक तथा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन अध्यक्ष माओको अाज जन्म दिन । अाजभन्दा १२४ वर्ष पहिले अाजकै दिन सन् १८९३ डिसेम्बर २६ मा चीनका हुनान प्रान्तको स्याङतान जिल्लाको पहाडी गाऊँ साओ साङचुङमा एक मध्यम वर्गीय किसान परिवारमा भएको थियो ।

माओले सामन्ती र अौपनिवेशिक अवस्थाबाट मुक्त गरी अाधुनिक चीनको निर्माण गरे । अहिले चीनले चमत्कार विश्व हेरेको हेर्‍यै बनाइरहेको छ । यो सबै माओको योगदान भएको कुरा चिनियाँ जनताले अात्मसात गरेका छन् । त्यसैले चिनियाँ जनताले माओलाई निकै सम्मान गर्दै अाएका छन् । माओको शवलाई दर्शन गर्ने चिनियाँहरुको घुइँचो लाग्ने गरेको छ । यो माओले चीन र चिनियाँ जनताको लागि गरेको योगदानकै कारण भन्‍ने कुरामा वर्तमान चिनियाँ नेतृत्वले मात्रै नभएर विश्वले नै स्वीकार गरेको छ ।

दिर्घकालिन जनयुद्धको माध्यमबाट सन् १९४९ मा माओले चीनमा जनवादी सत्ता स्थापना गरे । त्यसपछि चीन र चिनियाँ जनताको विकास र समृद्धिको यात्र सुरु भयो । चिनियाँ जनताको जीवनमा ठूलो परिवर्तन अायो ।

माओको मृत्युपछि चिनियाँ कम्युनिस्ट पार्टी सुधारवादको बाटोको यात्र तय गरेको अारोप लगाउँदै केही चिनियाँ क्रान्तिकारी संगठित हुँदै गए । पार्टी नेतृत्व सुधारवादमा फस्दै माओको समाजवाद निर्माणको अभियान र सर्वहारावादी मूल्यमाथि धावा बोलेको भन्दै सांस्कृतिक क्रान्तिका समर्थकहरु संगठित हुँदै गए । तर उनीहरुमाथि तत्कालिन सत्तपक्षले दमन गरेर जेल हालेको अारोप पनि लाग्दै अाएका छन् ।

माओपछिका नेतृत्व देङ सियाओपिङ, हु याओ ब्याङ र जियाङ जेमिनले अगाडि सारेको अवधारणले चीनमा प्रतिक्रान्ति भएको नेपालसहित विश्वका क्रान्तिकारी कम्युनिस्टहरु अारोप लगाए । माओको योगदानको उच्च मूल्यांकन गर्दै नेपालसहित विश्वका धेरै देशमा माओवादी पार्टीले दिर्घकालिन जनयद्धमार्फत क्रान्तिलाई अगाडि बढाए । जुन उद्देश्यले जनयुद्ध सुरु गरिएको थियो, त्यो पूरा नगर्दै नेपालमा माओवादी अान्दोलन विसर्जन हुन पुग्यो भने भारतलगायत धेरै देशहरुमा जारी छ । नेपालमा माओवादीले जति चाँडो उचाइमा पुग्यो त्यसैगरी विसर्जन भयो ।

जनमेल अनलाइनका अनुसार सन् १९८१ तत्कालिन नेतृत्वले माओले स्थापित गरेका समाजवादी मूल्यविरुद्ध जाने विधिवत रूपमै निर्णय गरियो भन्दै चिनियाँ कम्युनिस्ट पार्टीको एउटा समूहले विरोध जनायो । उनीहरुले अलग पार्टी नै गठन गरे । उक्त क्रान्तिकारी समूहले सन् १९८१ मा चिनियाँ कम्युनिस्ट पार्टी (माले) गठन गर्‍यो । दस्ताबेजमार्फत उनीहरूले चीनमा पछिल्लो नेतृत्वले राजनीतिक लाइनबारे सार्वजनिक पनि गर्यो । यी दस्ताबेजहरूपछि माओवादीहरूको क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी सङ्गठन (रिम) को प्रकाशन ए वर्ल्ड टु विनर आरसीपी, अमेरिकाको प्रकाशन रिभोलुस्नरी वर्करमा प्रकाशित पनि भएका थिए । यसले भूमिगत किसिमले केही समय काम पनि गर्यो । तर चिनियाँ कम्युनिस्ट पार्टी विरोधी सुधार विरोधी आदिआदि अभियोग लगाएर यसका सदस्यहरूलाई पक्राउ गरियो । मुद्दाका साथ जेल पठाइयो ।

पछि सन् २००८ मा चीनका क्रान्तिकारीहरूले माओवादी कम्युनिस्ट पार्टी, चीन (एमसिपिसी) को गठन गरे । उनीहरूले सबैभन्दा पहिले चीनमा माओवादी पार्टीको आवश्यकता पर्नुको कारणको व्याख्यासहित ‘सम्पूर्ण चिनियाँ जनताका नाममा’ अपिल जारी गरे । पछि समग्र कार्ययोजनासहित दसबुँदै घोषणापत्र नै जारी गरियो । चिनियाँ भाषामा पहिले प्रकाशित र पछि अङ्ग्रेजीमा प्रकाशित यो दसबुँदै घोषणा माओ र समाजवादी मान्यताप्रति प्रतिबद्ध वेबसाइटमा पनि प्रकाशित गरिएको थियो । पछि चिनियाँ सरकारले ती वेबसाइटहरू बन्द नै गर्यो । अहिले पनि ती साइटहरु बन्द नै गरिएका छन् ।

पोलिटब्युरो सदस्य र सम्भावित पार्टी महासचिव बो सिलाईलाई माओवादी मूल्य मान्यतालाई अगाडि सारेको कारण भ्रष्टाचारको मुद्दामा जेल हालिएको अारोप चिनियाँ कम्युनिस्ट पार्टीलाई लाग्दै अाएको छ । बोलाई सन् २०१२ मा जेल पठाएपछि माओ र माओवादका पक्षधरहरूको गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ र माओवादका पक्षधरहरूले सञ्चालन गरेका युटोपिया, माओ फ्ल्यागलगायतका सबै वेबसाइटहरू बन्द गराइएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको वर्तमान नेतृत्व सी जिङपिङले अाफूलाई माओको उत्तराधिकारीको रुपमा पेश गरेको बताइएको छ । तर, चिनियाँ कम्युनिस्ट पार्टी र सीले यसमा केही बोलेका छैनन् । हालै सम्पन्‍न पार्टीको महाधिवेशनबाट सीको नाममा विचारधारा विकास गरेको छ । माओ पछि सीलाई शक्तिशाही नेतृत्वमा भनिनुको साथै विस्तारै चिनियाँ कम्युनिस्ट पार्टीलाई माओले क‍ल्पना गरेतिर अग्रसर गराएको विश्लेषण पनि भइरहेको छ ।

यस्तो छ माओवादी कम्युनिस्ट पार्टी,चीन (एमसिपिसी) को दसबुँदे घोषणा

१. हामी चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी सत्ताधारी गुट र हाम्रो पार्टीमाथि गुप्त किसिमले दमन गर्ने यसको नीतिको जोडदार रूपमा भ्रत्सना गछौँ !

२६ डिसेम्बर, २००८ का दिन बेजिङ र साङ्घाई जस्ता महत्वपूर्ण जिल्लाका सहरहरूमा “सम्पूर्ण चिनियाँ जनताका नाममा” शीर्षकमा हामीले वितरित गरेको पर्चामा “ चिनियाँ जनतासँग चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी सत्ताधारी गुटका विरुद्ध सङ्घर्ष गर्ने अधिकार छ” भनेर आह्वान गरिएको छ । यसो गरेर हामीले उनीहरूलाई खुलमखुला चुनौती दिएका छौँ ।

त्यसपछि हामी अन्य केही सहरहरू र अनलाइनहरूमा प्रचारात्मक काममा व्यस्त भयौँ । हाम्रो पार्टीको यो क्रान्तिकारी कार्यले चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी गुटभित्र दरिलो राजनीतिक तरङ्ग ल्याइदियो, र यसले संशोधनवादी सत्ताधारी गुटको अहङ्कारलाई हावामा उडाउन सफल भयो ।

यो पुँजीवादको पुनस्र्थापनाका विरुद्ध चिनियाँ सर्वहाराद्वारा गरिएको महान् क्रान्तिकारी आन्दोलनको शङ्खघोष हो, यो सत्ताधारी गद्दार संशोधनवादी गुटद्वारा जनताका विरुद्ध गरिएका अपराधहरूका विरुद्ध , संशोधनवादीहरूका नक्कली आवरण भेदन गर्न र जनतालाई शब्द र कर्म दुवै किसिमले क्रान्तिकारी लडाइँमा लागि पर्न गरिएको संचेतना सङ्केत थियो ।

हााम्रो पार्टीको पर्चा “सम्पूर्ण चिनियाँ जनताका नाममा” ले चीनभित्र व्यापक मात्रामा ध्यानाकर्षणको विषय बन्ने र चिनियाँ सर्वहारा वर्गलाई प्रोत्साहित गर्ने कार्यमा सघाउ पुर्याउने काम मात्र गरेन, अपितु, अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा पनि यसले व्यापक मात्रामा चर्चा पायो । “रेडियो फ्रि एसिया” र “भ्वाइस अफ अमेरिका” ले यसबारे रिपोर्ट नै बनाए । चीनभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले पर्चाले निकै ठूलो चुनौती दिएको महसुसबोधका साथ हाम्रो पार्टीमाथि प्रहार गर्दै चीनको शासनसत्तामाथिको आक्रमणका रूपमा यसको व्याख्या गरे ।
उनीहरूले यस किसिमका नाराहरू अघि सारे : “अचम्म लाग्दो कुरा ! हु जिन्ताओको विरोध गर्दै माओको पक्षमा माओका छोरा र नातिहरूले माओवादी कम्युनिस्ट पार्टी चीन, गठन गरेका छन् ।”

“माओको विरासतबाट पूर्ण मुक्त नहोउन्जेसम्म हामीले पछिसम्म पनि समस्याहरूको सामना गरिरहनु पर्नेहुन्छ । ”

“हामी तियानमेन स्क्वायरबाट माओको चित्र हटाउन जोडदार रूपमा माग गर्छौँ ।”

“हामी यसको कम्युनिस्ट नारा खारेज गर्न चिनियाँ सरकारसित माग गर्छौ” र “ यदि चिनियाँ कम्युनिस्ट पार्टीले माओवादी कम्युनिस्ट पार्टी, चीनलाई छिटै समाप्त पार्दैन भने यसको हातबाट अवश्य पनि सिसिपीको मृत्यु हुनेछ…।”

चिनियाँ कम्युनिस्ट पार्टीको सत्ताधारी गुटले केही पनि थाहा नपाएझैँ जस्तो गरे पनि व्यवहारमा चाहिँ हाम्रो पार्टीको गतिविधिको निगरानी गर्न यसले प्रहरी फोर्स परिचालन गरेको छ । हामीहरू कताकता जान्छौँ र कताकता पर्चा वितरण गर्छौँ भनेर उनीहरूले हाम्रो निगरानी गरिहेका हुन्छन् र सिसिटिभीका फुटेजहरूको पनि जाँचपडताल गरिरहेका हुन्छन् । इन्टर्नेट प्रहरीमार्फत उनीहरूले हाम्रा साथीहरूको निगरानी गरिरहेका हुन्छन् । शिशु अवस्थामै उनीहरू हाम्रो पार्टीलाई निमोठ्न चाहन्छन् ।

हामी चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी सत्ताधारी गुटका क्रियाकलापको जोडदार रूपमा भ्रत्र्सना गर्छौ । सत्ताद्वारा हाम्रो पार्टीमाथिका गुप्त दमनका कार्यहरू पूर्णरूपमा अविलम्ब रोक्न जोडदार माग गछौँ ।

हामी “भद्र मान्छेहरूले हात होइन, ओठ चलाउँछन्” भन्ने जनवादी राजनीतिक सिद्धान्तलाई मान्दछौँ, तर, “नीच प्रतिक्रियावादीहरू शक्तिको प्रयोग गर्छन् भने, हामी पनि त्यसै गर्छौँ” भन्ने फलामे क्रान्तिकारी नीतिको पनि हामी पालना गर्छौँ ।

“सम्पूर्ण चिनियाँ जनताका नाममा” नामको पर्चा र यहाँ चर्चा गरिएको ”दसबुँदे घोषणा” ले हाम्रो मुलुकमा महत्वपूर्ण घटनाहरूको निर्माण गर्ने कार्यमा हरेक मान्छेलाई परिचालित गर्न सहयोग पुर्याउने छ । हामी चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी सत्ताधारी गुटको फासिवादी “स्वेत आतङ्क” प्रयोगको दृढताका साथ प्रतिरोध गर्छौँ । यदि संशोधनवादीहरूले हाम्रा विरुद्ध बलजफ्ती आफ्ना गतिविधि अघि बढाएर जनताको रगतको खोलो बगाउँछन् भने निश्चय पनि हामी अन्तिम अवस्थासम्म जनताको साथमा हुनेछौँ ! एक जना मात्रै पनि माओवाद विरोधी यहाँ रहुन्जेलसम्म हामी चुपो लागेर बस्ने छैनौँ । एक जना मात्रै भए पनि गद्दार संशोधनवादीले पुँजीवादका पक्षमा भुक्ने दुस्साहस गरुन्जेलसम्म अघि बढाएर त्यसको सर्वनाश नगरुन्जेलसम्म हामी सङ्घर्ष रोक्ने छेनौँ !

२. जनताले हामीप्रति देखाएको सद्भाव र समर्थनप्रति हामी धन्यवाद दिन चाहन्छौँ

अध्यक्ष माओले भन्नुभएको छ : “‘अभेद्य किल्ला’ भनेको के हो त ? यो भनेको जनसमुदाय हुन्, जनसमुदाय जसले खुला हृदयले क्रान्तिलाई सहयोग गर्छन् । यो नै सच्चा ‘अभेद्य किल्ला’ हो, जसलाई कुनै पनि तागतले नष्ट गर्न सक्तैन । प्रतिक्रान्तिकारीहरूले हामीलाई समाप्त पार्न सक्तैनन्, बरु हामीहरू उनीहरूलाई समाप्त पार्नेछौँ ।”

हाम्रो पार्टीको गठन र हामीले प्रकाशित गरेको पर्चा “सम्पूर्ण चिनियाँ जनताका नाममा” का बारेमा जानकारी राख्ने जनसमुदायको ठूलो हिस्साबाट हामीले समर्थन पाएका छौँ । हामीसित सम्पर्कमा आएका जनता हामीले पार्टी गठन गरेको कुराले हर्षित मात्र नभएर आत्मिक र भौतिक दुवै किसिमले सक्तो सहयोग गर्ने अभिमत जाहेर गरेका छन् । खासगरेर हाम्रो पार्टी निर्माणपछिका तीन महिनामा हामीले गरेका भीषण दुई लाइन राजनीतिक सङ्घर्षलाई देख्नेहरू, जसले बढीभन्दा बढी यो कुराको जानकारी पाए, उनीहरूले हामीप्रति सदभाव र समर्थन जाहेर गरेका छन् । सुरुमा हाम्रो पार्टीमा सहभागी हुन नचाहनेहरू पनि अहिले सक्रियताका साथ सहभागी हुन चाहिरहेका छन्, जसले सुरुमा हाम्रो पार्टीलाई सहयोग गर्न अकमकाएका थिए, अहिले सहयोगका लागि सक्रियताका साथ अघि सरेका छन् …।

यसका लागि, हाम्रो पार्टीप्रति उच्च सद्भाव र समर्थन देखाउने वहाँहरू सबैलाई हाम्रो पार्टी क्रान्तिकारी सलाम प्रकट गर्दछ । हामी जनताको हामीप्रतिको सदभावका लागि वहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ । हामी जनताको हामीप्रतिको समर्थन भावका लागि वहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ ।

हाम्रा निरन्तर गतिविधिका कारण दुस्मनले हाम्रो पार्टीमाथि ठूलै नोक्सान पुर्याउन सक्छ भनेर कतिपयले चिन्ता पनि जाहेर गर्छन् । वास्तवमा, हामी जति हाम्रा गतिविधिलाई सक्रिय बनाउँछौँ, उति जनताको सहयोग र समर्थन हामीलाई प्राप्त हुनेछ र जति जनताको सहयोग र समर्थन हामीलाई बढ्दैजानेछ, उति हाम्रो पार्टी सुरक्षित हुनेछ ।

हाम्रो पार्टीको उपस्थिति र गतिविधिले सत्ताधारी गुटलाई असहज महसुस गराएको कुरामा शङ्का छैन । उनीहरू हाम्रो शक्तिलाई एकैचोटि समाप्त पार्न नसकिने तथ्यका कारण बेचैनीमा परेका छन् । तर दुस्मनको बानी नै यस्तो हुन्छ, उसले जहिले पनि क्रान्तिकारीहरूको शक्तिलाई न्यूनीकरण गर्छ, र क्रान्तिकारी जनताको साहस र बुद्धिकतालाई गलत किसिमले मूल्याङ्कन गर्छ । साँचो कुरा के हो भने, हाम्रो पार्टी आम जनता र तल्लो तहका पार्टी कार्यकर्ताको ठूलो सङ्ख्यासित गाँसिएको छ, हाम्रो पार्टी जनताले प्रदान गरेको ऊर्जाबाट विकसित भएको छ र हाम्रो पार्टीले गहिरोसित जनतामाझ जरा गाडेको छ ।

त्यसैले जब पुँजीवाद पुनस्र्थापना विरोधी क्रान्तिकारी परिस्थितिले गति लिन्छ, हाम्रो सत्रु अलमलमा पर्नेछ । उनीहरू कसलाई आफ्नो भन्ने, कसलाई विश्वास गर्ने र कसलाई विश्वास नगर्ने र प्रतिक्रान्तिकारी कार्यको प्रयोजनका लागि कसलाई अघि सार्ने तथा उनीहरूलाई क्रान्तिबाट फ्याल्नका लागि केकस्ता र को को मान्छे लागेका छन् भनेर पनि उनीहरूलाई थाहा हुने छैन । त्यसैले सत्ताधारी शासकहरूले हाम्रो पार्टीलाई धेरै ठूलो नोक्सान पुर्याउन सक्लान् भन्ने कुरामा आश्चर्य मान्नुपर्ने कुरा छैन ।

३. चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी गुट चिनियाँ जनताको सबैभन्दा ठूलो दुस्मन हो भनेर हामी घोषणा गर्छौँ

संशोधनवादीहरू सत्तामा पुगेपछि मजदुर किसानको अधोगति सुरु हुन्छ भन्ने कुरा इतिहासले प्रमाणित गरेको यथार्थ हो ।

संशोधनवादीहरूको नियन्त्रणमा सरकार रह्यो भने सर्वहाराले आफ्नो राजनीतिक शक्ति गुमाउँछ । त्यस्तै यदि संशोधनवादीहरू तथाकथित “खुला सुधार” को योजनामा लागे भने मुलुकका श्रमजीवी जनता फेरि पनि शोषित हुनेछन् ।

हाम्रो मुलुक र चिनियाँ जनताको सारा सर्वनाश चिनियाँ कम्युनिस्ट पार्टीको दक्षिणपन्थी गद्दार गुटको तथाकथित “खुला सुधार”ले कारणले भएको थियो । विश्वस्तरमा साम्राज्यवादले विभिन्न मुलुकहरूमाथि गरेको आक्रमणको जिम्मेवार पनि एक किसिमले चिनियाँ संशोधनवादीहरू नै हुन् ।

यसै अर्थमा चिनियाँ कम्युनिस्ट पार्टीको दक्षिणपन्थी गद्दार गुट चिनियाँ जनताको एक नम्बर दुस्मन हो । दक्षिणपन्थी पुँजीपतिहरूमाथि पनि हामीले प्रहार गरेका छौँ, तर निश्चित रूपमा हाम्रा प्रमुख दुस्मन चिनियाँ कम्युनिस्ट पार्टीको दक्षिणपन्थी गद्दार गुट नै हो ।
अध्यक्ष माओले भन्नुभएको छ : “मार्क्सवादका आधारभूत सिद्धान्तलाई अस्वीकार गर्नु, मार्क्सवादका सार्वभौम सत्यहरूलाई परित्याग गर्नुलाई संशोधनवाद भनिन्छ ।”

सँगसँगै वहाँले यो पनि भन्नुभएको छ : “संशोधनवादले योजनाबद्ध ढङ्गले समाजवाद र पुँजीवादबीचको भिन्नता मेटाउने प्रयास गर्छ, र बुर्जुवा र सर्वहारा अधिनायकत्वबीचको आधारभूत भिन्नतालाई मेटाउने प्रयास गर्छ । उनीहरूको मूल उद्देश्य समाजवाद हुँदै होइन, बरु पुँजीवाद हो ।”

पर्टीभित्रका बुर्जुवा वर्गका प्रतिनिधिहरू, जस्तै देङ सियाओपिङ, जियाङ जेमिन र हु जिन्ताओ सबै प्रतिक्रान्तिकारी संशोधनवादीहरू हुन् । उनीहरू समाजवाद र पुँजीवादबीच घोलघाल पारेर यी दुईबीचको भिन्नता मेटाउन चाहन्छन्, तर व्यवहारमा उनीहरूले पूर्णरूपमा पुँजीवादी बाटो अँगालेका छन्, उनीहरूले योजनाबद्ध ढङ्गले बुर्जुवा अधिनायकत्व र सर्वहारा अधिनायकत्वबीचको भिन्नतालाई समाप्त पारेका छन्, व्यवहारमा तिनीहरू पूर्णरूपमा पुँजीवादीहरू हुन् । एउटै वाक्यमा भन्नुपर्दा तिनीहरू सबै समाजवादी क्रान्ति र सर्वहारा अधिनायकत्वको विरोध गर्छन् ।

अध्यक्ष माओ भन्नुहुन्छ : “संशोधनवादीहरू सत्तामा आउनु भनेको बुर्जुवाहरू सत्तामा आउनु हो । र वास्तवमा यो भनेको सबैभन्दा खराब किसिमको पुँजीवाद हो, यो फासिवादजस्तै हो यदि कुनै दिन कम्युनिस्ट पार्टीले जनताको हितमा काम गर्न छोड्यो भने, यसलाई फ्याल्न जनता सङ्घर्षका लागि उठ्नुपर्छ ।” साँच्चै आज चिनियाँ कम्युनिस्ट पार्टीको दक्षिणपन्थी गद्दार गुट सत्तामा छ, त्यसैले यो फ्यालिनु पर्छ ।

४. माओवादी कम्युनिस्ट पार्टी, चीन सर्वहारा क्रान्तिकारी पार्टी हो भनेर हामी घोषणा गर्छौँ 

माओवादी कम्युनिस्ट पार्टी, चीन माक्र्सवाद–लेनिनवाद–माओवादले सुसज्जित सर्वहारा क्रान्तिकारी पार्टी हो, यो माओ र माओ कालको चिनियाँ कम्युनिस्ट पार्टीको बफादार उत्तराधिकारी हो, र यो सर्वहारा वर्गको अग्रगामी तहबाट निर्मित जुझारु क्रान्तिकारी अग्रदस्ता सङ्गठन हो ।
माओवादी कम्युनिस्ट पार्टी, चीन औपचारिक रूपमा २८ नोभेम्बर २००८ मा स्थापना भएको थियो । माओवादी कम्युनिस्ट पार्टी, चीनको स्थापना चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी गुटसित पूर्णरूपमा सम्बन्ध विच्छेद गरेका युवा पुस्ताको प्रतिक हो, यो चीनमा दोस्रो समाजवादी क्रान्तिको आगमनको युगको सङ्केत हो, यो चीनमा पुँजीवादको पुनस्र्थापना विरुद्ध चिनियाँ जनताले विधिवत आरम्भ गरेको महान् क्रान्तिकारी सङ्घर्षको सङ्केत हो ।

माओवादी कम्युनिस्ट पार्टी, चीनको आधारभूत राजनीतिक लाइन भनेको चिनियाँ कम्युनिस्ट पार्टीभित्रको गद्दार संशोधनवादी गुट र पुनस्र्थापित भएको नोकरसाही पुँजीपति वर्गलाई पूर्णरूपमा उखेलेर फ्याल्नु हो, जसबाट माओवादले संशोधनवादमाथि विजय प्राप्त गर्न सक्नेछ, र समाजवादी समाजले पुँजीवादी समाजविरुद्ध विजय प्राप्त गर्नेछ । हाम्रो पार्टीको अन्तिम उद्देश्य साम्यवाद प्राप्त गर्नु हो ।
माओवादी कम्युनिस्ट पार्टी, चीनको आधारभूत विधि सबैभन्दा पहिले अध्यक्ष माओले स्थापित गर्नुभएको सर्वहारा क्रान्तिकारी लाइनलाई समात्नु हो, र मार्क्सवाद-लेनिनवाद-माओवादलाई सैद्धान्तिक आधार तथा आम रणनीतिक दिशाका रूपमा अघि बढाउनु हो । हामीहरू जनतालाई व्यापक रूपमा सङ्गठित तथा परिचालित गर्नेछौँ र जनताको शक्तिमा भर पर्नेछौँ ।

चीनको दोस्रो समाजवादी क्रान्तिको पद्धतिगत तथा सङ्गठनात्मक बाटो पहिलो समाजवादी सत्तामा चिनियाँ कम्युनिस्ट पार्टीभित्रको गद्दार संशोधनवादी गुटले पुर्नस्थापित गरेको नोकरसाही पुँजीवादी सत्तागत वस्तुस्थितिलाई आधार मानेर अघि बढ्नेछ ।

यस क्रान्तिको पहिलो मिसन आम जनसमुदायबाट खोसिएका अधिकारहरूलाई पुनस्थापित गर्न सफल हुनु हुनेछ, त्यसपछि हामी पुनः सर्वहारा अधिनायकत्व स्थापित गर्नेछौँ ।

चिनियाँ कम्युनिस्ट पार्टीभित्रको गद्दार संशोधनवादी गुटले स्थापित गरेको पुँजीवादी पुनस्र्थापनाका विरुद्ध महान् क्रान्तिकारी आन्दोलनलाई अघि बढाएर मात्र यो मिसनको कार्यभार पूरा गर्न सकिन्छ, साथै शब्द र कर्ममा र जनताको क्रान्तिकारी युद्धसित गाँसिएर नै अन्त्यमा पूर्ण विजय प्राप्त हुनेछ ।

सन् २००९ मा माओवादी कम्युनिस्ट पार्टी, चीनको प्रमुख काम जनताबीच पार्टीउद्देश्यको प्रचारप्रसार गर्नु, जनतालाई वैचारिक रूपबाट सुसज्जित पार्नु, सङ्गठनको विकास गर्नु र ठोस राजनीतिक सङ्घर्ष सञ्चालन गर्नु रहेको छ । समग्र पार्टीपङ्क्ति, समग्र जनसेना, चीनका सम्पूर्ण जनतालाई हतियारबद्ध पानै हामी माओवादलाई लागु गर्नेछौँ, जसबाट हामी छिटै कार्यकर्ताहरूको निर्माण गर्न सक्नेछौँ, विभिन्न क्षेत्रीय शाखाहरू विस्तार गर्नेछौँ र क्रान्तिकारी काम सम्पन्न गर्न आवश्यक रकम पनि जम्मा पार्न सक्नेछौँ । हामी हाम्रा दुस्मनका विरुद्ध सङ्घर्ष अघि बढाउनेछौँ र जनताले आधारभूत अधिकारका लागि गरेका विविध सङ्घर्षहरूलाई सघाउँनेछौँ । यसका माध्यमबाट हामी पुँजीवादी पुनर्स्थापना विरुद्धको क्रान्तिकारी आन्दोलनको उचाइका लागि आधार निर्माण गर्नेछौँ ।

५. हामी चीनमा दोस्रो समाजवादी क्रान्तिको जहाजलाई दृढताका साथ अघि बढाउनेछौँ

जस्तो माओले प्रस्टताका साथ भन्नुभएको छ : ”संशोधनवादीहरू सत्तामा पुग्नु भनेको पुँजीवादीहरू सत्तामा पुग्नुजस्तै हो ।”

माओले यो पनि भन्नुभएको छ : “सर्वहारा र बुर्जुवा वर्गहरूबीचको अन्तर्विरोध समाजवादी क्रान्तिका माध्यमबाट मात्र हटाउन सकिन्छ ।”
आजको चिनियाँ कम्युनिस्ट पार्टीभित्रको गद्दार संशोधनवादी गुट पुँजीपति वर्गको अर्को रूप मात्र हो । तिनीहरू साम्राज्यवादका पाल्तु कुकुरहरू र सेवकहरू हुन् ।

जस्तो माओले सटिक किसिमले भन्नुभएको छ : पुँजीवादी प्रभावहरूको उपस्थिति नै संशोधनवादको आधारभूत घरेलु कारण हो, साम्राज्यवादी दबाबका सामु घुटा टेक्नु संशोधनवादको बाह्य कारण हो ।

आजको चिनियाँ कम्युनिस्ट पार्टीभित्रको गद्दार संशोधनवादी गुट र चिनियाँ सर्वहाराबीचको आधारभूत अन्तर्विरोध सर्वहारा वर्ग र बुर्जुवा वर्गबीचको अन्तर्विरोध समान छ । यो अन्तर्विरोध समाधान गर्ने बाटो भनेको पुँजीवादको पुनर्स्थापनाविरुद्ध समाजवादी क्रान्ति हो ।
दोस्रो समाजवादी क्रान्तिको अवधारणाको आधार माओको नेतृत्वमा सम्पन्न गरिएको समाजवादी क्रान्तिको २७ वर्षको इतिहासको सचेतन समीक्षा हो, साथसाथै वस्तुस्थितिको सही जाँचपडताल र नयाँ क्रान्तिका लागि अवश्यक पर्ने रणनीतिको अध्ययनको पनि परिणाम हो । यसको आरम्भ विधिवतरूपमा हाम्रो पार्टीको गठनबाट आरम्भ हुन्छ र समाजवादी क्रान्तिको दिशामा अघि बढ्न आवश्यक तत्वहरू वैचारिक, सैद्धान्तिक तथा वस्तुगत स्थिति पनि परिपक्व हुँदैगएको छ ।

यसै अर्थमा यसलाई दोस्रो समाजवादी क्रान्ति भनिएको हो । दोस्रो समाजवादी क्रान्तिको आम राजीतिक दिशा भनेको माओवादी कम्युनिस्ट पार्टी, चीनको नेतृत्वलाई दृढतासाथ अवलम्बन गर्नु हो, यसको राजनीतिक लाइन, विधि र नीतिहरूलाई दृढताका साथ लागु गर्नु हो, पुँजीवादी व्यवस्थाका ठाउँमा समाजवादी व्यवस्थाद्वारा स्थापित गर्नका लागि गरिएका सङ्घर्षहरूमा दृढताका साथ लागिपर्नु हो, बुर्जुवाहरूका विरुद्ध सर्वहाराको राजनीतिक सङ्घर्ष अघि बढाउँदै लगेर अन्त्यमा सर्वहाराको अधिनायकत्व स्थापना गर्नु र नयाँ मजबुत, समृद्ध र सही अर्थमा चीनमा आधुनिक समाजवादी समाज निर्माणका लागि दृढताका साथ लागि पर्नु, र सही अर्थमा साम्यवादको अनुभूत गराउन दृढताका साथ सङ्घर्षमा लागि पर्नु यसको मूल राजनीतिक दिशा हुनेछ ।

यो आम दिशालाई दृढताका साथ समातेर मात्र हामी इतिहासले हामीलाई सुम्पेको यो गौरवपूर्ण लक्ष हासिल गर्न सक्नेछौँ । यो आम दिशालाई दृढताका साथ समातेर मात्र हामी अध्यक्ष माओले हामीबाट के चाहनुभएको हो भन्ने कुराको बोध गर्नसक्छौँ :

“विचारमा एकजुटता, नीतिमा एकजुटता, योजनामा एकजुटता, नेतृत्वमा एकजुटता र व्यवहारमा एकजुटता ।”

यदि हामीले चिहानको खरानीबाट उठेर अन्तहीन बहस मात्रै गरिरह्यौँ भने यसबाट केही हात लाग्ने स्थिति छैन, किनभने यसबाट कसरी हामी “विचारको आधारमा एकजुटता” हुने भन्ने समस्या हल गर्न सक्तैनौँ, न त अन्य क्षेत्रमै एकजुट हुनसक्छौँ । त्यसैले आम राजनीतिक दिशालाई दरिलो गरी समात्नका लागि एउटा आम राजनीतिक लाइनलाई दरिलो गरी समात्नु आवश्यक छ, जुन माओवाद र चीनमा पुँजीवादको पुनर्स्थापना गरिएपछिको वस्तुगत स्थितिसित मेल खान्छ ।

६. चीनमा पुँजीवादको पुनर्स्थापना विरुद्धको महान् क्रान्तिकारी आन्दोलन चिनियाँ जनताबीच अनुमोदित हुने कुरा हामी घोषणा गर्दछौँ

माओवादी सिद्धान्तअनुसार, चीनमा पुँजीवादको पुनस्र्थापनाको चिनियाँ नोकरसाही पुँजीवादीहरूको ठूलो आयोजनालाई परास्त गर्न यिनीहरूले जस्तै यिनका विरुद्ध हामीले चिनियाँ सर्वहाराको महान् पुजीवादी पुनस्र्थापना विरोधी महान् क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनुपर्छ । हामीले चिनियाँ जनताबीच पुँजीवादी पुनर्स्थापना विरोधी महान् क्रान्तिकारी आन्दोलनलाई लैजानुपर्छ र शब्द र कर्म दुवैले जनताको क्रान्तिकारी युद्धलाई अघि बढाउनुपर्छ ।

यसो नगरी हामी चिनियाँ कम्युनिस्ट पार्टीभित्रको गद्दार संशोधनवादी सत्ताधारी गुटलाई फ्याल्न समर्थ हुन सक्तैनौँ, यसो नगरी हामी नयाँ सामाजिक व्यवस्था सवहारा अधिनायकत्वको पुनस्र्थापना गर्न सक्तैनौँ, यसो नगरी हामी अध्यक्ष माओ तथा प्रधानमन्त्री चाउजस्ता अग्रज पुस्ताका सर्वहारा क्रान्तिकारीहरूको चाहनालाई बोध गर्न सक्तैनौँ, यसो नगरी हामी सर्वहारा वर्गको हितका लागि प्राणको आहुति दिने हजारौँ क्रान्तिकारी सहिदहरूको मूल्यको इमानदारीपूर्वक समन गर्न सक्तैनौँ, यसो नगरी चिनियाँ सर्वहाराका रूपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा हामीले सही भूमिका प्रस्तुत गर्न सक्तैनौँ । पुँजीवादी पुनर्स्थापना विरुद्ध चिनियाँ जनताको महान् क्रान्तिकारी आन्दोलनको आधारभूत चरित्र माओवाद र आधुनिक संशोधनवाद विरुद्धको सङ्घर्ष हो, आफ्नो राजनीतिक अधिकारबाट वञ्चित चिनियाँ सर्वहारा वर्ग र सत्तामा रहेको नोकरसाही पुँजीपति वर्गबीचको सङ्घर्ष हो, समाजवाद र पुँजीवादबीचको सङ्घर्ष हो ।

तल्लो तहका चिनियाँ जनताको ठूलो हिस्सामा वर्तमान अवस्थामा देखापरेको वैचारिक अन्योललाई जनताको क्रान्तिकारी सैद्धान्तिक सङ्घर्षका रूपमा उठाउनु यो महान् क्रान्तिको महत्वपूर्ण पक्ष हो । यो सङ्घर्षको निसाना चिनियाँ कम्युनिस्ट पार्टीभित्रको गद्दार संशोधनवादी सत्ताधारी गुट र उनीहरूलाई समर्थन गर्ने प्रतिक्रान्तिकारी कट्टर दक्षिणपन्थीहरूतर्फ हुन्छ । यस किसिमको सङ्घर्षको विधि सर्वप्रथमतः जनतालाई वैचारिक रूपबाट सुसज्जित पार्नु र विस्तारै यसको स्तर वृद्धि गर्दै विजयको अन्तिम परिणामसम्म पुर्याउनु हो । यो लडाइँ जित्ने सबैभन्दा धारिलो हतियार भनेको माओवाद हो ।

अध्यक्ष माओले भन्नुभएको छ : साम्राज्यवादीहरू र अरू प्रतिक्रियावादी शक्तिहरू कागजी बाघबाहेक अरू केही होइनन् । संशोधनवादीहरू पनि कागजी बाघहरू हुन् ।

सरसरती हेर्दा संशोधनवादी सत्ताधारी गुटको नियन्त्रणमा सबै कुरा छ भन्ने लाग्छ : अदालत, सेना, सशस्त्र प्रहरी, प्रहरी फोर्स, उनीहरू असीमित शक्तिशाली झैँ लाग्छन् । परन्तु, यसको प्रतिक्रियावादी राजनीतिक चरित्र, राज्यको भ्रंष्टाचारी स्वरूप र जीवनका कारण यो पहिले नै एकदमै कमजोर भएको छ । वास्तवमा, माओवादी कम्युनिस्ट पार्टी, चीनको उदय यो सत्ताधारी गुटको मृत्युको पूर्वसङ्केत बनेको छ ।

अहिलेको स्थितिमा हाम्रो पार्टी सैन्य सङ्घर्षमा भन्दा वैचारिक सङ्घर्षमा जोड दिन्छ र यही नै वस्तुवादी बुझाइ हो । सैन्य दृष्टिले हाम्रो वर्तमान योजना “दुस्मनको शक्तिबाट आफूलाई जोगाउँदै उसको कमजोरपनमाथि प्रहार गर्ने” भन्ने क्रान्तिकारी सैन्य नीतिसित मेल खान्छ । यतिखेर हाम्रा प्रयास र गतिविधिहरू मुख्यतः पुँजीवादी पुनसर््थापनाका विरुद्ध देशभरिका जनतालाई सङ्गठित र उत्प्रेरित गर्दै महान् क्रान्तिकारी आन्दोलनमा संलग्न हुने कार्यमा केन्द्रित गरिनुपर्छ । हामीले जनतालाई सङ्गठित गर्ने र एउटै झण्डामुनि एकताबद्ध तुल्याउनु आवश्यक छ, जसबाट आम जनता स्वैच्छिक किसिमले सङ्घर्षका कार्यक्रममा सहभागी होऊन् । यसरी मात्रै हामी अर्को खुड्किलोलाई निरन्तरता दिनसक्छौँ ।
सांस्कृतिक क्रान्ति सोचीविचारी चालिएको सैन्य कार्य थियो भनेर एकपल्ट माओले भन्नुभएको थियो । आज प्रस्ट भएको छ , यो “सोचीविचारी चालिएको सैन्य कार्य” ले आजको हाम्रो सच्चा सङ्घर्षका लागि हामीलाई तयार पारेको छ ।

वर्तमानमा, चिनियाँ क्रान्तिका लागि घरेलु र अन्तर्राष्ट्रिय परिस्थिति एकदमै अनुकुल छ । वैश्विक पुँजीवादमा आएको आर्थिक सङ्कट झन्झन् गहिरिँदैछ र चिनियाँ नोकरसाही पुँजीपतिहरूले यसबाट आफूलाई मुक्त पार्ने उपाय छैन । सत्ताधारी गुटको आर्थिक र राजनीतिक शासन दुवै कोणबाट हल्लिएको छ । बढ्दो क्रान्तिकारी परिस्थितिका विरुद्ध सत्ताधारी गुटले जनताको चित्त बुझाउन, आश्वस्त पार्न अनेक उपाय गरिरहेको छ, साथसाथै आफ्नो हित साधन गर्न सेना र प्रहरीमाथिको आफ्नो नियन्त्रणलाई पनि मजबुत बनाइरहेको छ ।

भविष्यतर्फ नियाल्दा, जनताको क्रान्तिकारी चेतनामा निरन्तर वृद्धि भइरहेको छ, आफ्नै हितहरूको रक्षाका लागि गरिने आर्थिक सङ्घर्ष सामाजिक व्यवस्थाको परिवर्तनका लागि राजनीतिक सघर्षको तहमा अघि बढ्न जारी रहनेछ, भन्न सकिन्छ । हाम्रो पार्टी र अन्य क्रान्तिकारी सङ्गठनहरूको शक्तिमा वृद्धि हुनेछ र राजनीतिक दूरदर्शिताका साथ, जनसेवाको भावनाका साथ, ठोस उद्देश्यहरू प्राप्तिको क्षमता, राजनीतिक उद्देश्य प्राप्तिका लागि आफूलाई बलिदान गर्ने चाहना, साथै सङ्घर्षको कलासम्बन्धी बुझाइका साथ अनगिन्ती क्रान्तिकारी नेताहरू हाम्रो पार्टीको वरिपरि गोलबद्ध हुनेछन् र थुप्रै छद्म वामपन्थीहरू सच्चा क्रान्तिकारी सङ्घर्षहरूका बीचबाट उखेलिनेछन् ।

पार्टीभित्र र बाहिरका विभिन्न किसिमका अवसरवादीहरू र जडसूत्रवादीहरू आफ्नो निम्नबुर्जुवा विश्वदृष्टिकोणले गर्दा सङ्घर्षमा सहभागी हुन अनिच्छुकहरू आशाविपरीत सङ्घर्षले नयाँ रूप लिएपछि बेचैन हुनेछन्, कतिपय एकदमै नैतिकहीन भएर दुस्मनका निर्लज्ज दलाल बन्ने हदसम्म पनि पुग्ने छन् । पार्टीभित्र आफ्नो हैसियतको बारेमा मात्रै चिन्तित हुनेहरू क्रान्तिकारी परिस्थिति जतिजति अघि बढ्दै र विकसित हुँदैजान्छ, उनीहरू छेउ लाग्दै जानेछन् । परन्तु, माओवादी कम्युनिस्ट पार्टी, चीनका सच्चा सदस्यहरू अन्तर्राष्ट्रिय गाउनेछन् र पुँजीवादको पुनस्र्थापनाका विरुद्धको महान् क्रान्तिमा दृढताका साथ अग्रपङ्क्तिमा उभिनेछन् । कुनै पनि असफलता तथा समस्याले उनीहरूलाई अघि बढ्न रोक्ने छैन । उनीहरू एक समय प्रतिक्रान्तिकारी संशोधनवादी सत्तारूढ गुटको पूर्ण समाप्तिका लागि महान् सङ्घर्षको लडाइँमा जनताको नेतृत्व गर्ने एउटा विशिष्ट अवस्थामा पुग्नेछन् ।

विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादी सत्ताधारी पार्टीलाई फ्यालेको उदाहरण यसअघिको नभएको भए पनि हामी पूर्वसोभियत सङ्घको जस्तो पतनको बाटो अँगाल्ने स्थितिमा छैनौँ । हामी “रातो झण्डा” भूइँमा झर्नु एक दिनअघि नै हामी हाम्रो सङ्घर्षलाई पूर्णता दिनेछौँ । हामी यो खबर अवश्य पनि अध्यक्ष माओसम्म पुर्याउनेछौँ : “अध्यक्ष, हामीले विजय प्राप्त गर्यौँ ।”

७. चिनियाँ कम्युनिस्ट पार्टीभित्रको गद्दार संशोधनवादी सत्ताधारी गुटमाथि विजय प्राप्त गर्नका लागि माओवाद शक्तिशाली सैद्धान्तिक तथा वैचारिक हतियार हो भन्ने कुरा हामी घोषणा गर्छौँ

माओवाद मार्क्सवाद-लेनिनवादको युगजन्य निरन्तरता र विकास र आमरूपमा माओ जेदोङ विचारधाराको व्यापक र व्यवस्थित निचोड हो । माओवादले माक्र्सवाद-लेनिनवादलाई नयाँ उचाइमा उठाएको छ, यो सर्वहारा क्रान्तिको इतिहासमा तेस्रो महान् कोशेढङ्गा हो । माओवाद, माओवादी कम्युनिस्ट पार्टी, चीनको स्थापनाको आत्मा हो, यो पार्टीभित्र विभिन्न किसिमका पुँजीवादी विचारधारा र अवसरवादका विरुद्ध आफूलाई सुरक्षित राख्नका लागि एउटा महान् साधन हो र यो महान् सैद्धान्तिक तथा वैचारिक हतियार हो, जसलाई चिनियाँ कम्युनिस्ट पार्टीभित्रको गद्दार संशोधनवादी सत्ताधारी गुटका विरुद्ध विजय हासिल गर्न प्रयोग गर्न सकिन्छ ।

अध्यक्ष माओले भन्नुभएको छ : “अग्रगामी वर्गको प्रतिनिधित्व गर्ने सही विचारहरू एकपल्ट जनताले ग्रहण गरिसकेपछि, त्यो समाज रूपान्तरण र विश्वको रूपान्तरणका लागि भौतिक शक्ति बन्दछ ।”

यस विचारधारात्मक हतियारलाई समात्नुको उद्देश्य मानवसमाज र विश्वजगत्लाई फेर्नका लागि यसलाई भोतिक शक्ति बन्न दिनु हो । हामी हाम्रो हतियारलाई अहिले सत्तामा रहेका प्रतिक्रान्तिकारी सरकारका विरुद्ध सामान्य किसिमले मात्र प्रहार मात्र नगरी यो प्रतिक्रान्तिकारी सत्तालाई पूर्णरूपमा फ्याल्नका लागि गछौँ ।

माओवादद्वारा जनताको विचारलाई सशस्त्र बनाएपछि, हाम्रो सङ्घर्षले अवश्य पनि सफलता प्राप्त गर्नसक्छ, माओवादद्वारा जनताको विचारलाई सुसज्जित नपारेसम्म हाम्रा सबै क्रान्तिकारी सङ्घर्षहरू केवल देखावटी नारामै सीमित हुने हुन्छ र हामीले कहिल्यै सही सफलता प्राप्त गर्न सक्तैनौँ । त्यसैले हामीले जनतालाई माओवादको धारिलो हतियार दिनैपर्छ, र चीनको हरेक क्षेत्रमा सत्ताधारी गुटको बारे सत्यको जनताका बीच प्रचारप्रसार गर्न सबै किसिमका उपायहरूको प्रयोग गर्नुपर्छ । सत्ताधारी गुटका विरुद्ध आन्दोलनलाई समग्रता र व्यापक बनाउँदै त्यसलाई निरन्तर नेतृत्व प्रदान गर्नेछौँ । हरेक पार्टी सदस्य तथा समर्थकका लागि वास्तवमा यो गरिमामय मिसन हो ।

८. सर्वहारा वर्गको महान् क्रान्तिकारी आन्दोलनको बाटो खोल्न सकियोस् भनेर वामपन्थीहरूबीच विद्यमान सबै गलत विचार हटाउने छौँ भनेर हामी घोषणा गर्छौँ

चीनका वामपन्थी खेमाभित्र पुँजीवादी पुनस्र्थापनाको प्रतिरोध कसरी गर्ने भनेर समाधान बिनाको बहस चलिरहेको छ । पुँजीवादको पुनस्र्थापनाको समस्या कसरी हल गर्ने भनेर धेरै पहिलेदेखि गरिएको अध्ययन “सुँगुर मार्ने थुप्रै उपायहरू” जस्तै विवादमा सीमित थियो । यसक्रममा “पुनः चिङ्काङ पहाडमा गएर क्रान्तिकारी आधारको पुनर्स्थापना गर्ने र छापामार युद्धमार्फत राजनीतिक सत्ता प्राप्त गर्ने”, लगायत “सत्ताधारी गुटको पुँजीवादी पुनस्र्थापना विरुद्धका सङ्घर्षहरू ‘संशोधनवाद विरुद्धको लडाइँ’ जस्तो मात्र होइन, बरु नोकरसाही पुँजीवाद विरुद्धको सङ्घर्ष पनि हो”, “पूर्णरूपमा पुँजीवादको स्थापना भइसकेकाले अब हुने क्रान्ति संशोधनवाद विरोधी क्रान्ति रहेन”, “अबको हाम्रो क्रान्ति मुख्यतः जनवादी क्रान्ति हुनुपर्छ”, “हामीहरू ग्रामीण क्षेत्रमा जानुपर्छ र सामूहिक संस्थाहरू स्थापना गर्नुपर्छ”, “हामीले तल्लो तह (ग्रासरुट) का जनताबीच मित्रता बढाउनुपर्छ र हाम्रो पार्टीको सङ्ख्या बढाउनुपर्छ”, “हामीहरूले वैधानिक सीमाभित्रको सङ्घर्ष तीव्र पारेर केन्दीय सरकारलाई वाम हुन बाध्य पार्नुपर्छ”, “सशस्त्र सङ्घर्षका माध्यमबाट मुलुकलाई विविध एकाइभा विभाजित गरेर सहरहरूमाथि सोझै आधिपत्य कायम गर्नुपर्छ” आदिआदि किसिमका विचारहरू आएका थिए । थरीथरीका थुप्रै “क्रान्तिकारी रणनीतिहरू” को सङ्ख्या जनताको टाउको घुमाउनका लागि पुग्दो थियो ।

ती सबै विचारहरू तिनका ठाउँमा ठीकै भए पनि वस्तुगतरूपमा ती सबै अपूर्ण, जडसूत्रात्मक र अधिभौतिकवादी खालका थिए । कतिपय त आधारभूत रूपमा चिनियाँ कम्युनिस्ट पार्टीभित्र गद्दार संशोधनवादी सत्ताधारी गुटको अस्तित्व नै नस्वीकार्ने खालका थिए, कतिपय आधुनिक संशोधनवादको पुनस्र्थापनाको तौरतरिकालाई बुझ्न नसक्ने खालका थिए, कतिपयले खास अंशलाई जोड दिए पनि समग्र र सारत्वलाई बेवास्ता गरेका थिए, कतिपय त वर्गसङ्घर्षको वर्गचरित्रको आधारभूत ज्ञान नभएका जस्ता देखिन्थे ।

जस्तो लेनिनले एक ठाउँ भन्नुभएको छ : “तिनीहरू सबै आफूलाई मार्क्सवादी भन्छन्, तर मार्क्सवादप्रतिको उनीहरूको बुझाइ भने पूर्णरूपमा समाप्त भइसकेको छ । मार्क्सवादको आधारभूत पक्ष, मार्क्सवादको क्रान्तिकारी द्वन्द्वात्मकता, यो बारे उनीहरूलाई अलिकति पनि जानकारी छैन ।”

महान् माओवादी शिक्षाको अहम् महत्वबारे यी मान्छेहरूलाई अलिकति पनि ज्ञान छैन : “अग्रगामी वर्गको प्रतिनिधित्व गर्ने सही विचारहरू एकपल्ट जनताले ग्रहण गरिसकेपछि, त्यो समाजरूपान्तरण र विश्वको रूपान्तरणका लागि भौतिक शक्ति बन्दछ ।”

कतिपयले क्रान्तिको अत्यावश्यक चरित्रलाई समेत आत्मसात गर्दैनन्, वास्तवमा यो हाँसउठ्दो र सारै मुर्खतापूर्ण कुरा होइन र ?

माओवादी सिद्धान्तअनुसार ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्ने क्षमता नै मार्क्सवादको जीवन्त आत्मा हो । धेरै मान्छेले यो कुरा बुझेका छन्, तर थोरै मात्रैले यसलाई व्यवहारमा लागु गर्न सक्छन् । अवसरवादी र जडसूत्रवादी दुवैले मार्क्सवाद-लेनिनवाद-माओवादलाई अमूर्त र साँघुरो सूत्रका रूपमा सबै किसिमको परिस्थितिका लागि थोपर्छन् । तिनीहरू अन्तर्विरोधमा आउने फेरबदल र विभिन्न अन्तर्विरोधका विशिष्ट स्थितिको जाँचपडताल गर्न इन्कार गर्छन् । उदाहरणका रूपमा उनीहरू आजको समयको नोकरसाही पुँजीवाद कसरी देखापर्यो भन्ने कुरा सही इतिहासबारे जान्नु आवश्यक ठान्दैनन्, उनीहरू संशोधनवादको आवरणमा रहेको चीनको नोकरसाही पुँजीवादको विशिष्ट चरित्र ठम्याउनु आवश्यक ठान्दैनन् । उनीहरू बाहिरी स्वरूपलाई हेर्छन्, सारतत्वलाई होइन ।

उनीहरू एउटा मात्रै बुँदालाई समात्छन् र अरूलाई छाडिदिन्छन् । उनीहरू विगतको अनुभवलाई मात्रै ध्यान दिन्छन् र परिस्थिति अनुसार सिर्जनात्मक हुने क्षमता उनीहरूमा हुँदैन । त्यसैले फेरि चिङ्काङ पहाडमा जाने भनेर हल्ला गरे पनि आजसम्म एक जना मान्छे पनि त्यहाँ गएको छैन, जब कि कतिपय मित्रहरूले परिवर्तनका लागि जनताका लाथि तल्लो तह जानका लागि आह्वान गरिरहेका छन् । नान्जी गाउँका सामूहिक प्रतिष्ठानहरू साँच्चि नै एकदमै चर्चित भए पनि तिनले अहिलेको संशोधनवादी सत्ताधारी गुटको रौँ पनि झार्न सक्तैनन्, न त तिनीहरूले पुँजीवादी पुनस्र्थापनाको माथिबाट झरेको छहरे बेगलाई नै रोक्न सक्छन् । यी सबै कुरा अन्त्यमा लेनिनले भनेझैँ “ तातो खाने कुरा भएको भाँडोको वरिवरि बिरालाले चककर काटेझैँ” हुन्छ ।

गद्दार संशोधनवादी सत्ताधारी वर्ग र नोकरसाही पुँजीवादबीचको सम्बन्ध कारण र असरबीचको सम्बन्ध हो । “कारण” समाधान गरियो भने “असर” आफैँ समाधान हुनेछ । “कारण” बारे सही ज्ञान छैन भने “असर” समाधान गर्ने उपाय छैन । कारणको जाँचपडताल नगरी खालि सोझै “असर” को मात्रै कुरा गर्छौँ भनेँ, हामी समस्याको डोरी कहाँ गएर जोडिएको छ भनेर पत्ता लगाउन सक्तैनौँ र वस्तुको विकासको वस्तुगत नियमअनुसार हामी काम गरिरहेका छैनौँ भन्ने हुन्छ । त्यसैले, संशोधनवादको शासनअन्तर्गतको क्रान्तिकारी सैद्धान्तिक सङ्घर्षको महत्वलाई बेवास्ता गर्नु बेठीक हुन्छ र यो माक्र्सवादको क्रान्तिकारी द्वन्द्ववादको गम्भीर उल्लङ्घन हो ।

साथसाथै राजनीतिमा सारसङ्ग्रहवाद, विचारमा उदारतावाद, सिद्धान्तमा जडसूत्रवाद, रूपमा अवसरवाद र व्यवहारमा गुटवाद आदिले पुँजीवादी पुनर्स्थापना विरुद्ध चिनियाँ सर्वहारा वर्गको महान् क्रान्तिकारी आन्दोलनका अगाडि उभिएका ठेसलाग्दा अवरोधहरू हुन् । यी ठेसलाग्ने अवरोधहरू र गलत विचारहरू सबैले पुँजीवादको पुनस्र्थापना विरोधी क्रान्तिकारी आन्दोलनको सकारात्मक विकासका लागि सीधै वाधा पुर्याउँछन् । यिनको उपस्थिति नै क्रान्तिकारी आन्दोलनका लागि विलम्बको कारक पक्ष हो । यदि हामी यी नकारात्मक प्रभावहरूलाई सकारात्मकतामा फेर्न सक्छौँ र समग्र चिनियाँ वामपन्थले एकै लाइनमा आफूलाई उभ्याउन थाल्छ र आफ्ना प्रयासहरूलाई एकै दिशामा अगाडि बढाउँछ भने तीन वर्षभित्र वर्तमान सत्ताले कस्ताकस्ता कठिनाइहरू कसो नभोग्ला र ? यो काँक्रो चिरा पारेजस्तै सजिलो हुनसक्छ । त्यसैले सबै वामपन्थीहरू, जो आफूलाई माओवादी र हाम्रो पार्टीका सदस्य ठान्दछन्, ती सबैले राजनीतिक विचार, क्रान्तिकारी सिद्धान्त र सच्चा व्यवहार र आत्मचेतनका साथ गलत विचारहरू र हाम्रो बाटोका बाधा र अवरोधहरू हटाउन जिम्मेवारी बोधका साथ आफूहरूलाई माथिल्लो स्तरमा उठाउनु आवश्यक छ । यसरी मात्र हामी पुँजीवादी पुनस्र्थापनाका विरुद्धको क्रान्तिकारी आन्दोलनको बाटो खुला पार्न सक्छौँ । यसरी मात्र हामी जनताको ऐतिहासिक प्रगतिपथमा हाम्रो जहाजलाई अघि बढाउन सक्छौँ ।

९. चिनियाँ कम्युनिस्ट पार्टीको गद्दार संशोधनवादी सत्ताधारी गुट अवश्य फालिनेछ भनेर हामी घोषणा गर्छौँ

जस्तो माओले भन्नुभएको छ : “मार्क्सवादको सत्यलाई पराजित गर्न सकिने छैन, आम जनसमुदाय अवश्य पनि क्रान्तिमा सामेल हुनेछन् ।” पुँजीवादी पुनर्स्थापनाक विरुद्धको महान् क्रान्तिकारी परिस्थिति जति विकसित हुँदैजान्छ, संशोधनवादी सत्ताधारी गुटभित्रको आन्तरिक अन्तरद्वन्द्वमा पनि विस्तारै परिवर्तन हुन्छ । बाह्य पक्षका कारण भएको यस किसिमको परिवर्तनको विस्तारै असर देखिन थाल्नेछ ।

क्रान्तिको हावा सेनाका ब्यारेकमा पनि वहन थालेको हुनेछ र चेतनाको उठानले सेनामा पनि प्रभाव पर्नेछ । सेनाको हरेक सदस्यले यो अथवा त्यो राजनीतिलाई लिएर विचार गर्नेछ, उनीहरूको ठूलो सङ्ख्या क्रान्तिका साथमा हुनेछ र एउटा सानो सङ्ख्या प्रतिक्रान्तितर्फ लाग्नेछ । सेनाभित्र विभाजन हुनु आवश्यक हुन्छ । कट्टर संशोधनवादी नेताहरू र सेनाभित्रका प्रतिक्रियावादी अधिकारीहरू विस्तारै छेउ लाग्नेछन् ।

देशैभरिको मजदुर र विद्यार्थीको आन्दोलनको छालले सत्ताधारी गुटका प्रमुखहरू या त पदबाट “घोक्रेठेयाक” लगाउनेछन् अथवा सोझै क्रान्तिकारी शक्ति र सर्वहारा जनताको निसानामा पर्नेछन्, अथवा आन्दोलनको रापबाट दोहोरो सहमतिमै पदबाट हट्न राजिनामा गर्नेछन् । जेजस्तो भए पनि र जसरी गए पनि, तिनीहरूले जानैपर्ने हुन्छ, यो पक्का हो, यसमा शङ्कै छैन ।

पुँजीवादी पुनर्स्थापना विरोधी महान् क्रान्तिकारी आन्दोलनमा हाम्रो पार्टी पहिलो चरणमा प्रतिक्रान्तिकारी संशोधनवादी शासक गुटका प्रमुखहरूलाई स्वैच्छिक किसिमले पदबाट हट्न आह्वान गर्छ । जस्तो एउटा चिनियाँ पुरानो भनाइ छ : “वास्तवमा सक्षम र गुणवान मान्छेले समयको आवश्यकतालाई बुझ्दछन् ।” जति छिटो तिनीहरू स्वैच्छिक किसिमले पद त्याग गर्छन्, त्यति नै धेरै तिनीहरू योग्य ठहरिन्छन् । जति ढिलो गर्छन्, उति पछि पर्छन् । सहमतिको परिणामका आधारमा तिनीहरू राजिनामा गछ्र्रन् भने यो सबैभन्दा बुद्धिमतापूर्ण बाटो हुनेछ, दबाब दिनुअघि नै शक्ति हस्तान्तरण गरेर उनीहरू बाँकी समय शान्तिपूर्ण किसिमले रहन सक्छन् ।

यस किसिमको बाटो अँगाल्दा पछिका दिनमा उनीहरू तुलानात्मक रूपले समाजमा केही हैसियतका साथ रहन सक्नेछन् र आफ्नो परिवारको भविष्यबारे पनि सहज हुन सक्छन् । यदि यसो नभएर सत्ताधारी गुट पश्चाताप गर्न अस्वीकार गर्छ र आम जनहत्या मच्चाउन थाल्छ भने तिनीहरूका अपराधहरू हजार गुनाले बढेदै जानेछन् । यसले उनीहरू आफैँ र पछिका सन्तानदरसन्ताका लागि पनि उनीहरूको नाम घृणाको नाम बन्नेछ, र यसले उनीहरूको वंश इतिहासलाई पनि पूर्णरूपमा कलङ्कित पार्नेछ । जहाँसम्म सर्वहारा वर्गको कुरा छ, यसले गोली र रगतको माध्यमबाट नयाँ क्रान्तिकारी अगुवाइको अर्को चरणको सामना गर्नेतर्फ आफूलाई प्रवृत्त गराउनेछ ।

१० माओवादी कम्युनिस्ट पार्टी, चीनको आधारभूत राजनीतिक कार्यक्रम

क. हामीहरू पुँजीवादको बाटोमा लागेका हरेक सानाठूला तथा भ्रष्ट नोकरसाहहरूलाई हटाउँनेछौँ । गद्दार संशोधनवादी सत्ताधारी गुटले चिनियाँ जनतामाथि लादेको पुँजीवादी संविधान र नियमकानुन खारेज गर्नेछौँ । हामी जनसहभागितामूलक जनपरिषद् गठन गर्नेछौँ, जसबाट हरेक नागरिकले राज्य, सेना, सरकारको व्यवस्थापकीय कार्यमा सहभागिता जनाउन पाउँछ, यसबाट जनता मुलुकको सच्चा साशक हुने सुनिश्चितता कायम हुन्छ ।

ख. १९७७ अघि स्थापित हरेक सार्वजिनक स्वामित्वका कारखानाहरू पूर्णरूपमा पुर्नस्र्थापना गरिनेछ । पहिले यी कारखानामा जो-जो काम गर्थे र अहिले बेरोजगार रहेका मजदुरले बिनासर्त त्यही पदको हिजोका दिनदेखिको पारिश्रमिक पाउनेछन् । सार्वजनिक स्वामित्वको त्यस्ता संस्थाहरू, जसको सम्पति गायब गरिएको छ, त्यो सबै फिर्ता गरिनेछ र तिनको पुनः स्थापना गरिनेछ ।

ग. १९७७ पछि स्थापना गरिएका एकाधिकारवादी राज्यको अधीनमा रहेका औद्योगिक प्रतिष्ठानहरू जनतालाई हस्तान्तरण गरिनेछ ।

घ.ग्रामीण क्षेत्रमा जनकम्युनहरूको पुनर्स्थापना गरिनेछ । खासखास गाउँका लागि ठोस गरेर, हामी जनताको चाहनाको कदर गर्दै, जो सामूहिक मार्गमा यात्रा गर्न चाहन्छन्, राज्यले उनीहरूलाई सहयोग प्रदान गर्छ, जो आफ्नै किसिमले रहन चाहन्छन्, उनीहरूलाई त्यसो गर्न स्वीकृति दिइनेछ ।

ङ. सेनामा सैन्य श्रेणी हटाइनेछ, सेनाको पुनर्संरचना गरिनेछ । सेनाको क्रान्तिकारी आधुनिकीकरणको प्रक्रिया सुरु गरिनेछ । सेना हरहमेसा कुनै पनि विदेशी आक्रमण र हाम्रो मुलुकको अस्मिता विरुद्ध चुनौती दिन दुस्साहस गर्नेहरूविरुद्ध कडा कारबाहीका लागि तमतयार पारिनेछ ।

च. हरेक प्राथमिक र माध्यमिक स्कुल, साथसाथै हरेक कलेज र विश्वविद्यालयमा आधारभूत पाठ्यपुस्तकहरू निःशुल्क उपलब्ध हुनेछन् । विश्वविद्यालयले निःशुल्क खाना र निःशुल्क आवास उपलब्ध गराउँनेछ र साथसाथै उपलब्ध गराउँनै पर्ने खालका विद्यार्थीहरूका लागि केही आर्थिक सहयोग पनि प्रदान गर्नेछ । प्रमुख रूपमा शिक्षा पद्धति “लाल” र “निपुण” मान्यतामा आधारित समाजवादी नयाँ मान्छे निर्माणतर्फ अग्रंसर हुने छ । हरेक स्नातकलाई कामको सुनिश्चितता गरिने छ ।

छ. हरेक जनअस्पताल र परम्परागत चिनियाँ अस्पतालको आधारभूत सेवामा स्तरोन्नति गरिनेछ । चीनका हरेक नयाँपुराना सहरहरूमा नयाँ अस्पतालहरू निर्माण गरिनेछ । सहर तथा गाउँका चिनियाँ बासिन्दाहरू जनगणतन्त्र चीनको नागरिक रहुन्जेलसम्म उनीहरूले निःशुल्क स्वास्थोपचार पाउने छन्, औषधीको आधारभूत शुल्क सोझैँ राज्यले नियन्त्रित गर्नेछ र आवश्यकताका आधारमा केही मात्रामा औषधी प्रदान पनि गर्नेछ । “ डाक्टरी र स्वास्थ्योपचारका क्षेत्रहरूका जिम्मेवारीलाई गामीण क्षेत्रहरूमा पुर्याऔँ” भन्ने माओको राजनीतिक निर्देशनलाई कार्यान्वयन गरिनेछ । ग्रामिण क्षेत्रका जनकम्युनहरूले हरेक एउटा गाउँमा नयाँ अस्पतालहरू र उपचारकेन्द्रहरू निर्माण गर्नेछन् । हरेक व्यक्तिका लागि भरपर्दो र कमभन्दा कम शुल्कमा स्वास्थ्योपचारको सुनिश्चितता गरिनेछ । गरिब जनताले अहिले भोग्नुपरेको मुत्यु कुरेर बस्नुपर्ने स्थिति सदाका लागि अन्त्य गरिनेछ ।

ज. सहर तथा गाउँका जहाँका भए पनि काम गर्न नसक्ने बुढाबुढी मान्छेहरूको राज्यले पेन्सनको व्यवस्था गर्नेछ । काम गर्न नसक्ने हरेक अशक्त र अपाङ्गहरूको हेरचाह राज्यले गर्नेछ । जेष्ठ र अपाङ्ग नागरिकसित सम्बद्ध सबैको जिम्मेवारी राज्यले बहन गर्नेछ ।

झ. चिनियाँ जनगणतन्त्रको हरेक प्रौढ नागरिकले आफूले केकस्तो काम गर्ने हो भन्ने कुरा निवेदनका माध्यमबाट चयन गर्न सक्नेछ ।
कामसम्बन्धी समग्र योजना तारतम्यको जिम्मेवार पनिराज्य हुनेछ । समाजवादी आधारभूत सिद्धान्त “हरेकलाई उसको कामअनुसारको दाम” लागु गरिनेछ ।

ञ. राज्यले पहिले बिक्री नगरेका र जनताको हितलाई नोक्सान नपुर्याएका सबै निजी कम्पनी र प्रतिष्ठानहरूलाई आवश्यकताअनुसार पहिलेझैँ चल्न दिइनेछ । यसका साथै राज्यले व्यक्तिको अधिकारको रक्षा गर्छ र साना उद्योगहरू चलाएर जनताको हितमा काम गर्नेहरूलाई आवश्यक परेमा सहयोग प्रदान गर्नेछ ।

ट. जनगणतन्त्र चीनका हरेक प्रौढ नागरिक महिला तथा पुरुष जोसुकै होस्, आवासको सुनिश्चितता गरिनेछ ।

ठ. पार्टीमा प्रवेश गर्ने तथा पदोन्नति हुने विधिमा पार्टी विधानको पालना गरिनेछ । कतिपय विशिष्ट स्थितिमा यो कार्य अलि छिटो पनि हुनेछ ।

ड. प्रतिक्रान्तिकारी पुँजीवादी पुनर्स्थापनाका विरुद्धको आन्दोलनमा प्रतिक्रियावादी कित्तामा उभिएकाहरू, “सुधारको ढोका खुला” को ढोल पिट्नेहरू, संशोधनवादी सत्ताधारी गुटसँगै फ्यालिएकाहरूलाई सिङ्गो मुलुकभरि नै कहिले पनि पार्टी र विभागहरूको नेतृत्वमा स्वीकार गरिने छैन । पहिले संशोधनवादीहरूका पक्षमा भए पनि पुँजीवादी पुनर्स्थापना विरुद्धको आन्दोलनमा तिनीहरूले त्यो कित्ता छाडेर आफूलाई आन्दोलनको पक्षमा उभ्याएको भए उनीहरूले पहिले गरेका राजनीतिक अपराधहरूलाई माफ गरिनेछ ।

ढ. जो पुँजीवाद पुनर्स्थापना विरोधी महान् आन्दोलनका क्रममा बाहिरी रूपबाट सक्रिय भएजस्तो गरी सहभागीता जनाए जस्तो गरे पनि आन्दोलनबाट कसरी निजी फाइदा लिने भन्ने कुरामा नै बढी लागिरहेका हुन्छन्, त्यस्ता पनि पार्टी र अन्य निकायको नेतृत्व गर्न लायक ठानिने छैनन् ।

ण. क्रान्तिकारी कार्यकर्ताहरू जनताका सेवक हुन् । आवश्यक पर्ने ठाउँहरू, पार्टी र राज्यका नेतृत्व तहमा रहेकाहरूका लागि बाहेक, हरेक नेता तथा कार्यकर्तालाई व्यक्तिगत सहयोगी, डाक्टर, भान्से, ड्राइभर लगायत अन्य कार्यका लागि अर्को मान्छे उपलब्ध गराइने छैन ।
त. पार्टीभित्रका हरेक नेता र कार्यकर्ताबीचको तलवमानमा ठूलो अन्तर हुने छैन । सबैभन्दा बढी पाउने र कम पाउनेबीचको अन्तर नगन्य हुनेछ । उनीहरू सबैको बस्ने ठाउँ पनि १५० मिटरभन्दा बढी बढाउन सकिने छैन ।

थ. भ्रष्टाचार, घुसखोरीमा संलग्न भएका तथा आम जनताको हितविपरीत काम गरेका र जनचाहना अनुसार काम नगरेका कार्यकर्ताहरूलाई उनीहरूको पदबाट हटाइनेछ ।

द.क्रान्तिकारी सहिद परिवार र उनीहरूका सन्तानहरूको हेरचाहका लागि आवश्यक र परिपूरक विशेष कार्यक्रमको व्यवस्था गरिनेछ र जोखिम मोलेर इमानदारीका साथ आपतविपतमा परेका अरूहरूका लागि खर्च गर्ने बहादुर कार्यकर्ताप्रति पनि विशेष ध्यान राखिनेछ ।

ध. धनसम्पतिको ठूलो हिस्सा लिएर समुन्द्रपारी भागेका भ्रष्ट अधिकारीहरूको खोजबिन गरी संसारको जुनसकै कुनामा गएर लुकेको जोसुकै भए पनि पक्राउ गरिनेछ ! आफ्ना राजनीतिक अपराधको पश्चाताप गर्न अस्वीकार गर्नेहरूलाई उनीहरू संसारको जुनसुकै कुनामा बसेका भए पनि र जसरी भए पनि दण्डित गरिनेछ ।

न. हरेक प्रतिक्रान्तिकारी दक्षिणपन्थी तत्व, जसले दोस्रो समाजवादी क्रान्ति र सर्वहारा अधिनायकत्वको विरुद्ध आफूलाई उभ्याएको छ, उसलाई निगरानीमा राखेर अनिवार्य रूपमा पुनप्र्रशिक्षित गरिनेछ । ती प्रतिक्रान्तिकारी तत्वहरू, जो विशेष किसिमले यसका विरुद्ध विषवमन गर्दै प्रतिक्रियावादी प्रवृत्तिका साथ देखापरेका छन्, उनीहरूलाई निमर्म किसिमले दबाइनेछ ।

हाम्रो विस्तृत कार्यक्रम यत्तिमै रोकिने छैन… ।

निकट भविष्यमै जनता विश्वास र आत्मसम्मानका लागि लागिपर्ने छन्, उनीहरूको विचार जीवन रूपान्तरणका माध्यमबाट समृद्ध बन्नेछ भन्ने कुराप्रति हामीलाई विश्वास छ । बुर्जुवा वर्गको कुरूप र भ्रष्ट विचार र जीवनशैली पूर्णरूपमा परित्याग हुनेछ, र समग्र मानव समाजको ऐतिहासिक विकासको उदाहरण बन्नका लागि एउटा नयाँ समाजवादी समाजको उदय हुनेछ । एउटा नयाँ आधुनिक, समाजवादी, समृद्ध र शक्तिशाली राज्य दृढताका साथ पूर्वी संसारमा देखापर्नेछ र सही अर्थमा “प्राच्य मोती” बन्नेछ ।

माओवादी कम्युनिस्ट पार्टी,चीन (एमसिपिसी)

२२ मार्च, २००९

  • अनु : ऋषिराज बराल
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]