Dabali News

प्रचण्डको नयाँ डेरा पनि विवादित व्यक्तिको घरमा !

२ पुस

काठमाडौँ । शान्तिप्रक्रियासँगै काठमाडौँ बसाईको सुरुदेखि तत्कालिन नेकपा माओवादीको अध्यक्ष प्रचण्डको जीवनशैली निकै विवादित बन्‍यो । रोल्पा, रुकुममा जनताको झुपडीबाट आएको एउटा क्रान्तिकारी नेताको जीवनशैलीबाट केही सिक्ने अपेक्षा गरेकाहरु निरास भए ।

माओवादीको राजनीतिक उचाइँलाई व्यक्तिसँग जोडेर बद्नाम गर्न बाटो कुरेर बसेका ठूलो भनिएको मिडियाको लागि निकै मशला बन्यो प्रचण्डको जीवनशैली । प्रधानमन्त्रीमा निर्वाचित भएर बालुवाटारको गेटमा पुग्न नपाउँदै १ लाखको खाट भन्दै मिडियाले व्यानर न्यूज बनाए । मिडियाले राजनीति गरेको कुरा प्रचण्ड र माओवादी नेताहरुले बुझ्न सकेनन् । प्रतिवाद गर्न नसक्दा प्रचण्ड प्रधानमन्त्री हुँदा समेत मिडियाले लखेटि नै राखे । मिडियाले युद्ध नीतिअनुसार नै प्रचण्डलाई लखेटेका थिए । त्यतिबेला केही नेताहरु खुशी समेत भए तर माओवादी अान्दोलनमाथि विरोधीले मिडियालाई हतियार बनाएको माओवादी नेताहरुले अनुभूत गर्न सकेनन् । माओवादी अान्दोलनको अहिलेको अवस्था त्यसैको परिणाम हो ।

यसमा दुबैको दोष छ । प्रचण्डबाट जुन जीवनशैलीको जनताले अपेक्षा गरेका थिए त्यो नभएपछि मिडियाले त्यही भावनामा खेले । तर मसला चाहीँ प्रचण्ड वा माओवादी नेताहारुले दिएका हुन् ।

प्रचण्डको व्यक्तिगत जीवनसँग जोडेर माओवादी अान्दोलनमाथि प्रहार गरिएको अर्को घटना हो, लाजिमपाट निवास । त्यतिवेला त्यत्रो घरमा प्रचण्ड बसेको माओवादी कार्यकर्ता र समर्थक तथा शुभचिन्तकलाई मन गरेको थिएन् । त्यो भावनालाई मिडियाले मसला बनायो । मिडियाले नै प्रचण्डले करोडौमा घर किनेको भनिदिएपछि माओवादी कार्यकर्तादेखि जनता आक्रोसित भए । पार्टीका हरेजक जसो बैठकहरुमा लाजिमपाट निवासको अालोचना हुन्थ्यो । धेरै पटक छोड्ने वचन दिएपनि माओवादी टुक्राटुक्रा भएर एमालेसँग हात मिलाएपछि मात्रै प्रचण्डले लाजिमपाट छोडे । माओवादी अान्दोलनलाई तितरवितर बनाउन अाफ्नो मिसनमा   विरोधी मिडियाहरु सफल भए ।

प्रचण्डको नयाँ डेर पनि विवादित हुने भएको छ । चुनावको माहौलमा भुलेका मिडियाले नयाँ सरकार बन्न लागेसँगै यसलाई मसला बनाउन सक्छन् । मंसिरको अन्तिम दिनबाट प्रचण्ड विवादित ठेकेदारको घरमा डेरा सरेका छन् । फाइदाको लागि राजावादी, धेरै काँग्रेसी नेताहरुका ढोकाढोकामा पुगेका ठेकेदार शारदाप्रसाद अधिकारीले प्रचण्डलाई आफ्नो घर उपलब्ध गराएका छन् । उनी माओवादी केन्द्रको समानुपातिक सूचीमा नाम पार्न समेत सफल पनि भएका छन् ।

प्रवक्ता पम्फा भुसालसँग लामो चिनजान भएका अधिकारीले आफूलाई समानुपातिकमा पार्न धेरै प्रभावमा पारेको माओवादी केन्द्रका नेताहरु नै बताउछन् । भुसालमार्फत प्रचण्डसम्म पुगेका अधिकारीले चुनावी खर्चको पनि व्यवस्था गरेको माओवादी केन्द्र ललितपुरका एक नेता बताउँछन् ।

प्रचण्डसँग अधिकारीको चिनजानसँगै गोप्य भेटघाटको व्यवस्थापनमा विवादित व्यापारी अजय सुमार्गीको सिण्डिकेट तोडिएको छ । अब प्रचण्डको गोप्य भेटघाटको जिम्मा दुबै जनाले लिने देखिएको छ । एमालेसँगको चुनावी तालमेलको लागि भएको गोप्य भेटवार्ता अधिकारीले अाफ्नै घरमा व्यवस्थापन गरेपछि  सुमार्गी चिढिएका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको पछिल्लो भेटवार्ताको व्यवस्थापन फेरि सुमार्गीले नै जिम्मा पाएका थिए । अधिकारी सांसद हुन सफल भएभने सुमार्गीभन्दा बलियो बन्ने देखिएको छ ।

ठेकेदार अधिकारीले चुनावी तालमेलको लागि मानभवनमा रहेको अाफ्नै घरमा दुबै पार्टीका नेताहरुलाई छलफलको व्यवस्थापन गरेका थिए । अधिकारीकै घरमा एमाले र माकेको चुनावी तालमेल भएको थियो ।

शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका मालिक रहेका अधिकारीले काम समयमा नगर्नेदेखि, मजदूर–कामदारलाई पारिश्रमिक नदिएको गुनासो पहिलेदेखि नै आएको थियो । निर्माण बजेट लिएर उनले धेरै कामहरु समयमा सम्पन्‍न नगरेको भन्दै केही ठाउँमा उजुरी समेत परेका छन् ।

रगत र पसिना बगाएका यति धेरै नेताहरु हुँदाहुँदै पनि एउटा विवादित व्यक्तिलाई माओवादी केन्द्रले समानुपातिक सूचीमा राखेको छ । जुन पार्टीभित्रै विरोध भइरहेको छ । प्रतिनिधि सभाको समानुपातिक बन्दसूचीको ३३ नम्बरमा अधिकारीको नाम छ तर उक्त नाम विवादित ठेकेदार अधिकारीकै हो वा अरु कसैको हो भन्‍ने कुरा माओवादी केन्द्रले केही बताएको  छैन ।

विवादित छविका ठेकेदारको घरमा प्रचण्डले डेरा बनाउनु हुँदैन थियो । निर्माण कार्य राम्रोसँग पूरा नगरेर र मजदूरलाई पारिश्रमिक नदिएर बनाएको घरमा डेरा बनाउनु भन्दा पहिलो प्रचण्डले एक पटक सोँच्नु पर्ने थियो । हुन त प्रचण्डलाई नेताहरुले विवादित अधिकारीलाई राम्रो व्यक्ति भनेका थिए पनि होलान् ।

अधिकारीका केही विवादित फाइलहरु अनलाइन डबलीसँग आइपुगेका छन् । प्रचण्डको अाडमा संसदमा पुग्‍ने र ठेक्कापट्टामा एकलौटी गर्ने उद्देश्य बोकेका अधिकारीका गलत कार्यको पर्दाफास गर्ने नै छौं ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]