Dabali News

Ad

उज्जन श्रेष्ठबारे स्थलगत रिपोर्टः जेठी श्रीमती नै भन्छन्- गाउँमा महिलाहरु चाहार्दै हिँड्ने गर्थे

भुवनले लक्ष्मी श्रेष्ठसँग विवाह गरे । बिहे गरेको केही समयमै भुवन र लक्ष्मीबीच खटपट हुन थाल्यो । कारण थियो, भुवनको जीवनमा अर्की महिलाको आगमन । श्रीमान अर्की महिलासँग लागेका छन् भन्ने थाहा पाएपछि त्यसलाई रोक्ने प्रयत्नमा थिइन् लक्ष्मी । तर, उनको प्रयास सफल भएन ।

अवैधानिक रुपमा चल्दै गरेको सम्बन्धलाई भुवनले औपचारिक सम्बन्धमा बदले । घरमा दोस्री श्रीमतीको आगमन भयो । उनको नाम थियो पवित्रा पौडेल । पौडेल भुवनको यौनसम्बन्धमा फसेपछि बिहे गर्नुपर्ने बाध्यतामा परिन् ।

बुबाआमाले बिहे गराइदिएकी केटी मन नपरेपछि भुवनले दोस्रो बिहे गरेको उनकी दिदी सावित्रीको दाबी छ । कान्छी श्रीमतीका रुपमा भित्रिएकी पवित्राले जेठीलाई भन्दा आफूलाई पतिले धेरै माया गर्छन् भन्ने कुरालाई आत्मसाथ मात्रै के गर्न थालेकी थिइन, गाउँकी एउटी दलित महिलासँग भुवनको सम्बन्ध रहेको हल्ला चल्यो । त्यसअघि गाउँलेले ती महिलासँग भुवनको नाजायज सम्बन्ध रहेको चाल पाएको बताउँछन् ।

एक दिन दलित महिलाको कोखमा भुवनको वंश हुर्किरहेको भन्ने चर्चासँगै गाउँले र भुवनको परिवारबीच विवाद चुलियो । गाउँलेहरु ती दलित महिलाको जिम्मा भुवनले लिनुपर्छ भन्ने पक्षमा थिए । भुवनको परिवारले त्यसको प्रतिवाद ग¥यो । त्यस विषयमा भुवनको र टारकेरावारी गाविसका वडा अध्यक्ष रहेका गाउँका बुढापाकासँग उनको विवाद हात हालाहालसम्म पुग्यो । अन्ततः सम्पन्न श्रेष्ठ परिवारले केटीपक्षलाई केही रकम दिएर घटनालाई दबायो ।

स्थानीयको दाबी अनुसार दलित महिलासँगको विवाद टुगिंन नपाउँदै भुवनले अर्को चमत्कार गरे । काठमाडौंबाट महालक्ष्मी श्रेष्ठ भन्ने केटीलाई उनले श्रीमतीका रुपमा घरमा भित्राए । उनले त्यतिमात्र गरेनन, उनले जुन परिवारबाट पवित्रालाई भित्राएका थिए, त्यही परिवारकी कान्छी बहिनीलाई पनि कान्छी श्रीमतीका रुपमा भित्राए । रेनुकालाई भुवनले मिलमा कुटाउन पिसाउन आएको मौका छोपेर दपेटेको गाउँलेको आरोप छ ।

यी उतार—चढाबबाट भुवनको महिलाप्रतिको आशक्ति कस्तो थियो भन्ने बुझ्न गाह्रो हुँदैन । काठमाडौंबाट घर फर्किएलगत्तै आफ्ना माइला दाइ गणेशकुमारलाई विस्थापित गरी पानी घट्ट आफ्नो जिम्मामा लिएका भुवनले मिलमा कुटाउन पेलाउन आउने महिलासँग जिस्कने, मस्कने र नमाने बल प्रयोग गर्ने गरेको स्थानीयको आरोप छ । भुवन जुवातासका अब्बल खेलाडीसमेत थिए । भुवनको यस्तो तडक—भडक र गाउँमा माओवादीको बढ्दो प्रभाव एकापसमा विरोधाभाषपूर्ण बन्यो ।

गाउँलेहरुको बयान अनुसार माओवादीहरु गाउँमा जुवातास रोक्न चाहन्थे भुवन जुवातास खेल्ने अड्डा खडा गर्न चाहन्थे । माओवादीहरु गाउँमा महिला र दलित अधिकारका कुरा गर्दै हिँड्थे । भुवन गाउँमा महिलालाई बाख्रा र आफू बाघ भएको बोध गराउन चाहन्थे ।

भुवनकी जेठी श्रीमती लक्ष्मीले हामीसँग भनिन हाम्रो बिहे भएपछि समेत उनी गाउँमा महिलाहरु चाहार्दै हिँड्ने गर्थे । मैले त्यसो नगर्नुस् भन्दा मलाई नै पिट्न र गाली गर्न थाले । मिल आफूले चलाउन थालेदेखि त्यहाँ पुलिससँग उनको संगत बढ्न थाल्यो । यता माओवादीले तिम्रो बुढा सुराकी काम गर्छ, त्यसलाई गाउँमा नबस्नु भन्न थाले । मैले कति चोटि भनें तर, उनले मेरो कुरा सुनेनन् । आफ्नै खुट्टा ठाउँमा नभएपछि अरुलाई के भन्नु ?’

माओवादीले त्यसबीच भुवनलाई कैयौंपटक चेतावनी दिने र माफी मगाउने जस्ता कारवाही ग¥यो । तर, भुवन यसबाट डराएनन् । उनी गाउँबाट माओवादी निमिट्यान्न पार्ने अभियानमा लागे । उनी त्यसबेला प्रहरीको तलबी मान्छे रहेको माओवादीको बुझाइ थियो ।

त्यसबेला जिल्लामा डीएसपीका रुपमा सोलुका मिनमार लामा, प्रहरी इन्सपेक्टरका रुपमा सुनसरीका प्रदीप श्रेष्ठ र गाम्नाङ्ग प्रहरी चौकीमा खोटाङ्गका असई दुर्गाबहादुर राई कार्यरत थिए । भुवनको सम्बन्ध उनीहरुसँग रहेको गाउँले दाबी गर्छन् ।

माओवादी ‘जनअदालत’मा भुवनविरुद्ध लगातार बढ्दै गरेका उजुरीपछि माओवादीले उनलाई गाउँबाट अन्यत्रै पठाउन परिवारलाई दबाब दिन थाल्यो । परिवारका सदस्यसमेत उनलाई काठमाडौं जान सुझाइरहन्थे । तर, भुवन त्यो मान्न तयार थिएनन् । त्यसैबेला माओवादी ब्युरोले भुवनलाई सामान्य भौतिक कारवाही गर्ने योजना बनायो ।

‘सफाया गर्ने नभई सामान्य भौतिक कारवाही गर्ने तहसम्मको हाम्रो योजना थियो, त्यसैक्रममा साथीहरुले भरुवा बन्दुक पड्काएका हुन’ टारकेरावारीमा तत्कालीन समयमा पार्टीको काम गरेका माओवादी नेता गंगा कार्की विश्वले भने ।

९४ वर्षीय वृद्ध भन्छन् 

पूर्व वडा अध्यक्ष रहिसकेका टारकेरावारी–९ का ९४ वर्षीय भोजबहादुर खड्काको घर पुग्दा उनी भूकम्पले भत्काएको घर बनाउन व्यस्त थिए । घर बनाउँदा बनाउँदै आएको पानीले माटो बगाउँदै थियो, त्यसैको जतनमा लागेका थिए खड्का । उनै हजुरबासँग गरिएको कुराकानी उनकै शब्दमाः

घर हेरिहाल्नुभयो, भूकम्पले लडाएपछि बस्ने बास पनि नभएर बनाउन लागेको छु । यो घर टारकेरावारी- ९ मा पर्छ । पहिला यो गाविस गाम्नाङटार– १ मा पर्थ्यो । त्यसैताका हो म लाहुरबाट आएर गाउँमै केही गर्नुपर्छ भन्ने सोचले समाजको अर्मपर्म, जेनतेन गर्दागर्दै वडा अध्यक्षमा चुनिएँ ।

जीवन जिउने क्रममा म हिन्दुस्तानको लडाइँसम्म पुगेर फर्कें । भारतका अनेकौं ठाउँ पुगे पनि आफ्नो देशको माटोजस्तो विदेशी माटो हुँदैनरहेछ त्यसैले फर्केर आएँ । उतातिर बस्न मन लागेन । पोहोरदेखि अलि कान सुन्न छोडेको छु । पेटको बेथा भएकाले वर्षमा एकपटक बैद्यको दवाइ खान जानुपर्छ । हामी भनेको कुटो कोदालो गरेर आफ्नो पसीनाको कमाइ खाने मान्छे हो ।

त्यो भुवन भन्ने श्रेष्ठ थरीको मान्छे हो । उसको बाउले यहाँ पसल थापेका थिए । उसको बाउको नाम रामेश्वर हो । (रामेश्वरको वास्तविक नाम भने जगतदास श्रेष्ठ हो) उनीहरुको साउटारमा पनि पसल थियो । गणेशकुमार भन्ने रामेश्वरको माइलो छोरो सिधाखालको मान्छे थियो । भुवनचाहिँ काइँलो हो । भुवन भने महाको गुण्डो थियो । त्यसले केटी भनेपछि देख्नै हुँदैनथ्यो ।

यो गाउँकी दुईटी बाहुनी लगिदियो । त्यो पनि एउटै घरकी दुई बहिनी । अपराधी हो कि धर्माती, तपाई कुरा बुझ्नुस् ।

मैले भनिहालें नि केटी देख्नै नहुने त्यसलाई । कुनै राम्री केटी गाउँघरमा देख्यो भने कसरी हुन्छ, बाआमालाई फसाल फुसुल पारेर हुन्छ कि, केटीलाई फसाल फुसुल पारेर हुन्छ कि, नभए धम्काएर भए पनि हर तरिकाले त्यसले आफ्नो बसमा पार्थ्यो ।
अब मेरो बाँच्ने दिन पो कति छन् र ? मरेर जाने बेलामा नर्क जाने कुरा किन गरौँला र ? मर्नेबेलामा पाप बोक्नु छैन मलाई

गाउँघरका कुनै पनि छोरी मान्छे देख्न नहुने महाको गुण्डो थियो त्यो । माओवादीसँग पनि हिमचिम गर्ने, प्रहरीसँग पनि लटरपटर गरेर बस्नी गथ्र्यो । त्यस्तो खालको मान्छे हो त्यो । मैले जानेको यही हो । एउटै घरकी दुई बहिनी उडाइदिने धर्माती हुन्छ त्यो मान्छे ? ल आफै भन्नुस् । त्यो महाको हरामी मान्छे हो ।

त्यसलाई (भुवन) मारे भनेर माओवादीलाई दोष पनि दिएका छन् । यही गाउँका कति मान्छेले अझै पनि मुद्दा खेपिराखेका छन् । यिनीहरु निर्दोष हुन् भनेर मैले ओखलढुंगा सदरमुकाममा पनि बक्न गएँ । तर, मेरो बोली कसैले सुनेनन् । यही गाउँको कामीटोलकी एउटी केटीलाई भुँडी बोकाइदियो । त्यो मान्छे यति गुन्डो थियो !

त्यसलाई कुनै पीडित महिलाका परिवारले पो मारे कि ? वा अरु गुण्डा–गुण्डा मिलेर पो मारे कि ? वा बेपत्ता भयो कि ? गाउँका जति मान्छे त्यो मुद्दामा परेका छन्, ती सबै निर्दोष भएको मेरो आत्माले देखेको छ ।

उसको लास भेटिएको छैन । मारे र फाले भने पनि त्यसको कुनै हाडखोर भेटिएको छैन । मारेको भन्ने ठाउँमा देखिएको रगत त्यसैको हो कि अरु कसैको भन्ने कुरा पनि जाँच गरिएको छैन । अनि अनाहकमा मान्छेलाई खोराँ लगेर थुन्ने गर्दा के हुन्छ हाम्रो सरकारको निसाप ?

मान्छेको ज्यानको सवाल छ भनेर मैले पनि यो विषयलाई बुझें । मलाई त गाउँका मान्छे अनाहकाँ खोराँ परे भन्ने भएको छ ।

अब मेरो बाँच्ने दिन पो कति छन् र ? मरेर जाने बेलामा नर्क जाने कुरा किन गरौँला र ? मर्नेबेलामा पाप बोक्नु छैन मलाई, सत्य निसाप बक्ने अदालताँ पनि यही बकेको हो, तपाईहरुलाई पनि यही बक्छु । झूठो कुरा गरेको भए सात जुनी नर्कमा जान परोस् । यी मान्छेहरु मलाई निर्दोष लाग्छन् ।

गाउँका जतिलाई पनि मुद्दा लगाइएको छ, त्यो रिसइबी भन्दा बाहेक केही पनि होइन । त्यो गुण्डोखालको मान्छे थियो । कहाँ बिगार र्गयो, केमा पर्न गयो ।

प्रत्यक्षदर्शी थिरबहादुरको बयान

मेरो नाम थिरबहादुर खत्री हो । मेरा तीन छोरा एक छोरी छन् । मेरो उमेर पचास बर्ष भयो । जुन दिन भुवनमाथि गोली प्रहार भयो, म त्यसदिन उनीसँगै थिएँ । उनको मिलको सामान लिन हामी उनीसँगै गएका थियौं । त्यसवेला म, रामबहादुर श्रेष्ठ र भुवन तीन भाइ थियौं ।

हामी बिहानै धोबी जान भनेर हिँडेका थियौं । लिखुको खहरे खोला भन्दा पर्तिर दुई घर माथितिरबाट गोली चलेको आवाज आयो । गोलीको आवाजसँगै हामी भाग्यौं । गोली चलाउने को थिए भन्ने केही थाहा थिए ।

म भर्खर काठमाडौंबाट गाउँ आएको २५ दिन जति भएको थियो । गाउँमा के कसो छ भन्ने पनि मलाई राम्रो थाहा थिएन । काठमाडौंमा त्यसबेला म भारी बोक्ने, बालुवा बोक्ने ज्यामी काम गर्थें । अहिले पनि म ज्यामी काम नै गर्दैछु ।

गोलीको आवाज सुनेपछि सबैमा भागाभाग भयो । उज्यालो भएपछि खोजी गरियो । तर, उसलाई पत्ता लगाउन सकिएन । हिँड्दाखेरि भुवन अगाडि, हामी पछिपछि थियौं ।

गोली चलेपछि खोजी पनि गरियो । तर, उनको पत्ता लागेन । गोली उनलाई लागेको थियो कि थिएन भन्नेसमेत हामीले चाल पाएनौं । झूठो कुरो गर्न भएन, के जानम् के भयो भयो ।

उनीसँग हिँडेका कारणले हो अथवा अरु नै केही कारण हो, मलाई अनाहकमा तीन बर्ष जेलमा हालिदिए । ०५५ असार ११ गते पक्राउ गरेका हुन् । त्यसपछि म ०५८ सम्म जेल बस्नुर्पयो । कारण के हो भन्ने मैले आजसम्म पनि चाल पाउन सकेको छैन ।

म पहिला माओवादीको कुरा बुझ्दैनथें, अहिले पनि बुझ्दिँन, खासो खास कुरा गर्ने हो भने म एमालेको मान्छे हुँ ।

भुवनको हत्याको प्रत्यक्षदर्शी हामी हौं भनेर जसले वयान दिएका छन्, उनीहरु प्रत्यक्षदर्शी नै हुन् भन्नेसमेत मलाई यकिन छैन । किनभने त्यति बिहानै हामी बाहेक मैले अरु कसैलाई पनि देखिँन बाटोमा हिँड्दै गर्दा । यदि उनीहरु पनि त्यहीँ हुन्थे भने त्यस्तो हाहाकारमा सहयोग त गर्थे होलान नि ?

हामी भनेको त आलाकाँचा हौं । तैपनि मलाई यो घटनाबारे केही पनि थाहा थिएन । मलाईसमेत जेल जानु पर्यो । उनको हत्यामा मेरो पनि संलग्नता हुने थियो भने म गाउँमै बसिराख्ने थिएँ होला त ? म घटना भएपछि पनि गाउँ मैं थिएँ मलाई यहीँ गाउँबाटै पक्रिएर लगे ।

मलाई पक्राउ गरेर सिरिसेको अस्थाई प्रहरी चौकीमा राखिएको थियो । पछि खिजी फलाँटे हुँदै रामपुर र त्यहाँबाट ओखलढुंगा सदरमुकाम लगे । म मात्र होइन, रामबहादुरलाई पनि मसँगै लगे । हामी दुई भाइले निकै नै दुःख पायौं । तर, हाम्रो दुःख हेर्ने कोही पनि भएन ।

म ज्यामी काम गरेर गुजारा गर्ने मान्छेलाई समेत भुवनको हत्यामा दोषी देखाएर माओवादी भनिदिएछन । माओवादी भनेको कस्तो हुन्छ ? नीति हो ? के माम्लो हो ? के गरेर हिँड्छ ? त्यो मलाई थाहा थिएन । साँच्चै भन्ने हो भने बन्दुक मैले छोएको भए, हाताँ आगो छ, (चुरोट देखाउँदै) मलाई मारिदिनू । त्यो बन्दुकको वजन कति हुन्छ ? त्यो बन्दुक कसरी पड्किन्छ, मलाई केही पनि थाहा छैन ।
हलो जोतेर हिँडेको यस्तो मान्छेलाई अनाहकमा झ्याम्म पारेर जेल हाले ।

प्रहरीको पिटाइले गर्दा अहिले म न बाख्रा हेर्न सक्छु । न घाँस काट्न सक्छु मान्छेलाई मर्नु न बाँच्नु बनाए । हाम्रोबारे कसले बोल्छ ? अनाहकमा यातना दिँदा अहिले खुट्टाले राम्रोगरी टेक्नै हुँदैन ।

यातनाको कुरा गर्नु हुन्छ भने उत्तानो पारेर जाँड खाएको तालमा हरेक प्रहरीले हामीलाई लात्ती र लौरो हानेर माओवादीको रीस हामीमाथि पोखे । पाइतालामा चुटने, मुखमा पाइप लगाएर माथिबाट पानी हाल्ने, बस्न लगाएर तिघ्रा र साँप्राको बीचमा बाँस हालेर माथिबाट बेस्मारी दुईजनाले थिच्दा मरिँदो रै’छ । मलाई पिट्नसम्म पिटे नि आईटम आईटमले ।

म त मर्ने मान्छे हो हजुर, तर खोई कसरी बाँचे । पाइतालमा हानेर खुट्टा सुनिन्छ अनि उफ्री भनेर पिट्ने । केको उफ्रिन सक्ने नि । मैले त्यतिबेला पिटाइ सहन नसकेर कट्टुमै मुत्ने र छेर्ने गरेँ ।

एउटा मात्र कट्टु थियो । फेर्ने लुगा पनि थिएन । के गर्नु त । त्यसैमा छेर्यो, त्यहीँ सुकायो । हाम्रो हेरविचार कसले गर्ने ? मरेँ भन्ने हुँदोरहेछ, होस आउँदा अस्पतालाँ भैइँदोरहेछ । यसो हेर्दा छेउमा सेता लुगा लगाएकी आईमाई बसेकी रैछ बोल्न मन लाग्छ’ तर बोली नै नआउने । होइन यहाँ कसरी आइपुगें भनेर सोच्दो रैछु । तर, वाक्य फुट्दैन । त्यही आईमाईले हो मलाई चिया र बिस्कुट खानू भनेर दिएको, खान मन लागे पो खानु ।

अदालतमा पटक-पटक बयान लिँदा मैले भुवनसँग नगएको होइन, भारी बोक्न गएको हो भनेर भनें । बन्दुक नपड्के को होइन, पड्केको हो । तर, यतिखेरसम्म लास पत्तो लाउन सकिएको छैन भनेको हो । र, मान्छे मैले चिन्न सकिँन र मान्छे देख्दा पनि देखिएन भनेर भनेकै हुँ ।

मसँगै पक्राउ परेका रामबहादुर त्यो घटनापछि विस्तापित भएर मधेसमा कता चन्द्रनिगाहपुरतिर बसेका छन् भन्ने सुनिन्छ ।

अलिकति पनि तल माथि र्पयो भने पिडौला फर्किइहाल्छ । खुट्टाको तलको औंला चल्दैन । आँखा देख्दिँन । आधी टाउको दुखेको दुखै गर्छ । पुलिसले पिटेको कारणले भुँडीमा गाँठो बसेको छ । भुँडीको गाँठो देखाउन कलकत्तासम्म गएँ । अपरेशन गर्नुपर्छ, धेरै पैसा लाग्छ भन्यो । तर, मैले कहाँबाट पैसा ल्याउनु ? ७० बर्षका मान्छेले एक अँगालो भारी बोकेर हिँड्छन्, भीरपाखामा आनन्दले हिँड्छन् म सक्दिँन ।

काठमाडौं टिचिङमा उपचार गर्न गएको १ लाख जति लाग्छ भनेपछि नसकेर यत्तिकै काल कुरिरहेको छु । मलाई टाउको दुख्ने गरेको मैले त्यतिबेला नै प्रहरीहरुलाई भनेको थिए- यो टाउको चटक्कै काटिदिनु हामीलाई अनाहकमा दुःख नदिनू भने । अहिले पनि टाउको दुख्दा ब्रुफिन खान्छु । तर, पाँचवटा खाँदासमेत टाउको दुख्न २० को १९ हुँदैन ।

म पहिला माओवादीको कुरा बुझ्दैनथें, अहिले पनि बुझ्दिँन । खासो खास कुरा गर्ने हो भने म एमालेको मान्छे हुँ । त्यसैबेला डोरबहादुर जस्ता एमालेका सर्वसम्मति मार्फत निर्वा्चित गाविस अध्यक्षलाई समेत यसै मुद्दामा तानेर यातना दिने, मुद्दा चलाउने काम गरिएको थियो ।

  • पत्रकार नरेश ज्ञावालीको स्थलगत रिपोर्ट
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]