Dabali News

वामपन्थी बुद्धिजीवीलाई जेल हालेर नेपाल आए मोदी

१५ भदौ

काठमाडौँ । भारतका चर्चित बुद्धिजीबी, लेखक र पत्रकारमाथि सरकारले धरपकड गरेको छ । सामाजिक अभियान्ताका रुपमा रहेका पाँच जना बुद्धिजीबीलाई अगस्त २८ मा प्रहरीले गिरफ्तार गर्यो । प्रहरीले भारतका विभिन्न स्थानबाट कवि बरबरा राब, वकिल एवं सामाजिक अभियन्ता सुधा भारद्वाज, अधिकारकर्मी तथा वकिल अरुण फरेरा, पत्रकार गौतम नवलखा र लेखक वरनान गोन्जाल्विसलाई गिरफ्तार गर्यो । उनीहरु सबै वामपन्थी बुद्धिजीबीको रुपमा भारतमा स्थापित छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठाडो निर्देशनमा उनीहरुलाई गिरफ्तार गरिएको भारतीय र नेपाली संचारमाध्यम तथा सामाजिक अभियान्ताहरुले बताएका छन् । मोदीको आदेशमा प्रहरीले गिरफ्तार गर्यो तर भारतीय सर्वोच्च अदालतले उनीहरुमाथि लगाइएको आरोप पुष्टि नभएसम्म गिरफ्तार गर्न रोक लगायो र नजरवन्दमा मात्रै राख्न आदेश दिएको छ । उनीहरुमाथि लगाइएको आरोपको सुनुवाई नभएसम्म नजरबन्दमा मात्र राख्न अदालतको आदेशसँगै घरमा प्रहरीले पहरा दिएका छन् । वाम बुद्धिजीवीलाई गिरफ्तार गर्न थालेपछि इतिहासकार रोमिला थापर, प्रभात पटनायक, सतीन देशपाण्डे, देवकी जैन र माया दारुवालाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
भारतीय सरकार तथा मोदी सन् १०७५ मा फर्केको चर्चा र बहस भइरहेको छ । त्यतिबेला प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल घोषणा गर्दै नागरिक अधिकार निलम्बित गरेकी थिइन् । विपक्षी नेता र पत्रकारलाई समेत जेल हालिएको त्यो समयको झल्को दिएको छ । अहिले पनि लेखक, पत्रकार, वकिललाई गिरफ्तार गर्न लगाइएको छ । कारण अरु केही नभएर भारतीय सरकारले गरिबप्रति देखाएको लगत रबैयाको विरेध मात्रै । लोकतान्त्रिको व्यख्या गरेर केहिलै नथाक्ने भारतीय शासकहरुको पछिल्लो रबैयाले नियत छर्लङ पारेको छ ।

प्रहरीले गिरफ्तार गरिएका ७८ वर्षीय वरवर राव एक सम्मानित लेखक हुन् । उनी वामपन्थी विचारमा आस्था राख्छन् । आदिवासी र गरिवको पक्षमा बोल्दै र लेख्दै आएका थिए । नजरवन्दमा राखिएकी सुधा भारद्वाज अमेरिकी नागरिकता त्यागेर भारत फर्केकी हुन् । अमेरिकामै जन्मेकी र हुर्केकी ५६ वर्षीया सुधा एक विश्वविद्यालयमा कानुनकी प्राध्यापन गर्छन् । उनी छत्तीसगढका जनताको अधिकारको पक्षमा बोल्दै र लेख्दै आएकी छन् । उनले आदिवासी अधिकार र भूमी अधिग्रहण सम्बन्धी एक सेमिनारमा सहभागिता जनाएकी थिइन् । छत्तीसगढमा ३० वर्षदेखि गरिबका लागि काम गर्दै आएकी सुधा न्यायका लागि लडिरहेका कयौं मानिसको विश्वास हुन् । सन् २०१५ मा एक पत्रकारसँग सुधाले आफू धेरैजनाको दुश्मन बन्ने तर पनि संघर्ष जारी राख्ने थिइन् ।

त्यसैगरी गौतम नवलखा नागरिक अधिकारको क्षेत्रमा कार्यरत छन् । उनी एक प्रसिद्ध अंग्रेजी पत्रिकाको सम्पादकीय बोर्डको सदस्यसमेत रहिसकेका छन् । अरुण फरेरा र वरनान गोन्जाल्विस मुम्बई निवासी हुन् । गत मार्चमा यी दुई मिलेर समाचार वेबसाइट, द वायरका लागि एक लेख लेखेका थिए जसमा उनीहरुले भारत सरकारको विवादास्पद कानुनको आलोचना गरेका छन् ।

केही समय पहिलेबाटै भारत सरकारले बौद्धिक व्यक्तित्वलाई माओवादीसँग जोडेर मानसिक तथा शारिरीक यातना दिँदै आएको थियो । भीमा कोरे गाउँमा दलितहरूमाथि भएको दमन र त्यसविरुद्धको प्रतिरोधसँग जोडेर सामाजिक कार्यकर्ता–पत्रकार, वकिल, मानवअधिकारीवादीलाई गिरफ्तार गरेको घटना सेलाउन नपाउँदै यो अर्को धरपकड तथा गिरफ्तारी गरिएको हो ।

भारतीय प्रगतिशील अनलाइन ‘जनज्वार’ का अनुसार आज २८ अगस्त बिहान ४ बजे एकै समयमा दिल्ली, महाराष्ट्र, आन्ध्र र झारखण्डका बुद्धिजीवीहरूको निवासमा छामा मारिएको थियो । केही महिनाअघि झारखण्डको पत्थलगढीमा भएको नरसंहारको घटनालाई उजागर गर्न सक्रिय बुद्धिजीवी स्टेन स्वामीको घरमा छामा मारेर पुलिसले घरमा भएका कम्प्युटर, ल्यापटप, सिडीहरूका साथै थुप्रै पुस्तकहरू कब्जा गर्नुका साथै र उनीसित महाराष्ट्रका विभिन्न सङ्गठनहरूसितको सम्बन्धका बारेमा सोधपुछ गरेको थियो ।

त्यसैगरी पहिले नै भीमाकोरे गाउँ घटनासित सम्बद्ध भनेर पक्राउ गरिएका अरूण फरेराको पुणेस्थित घरमा छापा मारेर थुप्रै कागपत्रहरू पुणे प्रहरीले कब्जामा दिएको थियो । त्यस्तै शिक्षक, वकिल, मानवअधिकारवादी सुसान अब्राहम, सुधा भारद्वाज र बेरन गोन्जाविल्सको मुम्बईस्थित आवासमा छापा मारियो ।

त्यसै गरी सामाजिक कार्यकर्ता गौतम नवलखाको दिल्ली निवास तथा आइटी प्रोफेसर आनन्द तेलतुब्डेको निवास गोवामा पनि पुलिसद्वारा छापा मारियो । यसका साथै माओवादी विचारक बरबर रावसँगै छोरी अनाला र पत्रकार कुरमनातको आन्ध्रस्थित घरमा पनि त्यही समयमा प्रहरीले छापा मारेर कागजातहरू कब्जामा लियो ।

चरम जातीवादी मोदी सरकारले गत डिसेम्बरमा महाराष्ट्रमा भएको ठूलो र्यालीमा दलितहरुलाई उक्साएको आरोप लगाएको छ । उक्त झडपमा एक जनाको ज्यानसमेत गएको थियो । बीबीसी सम्वाददता विनीत खरेसँग एक वरिष्ठ प्रहरी अधिकारीले यी वुद्धिजिवीहरुले उक्साएकै कारण हिंसा भयो र माओवादी गतिविधिका हिस्सा भएको बताएका थिए ।

अहिले पनि भारतमा ब्रिटिशको पालाको कानुन लागु छ । यसले अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई कुण्ठित बनाइदिएको छ । भारतीय सरकारले विद्यार्थी, पत्रकार, वुद्धिजिवी, सामाजिक कार्यकर्ताहरु र सरकारको आलोचकहरुलाई औपनिवेशिक पालाको देशद्रोहको कानुन लागु गराउँदै आइएको छ । भारत सरकार प्राय कानुनी राज्य स्थापित गर्ने काममा कमजोर सावित हुँदै आएको छ । तर, सरकारविरुद्ध आवाज उठाउनेहरुप्रति उ सधैं कठोर बन्दै आएको छ ।

के हो ? कोरेगाउँ घटना

भारतमा दलित समुदायले सन् १८१८को ऐतिहासिक घटनासित जोडेर हरेक वर्ष महाराष्ट्रको भीमा कोरेगाउँ भन्ने ठाउँमा विशेष कार्यक्रम गर्ने गरेका छन् । यसपल्ट पनि एल्गर परिषदले सो कार्यक्रमको आयोजना गर्यो । तर, हिन्दूवादी सङ्गठनले सो कार्यक्रम हुन नदिने र भएमा भाँड्ने भनेपछि घटनाले हिंसात्मक रूप लियो । दलित युवाहरूको हत्या भयो र अल्पसङ्ख्यकका घर र पसलहरू लुटिए । घटनाले निकै उग्र रूप लियो । सरकारले यसलाई माओवादीहरूको घुसपैठको आरोप पनि लगायो ।

यसै क्रममा यही जुनमा पत्रकार, मानवअधिकारवादी, वकिलसमेत गरी ५ जना सामाजिक कार्यकर्ताहरूलाई सो घटनासित सम्बद्ध अभियोग लगाएर सरकारले पक्राउ गर्यो । यसमा पत्रकार तथा मानवअधिकारकर्मी रोना विल्सन पनि छन् । उनी आदिवासी क्षेत्रसित सम्बद्ध अध्येता पनि हुन् । सरकारले पक्राउका क्रममा महत्वपूर्ण कागजात हात पारेको र पक्राउ परेका एकजनाको ल्यापटपमा राजीव गान्धी शैलीमा मोदीको हत्या गर्न माओवादीले लेखेको चिठी फेला परेको भनेर समाचार बाहिर ल्यायो । र ५ जनालाई माओवादी सम्बद्ध ‘सहरी नक्सल’ भनेर प्रचार गर्यो र त्यसैअनुसारको अभियोग लगायो ।

सो कलाहीन नाटकको परिपञ्चको बौद्धिक तथा मानवअधिकारवादी क्षेत्र साथै राजनीतिक वृत्तबाटसमेत व्यापक आलोचना र निन्दा भयो । जनताका सामु आफ्नो खस्कदो स्थितिमाथि पर्दा हाल्न, जनतालाई आतङ्कमा राखेर सरकारका गलत क्रियाकलापबारे बोल्न नदिन र बोलेमा दमन गर्न गरिएको आयोजना भनेर यसको चोतर्फी निन्दा भयो । मोदी सरकारले विदेशी बहुराष्ट्रिय कम्पनीको स्वार्थमा यसो गरिरहेको छ र यसको सम्बन्ध आगामी चुनावसित पनि गाँसिएको छ भनेर पत्रपत्रिकाले समाचार बनाए । अरू त अरू काङ्ग्रस आइले समेत मोदीको नाटकले लोकतन्त्रकै उपहास गर्यो भनेर धारणा व्यक्त गर्यो ।

यस्तो नाटक

मोली सरकारले वाम आन्दोलनलाई कसरी निमिट्यन्न पार्ने भन्ने अभियानमा लागेको छ । सबैतिर धरपकड जारी राखेको छ । ‘अप्रेसन ग्रिनहन्ट’को दोस्रो चरण ‘माओवादी सखाप अभियान’ चलायो र माओवादीलाई गाउँमा पालनपोषण गर्ने आदिवासी गाउँलेहरू हुन् भन्दै गाउँलेमाथि दमन गरेर सेल्टरविहिन बनाउने नाममा ग्रामीण क्षेत्रमा दमन तीव्र बनायो । गाडचिरोली र पत्थरगढीमा भएका पछिल्लो नरसंहार यसैको उदाहरण थियो । त्यहाँ भएका दमन र नरसंहारमाथि सहरी पत्रकार र बुद्धिजीवीहरू केही नबोलून भनेर मोदी सरकारले अहिले सहरमा नयाँ शृङ्खला आरम्भ गरेको छ । यही अगस्त २८ का दिन भारतव्यापी भएको छापामारी तथा धरपकडको काम यसैको पछिल्लो शृङ्खला थियो ।

पहिले ‘मोदीको हत्याको जिम्मा सहरी नक्सलवादीलाई दिएको र अमुमअमुक बुद्धिजीवीले यसको जिम्मा लिएको’ भनिएको थियो भने अहिले मोदी, अमित साह र राजनाथको समेत नाम जोडेर माओवादीले तीन जनाको हत्याको योजना बनाएको र यसमा अमुकअमुकलाई जिम्मा दिएको भन्ने अर्को नाटक गरेको छ । जो बुद्धिजीवीले मोदीको शासनसत्ता र राज्यआतङ्कको आलोचना गरेका छन्, सरकारले ती सबैलाई ‘सहरी नक्सल’ र मोदीको हत्याको योजनाकार बनाएर जेल पठाउन खोजेको छ । पहिले नै प्राध्यापक साइबाबा तथा सांस्कृतिककर्मी हेम मिश्रा लगायत४ जना आजीवन कारावासमा छन् ।

बिमस्टेक सम्मेलनमा सहभागी हुने नेपाल आउँनै लाग्दा वामपन्थीमाथिको धरपकडलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । नेपालको सत्ता पक्षलाई देखाउन मोदीले भारतका वामपन्थी बुद्धिजीवीमाथि धरपकड गरिएको विश्लेषण भएको छ ।

  • जनमेल अनलाइन र हिन्दी बीबीसीको सहयोगमा
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]