Dabali News

निराेगी बन्न चाहानुहुन्छ भने यसाे गर्नुहाेस्

बिहान के गर्ने ?
दिनको सुरुवात बिहानीबाट भएजस्तै हाम्रो दैनिकी पनि बिहानबाटै सुरु हुन्छ । त्यसैले जति सक्यो सबेरै उठेर आफ्ना क्रियाकलाप सुरु गर्नु उत्तम हुन्छ । चाँडो सुत्ने, चाँडो उठ्ने गर्नाले मान्छेलाई स्वस्थ, धनी, बुद्धिमानी बनाउँछ  भन्ने उखानै पनि छ । बिहान चाँडो उठ्नेले ढिलो उठ्नेले भन्दा सहजरूपमा समयको व्यवस्थापन गर्न सकेको देखिन्छ । व्यायाम, हिँडाइ वा योग सबै गर्न उपयुक्त समय पनि बिहान हो । बिहानको स्वच्छ हावाले शरीरलाई थप फाइदा दिन्छ । बिहानी नै दिनको सुरुवात भएकोले बिहानीपखमा जाँगरिलो हुने भएकाले यसलाई प्रिय र उत्पादनशील बनाउन जरुरी छ । बिहानको हिँडाइ तथा व्यायामले पूरै दिन ताजगी र उत्साहमय बन्छ भने खुशीमय बिहानीले पूरा दिन फलदायी बनाउँछ ।

बिहान ४ बजेदेखि ९ बजेसम्म हाम्रो शरीरमा ‘सिम्पेथेटिक प्रणाली’ सक्रिय हुन्छ । यसले गर्दा शरीरमा अधिक एड्रेनलिन उत्पादन र वितरण हुनुका साथै उच्च रक्तचाप एवम् अधिक मुटुको गति वा धड्कन हुने गर्छ । त्यसैले गर्दा बिहानको हिँडडुल, व्यायाम वा योगले यी अवस्थाविरुद्ध शरीरलाई तमतयार गराउँछ । शरीरलाई बोझ बोक्न वा खतरा सामना गर्न तयार पार्ने हुनाले विशेष फाइदा हुन्छ । बिहानको योग वा व्यायामले शरीरको क्षमता विकास हुन्छ र निरोगी हुन सकिन्छ । त्यसको साथै बिहानलाई थप फलदायी बनाउन नयाँ कुराहरू गर्ने प्रण गर्ने, कुनै प्रतिज्ञा गर्ने भएमा गर्ने, मन पर्ने मान्छेलाई फोन गर्ने वा भेटघाट गर्ने, आफन्तलाई सम्झने वा फोन गर्ने, राम्रो तथा सकारात्मक सोच राख्दै दिनभरिमा सकेसम्म कम रिसाउने र बढी हाँस्ने प्रण गर्न सकिन्छ ।

खाना कस्तो र कति खाने ?

खानपिनमा पनि बिहान उपयुक्त समय मानिन्छ । स्वास्थ्यको लागि बिहानको नास्ता वा चलनअनुसारको खाइने खाना दिउँसो र साँझको भन्दा बढी ऊर्जायुक्त र अलि गहन हुनुपर्छ । तेसो भन्दैमा शरीरका लागि आवश्यकभन्दा ज्यादा भने हुनुहुँदैन । किनभने हामीलाई थाहा भएकै कुरा हो, अधिक खानाबाट प्राप्त अतिरिक्त ऊर्जा बोसोको रूपमा शरीरमा सञ्चित हुन्छ । यो सब कुरालाई ख्याल गरेर दिनभरिको आवश्यक खानाको मात्रालाई बाँडी करिब बिहान ५० प्रतिशत, दिउँसो ४० प्रतिशत र राति १० प्रतिशतका दरले मिलाएर खाने गरेमा राम्रो हुन्छ । राति सबभन्दा धेरै, टन्न खाने चलन स्वास्थ्यको दृष्टिले राम्रो होइन । पश्चिमी देशहरूमा भन्ने गरिन्छ– ‘बिहानको खाना आफैँ खानु, दिउँसोको खाना साथीसँग बाँडेर खानु र रातिको खाना मन नपर्ने मान्छेलाई दिनु ।’ यसै उक्तिबाट प्रस्ट हुन्छ कि अधिक तौलको लागि अतिरिक्त ऊर्जाको लागि सबै खाले खाना जिम्मेवार हुन सक्छन् । तर मात्रात्मकरूपमा रातिको खाना बढी जिम्मेवार ठहरिन्छ ।

खानामा पनि प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, भिटामिन तथा लवणसहित सन्तुलित खाना, अधिक रेसादार, हरियो सागसब्जी तथा फलफूलको बाहुल्य भएको छनोट गर्नु राम्रो ठहर्छ । तयारी खाना नखाने, बाहिरभन्दा घरमै खाने, एकै पटक धेरै खानुको सट्टा पटक–पटक अलि–अलि गरेर मात्र खाने तथा कमभन्दा कम ऊर्जायुक्त खानामा जोड गर्नु स्वास्थ्यको लागि लाभदायक ठहर्छ । इज्जत र प्रतिष्ठासँग पनि खानालाई जोड्ने चलनले गर्दा अतिरिक्त खाना, अतिरिक्त ऊर्जाले गर्दा मोटोपनाजस्तो समस्या बढ्दो छ । यो चलन तथा सोचमा परिवर्तन गराएर स्वास्थ्य र मेहनतलाई प्रतिष्ठासँग जोड्नु जरुरी भएको छ । यसको लागि सचेत मानिसहरू आफैँ उदाहरण बनेर प्रस्तुत हुन जरुरी हुन्छ ।

श्रम र आरामको तालमेल कसरी मिलाउने ?
सक्रियताको कुरा गर्दा घर, कार्यालय वा अन्य कार्यस्थलमा श्रम तथा आरामको उचित व्यवस्थापन गर्न जरुरी हुन्छ । दिनभरि गहकिलो वा गहन शारीरिक श्रम गर्नेहरूलाई सामयिक र नियमित आरामको आवश्यक पर्दछ । तर मानसिक श्रम गर्नेहरूलाई भौतिक शारीरिक क्रियाकलापको जरुरी पर्दछ । शरीरको शारीरिक, मानसिक तथा ऊर्जा सन्तुलनको लागि श्रमको प्रकृति परिवर्तनसहितको सक्रिय आराम लाभदायक हुन्छ । लामो समय लगातार गरिने क्रियाकलापमा बीच–बीचमा लिइने आराम वा ब्रेक उत्पादकत्वको हिसाबले आवश्यक हुन्छ ।

कामको प्रकृति हेरेर आफ्नो शरीर वा अड्डको अवस्था ख्याल गर्नु अरू बढी जरुरी हुन्छ । सधैँ एउटै र उपयुक्त किसिमको शारीरिक अवस्थामा काम गर्नु राम्रो हुन्छ । हानि पुर्याउन सक्ने शरीरको अवस्था भएमा त झन् आराम वा ब्रेक गर्न अति जरुरी पर्छ । कतिपय जीउ–हात काँप्ने रोग, ढाडको रोग, कान नसुन्ने, आँखा बिग्रने, छालाको रोग आदि श्रम वा शरीरको अवस्थाको कारणले विकसित हुन सक्ने हुनाले सामयिक आराम, नियमित व्यायाम वा ब्रेकको अत्यन्त महत्त्व रहन्छ । त्यसैले सक्रिय जीवन जिउनुपर्छ तर श्रम र आरामको तालमेल मिलाएर मात्र । शारिरीक श्रम भए शारीरिक रुपमै बीच–बीचमा आराम लिनुपर्छ भने मानसिक श्रम भए केही बेर शरीरलाई चलायमान बनाएर यताउता गरी मानसिक आराम पनि लिनुपर्छ ।

कसरी सक्रिय रहने ?
आजकालको बढ्दो निष्क्रिय जीवनशैलीको कारण अस्वस्थता बढ्दै गइरहेको छ । रिमोट समातेर एकैठाउँ बसी टिभी हेर्ने सोख, लामो समयसम्म कम्प्युटर चलाउने बानी, अफिसमा टेबलको काम, बिहान–दिउँसो–बेलुका हिँडडुल शून्य, छोटो दूरीमा पनि सवारीको उपयोग आदिका कारण शारीरिक चलायामानको अभाव भइरहेको छ । त्यस्तै जड्ढ फुड, तयारी खाना, अधिक ऊर्जायुक्त खानाको उपयोग पनि बढिरहेको छ । यी सबैले गर्दा अस्वस्थ मानव जमात बढिरहेका छ । समाज नै अस्वस्थ बन्दै गइरहेको छ । यही कारण हो आजको बढ्दो मुटुको रोग । त्यसमा पनि कम उमेरमै चिनीको रोग तथा मोटापन वा सोसँग सम्बन्धित अन्य रोगहरूको सिकार हुनुपरिरहेको छ ।

स्वास्थ्यको लागि बिहान आधादेखि एक घण्टा हिँड्ने, दिनभरि पनि चलायमान हुने, फूर्तिलो हुने, घरको सरसफाइ आफैँ गर्ने, आफ्नो काम आफैँ गर्ने, टिभीको रिमोट वा ताररहित टेलिफोन कमभन्दा कम उपयोग गर्ने, घरमा तल्ला भएमा तल–माथि गर्ने, घरका जग्गा, बगैँचा वा खेतबारी भएमा गोडमेल अथवा मेलोको काम गर्ने, घरमा किनमेल गर्न आफैँ सक्रिय हुने र जाने, जस्ता साधारण कुरामा ख्याल गरेमा स्वस्थ जीवनशैलीको सुरुवात हुन्छ ।

सकारात्मक सोचको विकास कसरी गर्ने ?
एउटा महत्त्वपूर्ण पाटो भनेको ठिक्क तर यथेष्ट सुत्नु हो भने अर्को हरेक वस्तु वा घटनाप्रति सकारात्मक दृष्टिकोण राख्न सक्नु हो । ठिक्क सुत्नु भनेको शरीरलाई उचित आराम दिनु तथा शरीरमा नयाँ ऊर्जा थप्नु हो । दिनभरमा ६–७ घण्टा सुत्ने तर अन्य समयमा नसुत्ने, ठीक समयमा सुत्ने र ठीक समयमा उठ्ने गर्नु स्वास्थ्यको लागि अति आवश्यक छ । हुनेहुनामीहरू वा घट्ने घटनाहरू भइरहन्छन्, घटिरहन्छन्, हामीले रोक्न वा मोड्न सक्दैनौं तर त्यसप्रति उचित तथा सकारात्मक दृष्टिकोण त राख्नै पर्छ । सत्य र वास्तविकतालाई आत्मसात् गर्ने, आइपरेको परिवेशलाई स्वीकार्ने, हिम्मत नहार्ने, सधैँ आशावादी हुने, अरूलाई हानिनोक्सानी नपुर्याउने र सकारात्मक हुनेजस्ता गुणहरू जिउने कलाको रूपमा अपनाउनुपर्छ ।

सबभन्दा महत्त्वपूर्ण कुरा भनेको समयको उचित व्यवस्थापन गरेर पूरै दिन स्वस्थ र सकारात्मकतामा बिताउन सक्नु हो । माथि उल्लिखित कुराहरूबाहेक दैनिक तथा नियमित अध्ययन गर्ने, समाजमा घटेका घटनाप्रति सुसूचित हुने, निश्चित समय आफ्नो रुचिअनुरूप टिभी हेर्ने, सड्डीत सुन्ने, समाचारहरू वा पत्रपत्रिकाहरू पढ्ने, रुचिअनुसारका पुस्तकहरूको अध्ययन गर्ने, समय, पैसा तथा बोली–विचारमा व्यावहारिकता अपनाउने, सामयिक निर्णय वा व्यवस्थापन गर्नेजस्ता अन्य स्वस्थ दैनिकीका उपायहरूसमेत अपनाएर जीवनशैली सुधार्न सकिन्छ ।

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com