Dabali News

अन्तरवार्ताः शैक्षिक दलाल-माफियाहरुको सूची तयार गरेर कारवाही गर्छौंः अध्यक्ष रायमाझी

तत्कालिन नेकपा (माओवादी केन्द्र) विचार र आर्दशबाट विचलन हुँदै एमालेमा विलय हुन गएको आरोप लगाउँदै, स्थायी समिति सदस्य गोपाल किरातीको नेतृत्वमा पार्टीलाई पुनर्गठन गरेका छन् । पुनर्गठित पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) को राजधानीमा असोज १ देखि २ गतेसम्म भएको २२ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले आलोक रायमाझीलाई अध्यक्षमा निर्वचित गरेको छ । रायमाझीसँग धनञ्जय बुढाले गरेको कुराकानी ।

२२औं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित हुनु भयो, सर्वप्रथम त बधाई छ । २१ औं सम्मेलनको पनि स्वमित्तव लिएको बताउनु हुन्छ यो के भन्नु भएको हो ?

सर्वप्रथम धन्यवाद । गत साल भदौमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनले रञ्जित तामाङ्लाई अध्यक्ष चुनेको हो तर तामाङ अध्यक्ष भएको ६-७ महिना नबित्दै उहाँ र अधिकांश टिममा आर्थिक, राजनीतिक तथा सांगठनिक विचलन आयो, जसको फलस्वरुप प्रचण्ड नेतृत्व माओवादी पार्टीसँगै एमाले अखिलमा विलय हुन जानु भयो । त्यसपछि अर्थात राष्ट्रिय सम्मेलनको ६ महिना पछाडि २०७४ फागुन १६ अर्को राष्ट्रिय भेला गर्‍यौं र त्यस भेलाबाट म यो संगठनको संयोजक भएँ । २०७५ साल असार ३ गतेको संगठनको केद्रिय समितिको पूर्ण बैठकले मलाई अध्यक्ष बनाउँदै २१ औं राष्ट्रिय सम्मलेन पनि हाम्रो हो भनेर स्वामित्व ग्रहण गरेको र सम्पूर्ण विधि पूरा गरेकाले २१औं सम्मेलनबाटै चुनिएको अध्यक्ष हुँ ।

प्रचण्डलाई छाडेर किरातीले नेतृत्व गरेको पार्टी पार्टी निकट विद्यार्थी संगठनको नेतृत्व समाल्दै गर्दा कस्तो अनुभूति भइरहेको छ ?

प्रचण्डले हाम्रो सपनाको हत्या गरे । क्रान्तिमाथि विश्वासघात गरे, भन्नुको मतलव उनिहरुमाथि गम्भीर किसिमको विचलन आयो । विद्रोह गर्नु अधिकार पनि हो । सार्वभौम सत्यको प्रयोग पनि हो, त्यस अन्तर्गत हामीले संगठनलाई अगाडि बढाउँदै गर्दा हामीले व्यक्तिगत र संगठनगत दुःख र समस्याका कुरालाई पन्छाएर, देश र जनतालाई जतिपनि शैक्षिक सरोकारवाला अविभावक विद्यार्थीहरुको हितमा राम्रोसँग काम गर्ने र दिशा निर्देश प्रयत्न गर्‍यो । केहि हदसम्म सफल भएका छौंं । जसको उदाहरणको रुपमा हामीले चैत्रबाट सुरु भइरहेकोे संयुक्त विद्यार्थी आन्दोलन असार १८ गतेसम्म चल्यो । जसले एउटा परिणाम पनि ल्यायो । जसको फलस्वरुप विद्यार्थी संगठन र प्याव्सन, एनप्याव्सन तथा शिक्षा मन्त्रालयबीचमा ९ बुँदामा वार्ता, छलफल र सहमती भयो । त्यो सहमती पश्चात नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन नभए पनि ऐतिहासिक सुधारात्मक कार्यको थालनी भएको छ भन्ने लाग्छ । त्यसरी यसबीचमा हामीले हाम्रो संगठनलाई अरु माझमा परिचित गराउन सफल भएकोले निकै खुसि लागेको छ ।

माओवादी पार्टीमा जति बिभाजन भएपनि विद्यार्थी संगठनको नाम एउटै किन ?

यसको ठूलो राजनीतिक अर्थ छ । जुन उद्देश्यले अखिल क्रान्तिकारीको जन्म भएको थियो । त्यो उद्देश्यबाट केही साथीहरु पछी हट्नु भएको छ । तर, हामी हटेका छैनौं । यो पार्टीको भातृ संगठन भएकोले पनि पार्टीको जन्मसँगै विद्यार्थी संगठनको जन्म पनि हुन्छ । तर यति फरक हो केही साथीहरु नाममा क्रान्तिकारी छन् तर काममा क्रान्तिकारी छौं । अाफ्नो उद्देश्यबाट हामी विचलित नभकैले विद्यार्थी संगठनको नाम पनि अखिल क्रान्तिकारी राखेका हौं । अखिल क्रान्तिकारी उद्देश्यबाट विचलित नभएका साथीहरुबीच कार्यगत एकता गरिरहेका छौं । विद्यार्थी संगठन मर्ज भएको इतिहास नेपालमा छैन र त्यो सम्भव हुने कुरा पनि होइन । किनभने विचारका हिसाबले पनि फरक फरक संगठन हुन्छन् विचार र कार्यक्रम मिल्नेसँग सहकार्य भइरहेको छ ।

देशकै दुई ठूला विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच एकता हुँदैछ तर तपाईँहरु फरक फरक किन ?

पहिलो कुरा सबै पार्टीका आ–आफ्नै भातृ संगठन हुन्छन् । त्यस हिसाबले हामी पनि कुनै पार्टी निकट विद्यार्थी संगठन हो । सरसर्ती हेर्दा तपाईँले भनेको ठिकै हो । संख्याको हिसाबले कुनै सानो होलान् र कुनै ठूलो । तर, विचारको दृष्टिले हेर्नुहुन्छ भने जतिपनि माक्र्सवाद, लेनिनवाद र माओवाद मान्ने शक्तिहरु बीचमा फरकफरक भएपनि आत्मिए र व्यवहारको हिसाबले एक ठाउँमा जस्तै छौं । संयुक्त मोर्चा बनाएर अगाडि बढेका छौं । संगठनको हिसाबले पनि अगाडि बढेका छौं । संगठन फरक भएपनि शैक्षिक विकृतिको विरुद्धमा लड्ने कुरामा हामी एक ठाउँमा छौं । त्यसकारणले हामी फरकफरक भइरहँदा पनि एक ठाउँमा उभिएका छौं र एउटैजस्तो अनुभूति दिलाएका छौं । यसकारणले फरक महसुश गर्नुपर्ने जनतलाई त्यो ठाउँमा पुर्‍याएका छैनौं ।

अस्तिसम्म प्रचण्डसँग रहनुभयो उहाँलाई छाड्नु पर्ने के बाध्यता आयो ?

प्रचण्डसँग नजाने प्रश्नमा त म तपाईँलाई स्पष्ट पारौं, पहिलो कुरा त विचारधारात्मक होे । उहाँको विचारधारामा यति ठूलो स्खलन आयो, अब त्यसको कुनै सीमा रेखा मैले देखेको छैन । त्यसैको फलस्वरुप कुनैपनि सैदान्तिक हिसाबले नमिल्ने, व्यवहारिक हिसाबले नमिल्ने शक्तिसँग समूह र नेतृत्वसँग सम्बन्ध विच्छेद गर्ने वा अलग हुने कुरा नै सही हो । समाजलाई अग्रगामी दिशामा लैजानुपर्छ भन्ने शक्तिको विरोध गर्ने शक्ति एमालेसँग प्रचण्ड कमरेडहरु जसरी विलय गरेर जानुभो, मालेमावाद नै छोडेर जानुभो, त्यसमा हामी सहमत हुने कुरै भएन । त्यसकारणले गौरवाशाली इतिहास बोकेको विचारहरुलाई छोडेर विचारविहीन एमाले हुन चाहेनौं । त्यसकारण प्रचण्डको नेतृत्वमा जान सकिएन ।

आम राजनीतिक वृत्तमा तपाईँहरुले अर्को पासल थापेको आरोप लग्छ नि ?

त्यो कुरा नेपाली राजनीतिमा पछिल्लो पटक उठेको सुनिन्छ । तर कुरा पसलको होइन, विचार र राजनीतिको हो । शैक्षिक, राजनीतिक, सामाजिक, आर्थिकलगायत क्षेत्रमा देखा परेका जल्दाबल्दा समस्याहरुलाई एक ठाउँमा ल्याउनलाई त सबै हामी एक ठाउँमा हुनुपर्छ, त्यो संयुक्त मोर्चाले नि चल्छ । त हाम्रो पनि धारणा के हो भन्दाखेरी मालेमावाद मान्ने शक्तिहरु, वैचारिक रुपमा नजिक भएका शक्तिहरु एक ठाउँमा आउनुपर्छ । जनताहरुले धेरै पार्टीहरुको मार पनि सहन सक्ने अवस्था देखिरहेका छैनौं । धेरै पार्टीहरु खोलेर औचित्य हुँदैन । जहाँसम्म हाम्रो कुरा छ, हामीले पार्टी कहाँ खोल्यौं त भन्ने कुरा हो ।

माओवादी केन्द्र त स्थापित पहिलेदेखि नै चल्दैआएको पार्टी हो । त्यसलाई हामीले समालेको मात्रै हो । यो नयाँ पार्टी होइन । हामीले विल्कुल यसलाई सम्हालेको अवस्था हो । त्यसकारणले यो हामीले नयाँ पसल खोलेको अथवा नयाँ पार्टी खोलेको पक्कै होइन । तर, म समालिरहेको भनिरहँदा पनि जोडदार ढङ्गले के भन्छु, विचार मिल्ने क्रान्तिकारी शक्तिहरु छिटोभन्दा छिटो मिल्नुपर्छ, यसको विकल्प छैन । किनभने दक्षिणपन्थि संसोधनवादि, पुँजिवादीहरु पनि मिल्न सक्ने तर हामी क्रान्तिकारी शक्तिहरु मिल्न नसक्ने ? के चाहिँ स्वार्थ छ र हामीसँग मिल्न नसक्ने प्रश्न हो । त्यसकारण वैचारिक रुपमा रहेका केहि मतभेदहरुलाई एउटा टेबुलमा बसेर, मध्यमार्गी बाटो निकालेर सबैका विचारहरु एक ठाउँमा राखेर जसरी पनि समाजको विकास गर्ने कुरा हो, देशको पनि आमूल परिवर्तन ल्याउने कुरा हो । ति कुरामा सम्झौता नगरी ति विचारहरुलाई एक ठाउँमा ल्याउने ढङ्गले हामीले पार्टी मिलाउनु पर्छ भन्ने नै हो हामी युवाहरुको जोड ।

यो राष्ट्रिय सम्मलनबाट के–के नयाँ कार्यक्रमहरु ल्याउनु भयो त ?

शैक्षिक क्षेत्रामा मौलाइरहेका विकृति, विसङ्गति, आर्थिक, सामाजिकलगायतका विचलनहरु अहिले जुन शैक्षिक क्षेत्रमा छन्, त्यसको अन्त्यको लागि संघर्ष गर्ने । निजिकरण, व्यापारीकरण र दलालीकरणको अन्त्यको लागी हामीले खुलेर संघर्ष गर्दै छौं । शिक्षा क्षेत्रलाई जनताका छोराछोरीको पहुँचमा पुर्याउनु पर्छ, यसलाई अझ व्यवहारिक बनाउनु पर्छ । आफूले आर्जन गरेको शिक्षाबाट जीवन बाच्न सकोस् र स्नातकसम्मको शिक्षाको दायित्व राज्यले लिनुपर्छ । भन्ने कुरामा संघर्ष गर्ने सम्मेलनले निर्णय गरेको छ । यो नयाँ होइन त भन्न सकिएला तर संघर्ष पुगेको छैन । तर, हामीले संघर्ष गर्दा चाहिँ नयाँ हुन्छ । संघर्ष गरेरै यी कुरा प्राप्त गर्ने भन्ने राष्ट्रिय सम्मेलनको निष्कर्ष हो ।

भनेपछि यो कार्ययोजना लागु गर्न दृढतपूवर्क लाग्नु हुन्छ ?

एकदमै, हामी यसलाई सडकबाट हुन्छ भने सडकबाट, सम्बन्धित क्षेत्रमा जो सरोकारवाला निकाय छन् । ति क्षेत्रमा दबाव दिएर हुन्छ कि त्या धर्ना र ज्ञापनपत्रले यहाँ केही हुँदैन भन्ने मान्यता जस्तै स्थापित भइसकेको छ । आवश्यक परे कडा संघर्षका कार्यक्रममा जाने राष्ट्रिय सम्मेलनले कार्य योजना बनाएको छ ।

खासमा ‘वैज्ञानिक समाजवादी शिक्षा र राष्ट्रियताका लागि २२ औं राष्ट्रिय सम्मेलन’ यो नारा ल्याउनु भयो के तपाईँहरु साँच्चिकै यहि उनमुख हुनुहुन्छ त ?

हामीले यो राष्ट्रिय सम्मेलनमा नाराको रुपमा पनि भनेका छौं । नाराको रुपमा भन्दा पनि हामीले शिक्षाका समस्याहरु योयो भनेर हाम्रो संगठनले पहिल्याएको शिक्षाका समस्याहरु किटान गरेका छौं । मूलतः गलत नीति र संरचना, असमान, अवैज्ञानिक, अव्यवहारीक तथा जनविरोधि शिक्षा प्रणाली, कमजोर प्रशासन र व्यवस्थापन, उद्देशय र आवाश्यकता विरोधी, निजीकरण तथा व्यापारीकरणको महामारी, शिक्षा सार्वनीकीकरण संङ्कट तथा नवऔपनिवेशीकरणलगायतका तमाम समस्याहरुलाई औंल्याएर हल गर्ने प्रयत्नमा छौं । यस्त गम्भिर किसिमका समस्याहरुलाई हलसँगै हाम्रो मौलिक सोँचको प्रणालीलाई स्थापना गर्ने लक्ष्य हो ।

वास्तबमा तपाईँहरु जतिपनि विद्यार्थी संगठनहरु छन् ती सबैको मुख्य उद्देश्य चन्दा संकलन हुने गरेको आरोप लाग्दै आएका छन् नि ?

हो, त्यो कुरा एकदम ठिक हो तर हाम्रो संगठनको सवालमा त अहिले यत्रो राष्ट्रिय सम्मेलन ग¥यौं, कुनैपनि ठाउँमा गएनौं आर्थिक सहयोगका लागि । योपनि एउटा गतिलो उदाहरण भइहाल्यो । अनि अरु संगठनहरु जो क्रान्तिकारीहरु छन् उनिहरु जान्छन् भन्ने कुरा छ, अब न्यूनतम आवश्यकताका लागि उहाँहरु जान्छन् त्यो ठिकै पनि हो । तर, यो अहिले चन्दासन्दाको कुरा छ । आजपनि मिडियामा हेरिरहनुभएको छ तपाईँहरुले, यो त संसदवादी (नेकपा)का मान्छेले पो गर्छन् त । हामीलाई त यो लाग्ने आरोप मात्र हो ।

उसोभए तपाईँको संगठन चन्दा सङ्कलन नगरी आफूलाई चलायमान बनाउन सक्षम छ त ?

होईन, हामी जाँदै जाँदैनौं भन्ने कुरा होइन । यो राष्ट्रिय सम्मेलनसम्म आईपुग्दा हामी गएनौ तर विशेष परिस्थितिमा जनतालाई दुःख नपुग्ने गरी र स्वेछिक सहयोग त माग्छौं नै । यसमा कुनै करकाप हुँदैन । उहाँहरु आफै दिन राजि हुने, आफै बोलाएर दिने अवस्था पनि आउँछ । त्यो हाम्रो काममा देखिन्छ, हाम्रो कामलाई मन पराए भने त्यो गर्छन ।

तपाईँहरुले भन्ने गरेको व्यवहारीक तथा जनवादी शिक्षा पूरा हुने आधारहरु केके हुन् ?

एकदमै महत्वपूर्ण प्रश्न उठाउनुभयो, यसका आधारहरु भनेको मौलिक अधिकारको रुपमा निःशुल्क र सर्वसुलभ शिक्षा, जुन आम जनसाधारण एकदम न्यून आर्थिक अवस्थाको नागरिकले पनि शिक्षामा पहुँच पाउन् । यो पूरा हुने आधारहरु भनेको शिक्षालाई उत्पादनसँग जोड्नुप¥यो, वैज्ञानिक शिक्षा बनाउनुप¥यो, प्रविधियुक्त शिक्षा बनाउनुप¥यो, सीपमुलक शिक्षा बनाउनुप¥यो, बहुआयामिक खालको शिक्षा बनाउनुप¥यो, श्रम र शिक्षाहरुलाई जोड्नुप¥यो । त्यति भयो भने लागु हुने कुराहरु नै यहि हो ।

यति ठूलो विषय छ जो विगतदेखि जब्बर बनेर बसेको छ, तपाईँहरु एक्लैले सक्नु होला ?

होईन, हाम्रो बलले भ्याएसम्म हामी गर्छौं, भ्याएन भने पनि हामीले संयुक्त मोर्चा बनाकै छौं । अब सबै संयुक्त मोर्चाको बलले त पक्कै भ्याउला । त्यो पनि भ्याइएन भने हामीले भनेजस्तो यो व्यवस्थाबाट हुँदैन भन्नेमा त क्लिएर नै भनेका छौं नि । यो व्यवस्थाबाट हामीले जतिसुकै आन्दोलन गरेपनि हुने भनेको सुधारात्मक कार्यक्रम हो । यसकारण हामी आमुल परिवर्तनको पक्षमा छौं । यो राज्यसत्ताले त्यो पक्षलाई स्विकार्दैन र यो व्यवस्थामा सम्भव पनि छैन । त्यसकारण यो राज्यसत्ता खारेजीकै तहमा संघर्ष गर्नुपर्ने हुन हुन्छ ।

जनयुद्धको रापतापबाट आएको सगोल नेतृत्वले के अहिले के गरिरहेको छ सबैले देखेकै छन्, तपाईँहरु पनि बोलिमा नै सिमित हुँदैन भन्ने के ग्यारेण्टी ?

तपाईँको कुरा ठिकै हो । यो प्रश्न आम रुपमा उठि नै रहेको छ । यो कुरामा भन्दापनि व्यवहारमा देखिने कुरा हो । हामी शिक्षामा रहेको सामन्तवादको अन्त्य गर्नुपर्छ भन्ने मान्यता राख्छौँ । त्यसैगरी राज्यसत्तामा सामन्तवादको नाइके ढलेसँगै सयौं छोटे सामन्तको जन्म भएको छ । यो सामन्तवादका सम्पूर्ण जरा उखेल्न नसकेकै कारण नयाँ सामन्त जन्मेका हुन् । त्यसको प्रभाव अहिले जनताको जीवनमा परेको छ ।

हाम्रो उद्देश्यमा पुग्न सामन्तवादका पुराना जरामा पलाएका नयाँ रुपको अन्त्यको लागि ठूलो राजनीतिक आन्दोलन आवश्यक हुन्छ । त्यो जिम्मेवारी क्रान्तिकारीहरुको काँधमा छ । यदि यो नभएपनिन नयाँ सामन्वको लुटिखाने भाँडो भने अवश्य फुटाउने छौं । अर्को कुरा, शिक्षामा नवऔपनिवेशीक अर्थात साम्रज्यव्यपीकरण छ, त्यसलाई अन्त्य गरेर राष्ट्रियता र मौलिकतालाई पक्षपोषण गर्ने कुरा छ यो भन्दा अरु के हुन सक्छ वैज्ञानिक कुरा ? यो नारा लिएर उठेकाछौं ।

सामुदायीक शिक्षाको रक्षा गर्नुपर्ने स्थितिमा पुगिसक्यो किनभन्दा सामुदायीक शिक्षालाई पनि पूरै व्यापारीकरण गरिएको अवस्थामा छ । त्यसकारण सामुदायीक शिक्षाको रक्षा र स्तर उन्नतिको लागि विद्यार्थीले अभियान र आन्दोलन दुईटैबाट अगाडि बढ्ने भन्ने नै हो ।
तपाईँले उठाएको प्रश्न सबै क्रान्तिकारी नेतृत्वमाथि पनि उठाइन्छ । त्यसबाट मेरो मातृ पार्टी पनि अछुतो हुन सक्दैन । त्यो जिम्मेवारी बोध नेतृत्वलाई भएको छ ।

अहिले दुई तिहाईको शक्तिशाली सरकारले तपार्इँरुका आवाजहरुलाई कति पो सुन्ने हो ?

भरखरै हाम्रो पार्टीको पोलिटब्यूरो बैठकमा घनिभुत रुपमा उठाएको विषयह पास गरेको विषय के हो भने अहिलेको सरकार दलाल, नेकरशाही र पुँजिपतिहरुको पक्षपोषण मात्रै गर्ने सरकार हो । त्यसको अलावा अरु केही होइन यो सरकारबाट हामीले अपेक्षा गरेको के मात्रै हो भने महंगी भ्रष्टाचार, अनियमितता, अन्याय–अत्याचार त्योभन्दा बढी बढ्ने देखिन्छ । यो सरकारबाट योभन्दा बढी अपेक्षा गरिएमा उ आफै मूर्ख हुने मात्रै हो ।

राज्यसत्ता बलियो वा शक्तिशाली भन्ने सबैकुरा संख्याले निर्धारण गर्नेकुरा होइन, बरु गण, नीति र सिद्धान्तले गर्ने कुरा हो । त्यसको लागि त जीवन्त उदाहरण त हामीले नै गरेको १० वर्षे जनयुद्ध सुरुमा कति चाही संख्या थियो त ? तर त्यो समयमा हामीसँग विचरा, नीति र कार्यदिशा ठिक भएका कारण ६३÷६४ सम्म आइपुग्दा माओवादीको जनमत कति थियो ? तपाईँ हामीलाई थाहा नै छ । अहिलेको सरकारको आधार के छ ? टिक्ने, हिजो राज्य नै मेरो खल्तिको हो भन्ने राजा, जसको हातमा सेना, पुलिसलगायत देशको पूरै संरचना थियो, त्यो ढल्यो भने । वर्तमान सरकारको हैसियत के छ ? ६ महिना नवित्दै जनताबाट नङ्गिदै गएको छ, ‘फु’ गर्दा पनि ढल्न लागेको छ । त्यसैले यो सरकारको दम्भभन्दा हाम्रो नीति, सिद्धान्त, विचार बलियो छ । त्यसकारण हामी सजिलैसँग यिनीहरुलाई जित्न सकिन्छ ।

अरु विद्यार्थी संगठन् भन्दा तपाईँहरुको संगठन के आधारमा पृथक ?

सरकारमा रहेका राजनीतिक दलका विद्यार्थी संगठनले शिक्षालाई मागिखाने भाँडो बनाएका छन्, हामी त्यो गर्दैनन् । उनिहरु सरकारी शिक्षाको पक्षमा छैनन्, मुखले नबोलेपनि नीजि शिक्षाको पक्षपोषणका लागि सामुदायीक शिक्षालाई ध्वस्त पार्ने कित्तामा कलागेका छन् । हामी त्यसको रक्षा र स्तर उन्नतिको लागि संघर्ष गरिहेका छौं । हामीहरु शिक्षा क्षेत्रमा ब्याप्त सामन्तवादका अवयवको अन्त्यको पक्षमा छौं भने उनिहरु आफै समन्त हुन् । किनभने उनिहरुका नीजि बोर्डिङ स्कूल–कलेज ८६ प्रतिशत छन् । हामी यो शिक्षामा नवऔपनिवेशिकरण, साम्राज्यवादीकरण देख्छौं तर उनिहरु केहि समस्या देख्दैनन् ।

हामीहरु राष्ट्रियता र मौलिकतालाई बचाउने पक्षमा छौं तर उनिहरु त्यसको मतलब राख्दैनन् । हामी नीजिकरण, माफियाकरण, दलालिकरण र व्यापारीकरणको समुल अन्त्यको पक्षमा छौं तर उनिहरु त्यसैको संरक्षक भएर बसेका छन् । यही नै फरक छ ।
हामी शिक्षा क्षेत्रमा भएका नामुद दलाल तथा माफियाहरुको वर्ग विश्लेशणका आधारमा सूची तयार गरि ठूलो व्यानरमा फोटो प्रिन्ट गरेर सार्वजनिक कारबाही गर्दै छौं । अहिले मुख्य एजेन्डा यो हो । हामी माफीयाविरुद्ध कडा रुपले जाँदैछौं ।

यी काम तपाईँहरु एक्लै गर्न सक्नुहुनुछ ? 

आफ्नो पहलकदमीमा पनि गछौं तर कुनै संयुक्तमा पनि गर्ने हो, हामी हाम्रो मौलिकतामा पनि गर्ने कुरा भइहाल्यो । तर, शक्ति संचयको हिसाबले हाम्रा विचार मिल्ले संगठनहरुसँग मिलेर पनि गर्ने हो । जे होस् यी दलाल र मफियाहरुलाई जनतालाई लुटेर आरामले पचाउन दिनेवाला छैनौं ।

तपाईँका पार्टीका नेताहरुले वैद्य र विप्लवसँग एकताको कुरा गरिरहनु भएको छ, के एकताबारे ?

हामी वैचारिक हिसाबले निकै नजिक छौं । केही प्राविधिक विषयहरुमा त फरक भइहाल्छ, होइन भने त फरक पार्टी नै भएन । निकटताको हिसाबले वैद्य, विप्लवहरुसँग असाध्यै नजिक छौं । एकताको लागि नेताहरुले छिटोभन्दा छिटो पहल गर्न र छलफल गर्न भनिरहेका छौं । तर, केही सैद्धान्तिक, व्यवहारीक र प्राविधिक विषयहरु मिलाउन पर्ने हुन्छ । नमिल्नुको कारण पनि छैन । अब अन्तिम नै हो पार्टी एकताको चरण । वार्ता संवादबाट यो भन्न सकिन्छ कि यो वर्षभित्र हाम्रो एकता प्रक्रिया टुङ्गिन्छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]