Dabali News

पप्पु कन्स्ट्रक्सनमाथि छानबिन शुरु, १५ दिनभित्र विस्तृत विवरण उपलब्ध गराउन भौतिक मन्त्रालयलाई निर्देशन

२८ भदौ

रौतहट । सरकारले पप्पु कन्स्ट्रक्सनमाथि छानबिन थालेको छ ।

कन्स्ट्रक्सनले बनाएका सडक र पुल गुणस्तरहीन भएको, समयमै निर्माण नसकेर अलपत्र पारेको गुनासो बढेपछि ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

समितिले आइतबारबाट काम सुरु गरेको छ । रौतहटको लालबकैया नदीस्थित टिकुलिया घाटमा निर्माणकै क्रममा पप्पु कन्स्ट्रक्सनले पुल अलपत्र छाडेको छ । भौतिक पूर्वाधार मन्त्रालयले पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा साताअघि समिति बनाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पप्पु कन्स्ट्रक्सनको विस्तृत विवरण मागेको छ । ‘कसरी काम समयमै सकिएन, किन समस्या आयो, यसको विस्तृत विवरण उपलब्ध गराउन मन्त्रालयसँग माग गरेका छौं,’ कार्यालयका सचिव केदारबहादुर अधिकारीले भने,‘मन्त्रालयलाई १५ दिनभित्र विवरण पठाउन भनिएको छ । रिपोर्ट आएपछि कारबाहीबारे विचार गरिनेछ ।’

समितिलाई १० दिनको समय दिइएको छ । ‘गोप्य भनेर चिठी आएको छ, अहिले सबै कुरा खुलाउन मिल्दैन,’ समिति संयोजक श्रेष्ठले भने, ‘हामीले काम थालिसकेका छौं, समय थपेर भए पनि छानबिन पूरा गर्छौं ।’ कन्स्ट्रक्सनले बनाएका पुल र सडकबारे समाचार आएपछि प्रधानमन्त्री कार्यालयबाट विवरण माग भएको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशवकुमार शर्माले बताए ।

‘त्यही भएर छानबिन समिति गठन गरिएको हो, समितिले अध्ययन गरिरहेको छ,’ उनले भने । पुल महाशाखाका अनुसार उक्त कन्स्ट्रक्सनले संयुक्त र एकल ठेक्कामा गरी साढे ५ अर्बका पुल जिम्मा लिएको छ । ३१ वटा पुलमध्ये १५ वटाको निर्माण अवधि सकिइसकेको छ । कुनै पुलको निर्माण अलपत्र छ त कुनै गुणस्तरहीन भएकाले हस्तान्तरण हुन सकेको छैन । कतै भासिएर समस्या आएको छ ।

हुलाकी राजमार्गका अधिकांश ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ । संयुक्त ठेक्का पाए पनि मुख्य हर्ताकर्ता पप्पु नै छ । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत १० वटा ठेक्का पप्पुले ज्वाइन्ट भेन्चरमा लिएको छ । सडकको ठेक्का मात्र ५ अर्ब २५ करोड ७४ लाख ७० हजारको छ । त्यस्तै पुल सातवटा छन् जसको कुल ठेक्का रकम १ अर्ब ७ करोड ८४ लाख १५ हजार छ ।

पुलको निर्माण तोकिएको समयमा नसकिँदा सर्वसाधारणले कष्ट भोग्नुपरेको छ । हुलाकी राजमार्गमा ५ वटा योजना ०७३ मा र ५ वटा ०७४ मा ठेक्का सम्झौता गरिएका छन् । यिनको काम सक्नुपर्ने मिति ०७६ र ०७७ सम्म छ । पुलको तेस्रो पटक म्याद थपिँदा पनि काम सकिएको छैन । ०६८ सालमा निर्माण थालिएका पुल नै अझै अपूरै छन् ।

पप्पु कन्स्ट्रक्सन संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियारको हो । उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । उनले आफुले कन्स्ट्रक्सन छाडेको दाबी गर्दै आएका छन् । तर, कन्स्ट्रक्सनबारे समस्या र विवाद आउँदा उनै अघि सर्ने गरेका छन् ।

कन्स्ट्रक्सन अध्यक्ष सुमित रौनियार उनका छोरा हुन् । सुमितले काममा ढिलाइ हुनुको दोष सरकारी पक्षलाई नै लगाएका छन् । निर्माण योजनाको सम्झौता भइसकेपछि डिजाइन परिवर्तन गर्ने, समयमै नक्सा उपलब्ध नगराउने, स्थानीयको अवरोध, लागत अनुमानको तुलनामा न्यून बजेट, बन्द हडताल, काम भइसकेको बिलको भुक्तानीमा ढिलाइ, निर्माण सामग्री अभाव मुख्य समस्या रहेको उनले औंल्याए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]