Dabali News

एकता हाेइन माअाेवादी केन्द्रकाे दर्दनाक अवसान

यतिखेर नेपाली राजनीति वाम एकताको बहसले गर्माएको छ । दुई ठूला वाम घटकहरुको सम्भावित मिलनको यो पुर्वसन्ध्यामा थुप्रै प्रश्न, चिन्ता र बहसहरु सतहमा आएका छन् । माओवादी आन्दोलनको वैचारिक फ्रेमबाट हेर्ने हो भने यो विषय निकै पेचिलो देखिन्छ । मुलतः यो ऐतिहासिक परिघटना माओवादी आन्दोलनको विसर्जन र नेपाली कम्युनिस्ट आन्दोलनको सेटब्याक नै हो ।

गुटउपगुट र टुटफुटले ग्रसित नेपाली कम्युनिस्ट आन्दोलनको सात दशक लामो इतिहासमा सम्भवतः पहिलोपटक दुई ठूला चोइटाहरु एक हुने तरखरमा छन् । यसअघिका थुप्रै टुक्राटाक्री एकता भन्दा यो एकता यसअर्थमा पनि भिन्न छ कि यी दुई वाम पार्टीले समग्रमा ६५ प्रतिशत र कुल वामपन्थी संख्याको ८५ प्रतिशत भन्दा ज्यादाको प्रतिनिधित्व गर्दछन्। सतही रुपमा हेर्दा यो एकता नेपाली कम्युनिस्ट आन्दोलनको अभूतपूर्ण सुखद क्षण हो । तर सिद्धान्त, विचार र साँस्कृतिक सवालहरुमा गम्भीर बहस नै नगरी छापामारशैलीमा हुन लागेको पार्टी एकता एउटा गम्भीर दुर्घटना शिवाय अरु केही पनि होइन । यो त क्रान्ति र परिवर्तनका खातिर लड्ने योद्धाहरुको सपना र भावनाहरु माथिको अपमान शिवाय अरु केही होइन। यदि अरु केही हो भने त्यो भ्रम मात्रै हो ।

वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व र बल प्रयोग जस्ता मार्क्सवादका आधारभूत सिद्धान्तहरु परित्याग गर्दै संसदीय पुँजीवादकै सेवामा समर्पित पार्टी हो एमाले । माओवादी केन्द्र पनि माओवादी आन्दोलनवाट दिग्भ्रमीत हुँदै एमालेकै बाटोमा आइपुग्यो । अन्ततः प्रचण्ड सामु एउटै बिकल्प बाँकी रह्यो – पार्टी एकताको नाममा माओवादी केन्द्रको एमालेकरण ।

प्रचण्ड र माओवादी केन्द्रको यो दर्दनाक अवसानलाई अब कसैले रोक्न सक्दैन । प्रचण्डले यसरी यति चाँडै क्रान्ति र पार्टीप्रति गद्दारी गर्दै आत्मसमर्पणको बाटो अंगाल्लान र लम्पसारवादमा परिणत होलान भन्ने सायदै कसैलाई लागेको थिएन । प्रचण्ड सामु दुई बाटाहरु नभएका होईनन् । माओवादी आन्दोलनलाई संसदवादमा लगेर एमालेसँग एकता गर्ने वा डाईभर्ट गरेर बचाउँदै नयाँ ढंगवाट आन्दोलनको उठान गर्ने । तर उनले जोखिम विनाको पहिलो विकल्प नै सहज ठाने । त्यसका मुलत दुई कारणहरु छन् ।

पहिलो, एकै चरित्र बोकेका दुई वामपन्थी पार्टीहरु भिन्दाभिन्दै अस्तित्वमा रहिरहन सम्भव नै थिएन । दोस्रो, प्रचण्डले युद्ध अपराधको अभियोगबाट आँफुलाई जोगाउन जनयुद्धको सुरक्षित अवतरण खोजिरहेका थिए । यी दुई कारणले गर्दा उनले एमालेकरणलाई नै भरपर्दो विकल्प माने। र पार्टी एकताको बहस यो हदसम्म आईपुग्यो ।

यसरी क्रान्तिकारी युवाहरुलाई हँसाउँदै उदाएको माओवादी तिनै युवाहरुलाई रुवाउँदै विलयको वाटोमा आइपुग्यो । हुन त , प्रचण्डले एमालेसँगको पार्टी एकतालाई नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ मोडल र आयाम भनेर दावी गर्लान, अग्रगामी छलाङ वा युगको आवश्यकता भन्लान् । तर, वास्तवमा यो नेपाली कम्युनिस्ट आन्दोलनको अवसान हो । ढिलो चाँडो इतिहासले यो कठोर सत्यलाई प्रमाणित गर्नेछ । प्रचण्ड र माओवादी केन्द्रको यो दर्दनाक अवसानलाई अब कसैले रोक्न सक्दैन । प्रचण्डले यसरी क्रान्ति र पार्टी प्रति गद्दारी गर्दै आत्मसमर्पणको बाटो अंगाल्लान र लम्पसारवादमा परिणत होलान भन्ने सायदै कसैलाई लागेको थियो ।

प्रचण्ड र माओवादी केन्द्रको यो दर्दनाक अवसानलाई अब कसैले रोक्न सक्दैन । प्रचण्डले यसरी यति चाँडै क्रान्ति र पार्टीप्रति गद्दारी गर्दै आत्मसमर्पणको बाटो अंगाल्लान र लम्पसारवादमा परिणत होलान् भन्ने सायदै कसैलाई लागेको थिएन ।

बिगत तीन दशकदेखि एमाले र माओवादीको सम्बन्धमा कहिलेपनि नरमपना देखा परेन । यिनिहरु बीचको तिक्ततापुर्ण सम्बन्धले वामपन्थी मत दुई ध्रुवमा बाँडिइरह्यो। माओवादीले एमालेलाई कहिल्यै कम्युनिस्ट ठानेन । बरु सँधै धारेहात लगाइरह्यो । उता एमालेले माओवादीलाई अराजक र उग्रवामपन्थी शक्तिको रुपमा चित्रण गरिरह्यो । एमालेका दस्तावेजहरुमा जनयुद्ध र क्रान्तिकारी परिवर्तनहरुले कहिल्यै सहानुभूति पाएनन् । दुवै दलको पथप्रदर्शक सिद्धान्त र स्कूलिङ फरक छ । नेपाली कम्युनिस्ट आन्दोलन र समाजवादी यात्रालाई हेर्ने दृष्टिकोण फरक छ । तर पनि आज समयले आँफैलाई सप्राइज दिँदै वाम एकताको यो संगीन मोडमा ल्याइपुर्याएको छ।

थुप्रै प्रश्नहरु अनुत्तरित छन् । के एमालेसँग एकता गरेपछिको पार्टी कम्युनिस्ट नै रहिरहन्छ? के त्यहाँ भित्र माओवादी आन्दोलन र जनयुद्धबारेको छुट्टै सम्मानजनक बहस गर्न सम्भव छ ? बर्गसंघर्ष, बल प्रयोग र सर्व हारावर्गको अधिनायकत्वबारे शिर उठाएर छलफल गर्ने ठाउँ छ ? तर अहँ । पार्टी एकताबारे पार्टीभित्रै खुला रुपमा बहस गर्न प्रचण्डले आवश्यक ठानेनन् । प्रचण्डले जे गरेपनि क्रान्ति नै हुन्छ भन्ने मनोविज्ञान हावी भएका उनका भक्तहरूले त झन बहस गर्ने कुरै भएन । विगतमा माओवादी पार्टीभित्र प्रचण्डको देवत्वकरण गर्ने यस्तो होड चल्यो कि जसले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र आलोचनात्मक चेतलाई नै निस्तेज बनाईदियो । नत्र आज चर्को बहस हुनुपर्ने यो मोडमा यति विघ्न सन्नाटा कदापि हुने थिएन ।

माओ पछिको महान् नेताको लाममा उभिने अवसरलाई लत्याएर यो युगमा वर्नस्टिन, काउत्की र देङ्गपछिको संशोधनवादको नेतृत्व प्रचण्डले गर्न खोजिरहेका छन्। मार्क्सवादको विकास र रक्षाको सट्टा संसदवाद र संशोधनवादमा लगेर आन्दोलनको विसर्जन गर्ने चेष्टा गर्दैछन् । आर्थिक समृद्धि र विकासको हवाला दिँदै माओवादी आन्दोलनलाई भित्रैवाट तुहाउने प्रयत्न गर्दैछन् । संसदवाटै समाजवादी यात्रा सम्भव छ भनेर कुतर्क गर्दै दस बर्षे लामो जनयुद्ध, सहिद, घाइते र योद्धाहरुको मजाक उडाउँदैछन्। सारमा प्रचण्ड केशरजंग रायमाझी पथमा अगाडि बढिरहेछन्।

प्रचण्डले जे गरेपनि क्रान्ति नै हुन्छ भन्ने मनोविज्ञान हावी भएका उनका भक्तहरूले त झन बहस गर्ने कुरै भएन । विगतमा माओवादी पार्टीभित्र प्रचण्डको देवत्वकरण गर्ने यस्तो होड चल्यो कि जसले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र आलोचनात्मक चेतलाई नै निस्तेज बनाईदियो । नत्र आज चर्को बहस हुनुपर्ने यो मोडमा यति विघ्न सन्नाटा कदापि हुने थिएन ।

के त्यसो भए नेपाली कम्युनिस्ट आन्दोलन पुर्णरुपमा विसर्जन भएकै हो त ? होइन । बाँकी रहेका केही झिल्काहरु जोडिने हो भने फेरि उठ्न सम्भव छ। क्रान्तिकारी मगजहरु जोडसँग हल्लाएर मार्क्सवादलाई परिस्कृत ढंगबाट विकास र रक्षा गर्दै अगाडि बढ्ने हो भने अझैपनि क्रान्ति र समाजवादी यात्रा सम्भव छ। हो, हामी यहीँ नेर चुकेका छौँ ।

मार्क्सको पालामा मानव श्रममा आधारित अौधोगिक पुँजीवाद थियो । तर, एक्काइसौं शताब्दीको यो युगमा मानव श्रम, पुँजी र मेसिनलाई विस्थापित गरेर विज्ञान प्रविधिले उत्पादक शक्तिको स्थान ओगटेको छ। उत्पादक शक्ति नै फेरिएपछि अवश्य पनि क्रान्तिको मोडेल, रणनीति, कार्यनीति र संस्कृतिमा बदलाव आउँछ र आउनुपर्छ । अब मार्क्सवादलाई आइन्सटाइनको सापेक्षतावाद, क्वान्टम सिद्धान्त र सूचना प्रविधिको विकाससँग जोडेर नवीन व्याख्या गर्नु जरुरी छ। र मार्क्सवादको यही परिस्कृत रुपलाई समाजवादी यात्राको मार्गप्रसस्थ गर्न प्रयोग गर्नुपर्दछ। यो विषयलाई अझ गम्भीर रुपमा बहस गर्न जरुरी छ ।

प्रचण्डले बाटो विराए। नेतृत्वले बाटो बिरायो । माओवादी आन्दोलनले बाटो बिरायो । तर, यदि साँच्चै विगतवाट पाठ सिक्दै परिस्कृत मार्क्सवादी धारामा लामवद्द हुँदै फेरि समाजवादी यात्राका लागि जुरुक्क उठ्ने हो भने क्रान्तिकारी युवाहरुको लागि असम्भव केही छैन । बरु एकपटक क्रान्तिकारीहरुले इमानदारीपुर्वक सोँचिदिए पुग्छ – ‘सती जाने’ वा ‘नयाँ ढंगबाट माओवादी आन्दोलनको उठान गर्ने ?’

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]