Dabali News

संस्थापन छाडेका केसीले भने- रामचन्द्रले पेस गरेको नीति तथा कार्यक्रम कसैमार्फत लेखिएको जस्तो छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी सुशील कोइरालाको निधनअघिसम्म संस्थापनका विश्वसिला नेता मानिन्थे । उनले संस्थापनलाई पार्टीका महत्वपूर्ण निर्णयहरुमा साथ पनि दिने गरेका थिए । तर, आसन्न १३ औँ महाधिवेशनबाट भने केसी काँग्रेस बरिष्ठ नेता शेरबहादुर देउवातिर गएका छन् । देउवापक्ष उनलाई महामन्त्री बनाउन लगभग तयार भईसकेको छ । आफ्ना ज्वाइँसमेत रहेको युवा नेता गगन थापालाई पनि देउवा क्याम्पपमा ल्याउन सकेभने देउवा पक्षबाट महामन्त्रीको उमेदवार केसील निर्विकल्प हुनेछन् । तर यो त्यति सहज भने देखिँदैन ।

किनभने उनका ज्वाइँ गगन संस्थापनबाट महामन्त्री लड्ने तयारीमा छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेलले महामन्त्रीमा समर्थन नगरे सिटौलासँग लबिङ गरेर भएपनि थापा महामन्त्रीमा लड्ने तयारीमा गरिरहेका छन् । 

गगन थापाको पार्टीभित्रको लोकप्रियताले काम गर्यो भने देउवा पक्षका महामन्त्रीले हार्ने देखिन्छ । त्यसमा केसी नै नपर्लान् भन्न सक्ने अवस्था रहदैन । त्यसैले गगन विना केसी एक्लै आएभने देउवापक्षले केसीलाई ठूलो महत्व नदिने विश्लेषण गरिन्छ । के गर्लान केसी ? प्रस्तुत त अनलाइन डबलीको लागि केसीसँग पत्रकार नवराज कुँवरले गरेको कुराकानीको अंश ।

देउवा क्याम्प किन ?

म पार्टीको १० औँ अघिवेशनमा ९ औँ पोजिसन ल्याएर जितेको थिएँ । ११ आँै अधिवेशनमा म पाँचौ, १२ औँ अधिवेशनमा दोश्रो पोजिसन ल्याएर जितेको मान्छे हुँ । वि.सं. २०५४ सालपछि अहिले ७२ सालमासम्मको यो १८ वर्षमा पार्टी सरकारमा गएका बेला म मन्त्री बनेको छैन । यहाँ एकथरी पक्षलाई जन्मजात मन्त्री र सरकारमा बस्नुपर्ने ढंगबाट उहाँहरु (संस्थापन) ले लिनुभयो । यो न्याय र विवेवको दृष्टिकोणले राम्रो भएन । मैले धेरै विचार गरेँ । राष्ट्रियरुपबाट पनि लोकतान्त्रिक पक्षधरहरुलाई समेटेर लैजान सक्ने नेतृत्वको क्षमता रामचन्द्र जीको भन्दा मैले देउवाजीमा नै देखेँ । त्यसैले मैले उहाँलाई रोजेको हुँ ।

तपाईको ज्वाई समेत रहेका गगन थापालाई तपाईसँगै ल्याउनुभएन भने तपाईलाई देउवा पक्षले कमजोर ठान्ने विश्लेषण भईरहेको छ नि ?
विश्लेषणहरु जे पनि हुन्छन् । गगन युवा नेतामात्र नभएर मेरो परिवारभित्रको सदस्य पनि हुनुहुन्छ । म उहाँसँग पनि छलफलमा छु ।

के भन्छन् त तपाईँका ज्वाईले ?

हैन, पारिवारिक कुरा पनि हो । अब उहाँसँगको छलफल जे होस् सकारात्मक छ अहिलेलाई यति नै भन्न चाहान्छु । उहाँले पनि उचित निर्णय लिनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

तर देउवा पक्षकै नेताहरु तपार्इँ कमजोर हुनुहुन्छ भनेर आलोचना गर्दैछन् नि  ?

को कति कमजोर र बलियो भन्ने कुरा त चुनावपछि थाहा भैहाल्छन नि ? यो कुरा अगाडि नै भविष्यवाणी गर्नुको के अर्थ ?

देउवाले तपार्इँलाई महामन्त्रीमा उठाउँने तयारी गरेपछि त्यो गुटका अरु नेताहरु रुष्ट छन् भनिन्छ, देउवालाई पनि निकै दबाब परेकाले उनीहरुले अन्तिममा साथ दिएनन भने ?

त्यो अवस्था आउँदैन । यदी आइहाल्यो भने म मेरो पाराले गर्न सक्छु । तर मलाई विश्वास छ, साथीहरुबीच मैले निकै छलफल गरेको छु । म पदको लोभले मात्रै देउवानिकट भएको हैन । पार्टीमा मैले लामो समयदेखि गरेको संघर्षको मूल्याङकन गर्ने र सामूहिक नेतृत्वमा जोड दिने नेतृत्वमा म सामेल हुन खोजेको हुँ ।

म आफै पनि नेतृत्वको लागि सक्षम छु तर मैले पार्टीको विवाद व्यवस्थापन र थप ध्रुविकरणको सम्भावनालाई यथार्थमा आउन नदिन यस्तो गरिरहेको छु । र हामीले जितेपछि यो पार्टीको ध्रुविकरण हामी अन्त्य गरेरै छाड्छौँ र पार्टीलाई एक ढिक्का पार्छौँ ।
म सभापतिको आकांक्षी हुँ तर लचिलो भएर महामन्त्रीमा लड्न खोजेको हुँ । गाउँ, क्षेत्र र जिल्लामा साथीहरुले मलाई साथ दिनुभएको छ । म खास सभापतिकै लागि उठ्न खोजेको थिएँ । तर साथीहरुबीच विवाद र पार्टीमा नेतृत्व हानथापजस्तो नहोस् भनेर म महामन्त्रीमा लड्न सहमत भएको हुँ । तर म सभापतिबाटपछि हटेको भन्ने निश्चितनै भईसकेको छैन । तर महामन्त्रीमा उमेदवारी दिने सम्भावना बलियो छ ।
संस्थापनद्वारा पेश नीति तथा कार्यक्रममा तपाईहरुको विरोध किन ? 

बिहिबारको केन्द्रीय समितिमा रामचन्द्रजीले पेश गर्नुभएको नीति तथा कार्यक्रम अव्यवहारिक छ । त्यसलाई पार्टीको विवाद हल गरेर पार्टीलाई समृद्धिको बाटोतर्फ लाँदैन । त्यो कसैमार्फत लेखिएको झैँ लाग्थ्यो । त्यसैले कार्यदिशाको हिसाबले हेर्ने हो भने पनि उहाँहरु कमजोर हुनुहुन्छ ।

पदाधिकारी किन नथाप्ने ?

गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन सकिएको अवस्थामा केन्द्रीय पदाधिकारी थपेर कार्यसमितिलाई भद्दा बनाउनेमा हामी समर्थन जनाउन सक्दैनौँ । यो व्यवहारिक र वैज्ञानिक छैन । हामीसँग समयपनि कम छ । यो चाहिँ व्यक्तिको लागि पद निर्माण गर्ने र नेतृत्वको बोज चाहिँ केन्द्रमा भारी बोकाउने बाहेक अरु केही होइन । यो सम्भव पनि छैन ।

सुजता कोइराला, कृष्ण सिटौलालगायत पनि सभापतिमा उठ्न आ–आफै लबिङ गरिरहेका छन्, काँग्रेसमा गुट चाहिँ कतिओटा छन् ?
आकांक्षा राख्नु ठूलो कुरा हैन । उहाँहरु सक्षम हुनुहुन्छ त्यसैले राख्नुभएको होला । तर, आकांक्षाले मात्रै हुँदैन । तपार्इँलाई थाहै छ, अहिले काँग्रेसमा देखिएको शक्ति गुट दुईओटा छ । यो हामीले स्वीकारेपनि नस्वीकारेपनि सबैले देखिरहेको कुरा हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]