Dabali News

  • Ad

मुखभित्र स्वास्थ्य छ भने योग गरेर ठिक गर्न सकिन्छ 

bad-breathe

मुखभित्र घाउ हुने
मुखभित्र श्लैष्मिक आवरण, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ । यस्तो घाउ स–सानो एक वा धेरै मात्रामा आउन सक्छ भने समस्या बढेर जटिल भई घाउ ठूलो र गहिरो भएर खानबोल्नै नहुने किसिमले दुख्ने, पोल्ने समेत हुन्छ । यस अवस्थामा ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने पनि हुन सक्छ । खासगरी शरीरमा पोषणको कमी (भिटामिन बी, सी, फलाम तत्त्व, प्रोटिनलगायत भोजनमा रेसा–चोकरको कमी आदि) ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्नु, खाना खाएर कुल्ला नगर्नु जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू (कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच आदि), पानीको कमी, खाद्यविषाक्तता, सुर्ती–पानमसला, मद्यपान र धूमपानको प्रयोग, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा अम्ल बढी भएको खानपान गर्नु आदि कारणले मुखभित्र र वरपर घाउ आउने गर्छ ।

मुखमा आएको घाउ कस्तो छ र किन आएको भन्ने कुरा रोगीको रोग इतिहास, व्यक्तिगत बानीव्यवहार, लक्षण, चिकित्सकबाट जाँच गरेपछि थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा घाउको मासु वा पीपलगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ । सामान्य घाउ भएको अवस्थामा सुत्ने बेलामा मुखभित्र खाने भेली (सक्खर) वा मह घाउमा लपक्क लगाउने वा जीराको रस चुस्ने वा नीम–पानीले कुल्ला वा गरर्रर गर्ने गर्दा फाइदा हुन्छ । बारम्बार समस्या भैरहेमा चिकित्सकलाई देखाएर उपचार गराउनुपर्छ । खासगरी यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले भएका घाउहरू जटिल हुन सक्छन् र औषधोपचार पनि आवश्यक हुन सक्छ । यसरी नै कारणअनुरूपको उपचारका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

श्वास गन्हाउने
बोल्दा, श्वास फेर्दा अगाडि वा वरपर बसेका व्यक्तिहरूलाई आफ्नो श्वास गन्हाएको अनुभव हुने र टाढिन वा नाकमुख छोप्न खोज्ने, कहिलेकाहीँ वा कसै–कसैलाई आफैँलाई पनि श्वास गन्हाउने लक्षणहरू यस समस्यामा देखिन्छन् । यसका साथै कारणअनुरूपका अनेक लक्षणहरू यस समस्यामा आइपर्छन् । दाँत–गिजाका रोगहरू (दाँत कीराले खानु, पायरिया, गिजाको संक्रमण), घाँटीका रोगहरू (टन्सिलाइटिस, फेरिन्जाइटिस, लेरिन्जाइटिस), नाकका रोगहरू (पिनास, नाकभित्र मासु बढ्नु, घाउ हुनु), पेटका खराबी वा रोगहरू (पुरानो कब्जियत, ग्यास्टिक, अल्सर, अपच), मुखको सरसफाइको कमी, खानामा पानी–रेसाचोकर र भिटामिनहरूको कमी, खाद्यविषाक्तता, विभिन्न दुव्र्यसन सुर्ती–पानमसला, मद्यपान र धूमपानको प्रयोग, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण आदि कारणले मुख गन्हाउन सक्छ ।

प्रायः दाँत, नाक, घाँटी, मुख, पेट र छातीका समस्याले गर्दा श्वास गनाउने हुँदा आफूलाई भएको समस्या वा सम्भावित समस्याहरूको निदानका लागि पेटसम्बन्धी अल्ट्रासाउन्ड, इन्डोस्कोपीलगायत नाक–पिनासको एक्सरे, फ्लेक्जिबल इन्डोस्कोपी, दाँतको परीक्षण, नाक–कान–घाँटी रोगको परीक्षण, छातीको एक्सरे आदिबाट कारण थाहा हुन्छ । सम्भावित कारणहरू थाहा पाएपछि योगोपचार गराउँदा यस समस्यामा राम्ररी फाइदा हुन्छ ।

मुख सुक्ने

मुख सुक्ने रोग नभै अनेक रोगहरूको लक्षण हो । यस समस्यामा मुख, ओठ तथा जिब्रो र घाँटीसम्म पनि सुक्खा हुने, बोल्न र खानमा कठिनाइ हुने, कमजोरी र चिडचिडाहट बढ्ने, पिसाबसम्बन्धी लक्षणहरू देखिने आदि लक्षणहरू हुन्छन् । यसरी नै मुखभित्र अत्यधिक सुक्खापन भएमा घाउ आउने, रक्तस्राव हुने, निल्दा घाँटीमा दुख्ने आदि पनि हुन सक्छ । पानीको कमी, बढी पसिना आउनु, घाममा बढी बस्नु, वाकवाकी–वान्ता, पखाला, शरीर जल्नु, शरीरबाट रक्तस्राव हुनु तथा रक्ताल्पता रोग, शोःग्रिन्ज सिन्ड्रोम (एक प्रकारको अटोइम्युन रोग), मधुमेह, र्युमेटिक बाथरोग, पिनास–एलर्जी, दम, उच्च रक्तचाप, र्यालग्रन्थि सम्बन्धी रोग, एचआईभी तथा एड्सरोग, अल्जाइमर्स, पार्किन्सन्स आदि कारणले प्रायः मुख सुक्छ । रिस, तनाव, चिन्ता, डिप्रेसन आदि मानसिक तथा मनोवैज्ञानिक समस्याका कारण पनि मुख सुक्छ । नुनिलो तथा सुक्खा खानापछि पनि मुख सुक्न सक्छ । धूमपान, खैनी–सूर्ती–पानमसला तथा चुइगमको प्रयोग, मद्यपान गर्नु पनि मुख सुक्ने कारणहरू हुन् । यसरी नै कुनै औषधि प्रयोगको असरस्वरूप पनि मुख सुक्छ । जस्तै– मानसिक समस्याहरूमा प्रयोग गरिने मनोदीपक औषधिहरू, रुघाखोकी र एलर्जीमा प्रयोग गरिने एलर्जीका औषधिहरू, पीडानाशक औषधिहरू, दममा श्वासनली खुलाउने औषधिहरू, केही एन्टिबायोटिक्स तथा क्यान्सरमा प्रयोग गरिने केमोथेरापी तथा रेडियोथेरापी आदिले पनि मुख सुक्ने समस्या आउन सक्छ ।

रगतमा ग्लुकोज, हिमाग्लोबिन, हिमाटोक्रेट, इ.एस.आर. लगायत माथि कारणमा भनेअनुसार शंका गरिएका रोगहरूसम्बन्धी दिसापिसाब, हर्मोन आदिको प्रयोगशाला परीक्षणहरूबाट मुख सुक्ने कारणहरूको निदान गर्न सकिन्छ । आवश्यक परे रेडियोलोजिकल जाँच पनि गर्न सकिन्छ । निदानपश्चात् कारणअनुरूपका योगाभ्यासहरू अपनाउन सकिन्छ । मुख सुक्ने कुनै–कुनै समस्यामा योग चिकित्सा निष्प्रभावी हुन्छ भने कतिपयमा औषधोपचारका साथमा योगचिकित्सा पनि संयुक्तरूपमा अपनाउन सकिन्छ ।

गिजा सुन्निने
दाँतको वरपरको गिजाको भागमा सुन्निने र रातो हुने, दुख्नेजस्ता समस्यामा कहिलेकाहीँ गिजाबाट रगत पनि बग्छ । चपाउँदा–खाँदा दाँतसम्म दुखाइ हुन्छ । वरपरको गिजाभन्दा सुन्निएको गिजाको भाग केही उठेको र रंग बढी रातो, हल्का वा गाढा नीलो वा सामान्यभन्दा फरक रंगको हुन्छ । यसले दाँत दुख्ने, दाँत हल्लिने, दाँत कीराले खाने, दाँतलाई गिजाले छोड्ने आदि लक्षणहरू पनि उत्पन्न गर्दछ । श्वास गन्हाउने, खान नरुच्ने, ज्वरो आउने आदि समस्या पनि हुन सक्छन् । दाँत नमाझ्नु वा माझ्ने तरिका नमिल्नु, खाना खाएपछि राम्ररी कुल्ला नगर्नु, ब्याक्टेरियाको संक्रमण हुनु, पोषणहरूको कमी, पेटका पुराना रोगहरूलगायत  धूमपान, खैनी–सुर्ती–पानमसला, मद्यपान आदि पनि गिजामा समस्या ल्याउने कुराहरू हुन् । अत्यधिक साह्रो, बढी खस्रो, बढी तातो, चाम्रो खानपान पनि गिजामा लक्षण उत्पन्न गर्ने कारणहरू हुन् । जीवनीशक्ति कम गर्ने रोगहरूले पनि यस्तो हुन्छ । यसरी नै मुख सुक्खा गर्ने कारणहरूले पनि गिजामा लक्षणहरू उत्पन्न हुन्छ ।

सामान्य स्वास्थ्य जाँचबाटै रोग निदान हुन सक्छ । आवश्यक परे दन्तपरीक्षण, एक्सरे र प्रयोगशाला जाँच गराउनुपर्छ । योगचिकित्साले गिजा सुन्निने समस्यामा पनि लाभ प्रदान गर्छ ।

दाँतका समस्याहरू

दाँत दुख्ने, हल्लिने, प्वाल पर्ने, गिजासम्म संक्रमण र दुखाइ हुने, बोल्न, खान र चपाउनमा सास्ती हुनेजस्ता लक्षणहरू दाँतका रोगहरूले गर्दा हुन्छ । यसरी नै दाँत बाङ्गोटिङ्गो हुने, पहेँलो वा कालो हुने, दाँत झर्ने भै सौन्दर्यमा समेत असर पार्छ । श्वास गन्हाउने, दाँतको चमकमा कमी आउने आदि लक्षणहरू पनि आउँछन् । दाँतकै कारणले गिजा, मुख तथा  अन्य अंगमा समेत असर पर्छ । मुखको सरसफाइको कमी, खानापछि दाँत नमाझ्नु वा कुल्ला नगर्नु, क्याल्सियम र फस्फोरसको कमी, गिजाका रोगहरू, हल्लिएको दाँत समयमै ननिकाल्नु, मुखमा लक्षण उत्पन्न गर्ने नाक–घाँटीका रोगहरू, पेटका रोगहरूलगायत अन्य रोगहरूको समयमै उचित व्यवस्थापन नगर्नु, विभिन्न दुव्र्यसन सुर्ती–पानमसला, मद्यपान र धूमपानको प्रयोग गर्नु, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण हुनु आदि कारणहरूले समेत दाँतमा समस्या ल्याउँछ ।

दन्तचिकित्सकबाट दाँतको परीक्षण गराउनु राम्रो हुन्छ । जरुरी भएमा एक्सरे पनि गराउन सकिन्छ । दाँतका समस्याहरूमा दन्तधौतिको अभ्यास, कुञ्जल, मुखप्रक्षालन, जल तथा सूत्रनेतीको प्रयोग उचित हुन्छ । यी अभ्यासले मुखमा हानिकारक ब्याक्टेरियाहरू बढ्न नपाउनाले दाँतको सुरक्षाका लागि लाभ मिल्ने हो । तर दाँतका समस्याहरू पहिल्यै भैसकेको अवस्थामा भने दन्तचिकित्सककै सल्लाहमा उपचार गर्नुगराउनुपर्छ । दाँतमा प्वाल परिसकेको र दाँत हल्लिइसकेको अवस्थामा योगचिकित्साको काम छैन । दाँतमा असर पार्ने दुव्र्यसनहरूबाट छुटकारा पाउन भने योगको सहयोग लिन सकिन्छ ।

मुखस्वास्थ्यका लागि योगचिकित्सा
कारक रोगहरूअनुरूप मुखमा हुने धेरै समस्याहरूमा योगोपचार गर्न सकिन्छ । केही यौगिक नियमहरू यहाँ उल्लेख गरिन्छ ।

यौगिक भोजनः– खानपान र मुखको स्वास्थ्यको सम्बन्ध निकै नै बढी छ । यौगिक सात्त्विक खानाको प्रयोग गर्ने हो भने यसबाट निकै लाभ मिल्छ । यस्ता खानाहरूमा मुख–दाँतमा नअड्किने, दाँत–गिजाको क्षमताअनुसारको, बढी गरममसला नभएको, बढी तातो–चिसो नभएको, सन्तुलित, शाकाहार, सलाद, सागपात र टुसाएको काँचो गेडागुडीहरू भएको खानपान प्रयोग गर्दा फाइदा हुन्छ । मुखमा घाउ हुँदा र दाँत–गिजा दुखेको अवस्थामा जलोपवास वा रसोपवास गर्नुपर्छ । यस बेला साह्रो, बढी गरममसला भएको, पिरो कुराहरू खानुहुँदैन । गिलो, सादा वा झोलिलो खानुपर्छ ।

सूक्ष्म व्यायाम तथा आसनहरूः– मुखको स्थानीयलगायत अन्य कारक रोगहरूलाई कम गर्ने लक्षित यौगिक सूक्ष्म व्यायामहरूको प्रयोग लाभदायक हुन्छ । यसरी नै मुखको स्वास्थ्यको लागि सिंहासन, मण्डूकासन, मृगासन, उष्ट्रासन, सुप्तवज्रासन, पवनमुक्तासन, सर्वाड्डासन, मत्स्यासन, नौकासन, भुजंगासन, धनुरासन, सूर्यनमस्कारजस्ता आसनहरू उपयोगी छन् । यस्ता आसनहरूका बारेमा साधनामा पहिले पनि चर्चा गरिएका छन् ।

प्राणायामहरूः– शीतली, शीत्कारी उज्जायी प्राणायामहरू मुखको घाउ, श्वास गन्हाउने आदिमा लाभदायक छन् तर रुघाखोकी, दाँत दुख्नेजस्ता समस्याहरूमा यी प्राणायामहरू गर्नुहुँदैन । नाक–घाँटीका कारणले हुने मुखका समस्याहरूमा नेति, धौति, नाडीशोधन, भस्त्रिका आदिले फाइदा गर्दछ । कुनै पनि दुखाइको अवस्थाबाट मनलाई नियन्त्रण गर्न ध्यान, मुद्राहरूले पनि लाभ दिन्छ ।

षटकर्म वा अन्य यौगिक क्रियाहरूः– नाक–घाँटीका रोगहरूको लागि विभिन्न प्रकारका नेति क्रियाहरू, मुखको प्रक्षालन (पानी मुखभित्र राखी बलपूर्वक कुल्ला गर्ने र आवाजका साथ गरर्र गरी थुक्ने क्रिया), वस्ति (एनिमा विधिको प्रयोगले पेट–आन्द्रा सफा गर्ने विधि), नौली, लघु तथा पूर्ण शंखप्रक्षालन विधिहरूको अभ्यास योग विशेषज्ञको निर्देशनमा गर्नुपर्छ । दन्तधौति वा दन्तमूलधौति (खयरको रस वा धूलो र सुक्खा शुद्ध माटोको प्रयोग गरी दाँत–गिजामा मल्ने वा तेल–नून मिसाई दाँत–गिजामा मलेर सफाइ गर्ने विधि), जिब्रो शोधनको लागि जिह््वामूलधौति (तीन वटा औंला मुखभित्र पठाएई जिब्रोको फेदमा रगडेर सफा गर्ने र अन्त्यमा नौनी वा मख्खन मल्ने) गर्दा श्वास गन्हाउनेमा लाभ हुन्छ । तर घाउ भएको अवस्थामा रगड्ने–माड्ने गर्नुहुँदैन । नौलि, कपालभाँति, लघु तथा दीर्घ शंखप्रक्षालन क्रिया आदि पनि आन्तरिक शोधन विधिहरू हुन् । यसले विभिन्न कारणले हुने मुखका समस्याहरू सुधार्न मद्दत पुग्छ ।

  • साधनाबाट

कुन उमेरमा र कस्ताे महिलाले कुन गहना लगाउँदा राम्री देखिन्छन् ?

women

  तपाईँ गहना किन्न बजार जादै हुनुहुन्छ भने तपाईँल‍ाई गहना सम्बन्धि अाधारभूत कुराकाे जानकारी हुन अावश्‍यक हुन्छ । जस्ताे कुन उमेर, कस्ताे फेसकट, उचाइ, माेटाइँ अादि । यी कुरालाई ध्यानमा राखेर तपाईँले गहना किन्नु भयाे भने तपाईँलाई अाकर्षक देखिनुहुन्छ भने जस्ताे पायाे...

क्वाँटीका १५ फाइदा यस्ता छन् 

kwati

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो । २. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ । ३. यसले बूढो हुने गति मन्द पार्नुको साथै...

चुरोट पिउनेको दिमागको पत्र पातलो

churot

चुरोट पिउनेले जति सक्दो चाँडो आफ्नो आदत त्यागेमा यसअघि चुरोटले दिमागमा पारेको क्षतिबाट बच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । दिमागको शक्तिलाई पूर्ववत् अवस्थामा राख्न ७० वर्षपछि पनि चुरोट रोक्न सकिने उनीहरुको सुझाव छ । युनिभर्सिटी अफ इडनबर्कका वैज्ञानिकहरुले हालै सार्वजनिक गरेको नयाँ...

निराेगी बन्न चाहानुहुन्छ भने यसाे गर्नुहाेस्

बिहान के गर्ने ? दिनको सुरुवात बिहानीबाट भएजस्तै हाम्रो दैनिकी पनि बिहानबाटै सुरु हुन्छ । त्यसैले जति सक्यो सबेरै उठेर आफ्ना क्रियाकलाप सुरु गर्नु उत्तम हुन्छ । चाँडो सुत्ने, चाँडो उठ्ने गर्नाले मान्छेलाई स्वस्थ, धनी, बुद्धिमानी बनाउँछ  भन्ने उखानै पनि छ ।...