Dabali News

Ad

बादललाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्ने भन्दै प्रचण्डलाई अाफ्नै नेताको गम्भीर चिठी

आदरणीय अध्यक्ष  क. अभिवादन ।

पार्टी अध्यक्ष तथा पार्टी केन्द्रीय कार्यालयलाई यो मेरो दोस्रो सुझाव दिएको हो । यो भन्दापुर्व ८ महिनाअघि १० पेजको पहिलो सुझाव पठाएको थिए । स्थानीय तहको दोस्रो चरणको चुनाव सम्पन्न भएको र तेस्रो चरणको चुनाव हुन बाँकी नै छ, साथै देशले संघ र प्रदेशको चुनावको तयारी गर्देछ । राजनैतिक कमाण्ड, प्रशासनिक हस्तक्षेप, बैदेशिक सन्तुलन, बदलिँदो अवस्थाअनुसार निणर्य लिने सन्दर्भमा अध्यक्ष क. प्रचण्डको भूमिका महत्वपूर्ण रहेको छ । यसले नेता कार्यकर्ता,जनता, सहकार्य गरेका दल र प्रतिपक्ष समेतले पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रशंसा गरिरहेका छन् । यसको श्रेय मुख्यतः अध्यक्ष, पार्टी केन्द्रीय पदाधिकारी, सचिवालय सिङ्गो पार्टी कमिटीलाई जान्छ ।

अध्यक्ष कमरेड, उपलब्धीहरु सँगसँगै हाम्रा सीमा समस्याहरु अगाडि तेस्रिएका छन् । जुन समस्याहरुबारे समयमै गम्भीर नबने जटिल समस्या निम्तिने देखिन्छ । मैले महसुस गरेका बिषयहरुमा पार्टी अध्यक्ष तथा केन्द्र समक्ष सुझाव दिन चाहान्छु ।

क) पार्टी संगठन  पार्टी केन्द्रीय समिति ४००० पुग्नु केहि परिस्थतिको बाध्यता थियो र केही विषयमा उदारताका समस्या पनि रहे । त्यति बेला पनि एकता हुनु पुर्व र पछि पनि पटक पटक केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्य बनाएर जान सकिन्छ भन्ने सुझाव दिएका थियौं । आयोजक समिति विघटन गर्ने र संख्या घटाउने विषय स्वागत योग्य बिषय हो । तर, घटाउँदा मुख्यतः हामीले दुईवटा विषयमा प्रस्टयाउनु जरुरी हुन्छ ।

हामी वर्गसंर्घषको संगठन बनाउँदै छौं या चुनावी । वर्ग संघर्षको संगठन बनाउँदा पार्टी संगठनलाई संख्यामा कम, वैचारीक राजनैतिक परिपक्कता, संघर्षको आवाश्यक्तामा केन्द्रीत भएर संगठन बनाउनु पर्ने आवश्यक्ता हुन्छ । तर, चुनावी संगठन बनाउँदा ७७ जिल्लामा चुनाव जित्ने रणनीतिलाई केन्द्रविन्दु बनाई संगठन बनाउनु पर्छ । यसो गर्दा मुख्यत संगठनलाई सुदृढ गर्दै संख्यात्मक हिसाबले कम तर आवाश्यक्ताको आधारमा संगठन बनाउनु पर्ने हुन्छ । हाल पार्टी केन्द्रले अघिसारेको अवधारणाअनुसार ९९ जना बनाउँदा जिल्लाको सहभागताको हिसाबले हेर्दा २८ जिल्लामा केन्द्रीय सदस्यविहिन जिल्ला बन्ने देखिन्छ । वैचारिक हिसाबले कमाण्ड पुगेपनि भावानात्मक हिसाबले अपुग हुने हुँदा चुनावमा असर पर्ने देखिन्छ ।

यसलाई हल गर्न ७७ जिल्लामा न्यूनतम एक जना केन्द्रीय सदस्य रहने गरी १२५ सदस्य केन्द्रीय समिति र अति आवाश्यकीय जिम्मेवार कमरेडहरुलाई बैकल्पीक केन्द्रीय सदस्य राख्दा उपयुक्त हुन्छ । यसो गर्दा १५० जना बैकल्पीक केन्द्रीय सदस्य राख्दा राम्रो हुन्छ । पार्टी निमार्णमा अर्काे महत्वपूर्ण विषय केन्द्रदेखि वडासम्म उत्तराधिकारीको विकास र किटान गर्नुपर्ने जरुरी देखिन्छ ।  साथै भ्रष्टचार, चेलिबेटी बेचविखन तस्करीजस्ता कार्यमा संलग्न रहेकाहरुको पहिचान गरी दोषीलाई कारवाही गर्नुपर्ने देखिन्छ ।

ख) कार्यकारी राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीको घोषणा संघ र प्रदेशको चुनावलाई प्रभाव पार्ने बिषय राजनैतिक एजेन्डा मुख्य विषय हो । यसका साथसाथै व्यक्तित्वले पनि चुनावमा उत्तिकै प्रभाव पार्छ । अब मुलुक कार्यकारी राष्ट्रपतिको महसुस गरिसकेको छ । अस्थीर सरकार, अस्थीर प्रशासन विकास निर्माणमा गतिहिनता बैदेशिक हस्तक्षेप यी सबै संसदीय व्यबस्था असफलताको कारण हुन् । समग्र विषयलाई हेर्दा अध्यक्ष क. प्रचण्डलाई कार्यकारी राष्ट्रपतिमा स्थापित गर्नुपर्ने देखिन्छ । त्यसैगरी त्याग तपस्या बलिदान र आवाश्यक्तालाई महसुस गरी भावि प्रधानमन्त्रीमा रामबहादुर ‘बादल’ लाई बनाउनु पर्ने देखिन्छ । त्यसैगरी प्रदेशको चुनावलाई प्रभाव पार्न ७ बटै प्रदेशको मुख्य मन्त्रीको घोषणा एक साथ गर्न सकेमा राजनीति एजेण्डासँग व्यक्ति पनि स्थापित हुने देखिन्छ । सबै पक्षलाई उच्च मनोवलको साथ अगाडि कमाण्ड गर्न नसकेको खण्डमा चाहे लडाइँ चाहे चुनाव परिणाम सोँचे जस्तो नआउने प्रष्ट छ ।

ग) माओवादी पार्टी हरुसँगको सम्बन्धबारे माओवादी पार्टीहरुको अवस्थालाई हेर्दा सबै पार्टीहरुमा सकारात्मक र नकारात्मक दुवै पक्षको विना पूवाग्राही अध्ययन गर्नु जरुरी छ । क. महोन वैद्य नेतृत्वको  क्रान्तिकारी माओवादी र क. विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सम्बन्ध सुर्धान जरुरी बनेको छ । सके नयाँ ढंगको पार्टी निमार्ण नभए कार्यगत एकता गर्नु जरुरी देखिन्छ । सबै माओवादी पार्टीहरुको साझा एजेण्डा राष्ट्रियता, जनतन्त्र र जीविकासहित परिवार घाईते अपाङ्ग, पूर्वजनमक्ति सेनाको सम्बन्धमा साझा मेर्चा बानाउनु पर्छ । नेकपाका नेता कार्यकर्तालाई गिरफ्तारी गर्ने कार्य रोक्नु पर्छ ।

घ) राष्ट्रियताको सम्बन्धमा सरकार संचालनको हिसावले २०४७ देखि २०७४ सम्म २७ बर्षको अवधिसम्म आउँदा काँगे्रसले १० पटक सरकारको नेतृत्व गरेर १५ बर्ष शासन चलायो भने एमालेको नेतृत्वमा ५ पटक ६ बर्ष, माओवादी नेतृत्वमा ३ पटक २ बर्ष ६ महिना  पूर्वराजाको प्रत्यक्ष शासन ४ वर्ष खिलराज रेग्मीले १ वर्ष चलाए । सरकार संचालनको क्रममा विभिन्न सन्धि–सम्झैतालाई हेर्दा काँग्रेसले १५ बर्षे कार्यकालमा ३८ प्रतिशत, राष्ट्रघाती सम्झौता गरेको, एमालेको ६ बर्षे प्रत्यक्ष नेतृत्व र बाँकी ४ बर्ष सयुक्त सरकारमा रहँदा ३० प्रतिशत राष्ट्रघाती सम्झौता गरेको, राजावादी शक्तिहरुले २८ प्रतिशत, माओवादी केन्द्रको नेतृत्वमा २ बर्ष ६ महिने शासनकालमा ३ राष्ट्रघात र खिलराजको नेतृत्व २ प्रतिशत राष्ट्रघात गरेको तथ्यांकहरुले देखाएका छन् । यसरी हेर्दा माओवादी पार्टीनै राष्ट्रियताको लागि प्रष्ट भएको पार्टीको रुपमा चिनिन्छ । अझैपनि माओवादी पार्टीले राष्ट्रियताको सवालमा दृढ हुनुपर्ने देखिन्छ ।

ङ) सरकार सञ्चालन सम्बन्धमा सरकारको राम्रो र नराम्रो कार्य जनता कार्यकर्ता र पार्टीलाई प्रत्यक्ष प्रभाव पार्ने हुँदा सरकार संचालनमा एउटा अधिकार सम्पन्न संयन्त्र बन्नु जरुरी देखिन्छ । सरकार संचालनका क्रममा देखिएका गम्भीर प्रकृतिका गतिविधिहरलाई नियन्त्रण गर्न सकिन्छ । यस्ता गतिविधिहरुले चुनावमा प्रत्यक्ष प्रभाव पारेको हुनाले संविधान सभा र स्थानीय निर्वाचनमा पार्टी तेस्रो स्थानमा झर्न पुगेको छ । सरकारका  राम्रा कार्यलाई संस्थागत गर्न जरुरी छ । जुन संयन्त्रले बजेट विनियोजनमा भएको आफ्नो जिल्ला केन्द्रीत कार्य, कर्मचारी नियुक्तीमा मनपरी,व्यक्तिगत स्वार्थ केन्द्रीत जस्ता गतिविधिलाई समयमै नियन्त्रण नगर्ने हो भने यसले चुनावमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

यस्ता गतिविधिका कारण पार्टी तेस्रो स्थानमा झर्न पुगेको छ । च) चुनाव सम्वन्धमाकुनै पनि कार्य गर्दा उद्देश्य निधारण गरिएको हुन्छ, कुनै काम प्रकृया पूरा गर्ने खालको मात्र हुन्छ भने कुनै कार्य राम्रो नतिजा निकाल्ने हुन्छ । हामीले हिजोको चुनावलाई के बनायौं र भोलिको चुनावलाई के बनाउँछौं । केवल प्रकृयामा मात्र सिमित गर्छौं या राम्रो नतिजा निकाल्छौं । यो हामीमै भरपर्छ तसर्थ चुनावको लागि समग्र तयारी, बस्तुस्थितिको विश्लेशण केन्द्रकृत कमाण्ड (७७ जिल्लालाई),  गुटबन्दीको अन्त्य उचित कार्य विभाजन चुनावको विजयको आधार हुने देखिन्छ ।

उपरोक्त सुझवहरुलाई मध्यनजर गर्न अनुरोध गर्दछु, अन्त्यमा भन्नु पर्दा माओवादी पार्टीको भविष्य उज्ज्वल भएको हुँदा हाम्रो जित सुनिश्चित हुने देखिन्छ ।

कर्णजीत बुढाथोकी ‘शुसिल’

पोलिटव्यूरो सदस्य

ने.क.पा. (माओवादी केन्द्र)

मितिः २०७४।५।१९

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]