Dabali News

Ad

कविताः कविता घर्तिनी

अँध्यारा पहाडहरू छिचोलेर
सूर्यकिरण नअस्ताउँञ्जेलसम्म
कविता घर्तिनी
छमछम नाचीरहेकी हुन्छे
बन्दीगृह र चन्द्रागिरि पढेर
स्पातिमैदानमा
तिम्रो सपनाको चमेली फुलाउँदै
हरेक डबलीमा
आफ्नो बाडुली कम्मर भाँचीरहेकी हुन्छे
वर्गसंघर्षको
प्यारो समर यात्रामा
तिम्रा कृतिहरूलाई काखी च्यापेर
हजारौँ मेगावाटको शक्ति खिचेर
युद्धको आगोझैँ
सुसाएर नाचीरहेछिन्
कविता घर्तिनी
समर यात्रामा
मलाई डोर्‍याउँदै
विश्व ब्रह्माण्ड थर्काउँन
उनी नाचीरहिछिन्
प्रिय इच्छुक
यस युगमा
रिङरिङ्गाइरहेछ
मनका घरहरू
लम्पसार परेको ,वर्गसंघर्षलाई
निरन्तर विउँताउन
तिम्रो प्यारो थवाङबाट
लुङ्ग्रीको किनार हुँदै
समुद्री छालझैँ उर्लिएर
घरका अनेकौँ डबलीमा
आफ्नो कला छरिरहेछिन्
कविता घर्तिनी
बीस, एक्काइस वर्षको उमेरमा
गरीव जनताको निम्ति
बलिदान हुन तयार छिन्
सबैथोक त्यागेर
साँस्कृतिक रूपान्तरणकालागि
उदयगान लिएर
चारै दिशा पुगिरहेछिन्
प्रिय इच्छुक !
धाराप्रवाह कविता
हुर्काइरहेछु
अमरबाटो रोज्दै
गाउँगाउँहरूमा
कोलाहल चर्किएको छ
यति बेला
त्यो थवाङले
अझै वर्खि फुकाउँन पाएको छैन
शिवपुरी वधशालाबाट
साथीहरू चिच्याइरहेछन्
आदर्शको मूलधार नभत्काऊ भनेर
हाम्रा राजाहरूले , सुनिरहेका छैनन्
प्रिय इच्छुक !
तिमी जस्तै क्रान्तिकारी हुन्
कविता घर्तिनी
तिनको जोशले, मलाई
तामा पगालेझैँ पगाल्छ
यो धर्तीमा
चन्द्रागिरिको द्यौरालीबाट
देखिरहेछु तिम्रो अनुहार
घण्टाघरको आँगनसँगै
आँखाले भ्याएसम्मका
कविताका अक्षरहरू
महाभारतका टाकुरामा टाँग्ने छु
तल बेसीबाट छर्लङ्ग देखिने छन्
हाम्रा मालिकहरू
अटेरी बनिरहेकाछन्
हिजो एउटा पत्रमा
फूलबारी बधशालाबाट
चुनुले लेखेछिन्
दाजु इच्छुक सलाम मेरो
गर्धन झुकाएर नहिँडनु
साथीहरू
हाम्रा रगतका नदीहरूलाई
कुवाको पानी ठानेर पिउँनेहरूलाईचिन्दै जानु भनेकिछिन्
प्रिय इच्छुक
दोहो¥याएर भनेकिछिन्
डफ्फाबाँधेर
भयानक युद्ध लड्नुपर्छसुनका रथ हाँक्नेहरूसँग
चिहानबाट हामी उठिसकेका छौँ
तिमीहरू, अरिँगालका गोला भएर आउनु
सहस्र सहयोगीहरू लिएर
प्राण हतकेलामा राखेर
युद्धको सङ्कल्प लिएर
छिट्टो आउनु भनेकिछिन्
चुनुले
प्रिय इच्छुक !
त्यसैले अब
हामीसँगै कविता घर्तिनी र
साइँली मगरर्नीहरू
वर्तमान शासनको
कठोर नियमहरू तोड्दै
नयाँ युद्धका घोषणा पत्रहरू लिएर
गाउँवस्ती छिरेकाछौँ
पुतलीझैँ रमाइरहेछन्
हाम्रा घोषणापत्रहरूसँगै
नेपाली किसानहरू
प्रिय इच्छुक !
आऊ सुनाइद्यौ कविताहरू
तिम्रा प्यारा पाठकहरूलाई
वर्गदुश्मनसँग
सामाना गर्दै
नयाँ बाटो रोजेर
लडाईँका कहानी सुनाएर
हँसिया र घन बोक्नेहरूका
जीवन कथाहरू
कवितामा सुन्न भेलाभएकाहरूलाई
भृकुटीको आँगनमा उभिएर
सुनाइद्यौ ,
कविता घर्तिनीका
कारुणीक गाथाहरू
प्रिय इच्छुक !

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]