Dabali News

Ad

दसैं यसकारण परित्याग

आफ्नो चाडपर्वलाई चाहिँ निमिट्यान्न हुन नदिऊँ, र दसैँ जस्तो चाडले जनजाति चाडहरूलाई सिध्याएको हुनाले सके बहिष्कार गरौँ, नसके परित्याग गरौँ त्यति पनि नभए आफ्नो चाडपर्व चाहिँ धुमधामले मनाऔं भन्ने कुरामा जनजाति आन्दोलन विगतका वर्षहरूदेखि निर्देशित देखिन्छ ।

दसैँ धनी हिन्दूलाई खासा, गरिब हिन्दूलाई दशा र जनजातिलाई दुर्दशाको चाड हो । नेपालमा गएको दुईसय वर्षको अवधिमा हिन्दू धर्म संस्कृति र मूल्यमान्यता वा बाहुनवादको एकाधिकार रह्यो, राइदाइ र दलनमलन रह्यो । राज्यले नै हिन्दू धर्मको पक्ष लिएर हिन्दू अधिराज्य घोषणा गरेपछि देश धर्म निरपेक्ष हुनुभन्दा अघिसम्म हिन्दू धर्म र संस्कृतिलाई काखी च्याप्ने र बाँकीलाई पाखामा पार्ने वा बहिष्करणमा पार्ने नीति लिइयो । यसैलाई वाहुनवाद भनिएको हो । मैले यसको विरोध गर्ने गरेको हुँ । दसैँ त्यसको रूप मात्र हो ।

नेपालमा सरकारले नै कानुनी रूपमा स्वीकार गरेका ५९ आदिवासी जनजाति छन् । त्यो बाहेक सूचीकरण हुन बाँकी अरू पनि छन् । आदिवासी जनजाति बाहेक मुस्लिम, सिख, बंगाली वा अरू धर्मावलम्बीहरू पनि छन् । यस्तो बहुधार्मिक बहुसांस्कृतिक बहुजातीय समाजमा एउटै धर्मको मूल्यमान्यता भएको दसैँको लागि मात्रै पहिले एक महिना सरकारी विदा हुन्थ्यो । एउटा धर्म संस्कृतिको चाडपर्वलाई चाहिँ राज्यले एकदम धुमधाम पूर्वक विदा दिने, अरू हिन्दू चाडपर्वमा पनि विदा दिने, अन्य आदिवासी जातजातिको धर्मसंस्कृतिको कुरा आयो भने चाहिँ राज्यले कुनै पनि लगानी नगर्ने, सहयोग पनि नगर्ने बरु त्यसलाई थिचोमिचो गरेर निमिट्यान्न गर्न खोज्ने ! सबैले दसैँ चाहिँ मानिदिनुपर्ने, अनि दसैँ मान्नेहरूले चाहिँ दसैँ नमान्नेहरूको चाड चाहिँ मान्नु नपर्ने ! यस्तो विभेद र अन्याय रहिआयो । रोटी त एकोहोरो पाक्दैन । डढ्छ । नेपालमा दसैँले रोटी नै डढाइसकेको हुनाले विरोध गरिएको हो । बराबरी भए कसले विरोध गर्छ ?

धर्म निरपेक्ष राज्यमा सो राज्यले कुनै पनि धर्मको पक्ष लिनुहुँदैन, तर अहिले पनि हिन्दूअधिराज्य हुँदा जे थियो त्यसैको निरन्तरता छ । अलिकति परिवर्तन के भयो भने जनजातिको मौलिक चाडपर्वहरूमा विदा दिइएको छ । तामाङ, गुरुङको ल्होसार, किरातीहरूको उभौली उधौलीमा र मुसलमान तथा इसाईहरूको चाडमा पनि विदा दिइएको छ, यद्यपि यो बाहेक सबै जातिहरूलाई विदा दिइएको भने छैन । थकालीहरूको महान चाड तोरन–लमा विदा हुँदैन । मेरो छोराछोरी स्कुल कलेज पढ्ने बेलामा चाड मान्न घर आउन सक्दैनन् । आफ्नो चाडपर्वको बेला पनि बाहिरै बस्नुपर्छ । घर आए पढाइ छुट्छ, छुटेको पढाइको क्षतिपूर्ति छैन । यो विभेद हो ।

छोराछोरी दसैँ किन महान चाड हो भनेर ब्याख्या गर्नुपर्ने गृहकार्य लिएर आउँछन् । अनि त्यसको बारेमा लेख्नुपर्छ । दसैँ मेरो चाड होइन मलाई दसैँको बारे थाहा छैन, म तोरन(लको बारेमा लेख्छु भनेर धर पाइने होइन । आफ्नो चाडको बारेमा लेख्दा प्राप्ताङ्क आउने कुरै छैन । यो बराबरी न्याय भएन । विदा दिने भए सबैलाई बराबर दिनुपर्‍यो, अरू जातिलाई पनि दसैँमा जस्तै लामो विदा । वर्षभरिको विदाले ३ सय ६५ दिन नै नाघोस्, दिनुप¥यो । बराबरी र न्याय त सबै जनतालाई हुनुपर्‍यो नि । त्यसो होइन भने एउटा समुदायले उसको धार्मिक र संस्कृतिक चाडमा कति विदा दिइनुपर्छ भनेर विवेकपूर्ण निर्णय गर्न सकिन्छ । विदा कम भन्दा कम हुनु राम्रो हो । उत्पादनशील काममा लगाउनु पर्ने समय भोजभतेर र मस्तीमा लगाएर कुनै पनि व्यक्ति, समाज र राष्ट्र उँभो लाग्न सक्दैन, तर पनि चाड मान्न मान्छेलाई विदा चाहिन्छ । त्यसको लागि न्यायसंगत रूपमा विदाको निर्धारण गरिनुपर्दछ । विदा तोकिसकेपछि जुनजुन धर्मावलम्बीले जुन बेला आवश्यक हुन्छ त्यो बेला त्यो विदा उपयोग गर्न सक्ने गरी दिइनुपर्दछ ।

किरातहरूले उधौली र उभौली दुईपटक उपयोग गर्लान् । हिन्दूहरूले दसैँ वा अरू चाडपर्वमा गर्लान् । गुरुङ, तामाङ, शेर्पाहरूले ल्होसारको बेला गर्लान् । थकालीहरूले तोरन–ल को बेला गर्लान् । मुसलमानहरूले इदुल फित्रको बेला गर्लान् । इसाइहरूले क्रिसमसको बेला गर्लान् । त्यो किसिमको समानता भयो भने सबैलाई न्याय हुन्छ । हिन्दूहरूको चाडमा चाहिँ विदाका ठेली दिने, राष्ट्रपति र राष्ट्रका पदाधिकारी त्यसैको पछाडि दौडने अनि देशका जनजातिको चाडलाई बेवास्ता गर्ने हो भने त त्यो त विभेदको पराकाष्ठाको निरन्तरता हो । यस्तो हुनुहुँदैन । न्यायको प्रत्याभूति भयो भने कसैले कसैको विरोध गर्दैन ।

दसैँको विरोध गरिनुमा यो चाडलाई जबर्जस्ती लादिएको पनि कारण हो । यो चाड गैरहिन्दूलाई जबर्जस्ती मान्न बाध्य पारिएको हो । राणाशासनकालमा घर–घरमा रगतको पञ्जाछाप लगाउनुपर्ने उर्दी थियो । शक्तिको पूजा वा हातहतियारको पूजा गर्ने बेलामा बलि दिनुपर्ने भयो । आदिवासी जनजातिहरूले दसैँ माने कि मानेनन् भन्ने सूचक चाहिँ त्यो हातहतियारको पूजा ग¥यो कि गरेन वा घरमा पञ्जाछाप लगायो कि लगाएन भन्नेबाट राज्यलाई प्रष्ट पार्नुपर्ने भयो । त्यसो गर्दा राज्य खुशी हुने भयो । राज्यलाई खुशी पार्न त्यतिबेला जनजातिहरूको लागि आफ्नो धर्म, संस्कृति राज्यको सामु ध्वस्त पारेर देखाउनु पथ्र्यो । हिन्दू धर्म संस्कृतिमा त्वम शरणम् गर्नुपथ्र्यो, तर यो उनीहरूको रहर थिएन, राज्यको बाध्यकारी नियम थियो । त्यसो नगरे राज्यले गैरहिन्दूलाई कार्वाही वा मारिदिन पनि सक्थ्यो । दसैँ माने नमानेको राज्यबाट अनुगमन हुन्थ्यो । यद्यपि जनजातिहरू बलि दिएको जनावरको रगत अरूको घरबाट सापटी लिएर घर बाहिर पञ्जाछाप चाहिँ लगाएर राज्यलाई देखाइदिने अनि घर भित्र चाहिँ आफ्नो चाडपर्वको बारेमा चिन्तन गर्ने गर्दथे । यसरी जबर्जस्ती लादिएको चाडको विरोध किन नगर्ने ?

नेपालमा बाहुनवाद पितृसत्ताबाट शोषण, दमन, उत्पीडन र विभेदहरू व्यापक भएको छ, र त्यसविरुद्ध संगठित रूपमा लड्नुपर्छ भन्ने चेतना आयो । आदिवासी जनजाति महासंघ जस्ता संस्थाहरू निर्माण भए । त्यसपछि त्यसले त्यो जनचेतनालाई बढाउँदै गएर दसैँ बहिष्कार जस्तो आन्दोलनको रूप लिइसकेपछि आफ्नो चाडपर्व मनाउने कुराहरूमा व्यापकता र सघनता हुनु स्वभाविक नै थियो ।

अहिले पनि दसैँको बेलामा लामो समय सरकारी कार्यालयहरू विदा हुन्छन् । विद्यालय र क्याम्पसहरूमा लामो विदा हुन्छ । विदा भएपछि चाड नमान्नेहरू पनि मानेजस्तै देखियो । सप्तमी लागेपछि बजार बन्द हुन थाल्छ । सरकारी कार्यालयहरू पनि बन्द हुन्छन् । यातायात पनि चल्दैन । दसैँ नमान्नेको लागि घरमा खानु र बस्नुको अर्को उपाय छैन । यो एकप्रकारको दसैँ मान्न बाध्य पारिएको जस्तै नै हो । अहिले चाहिँ मानिसहरूको चेतनामा बदलाव आएको छ । पहिले मगरहरू ९८ प्रतिशत हिन्दू धर्म लेखाउँथे । मगर संघले अभियान नै चलाएर हिन्दू पुरोहितलाई बहिष्कार गरेर अहिले उनीहरू आफ्नै पुरोहितलाई मान्न थालेका छन् ।

दसैँ बहिष्कारको अर्थ थाप्लामा थोपरिएको चाडलाई मिल्काउन खोजिएको हो । कतिले बहिष्कार नभनेर परित्याग गर्ने भन्ने कुरा गर्ने गर्छन् । कतिले परित्याग पनि किन गर्ने ? आफ्नो चाड धुमधामले मनाऊँ, अरूको चाड उनीहरूले नै मनाउन् भन्ने पनि छ । यी दृष्टिकोणका विविधता मात्र हुन् । मूल मुद्दा चाहिँ के हो भने आफ्नो चाडपर्वलाई चाहिँ निमिट्यान्न हुन नदिऊँ, र दसैँ जस्तो चाडले जनजाति चाडहरूलाई सिध्याएको हुनाले सके बहिष्कार गरौँ, नसके परित्याग गरौँ त्यति पनि नभए आफ्नो चाडपर्व चाहिँ धुमधामले मनाऔं भन्ने कुरामा जनजाति आन्दोलन विगतका वर्षहरूदेखि निर्दे्िशत देखिन्छ ।

सुरुमा तमुहरूले ल्होसार मनाउने बेलामा टुँडिखेलमा २० जना पनि हुँदैनथे । अहिले गाउँ(गाउँमा त्यो दिनमा चाहिँ उल्लासमय रूपमा घर बाहिर निस्केर मनाउन थालेका छन् । जनजातिहरूमध्ये मगरहरूले सबैभन्दा बढी दसैँ मान्थे । केही समययता भूमि पूजा मनाउन थालेपछि अहिले हेर्ने हो भने भूमि पूजाको दिन माघमा धेरै मगरहरू जम्मा भएर सो पर्व मनाउन थालेका छन् । आदिवासी जनजातिले चाहिँ हिन्दूको चाड मनाइदिनुपर्ने ! आफ्नो चाहिँ राज्यबाट सहयोग नपाई निमिट्यान्न भएको टुलुटुलु हेर्नुपर्ने ? आदिवासी जनजातिको चाड पनि हिन्दूहरूले उत्तिकै भव्य रूपमा मनाइदिने, उत्तिकै समान हैसियतमा विदा र सेवा सुविधा हुने हो भने त एकअर्काको सद्भावको लागि दुवैले दुवैको चाड मान्न सक्छन्, तर देशमा त्यस्तो परिस्थिति कहाँ छ र ? हामीले हिन्दू धर्म मानिदिँदा के फरक पर्छ त भन्ने हो भने आफ्नो धर्म संस्कृति बिलाउने भो । अर्काको हाबी हुने भो भने आफ्नो चाहिँ सिद्धिने भो । किनभने बच्चाहरूले आफ्ना बाबुबाजे वा आफूभन्दा ठूलाले कुन चाहिँ चाड मान्छन् भनेर हेर्छन्, र सिक्छन् ।

हिन्दूको चाड मान्दा उनीहरूमा सो चाडकै गहिरो छाप पर्ने भो । आफ्नो चाडमा भन्दा अरूको चाडको भव्यता देख्दाखेरि बच्चाहरूमा पनि हिन्दू चाडमा बढी लगाव हुने भो । आफ्नो चाड धुमधामले मनायो भने आफ्नो चाडमा लगाव हुन छोड्छ । अहिले मेरो छोराछोरीहरूलाई दसैँ जस्तो अरूको चाडमा कुनै लगाव छैन । किनभने हामी दसैँ मान्दैनौं । तोरन–ल मात्रै मान्छौं । मेरो परिवारमा दसैँ आउनु र कागलाई बेल पाक्नु एउटै कुरा हो ।

दसैँको सन्दर्भमा कतिपय जनजातिहरूमा पनि समस्या छ । राज्यको पकडमा भएकाहरू हिन्दूकरणमा पर्दा चाहिँ दसैँ हाम्रो हो भन्न सुरु गरेको उदाहरणहरू छन् । स्वामी प्रपन्नाचार्य जस्ताले हामी आर्य हौं भन्ने गर्दछन् । उनी हिन्दू संस्कृति हाम्रो हो भन्दै पनि हिँड्छन् । जनजातिहरू जो शासकको नजिक परे वा हिन्दूकरणमा परे उनीहरूले यसलाई सहज रूपमा लिए । उनीहरूले आफ्नो धर्म र संस्कृतिहरू आफैले सिध्याउने काम गरे । जो चाहिँ राज्यबाट अलगथलग रहे, उनीहरूमा दसैँको प्रभाव उति छैन । मुस्लिमहरूको आक्रमणबाट ११ औं देखि १४ औं शताब्दीसम्ममा सबैभन्दा ठूलो जनसंख्या ब्राह्मण क्षेत्री हिन्दूहरू नेपाल आएका हुन् । त्यसबेला सबैभन्दा पहिले मगरातहरूसँग उनीहरूको टक्कर प¥यो । अहिले पनि बाहुनहरूको बाक्लो बस्ती मगरातमा छ । त्यसले कालान्तरमा मगरहरूसँग हिन्दूहरूको बढी सम्बन्ध रहन गयो ।

दसैँ धनी हिन्दूलाई खासा, गरिब हिन्दूलाई दशा र जनजातिलाई दुर्दशाको चाड हो । नेपालमा गएको दुईसय वर्षको अवधिमा हिन्दू धर्म संस्कृति र मूल्यमान्यता वा बाहुनवादको एकाधिकार रह्यो, राइदाइ र दलनमलन रह्यो ।

हिन्दू क्षेत्री बाहुनहरू छलछाम गर्न जान्ने, आदिवासीहरू इमान्दार र सोझा हुनाले पनि समस्या आयो । क्षेत्री बाहुनहरू बाठो मात्र होइन शासन गर्ने, राज्यसत्तामा वा राजनीतिमा बढी चासो भएकाहरू थिए किनभने उनीहरू अफगानिस्तान, पर्सिया देखि सिन्धुघाँटी भएर उत्तर भारतमा आइपुग्दासम्ममा त ठाउँठाउँको आदिवासीहरूलाई नियन्त्रण गर्दै, लडाइँ गर्दै आफ्नो प्रभुत्व स्थापित गर्दै आइपुगेका थिए । उनीहरू नेपालमा छिरिसकेपछि उनीहरूको बठ्याइँ उत्कर्षमा पुग्यो । यसै बेला मगरहरू बढी हिन्दू बनाइए । मगरात पछि तमुवान सुरु हुने हुँदा गुरुङ जातिमा बढी हिन्दूकरण भयो । अनि काठमाडौं उपत्यकाका नेवारहरूमा पनि हिन्दू शासकहरूको चलखेलको अखडा नै बन्यो । जब पूर्वी नेपालको कुरा आउँछ, हिन्दूकरण पातलिँदै जान्छ । शहरी क्षेत्र र प्रशासनिक क्षेत्रहरूमा रहेका तामाङहरू मात्रै बढी हिन्दूकरणमा परे, तर तामाङहरू बढी गाउँ–गाउँमा बस्ने हुनाले आनुपातिक रूपमा हिन्दूकरणले उनीहरूलाई असर परेन । त्यो भन्दा उता सुनुवार, राई र लिम्बूसम्म पुग्दा हिन्दूकरण त्यति व्याप्त भएको देखिँदैन ।

त्यसैले दसैँ बहिष्कार, परित्याग वा आफ्नो चाड बढी मान्नुपर्छ भन्ने आन्दोलन चाहिँ लिम्बूहरूमा सबैभन्दा धेरै, अनि राईहरूमा अनि सुनुवार र त्यसपछि तामाङहरूमा हुँदै फेरि गुरुङ मगरहरूमा पातलिदै आएको छ, तर दसैँ बहिष्कार, परित्याग, आफ्नो चाड धुमधामसँग मनाउने भन्ने आन्दोलन ०४६ पछि जातीय चेतना बढ्दै गएको कारणले अधिकारका सवाल र दाबीहरू बढ्दै गएपछि सघन हुँदै गएको हो । दसैँ बहिष्कार वा परित्यागको आन्दोलन लिम्बुवानबाट मगरातसम्म पुग्दा अहिले मगर र गुरुङहरूमा पनि आफ्नो चाड मनाउने प्रवृत्ति ह्वात्तै बढेर गएको, र दसैँ मनाउनेहरूको संख्या त्यसरी नै ह्वात्तै घटेर गएको छ । थकालीहरू हिन्दू शासकहरूको बढी नजिक रहेको हुनाले राणाहरूको पालामा उनीहरूलाई जनै नै लगाउन दिइएको थियो । उनीहरूलाई ठकुरी भनिएको थियो । कति थकालीहरू त अहिले पनि आफू ठकुरी नै हो भन्ने भ्रममा छन् । उनीहरू धुमधामले दसैँ पनि मनाउने गर्दथे, तर अहिले खस नेपालीमा गौचन, शेरचन, तुलाचन, भट्टचन भनिने च्युकी, साल्की, धिम्चन, भुर्की सबै थकालीहरूले दसैँ नमान्ने र तोरन–ल मान्ने निर्णय गरिसकेका छन् ।

दसैँको प्रसंगमा रामले रावणमाथि विजय गरेको कथा छ, तर रामायणको कुरा त पूरै काल्पनिक कथा हो । काल्पनिक कथामा प्रस्तुत गरिएको रावण पात्र जो हो, त्यो त आदिवासीहरूको कथा हो । रामलाई खस हिन्दूहरूको प्रतिनिधिको रूपमा ल्याइएको छ । यो दुईटाको लडाइँ चाहिँ दक्षिण एशियामा छँदै थियो । यो दसैँ आदिवासीहरूलाई हराएरै सुरु गरिएको हो । त्यसमा पनि कुनै शंका छैन । अझ आदिवासीहरूकै ठाउँमा आएर उनीहरूलाई नै विभिन्न जालझेल र षड्यन्त्र, लडाइँ, साम दाम दण्ड भेद प्रयोग गरेरै आफ्नो नियन्त्रणमा लिएका हुन् आप्रवासी हिन्दूहरूले । अमेरिकामा एउटा थ्याङक्स गिभिङ (धन्यवाद ज्ञापन) भन्ने चाड मनाइन्छ । त्यो धन्यवाद चाहिँ आदिवासीहरूलाई गोराहरूले दिएका हुन् । यो चाडको खास कुरा के छ भने कोलम्बस अमेरिकामा पुगेपछि युरोपेली गोराहरू त्यता जान थाले, तर जति जान्थे उति मर्न थाले ।

यसरी आप्रवासीहरू मर्न थालेपछि त्यहाँका आदिवासीहरूलाई माया लागेर खेतीपाती कसरी गर्ने, रोगब्याधीबाट कसरी बच्ने, के खाने, के गर्ने वा नगर्ने भन्ने विधि गोराहरूलाई सिकाए, र तिनीहरू अब बाँच्न सक्ने भए । बाँचिसकेपछि आफ्नो प्रभुत्व लाद्न र शासन गर्न गोराहरूले तिनैलाई बचाउने आदिवासीहरूलाई लाखौंको संख्यामा मारे । त्यसपछि तिनीहरूको जमिनमा आफ्नो प्रभुत्व सथापित गरेर आदिवासीहरूलाई चिडियाखानामा राखे जस्तो विभिन्न ठाउँमा छरपष्ट बनाएर सीमित गरि बसाएका छन्, अनि अहिले चाहिँ गोराहरूले आफूलाई बचाएकोमा धन्यवाद दिएको रे ! उसैले बचाउने उसैलाई मार्ने अनि धन्यवाद ? यस्तो चाड त्यहाँको आदिवासीहरूले मान्छन् होला त ? दसैँ नेपालका जनजातिहरूको लागि अमेरिकाको थ्याङ्क्स् गिभिङ चाड जस्तै हो ।

अर्को कुरा दसैँंमा राजनीति छ । त्यो के भने रावणको दशवटा टाउको, अनि बानर सेनाले गएर रामले बानरहरूको सहयोग लिएर युद्ध जितेको कथा वाहियात हो, र सीताकै कुरा पनि मान्छेले जन्माएको होइन, खेतमा फेला परेको भन्ने कुनै प्रमाणित कुरा होइन । महाभारतको कुरा पनि धेरै काल्पनिक हुन् । यस्ता काल्पनिक कुराहरू किन आउँछन् भने त्यसले समुदायको सदस्यहरूलाई जोडेर राख्छन् । जसले रामायणको विश्वास गर्छन्, उनीहरूलाई यसले एकठाउँमा जोड्छ । दक्षिण एशियामा खस आर्यहरू पाँच हजार वर्ष अगाडि आएका हुन् । दुई पक्षको बीचमा राजनीतिक, सामाजिक, सांस्कृतिक र धार्मिक प्रकारको द्वन्द्व त विगत पाँच हजार वर्षदेखि चलिआएको छ । त्यसको प्रतीक मध्येमा दसैँ पनि एउटा भएको हुनाले गैरहिन्दू र हिन्दूहरूको बीचमा टकराव भइरहेको छ । धर्मनिरपेक्ष राज्य भइसके पछि पनि राज्यले पहिले हिन्दू अधिराज्य हुँदा दसैँमा जे गरिरहेको थियो त्यही गरिरहेको छ । एउटालाई काखा पार्दा अरू जातिका चाडपर्वहरू पाखा पार्ने काम जो भइरहेको छ, त्यसको विरोध नगर्ने प्रश्नै आउँदैन ।

अर्को कुरा दसैँ धनी हिन्दूहरूको लागि मात्रै सुखदायी छ । दसैँ मान्नेहरूलाई यसले एकठाउँमा जोड्छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई आशीर्वाद दिन्छन् । यसले एकअर्कालाई बाँध्ने काम गर्छ । त्यसमा कतिले राजनीतिक आशिर्वाद पाउने र आर्थिक फाइदा लिने रूपमा पनि यो चाडको प्रतीक्षा गर्दछन्, तर के छ भने दसैँ आयो कहाँ ऋण पाउँला र खाउँला जस्तो गरिबहरूको लागि बच्चालाई नयाँ लुगा किन्नैपर्ने, खसीको मासु खानैपर्ने र पाहुनाको सत्कार गर्नैपर्ने भएपछि गरिब हिन्दूहरूको लागि यो चाडले सुख ल्याउँदैन । हिन्दूहरू बढी गरिब छन्, कम धनी छन् त्यसैले बहुसंख्यक हिन्दूहरूको लागि पनि यो चाडले हर्ष ल्याउँदैन । अनावश्यक खर्च नगरिकन चाड मान्दा गरिबहरूलाई पनि यो राम्रो चाड हुन भने सक्छ । नयाँ लुगा र खसीको मासु नै किन चाहियो ? भेटघाट र आशीर्वाद मात्र लिने हो भने गरिब हिन्दूहरूको लागि पनि यो चाड राम्रो बन्न सक्छ ।

पञ्चायतको अन्त्यसम्म आइपुग्दा एउटा राजा एउटै देश, एउटै भाषा एउटा भेष भन्ने नारा उत्कर्षमा पुग्यो । धर्म माने पनि हिन्दूहरूको मात्रै मान्नुपर्ने, आदिवासी जनजाति वा मुस्लिम आदिको चाड मान्नै नहुने खालको नीति थियो । ०४७ सालको संविधानले नेपाल एउटा बहुसांस्कृतिक, बहुधार्मिक मुलुक हो भनेर स्वीकार गरिसकेपछि आदिवासी जनजातिहरूको चाडपर्वहरू मान्ने क्रम सुरु भयो । गैरहिन्दूहरूको चाड पनि स्वतः अगाडि आयो । नेपालमा बाहुनवाद पितृसत्ताबाट शोषण, दमन, उत्पीडन र विभेदहरू व्यापक भएको छ, र त्यसविरुद्ध संगठित रूपमा लड्नुपर्छ भन्ने चेतना आयो । आदिवासी जनजाति महासंघ जस्ता संस्थाहरू निर्माण भए । त्यसपछि त्यसले त्यो जनचेतनालाई बढाउँदै गएर दसैँ बहिष्कार जस्तो आन्दोलनको रूप लिइसकेपछि आफ्नो चाडपर्व मनाउने कुराहरूमा व्यापकता र सघनता हुनु स्वभाविक नै थियो । आफ्नो चाड मान्न थालेपछि अर्काको चाड जुन मान्नुपर्ने बाध्यता थियो, त्यो स्वाभाविक रूपमा अर्थहीन भएर जान्छ । जनजातिहरूले आफ्नो चाड धुमधामले मनाउन थालिसकेपछि उनीहरूका लागि दसैँको औचित्य सकिँदै जान थाल्यो । यो क्रम अझ अगाडि बढिरहेको छ ।

मेरो सन्दर्भमा भने दसैँमा म आफ्नो नियमित काम गर्छु । विशेष अरू खान्की पनि खान्नँ । गाडी चल्दैन भने म हिँडेरै आफ्नो काम गर्नतिर लाग्छु । दसैँ मेरो मनमा छैन ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]