Dabali News

‘लिमी महोत्सव’ को तयारी पूरा, चिनियाँ प्रतिनिधीसँग वार्ता गर्छौं

नम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामा

कर्णाली प्रदेशको हुम्ला जिल्लाको पनि निकै दुर्गम नाम्खा गाउँपालिकामा आउँदो सेप्टेम्बर महिनाको ४ र ५ तारिख गरेर हुनै लागेको ‘लिमी’ महोत्सब हुन लागेको छ । उक्त महोत्सवमा चीन सरकारको प्रतिनिधिमण्डल पनि आउने भएको छ । त्यसको तयारीबारे गाउँपालिका अध्यक्ष विष्णु लामासँग अनलाइन डबलीको लागि धनन्जय बुढालेले कुराकानी गरेका छन् ।

महोत्सवको तयारी कहाँ पुग्यो ?

अबको १० दिनपछि हुने महोत्सबको लगभग ९० प्रतिशत जति तयारी पूरा भएको छ । अहिले म काठमाडौंमा छु । भोलि महोत्सब स्थलको लागि प्रस्थान गर्छु, सायद त्यहाँ पुग्न मलाई एक हप्ता वा कम्तिमा पनि ३ या ४ दिन लाग्न सक्छ । म लिमी पुग्ने वित्तिकै सबै तयारी पूरा हुन्छ ।

यो महोत्सबको गर्नुको मुल उद्देश्य के हो ?

पहिलो कुरा त हुम्ला नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु मध्येमा एक हो भनेर देश विदेशमा प्रचारप्रसार गर्न जरुरी भएको छ । दोश्रो कुरा त्यहाँको पुरानो कला र संस्कृतिको जगेर्ना गर्न । तेस्रो क्रसबोर्डर व्यापर छलफल यस महोत्सबको मूल उद्देश्य हो ।

हुम्लालाई पर्यटकीय महत्वपूर्ण गन्तव्यका रुपमा स्थापित गर्न भन्नु भयो केके छन् त्यहाँ ?

मुल त हुम्ला कैलाश मानसरोबरको ‘गेटवोए’ अर्थात प्रवेशद्वार हो । यसलाई राम्रोसँग प्रवर्धन गर्ने हो भने हुम्लालाई मात्रै नभई कर्णाली प्रदेशलाई नै टेवा पुग्छ भन्ने हो । त्यस्तै हुम्ला जिल्लाभरी अनेकौं पर्याटकीय स्थलहरु छन् तिनको सम्वर्धन तथा प्रवर्धन गर्न हमी लागि परेका छौँ, त्यसेको महत्वपूर्ण कडिका रुपमा यो लिमी महोत्सवलाई मान्नुपर्छ । अहिलेलाई नाम्खाभित्र र यसको विषयमा कुरा गर्दा नेपालभित्रैबाट अर्थात लिमी लाप्चाको सिमानामा बसेर पारिपट्टि कैलाश मानसरोबरको दर्शन गर्न सकिन्छ । सबैले भिषा र टिकेट अनि अन्य खर्च नगरी कैलाश मानसरोवरको दर्शन गर्न पाउँछन् ।

त्यसैगरी संसारमै लोपोन्मुख वनचौरी, नेपालको अन्य कुनैपनि ठाउँमा नपाईने ४/५ किसिमका चराचुरुङ्गिलगायतका मनोमोहक लिमी भ्याली, जसको ऐतिहसिक विशेषता बोकेको छ । चीन सरकारले ‘दिन दुई गुणा र रात चौ गुणा’ विकास गरिरहँदा उता तिब्बतबाट हराइरहेको तिब्बतियन संस्कृति रहनसहन मिमीमा पाइने भएकोले पनि यसको महत्व अझै बढेको छ, जसलाई हमीले जगेर्ना गर्ने योजना बनाउनु पर्छ ।

क्रस बोर्डर व्यापर बैठक भन्दै हुनुहुन्थ्यो त्यसबारे थप बताईदिनुस ?

हो, यो महोत्सबको अर्को महत्वपूर्ण पाटो हो भन्ने लाग्छ, किन भने क्रस बोर्डर मिटिङ हामीले राख्दैछौं, जुन चाइनको पुलान काउन्टिका करिब १२ जना प्रतिनिधीहरुसँग भेटघाट तथा बैठक गर्ने छौं । प्राचिन कालदेखि सुरु भएको तिब्बत र त्यो क्षेत्रका जनताबीचको नुन र अन्नको व्यापारले बनाएको सम्बन्धलाई आजको समयमा आइपुग्दा हामीले उच्च विज्ञान प्रविधिको व्यापारसम्म बिस्तार र विकास गर्न सक्नु पर्छ भन्ने हो ।

त्यस्तो वार्ता बैठक त केन्द्रिय स्तरमा हुनु पर्ने होला नि ?

हो, तपाईँको कुरा ठिक हो । केन्द्र सरकारले गर्नुपर्ने काम पनि छ, जस्तै भन्सार र क्वरेन्टाइनको व्यवस्था विना हामीले हाम्रो सामान निर्यात गर्न सक्दैनौं । त्यसको निम्ति पनि सरकारलाई झकझक्याउन पनि यो मिटिङले भुमिका खेल्ने छ भन्ने विश्वस लिएका छौं । यो स्थानीय स्तरमा छलफल गरेर केही उपाय निकाल्ने भन्ने नै हो । गत साल पनि हिल्सामा चिनियाँ प्रतिनिधीहरुसँग परिचयात्मक कार्यक्रम राखेका थियौँ । यो वार्ताले स्थानीय स्तरमा सम्बन्ध अझै विकास गर्ने विश्वाष लिएका छौं ।

केके बस्तु या सामाग्री निर्यात गर्ने र उताबाट के के कुरा आयतको सम्भावना छ ?

हिजोको दिनमा हामीले तिब्बतियनहरुलाई प्रशस्त मात्रामा अन्न दिने र हामीले त्यससँग नुन साट्ने गथ्र्यौ । तर, अहिले उता कृषि क्षेत्रमा उनिहरले अद्भुत विकास गरेकोले पहिलेजस्तो धेरै सम्भावना न भए पनि उनिहरु हामीलाई विविध क्षेत्रमा सहयोग गर्न चाहन्छन् । साथै हामीले नि हाम्रो ठाउँमा फल्ने आलु, फापर र जडिबुटी तथा फलफल उतातिर निर्यात गर्न भन्सार र क्वारेन्टाइन विना उनिहरुले नलिने हुँदा त्यसको स्थापना केन्द्र सरकारले जतिसक्दो छिटो गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

सिंहदरबारको अधिकार गाउँगाउँ आयो भन्दै चुनाव जित्नुभयो फेरि काठमाडौं किन धाईरहनु भएको छ ?

हो त्यो हाम्रो बाध्यता हो । देशमा नयाँ प्रणाली कार्यान्वयन भएको र त्यसको अभ्यास गर्न थालेको धेरै भएको छैन । राज्यले धेरै कामहरु विशेष गरेर भौतिक पूर्वाधर, जाशक्ती व्यवस्थापनलगायतका महत्वपूर्ण कार्यहरु गर्न अझै धेरै बाँकी भएकाले प्रदेश तथा केन्द्रिय राजधानीमा समेत हामीहरुले चाँजोपाँजो मिलाउन धाउनु पर्ने बाध्यता बनेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]