Dabali News

‘गुलेली बाजे’ कै पहलमा शुरु भएको डल्फिन संरक्षण, अहिले विश्वकै लागि आकर्षणको विषय

२१ भदौ

कैलाली । डल्फिनको माध्यमले प्रदेशको पर्यटन प्रवद्र्धन गर्न जिल्ला समन्वय समिति कैलालीको संयोजन तथा टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको आयोजनामा एकदिने डल्फिन उत्सव गरिएको छ ।

उत्सवको संघीय सरकारका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उदघाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले डल्फिन क्षेत्र विश्वकै लागि आकर्षणको विषय बन्न सक्ने बताए ।

‘विश्वमै दुर्लभ मानिने डल्फिन कैलालीका नदीमा पाइनु राष्ट्रकै लागि चासोको विषय बनेको छ’, मन्त्री अधिकारीले भने, यसको संरक्षणका लागि पहल गर्ने छु । मन्त्री अधिकारीले प्रदेश नं.७ पर्यटकीय क्षेत्रको विकासका लागि बृहत योजना बनाएर काम गर्ने आश्वासन दिए । उनले भने, प्रदेशका पर्यटकीय क्षेत्र खप्तड, रामारोशन, बडीमालिका, डल्फिन क्षेत्रलगायत पर्यटकीय योजना बनाएर प्रवद्र्धन गर्न सरकार लागि परेको छ ।’ त्यहाँको पर्यटकीय विकासका लागि हवाई सेवा सहज रूपमा सञ्चालनको प्रयाससमेत भइरहेको मन्त्री अधिकारीको भनाई थियो । कैलाली भ्रमण वर्ष २०७५ मनाइरहेको जिल्ला समन्वय समिति कैलालीले डल्फिनको प्रवद्र्धन र डल्फिन क्षेत्रको अवलोकन गर्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।

‘कैलाली भ्रमण वर्षकै रूपमा डल्फिन उत्सव आयोजना गरिएको हो’, जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले भने, ’कैलालीमा पर्यटक भित्रयाउन महत्वपूर्ण कार्यक्रम हुने छ ।’ वर्षायाममा नदीमा पानीको सतह बढ्दै गएपछि भारतको घाँघरा नदीबाट सुरक्षित बासस्थानको खोजीमा डल्फिन नेपालका नदीहरूमा आउछन् । पानीको सतह घट्दै जाँदा फेरि घाँघरा नदीमै फर्किने डल्फिन विशेषतः असार, साउन, भदौ, असोज महिनामा कैलालीको मोहना, पथरैया र काँडा नदीमा देखा पर्छन् । डल्फिन संरक्षण उपकेन्द्र टीकापुर नगरपालिका ७ ढुंगाना टोलका अध्यक्ष भोजराज ढुंगानाले डल्फिन क्षेत्रमा दिन प्रतिदिन पर्यटक आउने गरेको बताए ।

नेपालको एक मात्र स्थानमा पाइने, सजिलै नजिकैबाट डल्फिन देख्न सकिने हुँदा पर्यटकका लागि डल्फिन आकर्षणको केन्द्र बनेको हो । ‘चार महिनासम्म नदीछेउमा बसेर मज्जाले डल्फिन हेर्न पाइने भएकाले पनि पर्यटकहरूले चासो दिइरहनु भएको छ’, उनले भने । ‘केही वर्ष पहिलेसम्म केही विदेशी पर्यटक आउने गरेको भए पनि पछिल्लो समय आन्तरिक पर्यटकसमेत थुप्रै आइरहनु भएको छ ।’

भारतीय सीमा भएर बग्ने मोहना र पथरैया नदीको दोभान, काँडा र पथरैया नदीको दोभान तथा पथरैया र गैरीनालाको दोभानमा डल्फिनहरू सजिलै देख्न सकिन्छ । संरक्षणकर्मी विजयराज श्रेष्ठका अनुसार डल्फिन बच्चा हुर्काउने सयममा ती नदीहरूमा देखा पर्ने गर्छन् । बच्चा डल्फिनहरू बढी देखिने गरेको उल्लेख गर्दै श्रेष्ठले भने, ’डल्फिन यहाँ आउँदा बच्चा धेरै हुने र जाँदा वयस्क भएर जाने गरेको हामीले पाएका छौं ।’ स्वच्छ पानी, कम गहिरो नदी, र पर्याप्त खेल्ने वातावरण भएको हुँदा डल्फिन बच्चा पाउन र हुर्काउन यहाँ आउने गरेको उनले बताए । ती नदीमा सामूहिक रूपमा डल्फिनहरू देख्न सकिन्छ ।

विश्वबाटै दुलर्भ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि स्थानीयहरू जुट्दै आएका छन् । स्थानीय भोजराज श्रेष्ठ ‘गुलेली बाजे’ ले डल्फिनका बारेमा स्थानीयलाई सचेत गराउन सुरु गरे । भारतीय नागरिकले जाल हानेर मार्दै आएका डल्फिनबारे गुलेली बाजेलाई एक जना अमेरिकी नागरिकले सुनाएपछि उनी संरक्षणका लागि कस्सिएका हुन् । अहिले स्थानीयकै पहलमा विभिन्न १४ स्थानमा डल्फिन संरक्षण उपकेन्द्र स्थापना भएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]