Dabali News

एमाले-माके एकता बलात्कारबाट जन्मिएको अवैध बाच्छो

आजको उत्तर–साम्राज्यवादले आफ्नो अमानवीय लुटपाटको रक्षा गर्न दुनियाँलाई धेरै नै प्रयोगवादी र उपभोगवादी बनाएको छ । परिणामतः वैचारिक र सैद्धान्तिक विषयहरूको महत्वको कि त अवमूल्यन भएको छ कि त भने बुद्धिविलासको खेल । त्यसैले हामीले व्यावहारिक जीवनका समस्याहरूको समाधान सिद्धान्तमा खोज्नुपर्छ भने सिद्धान्तको वैज्ञानिकता व्यावहारिक जीवनको समस्या समाधानको कसीमा खोज्नुपर्छ । आज हाम्रो व्यावहारिक जीवनका समस्याहरू के के हुन् ? यिनको वैज्ञानिक समाधान के हो ? के अहिलेको कथित वाम गठवन्धनले समस्याको पहिचान गरि उचित समाधान दिन सक्ला ? बहसको आवश्यकता छ ।

१) प्रमुख समस्या

देशको मुख्य समस्या भनेको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको हो किनभने कुनै पनि देश स्वतन्त्र नभई विकास हुनै सक्दैन । वास्तवमा यो राष्ट्रिय स्वाभिमानकै विषय हो जो कम्युनिस्ट वा वामपन्थीहरूप्रति जनताको आकर्षणको कारण पनि बनेको छ । सिद्धान्ततः एक कम्युनिस्ट अन्तर्राष्ट्रियवादीका साथै, साँचो अर्थको राष्ट्रवादी पनि हुन्छ तर हाम्रो देश परिवर्तनको दिशामा जति अगाडि बढिरहेको दाबी गरिएको छ, त्यति नै बढी हाम्रो परनिर्भरता र स्वाभिमान कमजोर भएको छ । परिणामस्वरूप देश परनिर्भर बन्दै नवउपनिवेश बनेको छ । त्यसैले स्वभाविक प्रश्न उठ्दैछ कि परिवर्तन र विकास भनेको के हो ? के देश परनिर्भर र उपनिवेश बन्नु विकास हो ? के युवाहरूको पलायनता बढ्नु र बेरोजगारी बढ्नु विकास हो ? कि त भ्रष्टचार बढ्नु र कमिसनको खेलमा देश र जनतालाई नै दाउमा लाउने प्रतिस्पर्धा चल्नु विकास हो ? कि विदेशी लगानी बढ्नु र प्रत्येक नेपालीहरूको थाप्लोमा विदेशी ऋणको भार थपिँदै जानु विकास हो ? वा देशभित्रको समस्या समाधान गर्न विदेशी सल्लाहकारले काठमाण्डौका तारे होटेल भरिनुभएन भने सल्लाहका लागि नेताहरू विदेशका तारे होटेलको बास बस्न बाध्य हुन नै विकास हो ? किनकि अहिलेसम्म हामीले देखे–भोगेको समस्या यही हो । यदि हाम्रो राजनीतिक सिद्धान्त सही छ भने यी समस्याको समाधान हुनुपर्ने हो । यहाँ त यी समस्याहरू समाधान नभएर झन् चर्केर गएका छन् भने राजनीतिक सिद्धान्तमै बहस गर्नुपर्ने हो तर यसो हुन सकेको छैन ।

के वाम गठबन्धन यो राष्ट्रिय स्वाभिमानको समस्यालाई समाधान गर्न उसले घोषणापत्रमा भनेझँै समदुरीको सन्तुुलित विदेश नीति लागू गर्न सक्ला ? त्यसका लागि प्रमुख बाधक बनेको भारतसँगका विगतका असमान सन्धि सम्झौताहरू खारेज गर्न सक्ला ? खुला सिमानामा पर्खाल वा तारबार लाउने हिक्मत गर्ला ? कि थप असमान सम्झौता गर्दै जाला ? के उसले युवाहरूको पलायनतालाई रोकेर रोजगारको व्यवस्था गर्न सक्ला ? के उसले बढ्दो भ्रष्टचार रोकेर औद्योगिक राष्ट्रिय पुँजीको विकास गर्न सक्ला ? त्यसका लागि बाधक बन्ने विश्व बैंक र व्यापार संगठनको प्रावधानको आलोचना गर्न सक्ला ? के उसले शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरण र व्यपारीकरण रोक्ला ? के उसले आईएनजीओ र एनजीओको मनपरी नियन्त्रण गर्ला ? के उसले कम्युनिस्टको नाममा खासगरी जनयुद्ध लडेकाहरूको सम्मान र संरक्षण गर्न सक्ला ? अन्तिममा, के वाम गठबन्धनले अहिलेको राज्यव्यवस्था र नेतृत्वप्रति जनतामा भएको व्यापक र चौतर्फी असन्तुष्टि, अनास्था र घृणालाई सम्बोधन गर्न सक्ला ? त्यसका निम्ति के उच्च तहका नेताहरूले आफ्नो व्यक्तिगत जीवनको हैसियत घटाउलान् ? के अहिले चुनावमा भएको खर्चलाई त्याग र बलिदान सम्झिएलान ? अहँ यो उसले गर्न सक्ने छैन र गरेका पनि छैन, बरु आफ्नो हैसियत बढाउन र त्यसको रक्षाका लागि के के गर्नुपर्ने हो, त्यो गर्नेछन्, जो अहिलेसम्म गर्दै आएका छन् । यसरी वाम गठबन्धनको विजयमा उत्साहित जनता छिट्टै निराश हुनेछन् । त्यसपछि नै वास्तविक वाम र कम्युनिस्टहरूको खोजीको क्रममा विप्लव नेतृत्वको नेकपालाई खोजिनेछ तर यसको लागि जनस्तरमा नै वैचारिक बहसको आवश्यकता छ ।

२) भ्रम र वास्तविकता

नेपालमा वाम भनेको कम्युनिस्ट हो र कम्युनिस्ट भनेको वाम हो भन्ने सबैभन्दा ठूलो सैद्धान्तिक र राजनीतिक भ्रम परेको छ जुन कुरा सम्पूर्ण रूपले गलत हो । त्यसो भए वास्तविक सत्य के हो त ? वास्तविक सत्य यो हो कि न त यी वास्तविक कम्युनिस्ट हुन न त वाम नै । किनभने, कम्युनिस्ट भनेको त निजी पुँजी÷स्वामित्व र त्यसमाथि आधारित व्यक्तिवादको विरोधी हुन्छ । कम्युनिस्ट भनेको साझा पुँजी÷स्वामित्व र त्यसमाथि आधारित सामूहिकताको पक्षधर हुन्छन् । यति मात्रै हैन, सो प्राप्तिका लागि निरन्तर संघर्षरत हुन्छन् तर यहाँ त यसको विरोधी हैन, सबैभन्दा बढी वकालत, रक्षा र विकास गरिएको छ भने यी कसरी कम्युनिस्ट हुन्छन् ? त्यस्तै वामपन्थीको ऐतिहासिक सन्दर्भ र अर्थ भनेको सत्ता तथा यथास्थितिको विरोधी भन्ने हुन्छ तर यहाँ त पटकपटक सत्ताको उपभोग गर्ने र यथास्थितिको रक्षामा निर्णायक भूमिका खेल्नेहरू नै स्वघोषित वामपन्थी छन भने यी कसरी वामपन्थी हुन्छन् ?

वामपन्थीको विजयले स्थायित्व, विकास र समृद्धि हुनेछ भन्ने अर्को ठूलो भ्रम छ, यो पनि गलत छ किनभने सिद्धान्तमा क्रान्ति अधुरै छोडेर असफल दलाल पुँजीवादी संसदीय राज्यव्यवस्थालाई नै अवलम्बन गरिएको छ भने व्यवहारमा हाम्रो प्रत्यक्ष पहिलो भोगाइ र देखाइ छ कि बिना–श्रम र स्रोत नेपाली कांग्रेसका नेताले २० वर्षमा कमाएको सम्पत्ति एमालेका नेताले १० र माओवादीका नेताले ५ वर्षमा कमाएका छन् भने यिनको विकास र समृद्धिको नाराले समाज, देश र जनताको विकास र समृद्धि कसरी होला र ? धेरै भए नेताहरूको विकास र समृद्धि कार्यकर्ता र आफन्तको एउटा निश्चित तहमा विस्तार होला । त्योभन्दा धेरै आशा गर्नु भविष्यमा पैदा हुने निराशाको कारक मात्र हुनेछ । दोस्रो प्रत्यक्ष भोगाइ र देखाइ छ कि यी वामपन्थीहरूको नेतृत्व पनि नारामा बाहेक यथार्थमा स्वतन्त्र, स्वाधीन र स्वविवेकी छैन । साम्राज्यवादबाट निर्दे्शित, नियन्त्रित र परिचालित छ । त्यसैले वाम गठबन्धनले स्थायित्व पनि दिन सक्नेछैन ।

अहिले वाम गठबन्धनप्रति जनतामा देखिएको आकर्षण स्थायी हुने भ्रम पनि दिएको छ । यो पनि गलत छ किनकि तत्काल जे आकर्षण छ, यसको कारण एकातिर यी अरूभन्दा बढी दुःख–कष्ट, मिहिनेत, आन्दोलन र जनताको तल्लो तहबाट आएका हुन्छन् भने अर्को्तिर नेपाली जनता अन्य देशका जनताभन्दा बढी सचेत छन् र कम्युनिस्टलाई मन पराउँछन् । अर्को कुरा के छ भने लामो समयदेखि चुनावबाट शान्तिपूर्ण रूपले समाजवाद आउने जुन भ्रमको खेती गरिएको थियो, त्यसको स्वभाविक प्रतिफल वा बतासे अण्डाको बच्चाको रूपमा यो वाम गठबन्धनको विजय भएको छ ।

यो वाम होइन, छलछामको गठबन्धन हो किनकि यो गठबन्धन भनेको संशोधनवादी, दलाल सुधारवादी, यथास्थितिवादी, प्रतिक्रान्तिकारी र फासिवादी गठबन्धन हो । यो भनेको कम्युनिस्ट क्रान्ति, समाजवादको उद्देश्य, सहिदको बलिदानजस्ता आदर्श, मूल्य–मान्यता र एजेन्डाहरूको व्यापार गर्ने चालु व्यापारीहरूको गठबन्धन हो । यो गठबन्धन भनेको जनताको कम्युनिस्ट चाहनामाथि उत्तर–साम्राज्यवादी डाँकाद्वारा गरिएको बलात्कारबाट जन्मिएको त्यो अवैध र विकृत बाच्छो हो, जसलाई आदर्शीकरण गर्दै भगवानको रूपमा पुज्न बाध्य पारिँदैछ । त्यसैले यो गठबन्धन भनेको वास्तविक कम्युनिस्टहरू र वामपन्थीको बद्नाम गर्दै त्यसको गला रेट्न अगाडि सारिएको साम्राज्यवादी षड्यन्त्रको गठबन्धन हो किनकि यसको आधार मालेमावादी सिद्धान्तका प्रस्तावना बनेका छैनन्, बरु लामो समयदेखिको साम्राज्यवादी उदारीकरण र निजीकरणको तीव्र बहावसगै मिसिएको आईएनजीओ र एनजीओको भेलबाढीको मिसावट बनेको छ । जसको उद्देश्य नै कम्युनिस्टको अन्त्य गर्नु हो ।

३) विकल्प

नेपाली जनता कम्युनिस्ट चाहन्छन् भने वास्तविक कम्युनिस्ट व्यवस्था आउनुपर्छ, हुनुपर्छ र ल्याउनुपर्छ । त्यो व्यवस्था भनेको वैज्ञानिक समाजवाद हो र यो एकीकृत जनक्रान्तिबाट वर्तमान दलाल पुँजीवादी व्यवस्थाको अन्त्यपछि आउँछ । त्यसैले नेपालमा सधैँ क्रान्ति किन अधुरै रह्यो र पछिल्लो शान्ति प्रकृया किन असफल भयो । यसको समीक्षासहित क्रान्तिलाई निरन्तरता दिन आवश्यक छ र नयाँ राजनीतिक सिद्धान्त तथा व्यवस्था वैज्ञानिक समाजवादबारे सबैको ध्यान केन्द्रित गर्न आवश्यक छ ।

एकीकृत जनक्रान्तिद्वारा स्थापित हुने वैज्ञानिक समाजवादमा सबैभन्दा पहिले देश र जनतालाई स्वतन्त्र भएको घोषणा गरिनेछ र अहिलेसम्मका अन्तर्रा्ष्ट्रिय सन्धिहरू र ऋण खारेज भएको घोषणा गरिनेछ । त्यसपछि भ्रष्टचार गरेको सारा सम्पत्ति र भूमिको राष्ट्रियकरण गरेर औद्योगिक राष्ट्रिय पुँजीको विकास गरिनेछ र यो सर्तमा मात्रै विदेशी पुँजीलाई छुट हुनेछ । जनताको शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिनेछ र युवा पलायनता रोकेर देशभित्र नै रोजगारको व्यवस्था गरिनेछ । साथै, प्राकृतिक साधन स्रोतको अत्यधिक सदुपयोग गरिनेछ भने पर्यावरणको समस्यालाई हल गरिनेछ । सम्पूर्ण युवाहरूलाई फौजमा भर्ती गरेर विकास निर्माणमा लगाइनेछ र खुला सिमानामा पर्खाल वा तारबार लगाइनेछ अनि आवश्यकतामा राष्ट्रिय प्रतिरोध गरिनेछ । महत्वपूर्ण कुरा कम्युनिस्ट पार्टीको निश्चित तहका नेताले “उसबाट क्षमतानुसारको काम र उसलाई आवश्यकतानुसारको दाम” को नीति लागू गर्नेछन् र उनको व्यक्तिगत सम्पत्तिको अन्त्य गरिनेछ । केवल यसरी मात्रै देशको विकास र समृद्धि हुनेछ र जनतामा “क्षमताअनुसारको काम र कामअनुसारको दामको” नीति लागू हुनेछ । जो विकास र समृद्धिको मुख्य आधार हो ।

अन्त्यमा, विद्यमान देश र जनताले भोगिरहेका वर्तमान समस्याको समाधान अहिलेकै दलाल राज्यव्यवस्थावाट सम्भव छैन, चाहे कथित वाम गठबन्धन होस्, चाहे लोकतान्त्रिक गठबन्धन होस्, यिनमा तात्विक भिन्नता हुनेछैन तर वाम गठबन्धनले यो वास्तविकता लुकाएर समस्याको पहिचान नगरी उल्टो जनताको क्रान्तिकारी आवाजलाई कुल्चेर संसदीय दलाल फासिवादको अभ्यास गर्नेछ । त्यसैले अहिलेको वाम गठबन्धनको आधार– यहाँ पार्टी एकता नै भएछ भने पनि त्यो मालेमावादी राजनीतिक सिद्धान्त र राज्यव्यवस्थाका बारेको स्पष्टता र एकरूपतामा नभएर चुनावमा हार्ने डरले, जनताको भन्दा बढी विदेशीको भरले अनि भारु र डलरको नेपाली रूपैयाँमा गरिएको रूपान्तरणले अन्तिममा, छलछाम र लुटपाटको रहरले भएको र हुने हुनाले यसबाट जनताले धेरै आशा गर्नु आफैँलाई भ्रममा पार्नु मात्रै हुनेछ ।

  •  रातोखबरबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]