
१३ असोज
काठमाडौँ । आज दशैंका नवौं दिन । आज र भोली दशैंको रमझम उत्कर्ष पुग्ने गर्दछ ।
अहिले विहानको ठिक १० बजेको छ । म यतिबेला निकै व्यस्त हुन काठमाडौँको नयाँ वानेश्वर चोकामा छु । अनलाइन डबलीको कार्यालयबाट म वानेश्वरमा पुग्दा फाट्टफुट्ट केही निजी सवारी साधन बाहेक कुनै पनि सार्वजनिक यातायात चलेका छैनन् ।
मैले वानेश्वर चोक वरपरको दृश्य क्यामारामा कैद गर्दैगर्दा एक जना ट्राफिक प्रहरीलाई देखेँ । पहिले यो चोकमा करिब एक दर्जन ट्राफिक प्रहरी हुन्थे । बीचको बिटमा उभिएर चारैतिरका गाडी र पैदत यात्रुलाई पास गराउन भ्याई नभ्याई भइरहन्थ्यो । तर, आज एक जना मात्रै छन् यहाँ । त्यही पनि साईडतिर उभिएका । बीच चोकको बीट खाली छ ।
नदीको बेग झैं गाडीको लहरोको बीचमा पैदल यात्रुलाई रोडक्रस गर्न छोटो समय दिन्थे ट्राफिक प्रहरीले । उक्त समयभित्रै मानिसहरु निकै हस्याङफस्याङ गर्दै रोडक्रस गर्ने गरिन्छ यहाँ । त्यो क्रममा मानिसहरु आपसमा ठोक्किएर घाइते समेत हुन्थे । कसैले खुट्टामा टेकेर जुत्ता निस्कन्थ्यो तरपनि कसैसँग बोल्ने भन्दा मनमनै गाली गर्दै दौडिनु पर्ने अवस्था हो यहाँको । तर आज सुनसान छ ।
म ड्युटीमा रहेका ट्राफिक प्रहरीको नजिक पुगेँ । उनको नाम शिवपुजन मण्डल रहेछ । यहाँको अवस्थाबारे मण्डलले जानकारी दिँदै भने, ‘सार्वजनिक यातायात चलेका छैनन्, फाट्टफुट्ट निजी गाडी चलेका छन् । त्यस्तै मोटरसाइलक पनि निकै कम मात्रमा चलेका छन् ।’ उनले भोलीबाट केही सवारी चाप बढ्ने अनुमान समेत गर ।
नयाँवानेश्वरबाट पुरानो वानेश्वर जानेतिरको रोड अथवा संसद भवनको २ र ३ नम्बर गेट अगाडि केही ट्याक्सी मानिसको पर्खाइमा थिए । अरुतिरको रोडमा फाट्टफुट्ट मोटरसाइलक चलेको देखिन्छन् । यसैबीच एउटा साझा बस र ट्याम्पु देखिए, त्यो पनि पूरै खाली ।
मानिसको निकै चाप हुने यो चोकको सडकमा हिड्दा र रोडक्रस गर्दा कसैले कसैलाई हेर्ने फुर्सद नै हुँदैन थियो । घरमा ऐना हेर्दै गरेको मेकअप र लगाएका लुगाको समेत ख्याल नगरी ट्राफिकले दिएको समयभित्र रोडक्रस गर्न दौडिनु पर्ने अवस्था थियो । तर, आज रोडमा हिड्दै गरेका केही व्यक्तिहरुले आपसमा निकैबेर हेराहेर गरेको देखियो । यस्तो सुनसान चोकमा आउने कारण के होला ? र आफूजस्तै होला कि नहोला ? अथवा आफूजस्तै सडक छाप को होला भनेर आपसमा हेराहेर गरेको मैले अनुमान गरेँ ।
फोटोमा यस्तो देखियो वानेश्वर

दशैंमा नयाँवानेश्वर
दशैंमा नयाँवानेश्वर

दशैंमा नयाँवानेश्वर

दशैंमा नयाँवानेश्वर

दशैंमा नयाँवानेश्वर

दशैंमा नयाँवानेश्वर
तस्वीरः जगत