Dabali News

Ad

काँग्रेस सभापतिले भने-गोविन्द सीमामा ढल्दा मैले उठाएको हुँ 

यम प्रसाद पौडेल, सभापति, नेपाली काँग्रेस पुनर्वास नागरपालिका

अहिले पुनर्वाबासको अवस्था कस्तो छ ?

अहिले पनि त्रास र शोकाकुलमय नै छ । सीमामा आवतजावत बन्द छ । उनीहरु पनि आएका छैनन् र हामी पनि गएका छैनौँ ।

२६ गते घटना कसरी भएको थियो ?

बेलौरीमा मेरो पार्टी कार्यक्रम थियो । म त्यहाँ जाने तयारीमा थिए । भारतीय एसएसबी र केही भारतीय नागरिक नेपाली भूमिमा प्रवेश गरेर घर र कल्भर्ट भत्काउन थाले । सुरुमा म र असई रोशन चन्द गयौँ । हामीमाथि ढुंगा हानियो । मैले जनतालाई सीमामा आउन आह्वान गरे । जनताहरु सीमा सुरक्षाको लागि आए । पार्टी कार्यक्रमको लागि बेलौरीमा भएका र जाने तयारीमा कार्यकर्ता र जनता पनि सीमामा आएर भारतीयहरुको प्रतिरोध गर्न सुरु गरे ।

गोविन्दलाई गोली कसरी लाग्यो ?

हामीले भारती पक्षलाई लखेटेपछि एसएसबीले अन्धाधुन्धा पाँच फाइरिङ गर्यो । त्यही क्रममा गोविन्दलाई गोली लाग्यो । म र अरु साथीहरुले उठाएर ल्यायौँ । उपचारको लागि धनगढी लैजाने क्रममा मृत्यु भयो ।

गोविन्दलाई गोली लागेपछि तपाईँहरु सीमाबाट फर्किनु भयो ?

होइन, हामीले गोविन्दलाई ल्यायौँ । केही त्यही बसिरह्यौँ । नेपालीहरु झन आक्रोसित थिए । हाम्रो सुरक्षाकर्मी पनि थपिए । त्यसपछि भारतीय पक्ष अगाडि बढेन । बढेको भए ठूलो युद्ध हुने थियो ।

मैले गोविन्दलाई गोली लागेलगत्तै गृहमन्त्री, कञ्चनपुरका सांसद तथा मन्त्री रमेश लेखकलाई फोन गरेर घटनाबारे जानकारी दिँदै गोविन्दलाई सहिद घोषण र घाइतेको छिटो उपचारको पहल गर्न भने ।

तपाईँले त गोविन्दलाई राष्ट्रिय सम्मान दिनु हुँदैन भन्नु भयो रे नि ?

होइन, यो एकदम झुट कुरा हो । मेरो चरित्र हत्या गर्ने उद्देश्यले समाचार बनाइयो । यसप्रति मेरो गम्भीर आपत्ति छ । यसको मैले खण्डन पनि गरिसकेको छु । गोविन्दलाई गोली लाग्दा उठाउने पहिलो व्यक्ति मै हुँ र गृहमन्त्रालय फोन गरी सहिद घोषणा गरेर राष्ट्रिय सम्मानको माग गर्ने पहिलो व्यक्ति पनि म नै हुँ । तर प्रचार ठिक उल्टो भयो ।

अझ गोविन्द त मेरो नातेदार पनि हुनुहुन्छ । उहाँ हाम्रो बाहिनी ज्वाँइ हो । मैले विरोध गर्नुपर्ने कुनै कारण छैन । सीमामा प्रतिरोधको लागि आह्वान गर्ने व्यक्तिले लडाइँमा सहिद हुनेको विरोध गर्छ भन्ने कुरा कल्पना पनि गर्न सकिँदैन ।

मैले त गोविन्दलाई राज्यले दिएको सम्मानले पुगेको छैन भनिरहेको छु । यस निम्ति हामीले संघर्ष समिति नै बनाएका छौँ । समितिमार्फत हामीले परिवारको जिम्मा राज्यले लिनुपर्छ भन्ने दबाब दिइरहेका छौँ । टिकाराम चापागाईलयात घटनाका घाइतेको उपचारको लागि प्रशासनसँग माग गरिरहेका छौँ । आजैमात्र गोविन्दका परिवारको जिम्मा राज्यले लिनुपर्ने, घाइते उपचार, गोली हान्ने एसएसबीलाई कारवाहीको माग गर्दै पुनर्वास उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्ला प्रशासन कञ्चनपुरमा डेलिगेशन गएको छ ।

यो प्रचार किन भयो होला ?

सीमाको विषयमा यहाँ हामी सबै राजनीतिक पार्टी एक ठाउँमा छौँ । यो हाम्रो राष्ट्रियताको मुद्दा हो । केही साथीहरुले गोविन्दको लासमाथि राजनीति गर्ने प्रयास गरेका होलान् । म त के भन्छु भने, सीमामा लडेर मर्नेमाथि राजनीति नगरौँ । यो राजनीतिक विषय होइन । गोविन्दको राजनीति आस्था कुन पार्टीमा थियो भन्दा पनि नेपाली सीमा रक्षाको लागि लडेर मरे, यो कुरा ठूलो हो ।

मैले पार्टीको नगर कमिटीबाट निर्णय गरेर गोविन्दको परिवारलाई ५० लाख राहत, परिवारको जिम्मा राज्यले लिनुपर्ने र पुनर्वासको नाम ‘गोविन्दनगर’ नाम राख्नुपर्छ भनेर केन्द्रमा पठाएको छु ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]