Dabali News

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप देखियो

२८ भदौ

सप्तरी । पूर्वी क्षेत्र अन्तरगत कन्चनरुप नगरपालिकामा मौसमी रुघाखोकी अन्तर्गत देखिएको हङ्कङ् फ्लु अर्थात इन्फुएन्जा ए भाइरस एच ३ एन २ र बोलचालमा स्वाइन फ्लु भनिने ‘इन्फुएन्जा ए (एच१एन१) को प्रकोप देखिएको छ ।

खुल्न नसकेको रोगका कारण ४ सय बिरामी र २, ७, ३ जना बालकको मृत्यु भए पछि त्यहाँबाट ल्याइएको र्रयाल (थ्रोट स्वाव) को नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एमपीएचएल) मा परीक्षण गर्दा हङ्गकङ्ग फ्लु र स्वाइन फ्लु देखिएको हो ।

परीक्षणको लागि ल्याइएका १६ वटा नमूना मध्ये १० वटामा हङ्गकङ्ग फ्लु र एउटामा स्वाइन फ्लु देखिएको छ । ‘त्यहाँ प्रकोप कै रुपमा मौसमी रुघाखोकी देखिएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का निर्देशक डा.विवेककुमार लालले भने, ‘सप्तरीकै हनुमानगरमासमेत मौसमी रुघाखोकी देखिएपछि त्यहाँबाट थ्रोट स्वाव परीक्षणका लागि पठाइएको छ ।’

दुई सातायता मृत्यु भएका ३ बालबालिकाको मृत्युको कारण खोज्न ‘भर्वल अटोप्सी’ को सहारा लिन थालिएको औल्याउदै डा. लालले यसको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञलाई जिम्मा दिइएको बताए ।

कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिअहेब डम्बरप्रसाद गुप्ताका अनुसार ती बालबालिकालाई ज्वरो आउने, छाती दुख्ने, खोकी लाग्ने र बिस्तारै शिथिल हुँदै बच्चाको मृत्यु भएको थियो । मृत्यु भएका बालबालिकाहरुमा सुरुमा उच्च ज्वरोसमेत आएको उनले बताए । चार दिनयता विशेषज्ञ चिकित्सकसहितको टोलीले १ हजार ६ सय जनाको स्वास्थ्य परीक्षण गरेको डा. लालले बताए ।

विश्व स्वास्थ्य संगठन (डव्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ए, बी र सी गरी ३ प्रकारको हुन्छ । ‘ए’ भाइरसको विभिन्न उप–प्रकार मध्ये हाल ‘एच १ एन १’ र ‘एच ३ एन २’ मानिसमा फैलिरहेको छ । ‘सी’ प्रकारको इन्फुएन्जा भाइरस ‘ए’ र ‘बी’ को दाँजोमा धेरै कम फैलिरहेको हुन्छ ।

डब्लुएचओका अनुसार मौसमी रूघाखोकी कडा भाइरल संक्रमण हो । जो एक व्यक्तिबाट अर्कोमा सजिलै फैलिन्छ । यो मौसमी रूघाखोकीको भाइरस विश्वव्यापी रूपमा फैलिरहेको हुन्छ र जुनसुकै उमेर समूहलाई प्रभावित गर्छ । मौसमी रूघाखोकीले कडा संक्रमण हुने देखि मृत्यु समेत हुन सक्छ ।

सन २०१० देखि स्वाइन फ्लुलाई मौसमी रूघा खोकीकै श्रेणीमा राखेपछि नेपाल सरकारलेसमेत यसलाई मौसमी रुघाखोकी भन्ने गरेको छ । यस्तै हङ्कङ् फलुलाई समेत मौसमी रुघाखोकी मै राखिएको छ ।
वर्षेनी १५ देखि ३० लाख व्यक्ति मौसमी रूघाखोकीले प्रभावित हुने गरेको अनुमान गरिन्छ । मुलुकमा खासै अध्ययन नभए पनि अन्य मुलुकको दरलाई दृष्टिगत गर्दा वार्षिक रूघाखोकी हुने दर वयस्कमा करिब ५ देखि १० प्रतिशत र बालबालिकामा २० देखि ३० प्रतिशत रहेको विशेषज्ञहरूको आकलन छ ।

चिकित्सकहरुको अनुसार दम, श्वास रोगको समस्या भएकाहरुलाई स्वाइन फलु, मौसमी रुघाखोकीको संक्रमण हुने बढी खतरा हुन्छ। यस्तै मधुमेह, मुटू, कलेजो र स्नायु रोग भएकाहरु समेत संक्रमित हुने उच्च जोखिममा रहन्छन् ।

गर्भवती महिला, बुढापाका र ५ वर्षमुनिका बालबालिकामा यो संक्रमणको खतरा अन्यको दाँजोमा बढी हुन्छ । क्यान्सरका उपचार गराइरहेकाहरु, अंग प्रत्यारोपण गराएकाहरु, मोटापनाको समस्या भएकाहरु एचआईभी र एडस वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएकाहरू पनि स्वाइनको उच्च जोखिममा हुन्छन् । मदिरापान गर्नेहरुलाई पनि जोखिम समूहमा पर्छन् ।

स्वाइन फलु लगायत मौसमी रुघा खोकी मुखबाट निस्किने पानीका कणहरुबाट सर्ने भएकोले संक्रमित व्यक्तिसँग एक मिटरको दुरी कायम राख्नु उपयुक्त हुन्छ । यस्तै संक्रमण हुन नदिन व्यक्तिगत स्वच्छता, र सरसफाई कायम राख्नु पर्छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]