Dabali News

Ad

मोदी सरकार कलमसँग कसरी डराउँछ ? यो अन्तरवार्ता पढ्नुहोस्

(यही मार्च ७ तारिखका दिन दिल्ली विश्वविद्यालयअन्तर्गत रामलाल आनन्द कलेजका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबासहित ५ जनालाई महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय सुनाएपछि यसका विरुद्ध विश्वव्यापी आक्रोस उत्पन्न भएको छ । फैसलालाई अभिव्यक्ति स्वतन्त्रता विरोधी, पूर्वाग्रहयुक्त र फरक मत राख्नेहरू त्यसमा पनि बौद्धिक क्षेत्रलाई आतङ्कित पार्न गरिएको फैसला भनेर बौद्धिक क्षेत्रबाट तीव्र निन्दा गरिएको छ । यहाँ सो फैसलाका सम्बन्धमा साइबाबाकी जीवनसाथी वसन्था कुमारीसँग ज्योती पुनवानीले गरेको कुराकानी ।) 

के तपाईँले यस किसिमको फैसलाको अपेक्षा गर्नुभएको थियो ?

एकदमै थिएन । म त तीनछक परेँ । हामीहरू बहसलाई नजिकैबाट अध्ययन गरिरहेका थियौँ । कमजोर स्वास्थ्यका अतिरिक्त पनि साइबाबा बहसमा उपस्थित हुनुभएको थियो । उहाँका विरुद्ध अभियोग लगाउने आधार नै छैन । सरकारी अभियोजकसित कुनै ठोस प्रमाण नै थिएन ।  उनीहरूले घरबाट जे कब्जा गरेर लगेका थिए—कम्प्युटरको हार्डडिस्क, सिडीहरू, साहित्यिक सामग्रीहरू सबै झोलामा हालेर खुला रूपमा लगेका थिए, जब कि नियमअनुसार ती सबै सिल गरेर लानुपर्थ्यो । उनीहरूले साइबाबाको सही भएको चिठी भनेर अरू कसैको हस्ताक्षर भएको चिठी अदालतमा पेश गरेका थिए । यसले कसरी प्रमाणको काम गर्छ ? सरकारी अभियोजकसित स्वतन्त्र रूपमा एक जना मात्र साक्षी थिए, अरू साक्षी भनिएका त प्रहरी जवान र अधिकृतहरू मात्र थिए । त्यो स्वतन्त्र भनिएको मान्छे पनि पुलिसको दबाबमा साक्षी बसेको भनेर प्रमाणित भइसकेको छ ।

अरू आधारहरूका आधारमा उहाँ  निर्दोष साबित हुनुहुन्छ भन्ने हामीलाई लागेको थियो । यस्तै खालको मुद्दा, जसमा मान्छेलाई माओवादी पार्टीको सदस्य भएको अभियोग लगाइएको थियो, सुप्रिम कोर्टले वैचारिक स्वतन्त्रताको प्रश्न भन्दै अभियोगलाई खारेज गरेको थियो । यी सबै कुराहरू हाम्रो वकिलले नजिरका रूपमा पेश गरेका थिए । तर फैसलामा उनका सबै तर्कहरूलाई बेवास्ता गरियो ।

वर्ष दिनदेखि गरिएको बहसको प्रतिबिम्बन फैसलामा अलिकति पनि परेको देखिएन । उल्टै राजनीतिसित जोडेर हामीलाई दोषी साबित गर्ने प्रयास गरियो । वास्तवमा उनीहरूले फैसलाको दिन अदालतभित्र र बाहिर जसरी सुरक्षाको बन्दोबस्त गरेका थिए, यसले फैसलाको प्रकृतिलाई सङ्केत गरिरहेको थियो । साइबाबाले २ वर्ष जति जेलमा बिताइसक्नु भएको थिए, हामी उहाँको जीवनप्रति चिन्तित थियौँ ।

विश्वविद्यालयको कम्पाउन्ड वरिपरि गुन्डाहरू खुलेआम घुमिरहेका छन्, महिलामाथि हातपात गरिरहेका छन्, मनपरी गरिरहेका छन्, उनीहरूलाई केही सक्दैन मोदी सरकार । तर सर्वसाधारण नागरिकको पक्षमा बोल्नेहरूका लागि राज्य एकदमै असहिँष्णु बनेको छ ।

अहिले कस्तो छ उहाँको स्वास्थ्य ?

नाजुक । वास्तवमा उहाँ फेव्रवरी २८ मा अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो र डाक्टरले १० दिनको  बेडरेस्टको सल्लाह दिएको थियो, हिँडडुल नगर्न र यात्रा  नगर्न पनि भनेको थियो । छातीको दुखाइ र सास फेर्न गारो भएका कारण उहाँलाई अस्पताल भर्ना गर्नुपरेको थियो र आइसियुमा राखिएको थियो । जेलको खानपिन र अन्य कारणले उहाँको आमासयमा पत्थरीको समस्या भएको कुरा डाक्टरले बताएका थिए । आमासयमा रहेको पत्थरीको छिटै अप्रेसन नगरे यसले प्यानक्रियाजमा समेत असर पर्न सक्छ भनेर डाक्टरले भनेका थिए । हामीले यी सबै विवरण अदालतमा पेश गर्यौं । यति  पनि उनीहरूले फैसलाको अवधिभपरि २ घण्टाका लागि मात्रै भए पनि अदालतमा हाजिर हुनुपर्ने भनेर जिरह गरे ।

वास्तवमा पहिलो पल्ट जमानतमा छुटेको समयदेखि नै उहाँको स्वास्थ्य एकदमै कमजोर हुँदैगएको थियो । पहिलेपहिले उहाँ ह्विलचेयरमा यताउति गर्न सक्नुहुन्थ्यो, अहिले त त्यो पनि छैन । पहिलोपल्ट जेलमा बस्ता उहाँको बायाँ हातको मांशपेसी र नशा काम नलाग्ने भयो र अब उहाँ आफैँले ह्विलचेयर पनि गुडाउन सक्नुहुन्न । जेलबाट छुटेपछि पनि उहाँले धेरजसो समय दिल्ली र हैदरावादका अस्पतालहरूका फिजियोथेरापी सेन्टरमै बिताउनुभयो । उहाँलाई सास फेर्न गारो हुन्छ, मुटुमा समस्या छ र फोक्सोमा इन्फेक्सन छ ।

यति हुँदाहुँदे पनि अदालतले जेलअधिकारीहरूलाई यथाशीघ्र स्वास्थ्योपचार प्रदान गर्न र औषधी-उपचारको व्यवस्थ गर्न निर्देशन दिने कुरालाई इन्कार गर्यो । अदालतले हाम्रो वकिललाई औषधीउपचारसम्बन्धी निवेदन जेल अधिकारीलाई दिन भन्यो । दोस्रो पल्ट जेल पठाउँदा पनि जेल अधिकारीले यस किसिमको निवेदन लिन इन्कार गरेको थियो । त्यतिबेर पनि हामीले ओषधीउपचारका लागि उच्च न्यायालयबाट विशेष आदेश गराउनुपरेको थियो ।

आदिवासीले ओठ चलाउँदा मात्र पनि गोली खानुपर्छ । तपाईँ महिला हुनुहुन्छ भने यौन हिँसाको सिकार बन्नुहुन्छ, तपाईँमाथि बलात्कार हुन्छ, तपाईँका दाजुभाइलाई झुठा मुद्दामा फसाइन्छ र पूरा गाउँ आगोमा सखाप पारिन्छ । तर बोलेकै भरमा साइबाबामाथि गोली ठोक्न सक्ने स्थिति नभएकाले ५ वर्षदेखि उनीहरू साइबाबालाई यातना दिइरहेका छन् ।

पचास प्रतिशत तलबले (मुद्दाका कारण निलम्बन परेको बेला ५० प्रतिशत मात्र तलब उपलब्ध हुन्थ्यो) मात्र  तपाईँले कसरी धान्नुभयो त ?

मैले ७५ प्रतिशत तलब उपलब्ध गराउनका लागि धेरैपल्ट राम लाल आनन्द कलेज र विश्वविद्यालयमा निवेदन दिएँ, उहाँको तलबबाहेक हाम्रो आम्दानीको अर्को बाटो थिएन–सासु, छोरी र म थियौँ, तर अस्वीकार गरियो ।

किन यसरी निर्मम किसिमको सजाय दिइयो ? के जमानतमा छँदा उहाँले त्यस्तो केही गर्नुभएको थियो

उहाँले गर्न सक्ने कुरै थिएन । उहाँ एकदमै अशक्त हुनुहुन्थ्यो । के हो उहाँको अपराध ? मैले पनि केही बुझ्न सकेकी छैन । ९० प्रतिशत अशक्त मान्छेसित किन उनीहरू यस्तो औधी डराएका हुन् ? उहाँ चोबिसै घण्टा सबैका सामु हुनुहुन्छ, कलेजमा पढाइरहनुभएको छ । उहाँ भूमिगत त हुनुभएको छैन । उहाँले कसैलाई हानी-नोक्सानी पनि पुर्याउनुभएको छैन । तर पनि उनीहरूले उहाँलाई आजीवन कारावासको सजाय दिएका छन् ।

विश्वविद्यालयको कम्पाउन्ड वरिपरि गुन्डाहरू खुलेआम घुमिरहेका छन्, महिलामाथि हातपात गरिरहेका छन्, मनपरी गरिरहेका छन्, उनीहरूलाई केही सक्दैन मोदी सरकार । तर सर्वसाधारण नागरिकको पक्षमा बोल्नेहरूका लागि राज्य एकदमै असहिँष्णु बनेको छ । अरूजसरी नै साइबाबाले पनि आदिवासीहरूमाथि राज्यद्वारा गरिएको दमनका विरद्ध बोल्नुभएको हो । यसो गर्नु उनीहरूका लागि असह्य हुन्छ । ‘युएपिए’ जस्तो कालो कानुनले समेत हाम्रो विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारको हरण गर्न सक्तैन—यो कुरा त सुप्रिम कोर्टले पनि भनेको छ । राज्यले नागरिकमाथि विचार लाद्न सक्तैन । यसलाई प्रजातन्त्रको चरित्र भन्ने गरिन्छ, तर अहिलेको प्रजातन्त्रका आफूलाई अभिव्यक्त गर्ने ठाउँ हराइसकेको छ ।

आज बस्तरमा अति दमन छ । आदिवासीले ओठ चलाउँदा मात्र पनि गोली खानुपर्छ । तपाईँ महिला हुनुहुन्छ भने यौन हिँसाको सिकार बन्नुहुन्छ, तपाईँमाथि बलात्कार हुन्छ, तपाईँका दाजुभाइलाई झुठा मुद्दामा फसाइन्छ र पूरा गाउँ आगोमा सखाप पारिन्छ । तर बोलेकै भरमा साइबाबामाथि गोली ठोक्न सक्ने स्थिति नभएकाले ५ वर्षदेखि उनीहरू साइबाबालाई यातना दिइरहेका छन् । उनीहरूलाई उहाँको स्वास्थ्य एकदमै खराब अवस्थामा छ भन्ने कुरा थाहा छ, अब आएर उनीहरूले आजीवन जेलमा सडाउन खोजेका छन् । उहाँको शक्ति भनेको के हो र ? उहाँको शक्ति भनेको लेख्नु र बोल्नु मात्र हो । र यो आजीवन कारावासको सजायले  उहाँको विचारअभिव्यक्तिलाई मेटाउन सक्तैन ।

 हरेक मान्छे यस किसिमको फैसला विरुद्ध बोलिरहेको छ । उस्मानियाँ विश्वविद्यालयका विद्यार्थीहरूले पत्रकार सम्मेलन गरे । जामिया मिलाका विद्यार्थीहरूले जनसभाको आयोजना गर्दैछन् । उहाँ जमानतमा छोडिनुभएको बेला, हामी जहाँ जान्थ्यौँ, विद्यार्थीहरू हामी भएठाउँमा आउँथे र भन्थे- “सर ! हामी लज्जित छौँ, हामीले केही गर्न सकेका छैनौँ, तपाईँ त लडिरहनुभएको छ, तपाईँ हाम्रालागि  प्रेरणाको स्रोत हुनुहुन्छ ।” यो फैसलापछि मभन्दा पनि विद्यार्थीहरू बढी दुखित छन् ।

 उहाँको आमा र तपाईँको छोरीले यस फैसलालाई कसरी लिएका छन् ?

उहाँको आमा धेरै रुनुभयो । केटाकेटीदेखि नै आमालाई छोराको शारीरिक अवस्था थाहा छ, तर यस्तो भएर पनि जीवनको यति लामो समय पार गर्नसकेकोमा खुसी हुनुहुन्थ्यो । तर अब उसले दुख पाएको हेर्न सक्तिन  भन्नुहुन्छ । मुटु फुटलाजस्तो हुन्छ भन्नुहुन्छ । मेरी छोरी १९ वर्षकी मात्र छे । तर यता ५ वर्षदेखि, कलिलै उमेरमा उसले धेरै कुरा भोगेकी छे ।

विचारका लागि तपाईँको श्रीमानले ठूलो मूल्य चुकाउनु भएको छ । यसरी विचार व्यक्त गर्नुभन्दा बरु केही नगरी चुपचाप बसेको भए हुन्थ्यो भन्ने तपाईँहरूलाई कहिल्यै लागेन ?

अहँ, केटाकेटीदेखि नै स्कूलमा हामीले खास मान्यताका बारेमा पढेका थियौँ । भारतको संविधानअनुसार सबै मान्छे बराबर छन् भनेर पढेका थियौँ । सबैले संविधानको पालना गर्नुपर्छ भनिएको थियो हामीलाई । साइले गरेको पनि त्यही हो, उहाँले संविधानभन्दा बाहिर केही पनि गर्नुभएको छैन ।स्कुलमा पढेको कुरालाई नै उहाँले व्यवहारमा लागू गर्नुभएको हो ।

पहिलोपल्ट उनीहरूले पक्राउ गरेर लैजाँदा एयरपोर्टमा उनीहरूले भनेछन्- “यसमा सही गर्नुस्, हामी तपाईँलाई छोडिदिन्छौँ ।” त्यसमा के लेखिएको थियो, उहाँलाई थाहा थिएन, उहाँले सही गर्न मान्नु भएन । गत वर्ष, जेलमा उपचार गर्न अस्वीकार गरेपछि जमानतका लागि अपिल गर्दा त्यतिबेर पनि उनीहरूले सही गर्न दबाब दिएका थिए । उनीहरूले उहाँलाई भनेका थिए , “अहिले पनि ढिलो भएको छैन, सही मात्र गर्नुभयो भने तपाईँ छुट्न सक्नुहुन्छ ।” तर मूल्यमान्यता भन्ने चिज पनि केही हो ।  उहाँ साहित्य पढाउनुहुन्छ, त्यो साहित्यले केही मूल्यलाई बहन गर्छ । यही मूल्यले हामीलाई जीवित राख्छ । मूल्यलाई त्यागेपछिको जीवनको के सार्थकता र ? त्यसपछि हामी र लासबीच  केही भिन्नता  हुँदैन ।

  • source : rediff.com
    अनु. डा. ऋषिराज बराल
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]