Dabali News

नेपाली फुटबलका लागि भोलि ऐतिहासिक दिन हुने

२६ भदौ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार नेपालका लागि ऐतिहासिक दिन हुने बताएका छन् ।

नेपालले साफ च्याम्पियनसिप २०१८ को पहिलो सेमिफाइनलमा बुधबार माल्दिभ्सको सामना गर्दैछ । ‘अहिले नेपाली टिम लयमा रहेको छ ।

अब हामी माल्दिभ्सलाई हराएर पहिलो पटक फाइनल पुग्नेमा आत्मविश्वासी छौं । टिममा कुनै पनि प्रकारको समस्या छैन र सबै खेलाडी शतप्रतिशत योगदान दिन तयार छन्,’ मंगलबार ढाकाको बंगलादेश फुटबल फेडेरेसनमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले भने । नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथोपटक हो । सार्क गोल्डकप सहित यो पाँचौं सेमिफाइनल हुनेछ । तर अहिलेसम्म नेपाल फाइनलमा पुग्न सकेको छैन ।

नेपाल र माल्दिभ्स फुटवलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन् । सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भएको छ । जसमा नेपाल ४ खेलमा विजयी छ । यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ । साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन । साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको छ । ‘पुरानो इतिहास धेरै नहेरौं, पछिल्लो समय हामी माल्दिभ्समाथि हाबी रहेका छौं । त्यसैले यसपल्ट पनि विजयी रहने विश्वास छ,’ प्रशिक्षक महर्जनले भने ।

नेपालले २ वर्ष अगाडि भएको बंगबन्धु कपको सेमिफाइनलमा माल्दिभ्सलाई ४-१ ले हराएको थियो । त्यस खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटवलको सेमिफाइनलमा माल्दिभ्सलाई नै हराएको थियो । ‘अब हामी सेमिफाइनल जितको ह्याट्रिक गर्न चाहन्छौं,’ उनले भने । सेमिफाइनल खेल अगाडि आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान विराज महर्जनले सबै खेलाडी माल्दिभ्सलाई हराउनेमा आत्मविश्वासी रहेको बताए ।

उनले भने, ‘हामी आत्मविश्वासी छौं । तर यो चाहिने भन्दा बढी चाहिँ आत्मविश्वासी छैनौं । मैदानमै मेहनत गरेर जित निकाल्ने छौं ।’ त्यसअवरमा प्रशिक्षक महर्जनले सेमिफाइनलको लागि नेपाली फुटवललाई माया गर्ने सबैको शुभेच्छा चाहिएको बताए । उनले भने, ‘भोलिको खेलमा बंगबन्धु रंगशालामै आएर नेपालीहरुले हाम्रो टिमको समर्थन गर्ने विश्वास गरेका छौं । यस्तै बंगलादेशी फुटबल फ्यानले पनि हामीलाई नै सपोर्ट गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’

नेपालले खेलेका तीन खेलमा ढाकामा रहेका विद्यार्थीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । नेपाल र माल्दिभ्सबीच अहिलेसम्म ढाकामा चार खेल भएकोमा दुवै टिम १-१ मा विजयी रहेको छ ।
अर्को २ खेल बराबरीमा टुंगिएको छ । नेपालले सेमिफाइनलमा पुग्न अगाडि लिग चरणमा भुटान र बंगलादेशलाई हराएको थियो । नेपाल पाकिस्तानविरुद्ध भने पराजित रहेको थियो । अर्को तर्फ माल्दिभ्सले लिग चरणमा कुनै खेल जित्न सकेको थिएन ।

अहिलेसम्म गोल पनि गर्न सकेको छैन । यसको ठिक उल्टो नेपालले लिग चरणमा ७ गोल गरेको थियो । नेपाली फुटबल इतिहासमै कुनै पनि प्रतियोगिताको लिग चरणमा गरेको सबै भन्दा बढी गोल हो ।
नेपाल र माल्दिभ्सबीचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार ३ः४५ मिनेटमा हुनेछ । अर्को सेमिफाइनल नेपाली समयअनुसार पौने ७ बजे भारत र पाकिस्तानबीच हुनेछ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]