Dabali News

Ad

दशैं-तिहार आउँदाको यादः निदाएकी छोरीलाई छातीमा टाँसेर दुध चुसाउन मन लाग्यो तर छोडेर हिडेँ

दशैं-तिहार आउँदा मैले जीवनको भोगेको सबै भन्दा पीडादायी क्षणको सम्झना आउँछ । यसपटक पनि त्यो क्षणले सतायो । दशैंको बेला थियो । मन भरी पीडा र दुःखले भरिएका भावनाहरु खेलिरहेका मात्र थिए । अनगिन्ति पीडाहरुको बाबजुत मनभित्र आशाको एउटा सानो किरण भर्खरै उदाउँन लागेको हो कि जस्तो गरि झुल्कने चेस्टा गर्दै थियो । एउटा दुःखी जीवन बाचिरहेको मान्छेको मनमा आशाको किरण पलाउनु निकै महत्वपूर्ण कुरा थियो मेरो लागि ।

सामाजिक, नैतिक समस्याहरुमा जेलिएर एउटा मनोवैज्ञानिक भुमरीमा फसेको मान्छेले आफ्नो अवस्था सजिलै थाहा पाउन सक्दैन रहेछ । आफ्नो वास्तविकता के हो र आफुले मेहनत गरेरै आफ्नो जिन्दगीको अवस्था परिवर्तन गर्न सक्छु भन्ने कुरा मैले महसुस गर्दा समय निकै घर्किसकेको थियो । लगातार भोगिरहेको भौतिक क्षति र आर्थिक समस्याकै कारण आफुले नपाउनुपर्ने दुःख पाइरहेको कुरा मैले बुझ्ने समय आउँदा मलाई आफुले धेरै ढिलो कुरा बुझेकोमा आत्माग्लानी भइरहेको थियो । फेरि पनि म मेरा दुःखको निराकरणको खोजीमा र मेरा साना–साना नाबालक छोरीहरुको भविश्यको चिन्ताले देश छोडेर बिदेश पलायन हुन बाध्य बनाउँदै थियो ।

म वैदेशिक रोजगारीको बाटो खोज्दै केही महिना पहिले एजेन्सीको सहयोगबाट इजरायल जानको लागि तयारी गरेकी थिएँ । दशैंको समय थियो । मेरी ठूली छोरी पाँच बर्षकी र सानी छोरी तिन वर्षकी हुँदै थि । मनभरी पीडाले एकछत्र रजाईं गरेको भएपनि अर्कोवर्ष छोरीहरुसँग दशै मनाउँन पाउँदिन होला भन्दै उनिहरुको साथमा रम्ने कोसिस गरे ।

एजेन्सीमार्फत मलाई इजरायलको भिषा निस्किन सबै प्रकृया तयारी अबस्थामा रहेको हुँदा मलाई पनि तयारी अबस्थामा रहनको लागि जानकारी गराएका थिए । त्यति बेला दशै–तिहार छोरीहरुसँग मनाएँ । तिहार सकियो । तिहारको लगत्तै मेरो भिषा पनि आएको खबर पाएँ ।

मेरो छोरीहरुसँगको दशैंको खुशी अचनाक पीडामा बद्लियो । एकातिर आफुलाई अथाह दुःखको भुमरीबाट पार लगाउँने एकमात्र बिकल्पको ढोका खुलेको छ अर्कोतिर कल्कलाउँदा दुधे सन्तानलाई चटक्कै छोडेर हिड्नुपर्ने अवस्था आइपर्यो । मैले मनभरी अथाह पीडा महसुस गरें । छोरीहरु सानै छन् । अहिलेसम्म राम्ररी आवाज निस्केको समेत छैन । म जतिसुकै पीडामा हुँदा पनि अथवा जस्तोसुकै सास्ती भोग्न परेको अवस्थामा पनि मेरी छोरीहरुलाई काखबाट टाढा गरेकी थिइन् । जस्तोसुकै पीडा र समस्यामा समेत टाढा नगरेका आफ्ना मुटुका टुक्रालाई बर्षौंको लागि छोडेर टाढा हुने दिन नजिकिँदै थियो ।

तिहारको पाँच दिन भयो । मेरो इजरायल जाने दिन पनि आयो । गाउँ हुँदै सदरमुकाम र त्यसपछि काठमाडौंको यात्रा तय गर्ने तयारी गर्दै थिएँ, बेलुका समान्य लुगाहरु मिलाए ।

सधैं जसो आज पनि छोरीहरुसंगै सुते । निद्रा हराएको थियो । सानो छोरी मेरो छातितिर छामछुम पार्दै थिई । ती कोमल हातहरुले आफ्नो अन्तिम घुट्को खाना खोज्दै थिई सायद । उसलाई के थाहा भोलीदेखि यो छातीको न्यानोदेखि बिमुख हुँदैछु भनेर । ती निर्दोष ओठहरुले मेरो स्तान सुस्तरी चुस्दै थिई ! मेरो मन भरिएर ब्याकुल बनेको थियो । आँखाबाट अश्रु धारा बगेको थियो । ठूलो छोरी मेरो कपडा समातेर गहिरो निद्रामा थिई । म सानो छोरीलाई निदाउने बनाउने प्रयत्नमा थिएँ । मेरो निद्राको सुदुर क्षितिज्सम्म पनि आएको थिएन । थियो त केवल हृदय बिष्फोट होला जस्तो भक्कानो बाँकी थियो, जुन भक्कानोलाई फोडेर म छोरीहरुको निद्रा खल्बल्याउन चाहिरहेको थिइन् ।

जवर्जस्ती रोकिएको रुवाई र पहिरोले थुनिएका नदि उस्तै हुन । जतिबेला पनि फुट्न सक्दारहेछन् मैले निरन्तर प्रयास गर्दै थिए कतै नपोखिउन पीडाका भावनाहरु बिछोडका तडपाईहरु !

सानी छोरी मस्त निद्रामा थिई, उठेर हेरेँ सपनामै दुध चुस्दैछ उ । दुईटा ओठ अगाडि ल्याएर जोडले च्याप्दै खिच्दै गरेकी छ सायद सपनामा दुध खाएको देखेकी होली । मेरो छाती रसायो, मलाइ एक पटक उसलाई छातीमा टाँसेर दुध चुसाउन मन लाग्यो तर हिड्ने बेला ब्युझेर रुन सुरु गरि भने उसलाई फुल्याउन धेरै समय लाग्छ ।

मिर्मिरे उज्यालो हुन थाल्यो ! भालेले डाक छोड्ने बेला हुन लाग्यो । भालेको डाकोसँगै मेरो रुवाई पनि नाफुत्कियोस भनेर मैले दाँतले कपडालाई दह्रोसँग च्यापें । बिस्तारै चराचुरुङ्गी कराउन थाले ! छोरी परदेशिने पीडाले बुवाआमा पनि मर्माहत हुनुहुन्थ्यो सायद त्यसैले उहाँहरु पनि रातभरी सुत्न सक्नुभएको थिएन ।

भालेको डाकसँगै आमाले सुस्तरी मलाई उठेर ‘तयार होउ, अहिले छोरीहरु उठछ्न्’ भन्नुभयो । छोरीहरु न उठ्दै मैले घर छोडीसक्नु पर्ने थियो । म हिड्ने बेलामा नानिहरु रोलान र त्यो रुवाईले मलाइ बिचलित बनाउला भनेर आमाले मलाई नानिहरु न उठ्दै साईत गर्न सुझाउनु भएको थियो । मैले मेरो भक्कानो किलकिले मै दबाएँ । नराम्रोसँग पोलेजस्तो भयो र नाक पुत्तायो र आँखाबाट फेरि एक तहरो झरी बर्षीयो । म उठेर तयार भएँ । तयार त के हुनु थियो र लिएर हिड्ने झिटीगुन्टा तयार नै थियो । खालि काखमा रहेका छोरीहरुलाई भुईमा राख्नु बिसाउनु बाँकी थियो । मैले त्यो पनि गरेँ र उठेर हिड्न तयार भएँ ।

सानी छोरी मस्त निद्रामा थिई, उठेर हेरेँ सपनामै दुध चुस्दैछ उ । दुईटा ओठ अगाडि ल्याएर जोडले च्याप्दै खिच्दै गरेकी छ सायद सपनामा दुध खाएको देखेकी होली । मेरो छाती रसायो, मलाइ एक पटक उसलाई छातीमा टाँसेर दुध चुसाउन मन लाग्यो तर हिड्ने बेला ब्युझेर रुन सुरु गरि भने उसलाई फुल्याउन धेरै समय लाग्छ । परिस्थितिको अगाडि मैले मेरो मातृ वात्सल्यताले हारेको टुलुटुलु हेरिरहेँ ।

जब मेरो घर छोड्ने बेला हुँदै थियो ठूली छोरीलाई निद्राले छोड्यो उ ब्युझेर उठी । प्राय मैले ओछ्यान छोड्दासँगै बिउझिने बानी छ उसको । सायद काखको न्यानोमा निदाउने बानीले होला । म उठे पछी मेरै लुगाको फेर समातेर पछी लागि रहन्छे । उसले अचानकै सोध्न थाली ‘ममी हजुर कहाँ जान लाग्नु भएको ? अहिले बैनी उठ्छे र रुन्छे त्यसैले उसलाई पनिसँगै लिएर जाम’ भन्न थाली । उसलाई अहिलेसम्म पनि आफ्नी आमा एक्लै कतै सुदूर परदेशमा आफ्नो सुनौलो भविष्य खोज्न जान लागेकी हो भन्ने पत्तो थिएन । बरा निर्दोष मेरी छोरी आफु पनि आमासँगै जान लागेको आभाष ले रमाउन थाली र सँगै बहिनिलाई पनि लिएर जान आग्रह गर्न थाली ।
उस्ले यति शब्द मात्र खसाल्न के लागेकी लामो समयदेखि मैले हिम नदि झैं बनाएर जवर्जस्ती रोकेर राखेका मेरा आशुले मेरो धैर्यताको बाध फोड्दै झर्न थाले ! पिडा र ब्यथा हरु चीत्कारिदै निस्किन थाले ।

ठूलो नानुलाई बिस रुपैयाँ हातमा थमाउदै मैले उसको लागि हेलिकप्टर र बैनीको लागि गाडी लिन जान लागेको भने र बैनीको ख्याल गर्नु भनेर सिकाएँ । आज्ञाकारी मेरी छोरीले आफु सफा भएर बस्ने र कसैलाई दुःख नदिने अनि बैनीको ख्याल गर्ने भन्दै निर्दोष वाचाहरु गर्न थाली । कति ज्ञानी मेरी छोरी भन्न मात्रै लागेकी के थिएँ नानू पनिसँगैरुन पो थाली । मेरो छातीमा अचानक ठूलो जाँतोले थिचे जस्तो भयो ।

भक्कानिएर रोएर आफैलाई रित्याउँन पनि नमिल्ने के गरूँ ‘दुइ टुक्रा आफ्नो प्राण आमाको जिम्मा लगाउँदै फुट्न लागेको छाती लिएर म आफ्नो र छोरीहरुको सुनौलो भविष्यको लागि सुदुर परदेशको यात्राको लागि घर बाट बिदा भएँ ।

  • अमेरिका नेपाल डटकमबाट
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]