Dabali News

Ad

एमाले-माके-नयाँ शक्तिको गठजोड संयोग र अनिवार्यताको परिणाम

असोज १७ गते दिउँसो काठमाडौंको सभागृहमा एमाले, माके र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको पहल गर्ने भन्ने सहमति गरेर संसदीय राजनीतिमा तरङ्ग ल्याउने व्यर्थको ‘कचहरी’ गरे । यो कचहरीमा कम्युनिस्ट पार्टी नै छोडेका बाबुरामले “आवश्यकता र आकस्मिकता” को परिणाम भने । प्रचण्डले “निरन्तरताको क्रमभङ्ग” भन्न पुगे ।

केपीले “नेपाली जनताको आकाँक्षा, चाहना र आवश्यकता” भनेका छन् । सबैको निस्कर्ष थियो, “यो निर्णय नेपाल र नेपाली जनताको हितमा गरिएको हो ।” सबैको जोड चुनावमा गयो र अब दुई तिहाई ल्याउने भन्ने थियो । केही मान्छेहरुले यसैलाई “चियाको कपको तुफान” पनि बनाउन खोजेका छन् ।

एक मालेमावादीको कोणबाट हेर्दा यो गठजोड बाबुरामले भने जस्तो “आवश्यकता र आकस्मिकता”को परिणाम होइन कि “संयोग र अनिवार्यता”को परिणाम हो । बाबुराम र प्रचण्डले मालेमावाद, क्रान्ति, वैज्ञानिक समाजवाद छोडिसकेपछि मान्छेहरुलाई आकस्मिकता लागे पनि यो उनको कर्मले पुर्याउनु पर्ने अनिवार्य परिणाम थियो ।

उनीहरु पुँजीवादी संसदीय व्यवस्था मान्ने कुनै न कुनै शक्तिमा विलय या पतन हुन अनिवार्य थियो । मिति हिजो हुनु आकस्मिक जस्तो लागे पनि यो अनिवार्य नै थियो । त्यसैगरि प्रचण्डले भनेको “निरन्तरको क्रमभङ्ग” पनि अग्रगमन र क्रान्तितिरको क्रान्तिकारी क्रमभङ होइन । यो प्रतिगमन, पश्चगमन र पुँजीवादतिरको उल्टो क्रमभङ्ग हो । निरन्तरतामाथि दुई वटा क्रमभङ्ग हुन्छन् ।

समाज र राज्यलाई वैज्ञानिक समाजवादतिर लैजाने क्रान्तिकारी क्रमभङ्ग र पुँजीवाद, संसदवादतिर लैजाने क्रमभङ्ग । प्रचण्डको क्रमभङ्ग माओवादी आन्दोलनलाई संशोधनवादमा र समाजवादलाई पुँजीवादमा पतन गराउने क्रमभङ्ग हो । यो पनि अनिवार्य नै थियो ।

केपी वलीले भनेको “जनचाहना, अपेक्षा र आवश्यकता” भने आफ्नो संशोधनवादी, संसदवादी दृष्टिकोण अनुसारका मान्छेहरुको चाहना, अपेक्षा र आवश्यकता ठिकै हो । उनले त्यहाँ लोकतन्त्रको पनि खुव व्याख्या गरेर त्यसैमा सहमति भएको प्रश्नमा जोड्दिए तर उनले भने जस्तो नेपाली श्रमिक जनता, उत्पीडित वर्ग, समुदायको चाहना, अपेक्षा र आवश्यकता त्यो होइन ।

श्रमिक जनताको चाहना त झापा विद्रोहदेखि जनयुद्धसम्मको समर्थन, बलिदान हेर्दा नयाँ जनवाद र वैज्ञानिक समाजवाद हो । केपीले भनेको चाहना संसदवादीहरुको चाहना, यो सत्ताबाट मोजमस्ति प्राप्त गरेको वर्गको चाहना भने हो । उनको मानसिकता र दम हेर्दा पनि उनको विचार, नीति र नेतृत्व नै केन्द्रमा भएको प्रष्ट देखिन्थ्यो ।

रुसी खु्रश्चोभ र गोर्व चोभहरु मिलेर सोभियत संघलाई कहाँ पुर्याए ! जर्मनीमा सिदेमान र पुँजीवादी मिलेर जर्मन कम्युनिस्ट आन्दोलनलाई ध्वंस्त गरे ! नेपाल मै एमाले बनेपछि क्रान्ति गर्न कति गाह्रो भयो ! प्रचण्ड, नारायणकाजी, बाबुराम मिल्दा माओवादी क्रान्ति कसरी विसर्जन भयो ?

हाम्रो विचार यो गठजोड विचार मिलेपछिको संगठनात्मक परिणाम हो । एमाले पहिलेदेखिनै संशोधनवादी, संसदवादी, सुधारवादी (प्रचण्ड—बाबुरामको भाषामा प्रतिक्रियावादी) विचार बोकेको शक्ति थियो । उसले नेपालको कम्युनिस्ट आन्दोलनलाई विचलनतिर पुर्याएको थियो ।

प्रचण्ड र बाबुरामले जनयुद्धको महानतालाई आफ्नो उन्नतीको साधन बनाएर अन्ततः संशोधनवादी, आत्मसमर्पणवादी, विसर्जनवादी बाटो लिन पुगे । एमाले बरु कैयौं मामिलामा स्थिर देखियो तर यी नयाँ संशोधनवादीहरु हावाको दिशा अनुसार कुनै सिमा नराखेर घरि टाउकोले घरी …..ले टेक्न पुगिरहेका थिए । उनीहरुको प्रवृत्तिले एउटा केन्द्र खोजिरहेको थियो त्यो काग्रेस, एमाले जो पनि हुन सक्थ्यो । आज एमाले भएको छ । विचारमा एमाले भन्दा कतै फरक नभएपछि संगठनमा एक हुन खोज्नु स्वभाविक परिणाम हो ।

दोस्रो, उनीहरुको यो गठजोड अस्तित्व संकटमोचनको परिणाम पनि हो । राजनीतिमा एउटै विचार भइसकेपछि फरक पार्टीको रुपमा लामो समय अस्तित्वमा रहन संभव हुँदैन । उनीहरुमध्ये एक समाप्त हुनुपर्छ भने एक हावि हुन्छ । अहिलेको चुनावसम्म पुग्दा प्रचण्ड—बाबुरामको संकट एमालेको भन्दा चर्को देखियो । उता एमाले पनि कांग्रेस–माकेको गठवन्धनले गर्दा आउँदो चुनावी परिणामप्रति विश्वस्त हुन सकेन । एउटा संकट महसुस गर्यो । अस्तित्वका लागि सत्ता, सत्ताका लागि शक्ति चाहिने संशोनधवादीको दृष्टिमा यो गठबन्दन भन्दा बाहिर संकट देखिएपछि सबै एकठाउँमा आउन बाध्य भए ।

तेस्रो, यो गठजोड सत्ता भोगको अवसरवादी लालचाको परिणाम पनि हो । जो आत्मरक्षाको विषय पनि हो । जव अगाडि जनता र देशको मुक्तिको पक्षमा क्रान्ति गर्नु छैन, क्रान्तिकारी विचारअनुसारको जीवन बिताउनु छैन, जसरी पनि सत्तामा पुग्नु र सत्ताको भोग–विलास गर्नुछभने एक्ला– एक्लै चुनावमा जाँदा या बस्दा कसैको कुनै संभावना देखा परेन । सबैलाई एक अर्कोको हात र साथ अनिवार्य बन्न पुग्यो । यसकारणले पनि सबै अवसरवादी हरुको यो गठजोड संभव हुन पुग्यो ।

असोज १७ को यो घटनापछि कम्युनिस्ट आन्दोलनमा खासगरि क्रान्तिकारी मालेमावादी आन्दोलनमा के प्रभाव पर्ला भन्ने जिज्ञासा छ । यसमा कुनै ठूलो टन्टा मान्नु पर्दैन । हाम्रो विचारमा यसले क्रान्तिकारी आन्दोलनलाई थोरै नकारात्मक प्रभाव परे पनि बढी सकारात्मक परिणाम दिनेछ ।

नकारात्मकमा एकथरी अवसरवादी र लाभी–पापीहरु सत्ता भोगको हावामा बग्ने छन् । उनीहरुले एमाले, माके, नयाँ शक्तिको गठजोडपछि सरकार बन्नेछ र फाइदा सोहोर्न पाइने छ भनेर प्रसंसा गर्ने र सक्रिय हुने क्रियाकलाप देखाउने छन् । यसमा बढी दलाल, भ्रष्ट, तस्कर, सुदखोर, विभिन्न क्षेत्रमा सुविधा कुम्ल्याइरहेका व्यक्तिहरु अग्रपङ्तीमा हुनेछन् । केही इमान्दार पनि जालान तर तिनको भविष्य टिक्ने छैन ।

सकारात्मक प्रभाव भने नेपालको समग्र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पर्नेछ । यसले संशोधनवादीहरुका अनेकौं शिविरलाई भत्काएकोले अनेकौं भ्रमहरु बग्न पाउने छैनन् । एकातिर एमालेसहितको धार हुनेछ, अर्कोतिर नेकपा र क्रान्तिकारीहरुको धार हुनेछ । क्रान्ति चाहँदै आएका बहुसंख्यक श्रमिक वर्ग र उत्पीडित समुदायलाई एकतावद्ध हुन, धु्रविकृत हुन र क्रान्तिकरी आन्दोलनमा सहभागि बन्न ठूलो मद्दत गर्नेछ ।

यो गठजोड बाबुरामले भने जस्तो “आवश्यकता र आकस्मिकता”को परिणाम होइन कि “संयोग र अनिवार्यता”को परिणाम हो । बाबुराम र प्रचण्डले मालेमावाद, क्रान्ति, वैज्ञानिक समाजवाद छोडिसकेपछि मान्छेहरुलाई आकस्मिकता लागे पनि यो उनको कर्मले पुर्याउनु पर्ने अनिवार्य परिणाम थियो ।

यो गठजोडले ल्याउने अर्को सकारात्मक प्रभाव हामीले २०६५ सालदेखि प्रचण्ड—बाबुराम आत्मसमर्पण गर्दै सुधारवाद, संशोधनवाद र संसदवादमा फर्किन्छन भन्दै आएको निस्कर्ष सही सावित भएको छ । यसले विभिन्न भ्रम र विस्वासका कारण माके वरिपरि भुल्नु भएका कमरेडहरुलाई सच्चाई बुझ्न र क्रान्तिमा सहभागि हुन सहज हुनेछ ।

तेस्रो कुरा यसले क्रान्तिकारीहरुलाई दलाल संसदीय व्यवस्थाका विरुद्ध क्रान्ति अगाडि बढाउन र वैज्ञानिक समाजवादको विकल्प छैन भन्ने बुझाउन सहज हुनेछ । किन कि प्रचण्डहरुले नयाँ तरिकाले क्रान्ति गर्ने भन्दै निकै भ्रममा पारेको स्थिति थियो । एमालेसँग विलिन भइसके पछि यो भ्रम दिने ठाउँ रहने छैन । संसदवादी संसदवादतिर , क्रान्तिकारी क्रान्तितिर हुन सजिलो हुनेछ । जनतालाई पनि यो सच्चाई बुझ्न सरल हुनेछ ।

मान्छेहरुलाई लाग्न सक्छ ठूला कम्युनिस्ट पार्टीहरु मिलेपछि राम्रो परिणाम आउला ? यसले जनता र राष्ट्रलाई के फाइदा हुन्छ ! ? यसको छोटो जवाफ हुन्छ– क्रान्तिकारीहरु, श्रमिक वर्गहरु, वैज्ञानिक समाजवादीहरु मिल्नु राम्रो हो । त्यसले जनताको पक्षमा सकारात्मक परिणाम ल्याउँछ तर अवसरवादीहरु, पश्चगामीहरु, यथास्थितिवादीहरु मिलेर श्रमिक वर्ग र राष्ट्रको पक्षमा राम्रो परिणाम आएको या राम्रो भएको एउटा पनि इतिहास छैन ।

रुसी खु्रश्चोभ र गोर्व चोभहरु मिलेर सोभियत संघलाई कहाँ पुर्याए ! जर्मनीमा सिदेमान र पुँजीवादी मिलेर जर्मन कम्युनिस्ट आन्दोलनलाई ध्वंस्त गरे ! नेपाल मै एमाले बनेपछि क्रान्ति गर्न कति गाह्रो भयो ! प्रचण्ड, नारायणकाजी, बाबुराम मिल्दा माओवादी क्रान्ति कसरी विसर्जन भयो ? यी सबै दृस्टान्तहरुले सावित गर्छन् कि यो एमाले, माके, नयाँ शक्ति भन्नेहरुको गठजोडले पनि श्रमिक वर्ग, क्रान्ति, वैज्ञानिक समाजवाद र देशलाई कुनै फाइदा दिने छैन बरु मुक्ति र स्वाधिनताको आन्दोलनमा बाधा पैदा गर्नेछ । तसर्थ सबै क्रान्तिकारीहरुले यो गठजोड विरुद्ध विद्रोह गरेर क्रान्तिकारी ध्रुविकरणलाई सशक्त र सुदृढ गर्नुपर्छ । यो नै सच्चा मालेमावादीहरुको विशिष्ट कार्यभार हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]